arrow

चट्याङ्ले जनधनकाे क्षति मात्रै गर्दैन, फाईदा पनि छ, जाे बाेटविरुवालाई नभई हुँदैन (कुराकानी)

logo
प्रकाशित २०७५ साउन २० आइतबार
dr_shereeram.JPG

सामान्यतः चट्याङका विषयमा त्यत्ति धेरै बहस हुँदैन । चट्याङले पुर्‍याएको क्षतिका बारेमा मात्र कुरा हुन्छ र समाचार बन्छ । तर, चट्याङकै विषयमा डा. श्रीराम शर्माले विज्ञता हासिल गरेका छन् । चट्याङका विविध पक्षबारे हामीले डा.शर्मासँग कुरा गरेका छाैँ । 

० हामीकहाँ चट्याङका विषयमा बहस एकदमै न्यून हुन्छ हाे ?
– हो, हामीकहाँ चट्याङले क्षति पु-याएपछि मात्र बहस हुन्छ, अरुबेला खासै हुँदैन । त्यत्तातिर ध्यान नजानुमा केही कारणहरु छन् । चट्याङले एकै ठाउँमा धेरै मान्छे मार्दैन । एउटै स्पटमा दर्जनौं मान्छेको ज्यान जाँदैन । चट्याङले एक दुईजना मान्छे मार्छ । त्यो मृत्यु एक रातमा १० जना भए पनि आम मानिस ध्यान त्यत्ति जाँदैन । यसलाई हामी साइलेन्ट किलरका रुपमा मानिन्छ । चुपचाप आउँछ, एक दुईजना मार्छ, ठूलो क्षति गर्दैन । त्यसकारणले गर्दा पनि सरकार र व्यक्तिको ध्यान जाँदैन । ठूलो स्केलमा मृत्यु भयो भने मात्र राज्यको ध्यान जान्छ ।

० चट्याङलाई रोक्न वा जोगिन सकिन्छ ?
– चट्याङ रोक्न सकिँदैन र रोक्न हुँदैन । यो प्राकृतिक प्रकृया हो । हामीलाई फाइदा गर्ने केही चिजहरु जन्माएको हुन्छ । हाम्रो प्रकृतिमा जति बोटविरुवा छन्, तिनीहरुलाई नाइट्रोजनका कम्पाउन्डको आवश्यकता हुन्छ । नाइट्रोजनको फिक्सेसन नभइकन, बोटविरुवा हुर्कदैन । नाइट्रोजन फिक्सेसनका लागि नाइट्रोजन अक्साइट चाहिन्छ । बायुमण्डलमा भएका नाइट्रोजन र अक्सिजनको मिश्रण गराउने काम चट्याङले नै गर्छ । मानिसले बनाउन सक्दैन । त्यो प्रकृया रोक्न हुँदैन, रोक्न सकिँदैन । साथसाथै हाम्रो ओजन तह जसले सूर्यबाट आउने विकरणबाट जोगाउँछ । त्यसको निर्माण पनि पटक पटक क्षय हुन्छ, फेरि रिभाइभ गर्ने बनाइ राख्ने काम पनि चट्याङले गर्छ । बच्ने उपाय प्रशस्त छन् । सामान्य सावधानी अपनाउने हो भने चट्याङबाट बच्न सकिन्छ । हाम्रा लागि सबैभन्दा ठूलो कल्याण भनेकै चट्याङबाट जोगिनु, बच्नु नै हो ।

० मध्यपहाडी क्षेत्रका अग्लो क्षेत्रमा चट्याङले धेरै क्षति पुर्‍याएको छ । यसबाट बच्न सकिन्छ ?
– बच्न सकिन्छ, अग्ला टावर र डाँडामा रहेका रेडियो स्टेशनमा बढी क्षति पुर्‍याएको हुन्छन् । किनभने उनीहरुसँग चट्याङबाट बच्न उपायको त्यत्ति धेरै प्रयाक्टिस गरेको देखिँदैन । टेलिभिजन र टेलिकमका टावरहरुमा यसको उपाय अपनाइएको हुन्छ । चट्याङ प्रतिरोधी उपकरण जडान गरिएको हुन्छ । जसले गर्दा अग्ला टावर चट्याङबाट जोगिएका हुन्छन् । स्वभावतः होचोभन्दा अग्लो ठाउँमा चट्याङले बढी प्रभाव पार्छ । त्यसैले मध्यपहाडी र चुरे क्षेत्रमा प्रशस्त चट्याङ पर्छ । मनसुन सुरु भएपछि चट्याङको चर्चा सुरु हुन्छ । चट्याङ मनसुनभन्दा पहिला प्रिमनसुनमा अझ धेरै पर्छ । त्यसबेला जमिन तात्छ र धेरै चट्याङ पर्छ । चैत १५ पछि र जेठको अन्तिमतिर अथवा असार मध्यसम्म नेपालभरि अत्याधिक चट्याङ पर्ने गर्छ । र धनजनको क्षति त्यत्ति नै बेला बढी हुन्छ । बर्खा लागिसकेपछि अलि कम हुन्छ र चट्याङ पर्छ मान्छे मर्ने क्रम पनि कम हुन्छ ।

