नेपाली खेलाडीले अभिभावक सम्झेर क्रिकेट खेल्नुपर्यो 

प्रकाशित मिति : २०७५ श्रावण १८ शुक्रबार

काठमाडौं । नेपाली क्रिकेटले विस्तारै विश्वमा फड्को मार्दैछ । तर जुन गतिले अगाडि बढ्नु पर्ने थियो त्यत्तिको बढ्न सकेको छैन । सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएपछि तीव्र गतिमा अगाडि बढ्न खोजेको नेपाली क्रिकेटले लामो समयको संघर्षपछि पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएको छ । 

नेपालभन्दा ढिला एसोसिएट भएको अफगानिस्तानले टेष्टको मान्यता पाइसकेको छ । तर नेपाल ? 

नेपाल पछि पर्नुमा नेपाल क्रिकेट संघ क्यानको कमजोरी सबैभन्दा माथि आउँछ । भ्रष्टाचार गर्न अग्रसर नभएको भए क्रिकेट संघ निलम्बनमै पर्ने थिएन । 

जुन संघमा सुशासन हुँदैन त्यो डुब्छडुब्छ । अन्ततः डुब्यो । तत्कालीन माओवादीका केन्द्रीय सदस्य टंक आङबुहाङले भ्रष्टाचार गरे । उनी निलम्बनमा परे । तर नाटकीय ढंगले उनको निलम्बन फुकुवा गरिदियो । 

राज्यले के पायो थाहा छैन । अख्तियारका कर्मचारीलाई फाइदा पुगेको गाइँगुइँ सुनिएको थियो । त्यो विषय सेलायो । 

त्यसपछि लोभ, मोह, राजनीतिक खिचातानीको दलदलमा फसेको क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले निलम्बन लगाइदियो । अहिलेसम्म फुकुवा गरेको छैन । 

राष्ट्रिय प्रतियोगिता नै नभएपछि खेलाडीहरु खारिने अवस्थै रहेन । थोरैमात्रको बन्द प्रशिक्षणले खेलाडीले चमत्कार देखाउने प्रश्नै भएन । 

त्यसैगरी दोस्रो नम्बरमा स्वयं खेलाडी नै दोषी हुन् । खेलाडीले उच्च प्रयास गर्दैनन् । नेपाली खेलाडी नियमित प्रशिक्षणमा नबस्ने गुनासो आइरहन्छ । 

खेलाडीमा आउने त्यस किसिमको अल्छिपनले पनि नेपाललाई अगाडि बढाउन अवरोधकको काम गरेको छ । 

खेलाडीहरु प्रतियोगिता हुँदामात्र अभ्यास गर्छन् अरु बेला उनीहरुलाई नियमित प्रशिक्षण दिन सरकार नै वाधक बनेको छ । सरकारको मातहतमा रहेको राष्ट्रिय खेलकुद परिषद यसको कारक हो । 

परिषदका क्रिकेट प्रशिक्षक पनि छन् । अहिलेका नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा पनि राखेपका हुन् । 

नियमित प्रशिक्षण नभएपछि खेलाडीमा देखिने अनुशासन पनि गुम्दै गएका गुनासाहरु सुन्न आएका छन् । 

अभिभावक सम्झेर खेल्नुपर्यो 
०५१ सालतिरको कुरा होला । यु–१९ को छनोट हुँदै थियो । त्यतिबेलाका एक नेपाली खेलाडीले राजधानीको सिफलमा अभ्यास गर्दै थिए । उनी खेल्न आतुर थिए । अभिभावकसंग १५०० को ब्याट किनिदिन आग्रह गरे । उनको प्रस्ताव अभिभावकले मानेनन् । त्यसपछि उनको क्रिकेट खेलेर अगाडि बढ्ने सपना चकनाचुर भयो । 

उनी अहिले ठूला भए । उनको पेशा फेरियो । क्रिकेटको मोह फेरिएको छैन । नेपाली खेलाडीले अझै उच्च प्रदर्शन गरोस् भन्ने कामना उनी गरिरहन्छन् । तर उनको सुझाव खेलाडीलाई नै छ । 

उनले भने, ‘अभिभावकले अहिले नेपाल र नेदरल्याण्ड्सबीचको खेल पनि हेरेका छन् । उनीहरुले आफ्ना सन्तानले कस्तो खेलिरहेका छन् भनी नियालिरहेका छन् । उत्साह थपिरहेका छन् । त्यसलाई खेलाडीले पनि अहोभाग्य सम्झेर खेल्नुपर्छ । अभिभावकले सहयोग र समर्थन गर्ने हो भने खेलाडीमा उत्साह थपिन्छ । जस्तोसुकै चुनौती पार गर्ने साहस हुन्छ ।’

उनले अतित सम्झदै भने, ‘मलाई मेरा अभिभावकले सघाएको भए म पनि आज राम्रो खेलाडी हुन्थें होला । इच्छा राखेनन् मैले खेलिन । अहिलेका खेलाडीहरु भाग्यमानी हुन् । त्यो भाग्यलाई दृढ इच्छाशक्तिमा बदल्न सक्नुपर्यो ।’ 

अहिले सरकारले पनि साथ दिएको छ । क्रिकेट क्रेज पनि बढ्दो छ । यस्तोमा खेलाडीहरुलाई हौसला दिने पनि बढी छन् । बस् खेलाडीले अभिभावकको त्यो सहयोग र उत्साह सम्झेर खेल्नुपर्यो । 

नयाँ