arrow

विवेकशील साझा राजनीतिक संस्कारमा हुर्केको पार्टी हाेईन,सामान्य घटना हुनु स्वभाविक (कुराकानी)

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
mumaram-khanal.jpg

विवेकशील साझाका संगठन विभाग प्रमुख मुमाराम खनालले याे पार्टी राजनीतिक संस्कारमा हुर्केकाे पार्टी नभएकाे बताएका छन् । उनले भनेका छन्, 'पार्टीमा पवित्र भावनाले जोडिएका मान्छे छन् । यसलाई राजनीतिक स्कुलिङमा लैजान समय लाग्छ । त्यसक्रममा एउटा अराजकतावादी दृष्टिकोण पनि छ ।  सामान्य घटना हुनु स्वभाविक हाे ।' गएकाे हप्ता प्रदेश ३ का ६ जिल्लाको संयाेजकहरुकाे घोषणासभामा भएको हुलदुङ्गाबारे पार्टी संगठन विभाग प्रमुख खनालसँग हामीले कुरा गरेका छाैँ । 

० विवेकशील साझा पार्टीको घोषणा सभामै झगडा भएछ नि ?
– झगडा भएको होइन, केही व्यक्तिहरु जो विवेकशील साझा पार्टीका सदस्य हुन् कि होइनन भन्ने विषयमा छानबिन भइरहेको छ । हामीले नदेखेका कतिपय अनुहार त्यहाँ थिए, कतिपय विगतमा विवेकशील नेपाली दल हुँदा भविष्यका लागि अयोग्य हुने गरी कारबाहीमा परेका केही व्यक्ति आएको बुझियो । त्यो पाँच सातजनाको समूहले हाम्रो कार्यक्रम समापन हुने बेलामा अवरोध गर्न खोज्नुभो । त्यो जम्मा २ मिनेटको कुरा थियो । त्यसपछि साम्य भयो । कुरा त्यत्ति मात्र हो ।

० यो असन्तुष्टि कहाँबाट आयो ?
– हाम्रो न्याय तथा सुशासन आयोग छ, त्यो आयोगले त्यहाँ देखिएको सांगठनिक अराजकता र अमर्यादित क्रियाकलापमा विवेकशील साझा पार्टीका कोही सदस्यहरु रहेछन भने विधानअनुसार उनीहरुलाई गल्तीको प्रकृतिअनुसार कारबाही हुन्छ । त्यहाँ हामीले कतिपय राजनीतिक संस्कार र स्कुलिङको अभाव भएर कुनै साथीहरु त्यसमा अलमलिएका अथवा धमिलो पानीमा माछा मार्ने कुनै तत्व रहेको भए त्यसलाई त्यहीअनुसारको कारबाही हुन्छ । राजनीतिक दलमा त्यस्ता सामान्य घटना भइरहन्छन् । त्यसैले हामीले यसलाई त्यत्ति ठूलो ठानेका छैनौं ।

० हुलदुङ्गा होइन ?
– हुलदुङ्गा होइन, हुलदुङ्गा गर्ने कोसिस चाहिँ भएको हो । त्यहाँ दुई तीन सयको मास थियो, त्यो मासमा दस जनाले हुलदुङ्गा गरेको भए अप्रिय घटना हुन्थ्यो । तर हाम्रो कार्यक्रम सानदाररुपमा सफल भयो । सबै जिल्ला संयोजकहरुले भाषण गर्नुभयो । घोषणासभामा कुनै व्यवधान आएन ।

० पार्टीभित्र असहमति वा असमझदारी बढ्दैछ, भन्ने संकेत हो ?
– असमझदारी बढ्दै गएको होइन, हाम्रो पार्टीको इतिहास लामो होइन, पूर्व विवेकशील नेपाली दल पार्टी साझा भइसक्यो । त्यसमा काम गर्ने तौरतरिकामा राजनीतिक मत भिन्नता होइन, सबैको शैली एउटै छ । लामो राजनीतिक संस्कारमा हुर्केको हाम्रो पार्टी होइन, लोकतन्त्रको अभ्यास कसरी गर्ने भन्ने कुरासमेत थाहा छैन । पार्टीमा पवित्र भावनाले जोडिएका मान्छे छन् । यसलाई राजनीतिक स्कुलिङमा लैजान समय लाग्छ । त्यसक्रम एउटा अराजकतावादी दृष्टिकोण पनि छ । अस्तीको घटनामा हाम्रा सदस्य रहेछन भने पनि त्यो अराजकतावादी दृष्टिकोण हो । त्यो अराजक झुण्डले राजनीतिक संस्कार बस्न दिँदैन । अहिले हामी राजनीतिक संस्कार र स्कुलिङ बनाउँदैछौं ।

० अनि, के नेतृत्वप्रति फरक दृष्टि राखेका हुन् ?
– फरक दृष्टिकोण राख्ने ठाउँ हुन्छ, त्यहाँ हामीले फरक दृष्टिकोण देखेनौं । अकस्मात कार्यक्रमको घोषणासभामा आएर मेरो फरक मत छ भनियो, कोही मेचीबाट, कोही पश्चिमबाट आएको छ भने त्यसको कुनै अर्थ रहँदैन । पार्टीमा फरक विचार हुन्छन्, दृष्टिकोण हुन्छन् । फरक विचार प्रस्तुत गर्ने पनि त तरिका हुन्छन् । पार्टीका फोरमहरुको आफ्नै खालका नियम हुन्छन् । विधानको आफ्नै खालको मर्म हुन्छ । फरक मत सार्वजनिक घोषणासभामा देखाउने हो र ? यो त राजनीतिक नबुझेको अबुझ केटाकेटी कुरा भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