० चट्याङ कहाँ पर्छ भन्ने केही नियम हुन्छ ?
– चट्याङको सामान्य प्राकृतिक नियम छ । यो बादलभित्रको विजुलीको करेन्ट हो, यो बादलबाट जमिनतिर बग्छ । त्यो करेन्ट बादलबाट जमिनतिर बग्न सुरु गर्छ, तल के छ भन्ने कुरा उसले केही थाहा पाउँदैन । जमिनदेखि निश्चित स्थानमा आइपुगेपछि जमिनमा रहेको वस्तुले पनि चट्याङ आउँदैछ भन्ने थाहा हुन्छ । त्यो रेस्पोन्सका आधारमा त्यो वस्तुलाई चट्याङले हान्ने गर्छ । सामान्यतः जति अग्लो बस्तु भयो, उसले बढी रेस्पोन्स गरेको हुन्छ । सामान्यतः अग्लो बस्तुलाई चट्याङले हान्ने गरेको छ । यो सामान्य नियम हो ।

० यो जेनेरेट कसरी हुन्छ, त्यो पनि सामान्य प्रक्रिया नै हो ?
–सामान्य प्रक्रिया नै हो । जब जमिन सूर्यको तापको कारण तात्न जान्छ, पानीको भागबाट वाष्फ भएर बादल बन्न जान्छ । तातिएको बादल माथि जान खोज्छ, माथि चिसिएको वादल तल झर्न खोज्छ । बादलका कणहरु हुन्छन् । त्यो भन्नाले के बुझ्नु पर्दछ भने, पानी जमेर स–साना बरफका करणहरु बनेका हुन्छन् । सुख्खा बरफका कणहरु हलुका हुन्छन् माथि जान खोज्छन् । भिजेका बरफका कणहरु गह्रँगो हुन्छन्, ति तल झर्छन् । यी तलमाथि गर्ने क्रममा आपसमा ठोक्किदा घर्षणका कारणले वादलभित्र चार्ज उत्पन्न हुन्छ । त्यो चार्ज भनेको जसरी हामी व्याट्रिलाई चार्ज गर्छौँ, त्यहाँ धनात्मक र ऋणात्मक इन्डहरुमा हामी जसरी चार्ज उत्पन्न गर्छौँ । त्यसैगरी वादलभित्र पनि एकातिर धनात्मक र एकातिर ऋणात्मक चार्जको उत्पन्न हुन्छ । त्यो घर्षणकै कारणले हो । ठूलो मात्रामा जब वादलभित्र चार्ज उत्पन्न हुन्छ, त्यो दुईटा आकारमा उत्पन्न भएको चार्जले एउटाले अर्कोलाई आकर्षण गर्छ । वायुमण्डलका ग्यासहरुले त्यसलाई धान्न नसकेपछि चट्याङ पर्ने गर्छ । हामी ईलेक्ट्रीकल डिस्चार्ज भन्छौँ नि, त्यो बेला इेलेक्ट्रीकल डिस्चार्ज हुन्छ । 

० अग्लो वस्तुलाई मात्रै यसले टार्गेट बनाउने हो कि होचो ठाउँमा पनि यसको जोखिम हुन्छ ?
–माथिबाट झर्दा यसले अग्लो बस्तु देख्दै देख्दैन । जमिनसँग ५० देखि १०० मिटर नजिक आईसक्दा मात्रै यसले वस्तु देख्छ । किन भने तलको बस्तुले पनि रेस्पोन्स गरेको हुन्छ । समथल जमिन, समुद्रमा पनि प्रसस्त खसेको पाईन्छ । गल्फकोर्षहरुमा पनि चट्याङले धेरै मान्छेहरु मरेको हामीले सुनेका छौँ । अग्लो नै हेर्ने देख्ने भन्ने हुँदैन । तर, नजिक आउँदा तलको वस्तुको रेस्पोन्सको कारणले गर्दा करेन्ट जोडिन आउँछ ।  
० तलको वस्तुको रेस्पोन्स भन्नाले,, करेन्ट उत्पन्न हुने पोजेटिभ र नेगेटिभको कुरा आयो हैन ?
–हो, हो, पक्कै पनि हो ।

० आफुअनुकुल अर्थात् आफुलाई सघाउने वस्तुतिरै झर्न खोज्छ, हो ? 
–हो, हो । माथिबाट नेगेटिभ चार्ज बग्दै आएको छ भने, जमिनका मानौ ठूलो अग्लो टावर छ , भने त्यो टावरले माथि पोजेटिभ चार्ज पठाउन खोजिरहेको हुन्छ । त्यसैले ति दुईबीचमा आकर्षण हुन्छ । त्यही आकर्षणका कारण करेन्ट जोडिन जाने हो । 

