- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
केही दिनअघि काठमाडौंको काडाघारीबाट ११ वर्षीया बालक निशान खडका अपहरणमा पर्नु, त्यसपछि उनको रातारात हत्या हुनु र हत्यामा संलग्न भनिएका दुईजना व्यक्तिको मुडभेडमा मृत्यु भयो, भन्नु । यो घटना शंकास्पद, विवादस्पद भयो । यो घटनाले प्रहरी संगठनबाट खटिएका अधिकारहरुको हर्कतका बारेमा मात्र शंका उब्जाएन, सिंगो प्रहरी संगठनले गर्ने कार्य सम्पादनमा पनि प्रश्न उब्जेको छ । यसअघिका घटनालाई अध्ययन गर्ने हो भने प्रहरीमाथि शंका गर्नुपर्ने र प्रहरीको कार्य सम्पादनको विश्वसनीयतामा प्रश्न उठाउनुपर्ने स्थिति सिर्जना गर्यो । यस विषयमा पूर्व डिआईजी हेमन्त मल्ल ठकुरीसँग हामीले कुरा गरेका छाैं ।
० काडाघारी बालक अपहरणपछि हत्या घटनालाई कसरी लिनुहुन्छ ?
– बालकको अपहरण भएको छ, त्यसपछि हत्या भएको छ । यो घटनाको अनुसन्धान भइरहेको छ । पहिलादेखि नै ‘इन्काउन्टर’ भन्ने शब्द अाइरहेको थियो । तर यो शब्द दुरुपयोग भएजस्तो लाग्यो । इन्काउन्टर गर्ने होइन, इन्काउन्टर हुने हो । इन्काउन्टर भनेको जम्काभेट हो । जम्काभेटमा प्रहरी जिउँदै समात्न खोज्छ, ज्युदो समात्न सकेन भने घाइते अवस्थामा पक्राउ गर्न सकिन्छ । काहिलेकाही परिस्थिति काबु बाहिर जानसक्ने भएकाले मान्छे मर्न पनि सक्छ । कतिपय घटनामा वास्तविकता फरक हुन्छ जस्तो लाग्छ मलाई । त्यस्ता घटना विस्तारै धेरैले बुझ्दै जान्छन् ।
० इन्काउन्टर शब्द प्रहरीले प्रयोग गरेको हो कि सञ्चारमाध्यमले ?
– इन्काउन्टर भन्ने शब्द सबैभन्दा पहिला हामीले भारतबाट सुनेको हो । इन्काउन्टरको शाब्दिक अर्थ जम्काभेट हो । विस्तारै यो शब्द नेपालमा पनि भित्रियो । नेपाल भित्रिएपछि त्यो शब्द प्रहरीले पनि प्रयोग गर्न थाले । त्यसपछि मिडियामा पनि त्यही शब्द प्रयोगमा आयो । यसको शाब्दिक अर्थ राम्ररी बुझिएन भने अर्थको पनि अनर्थ लाग्न सक्छ ।
० अपहरणकारीसँग प्रहरीको जम्काभेट भएको हो ?
– यो विषयमा म भन्न सकिन्न । विभिन्न कोणबाट बेग्लाबेग्लै कुरा आइरहेको छ । भोलिका दिनमा प्रहरी विभागले पनि क्लियर गर्ला । जसरी हामी सुन्छौं, तर धरातलीय यथार्थ बेग्लै हुन्छ ।
० घटनाको प्रकृतिले के भन्छ ?
– सञ्चारमाध्यममा हामीले सुन्दा पनि विवादस्पद तीनवटा कुरा बाहिर आइरहेको छ । फिल्डमा भएको घटना एउटा अनुमान गर्न सकिन्छ, त्यहाँ कमीकमजोरी भएको हो भने भोलि सत्य कुरा आइहाल्छ । कोठाबाट लगेर मान्छे मार्नु गलत हो । मान्छे मार्न पाइँदैन, कानुनले विभिन्न व्यवस्था गरेको छ । सबै कानुनअनुसार जानुपर्छ । यो घटनाबारे भोलिका दिनमा सबै कुरा बाहिर आइहाल्छ । हामीले अहिले शंका गरिराख्नु पर्दैन ।
० घटनास्थलको एउटा अर्को तस्वीर । मृत्यु भएको व्यक्तिको हातमा पेस्तोल थियो । गोली लागिसकेपछि पेस्तोल हातमै रहने अवस्था रहन्छ ?