० यो बाट सामान्यतया घरहरु । जहाँ मान्छेको जीवन वित्छ, त्यो घरहरुलाई केही प्रविधियुक्त बनाएर बनाईयो भने चट्याङप्रतिरोधी हुने अथवा चट्याङबाट हामीलाई बचाउने खालको बनाउन सकिन्छ ? 
–सकिन्छ । सजरी मैले अघि भने । टावरहरुमा चट्याङ प्रतिरोधी प्रविधि जोडिएको हुन्छ । यो सामान्य प्रविधि हो । हाम्रो पूर्खाले गरेकै चलन हो । तपाईहरुले याद गर्नु भयो भने हाम्रा पूराना भवन र मन्दिरहरुको माथि त्रिशूल राखिएको हुन्थ्यो । तामाको त्रिशूल । त्रिशूलदेखि जमिनसम्म धातूको तार अथवा भनौ तामाकै पाता लगिएको हुन्थ्यो । त्यो जमिनमा गाडिदियो भने, जमिन र आकाशमा उत्पन्न हुने चार्ज समाहित भए भने न्यूट्रलाईज हुन्छ । जमिनको पोजेटिभ र आकाशको नेगेटिभ चार्ज न्यूट्रलाईज भयो भने माथिको चार्ज सजिलै जमिनमुनि गाडिन्छ । र, हामीलाई क्षति गर्दैन । यो प्रविधि पहिला थियो । अहिले पनि देखिन्छ भनौँ, हामी मन्दिर गयौँ भने । मन्दिरमा तामाको त्रिशूल त बाँकि छ तर, त्रिशूलदेखि तल तामाको पाता जसलाई जमिनसम्म लगिएको हुन्थ्यो । त्यो पाता गायब भएको पाईन्छ, समय क्रममा । धेरै वर्ष यसको प्राक्टिस नभएको वा वैज्ञानिक कारण पुष्टि नभएका कारण । त्यतातिर मान्छेको ध्यान नगएका कारण । अथवा, मन्दिरको शौन्दर्यता नमास्न भनेर हो वा के हो ? त्यो पाता देखिँदैन । मलाई जहाँसम्म लाग्छ,, हाम्रो पूर्खाले यो अभ्यास गरिसकेका थिए ।

० त्यो ज्ञान पहिले नै थियो ? 
–थियो भन्ने बुझ्छु म चैँ । त्रिशूलको अवधारणा त्यसै आएको जस्तो लाग्दैन र हाम्रा कतिपय चलचित्र अथवा लघु चलचित्रमा शिवजीको त्रिशूलमा चट्याङ अथवा करेन्ट जेनेरेट गरेका चित्रणहरु गरिएका छन् । तपाई हामीले देखेका छौँ । त्यसको आधार भनेकै त्रिशूललाई चट्याङलाई आफुतिर तान्ने माध्यम वा औजारको रुपमा चित्रित गरेको रुपमा म बुझ्छु ।  
०  एउटा घरलाई चट्याङबाट जोगाउन त्रिशूल होला वा आधुनिक यन्त्रहरु होला । त्यसले कत्तिको खर्च गराउँछ छ त एउटा घरलाई ? 
–घरको आकार हेरर विशेष गरेर धातुको मूल्यको कुरा रहयो । जस्तो हाम्रा ग्रामीण भेगमा हुने जस्ताको घरमाथिको छानामा राखिएको एरेष्टरको मूल्य दुई तीन हजार मात्रै हुन्छ । र, त्यहाँबाट तल झर्ने पाता तामाकै चाहिन्छ भन्ने छैन । तामाको चोरी पनि छ, जोखिम पनि छ । त्यो भन्दा तल ग्याल्बनाईज आईरनको पाता जमिनसम्म राख्न सकिन्छ । १० देखि १५ हजारकोबीचमा गाउँघरका घरहरुलाई क्षति हुनबाट जोगाउन सकिन्छ । अहिले आधुनिकताको नाममा बजारमा विभिन्न हल्लाहरु हुन्छन् । हल्ला गर्ने खाले सामाग्रीहरु आएका छन् । तीनीहरु हेर्दा राम्रा देखिन्छन् । मूल्य डेढ लाख, दुई लाख, ३ लाखसम्म लिने गरिएको छ । मनोमानी छ । म यसको अनुसन्धाता र वैज्ञानिक भएको नाताले के भन्छु भने, बजारमा आएका सामाग्रीहरुबाट सचेत हुनु पर्दछ । सामान्य त्रिशूलले गर्ने काम र बजारमा निकै महँगो पर्ने उपकरणमा तात्विक केही फरक छैन । कहिलेकाँही त त्रिशूलकै काम प्रभावकारी भएको पाईन्छ । त्यसैले घरको आकार प्रकार हेरेर न्यूनतम मूल्यमा हामी गाउँ वा शहरका घरहरुलाई सुरक्षित बनाउन सक्छौँ । मूख्य कुरा जडानको कुरा हो । कतिपय ठाउँमा जोडाई गतिलो नहुँदा काम नगरेको पनि हुन सक्छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