–रहन्छ । मेडिकल जुरीजप्रियुडन्सको किताब हेर्नु भो भने । हामीले सोचे भन्दा पनि धेरै प्रकृतिका घटनाहरु हन्छ । जसमा विश्वास नलाग्न सक्छ । आत्म हत्याका कुराहरु होलान् वा अपराध गर्ने कुराहरु होलान् । त्यो किताब अनुसार कुरा गर्ने हो भने हामीले आँखाले देखेको भन्दा पनि फरक हुनसक्छ । तपाईले जुन शंकाको कुरा गनुै भो । मैले यो कुरा लुकाउन खोजेको पनि होईन । हाम्रो पूरानो अनुभवको कुरा हेर्नु भयो पनि यो प्रमाणीत भएको कुरा हुन् । र, देखिन्छन् पनि ।
० प्रहरीले एसएमएस पठाएपछि बालकको हत्या भयो भन्नेदेखि लिएर धेरै कुराहरु आउन थाले । अपहरण गरेर बालकको हत्या गर्ने व्यक्ति मारिए । अनुसन्धानको एउटा पाटो बन्द भयो भन्ने कुराहरु पनि आयो । घटनाक्रम हेर्दा के देखिन्छ ?
–अपहरणमा सबैभन्दा पहिलो प्राथमिकता भनेको अपहरण परेको व्यक्तिलाई रेस्क्यु गर्ने हो । यो घटनाको कुरा गर्ने हो भने । एउटा पाटो बन्द भयो अर्को पाटो खुला छ । अनुसन्धान पूर्णतः बन्द भएको छैन । पीडित पक्ष एकातिर छँदै छ, अन्य प्रमाणहरु पनि छन् त्यहाँ । सबै कुरा नआएपनि अनुसन्धान पूरा नहुने भन्ने कुरा हामीले अहिले गर्न हुँदैन । मान्छे मर्दैमा सबै कुरा हराउँछ भन्ने होईन ।
० यो अपहरणसँग केही कुरा लुकेको देखिन्छ ?
–हामीले एउटा अनुसन्धान गरेका थियौँ यस्तै । मलाई के लाग्यो भने तीन चार वर्षदेखि एक अर्कासँग परिचित छन् यिनीहरु । एक अर्काको आर्थिक अवस्था बुझेको अवस्था छ । त्यो बुझदै जाँदा पनि जुन किसिमले रकम मागियो र बार्गेनिङ भयो त्यसले यो देखि बाहेक एउटा अर्को पनि कुरा छ कि भन्ने एउटा शंका लाग्ने कुरा छ । अर्को बच्चा अपहरण गरेर लिएर गएको छ र तुरुन्तै मारिएको पनि छ । अपहरणमा के हुन्छ भने, बार्गेनिङको लागि केही न केही समय लिने तथा एउटा चेन अफ प्लान हुन्छ । चेन अफ प्लान पनि देखिएन । बच्चालाई तुरुन्तै मारिएको छ । मारिएको एउटा कारण के हुनसक्छ भने चिनिएका व्यक्तिहरु छन्, त्यो भोलि बाहिर आउने डर हुन्छ भनेर पनि होला । अपहरणको प्लान नै देखिएको छैन । विस्तारै अरु कुरा खुल्ला ।
० उसो भए फिरौतीका लागि मात्रै अपहरण गरिएको थिएन भन्ने शंका उब्जायो ?
–हो, फिरौतीको लागि हुन सक्ला । तर, घटनाको प्रकृति हेर्दा र उनीहरुको ब्यागराउण्ड हेर्दा अपहरणबाहेक केही कुरा छ कि भन्ने शंका चैँ रहन्छ ।
० त्यो अनुसन्धानको पाटो भयो । तर, प्रहरीको कुरा गर्दा । अहिलेसम्म भएका मुठभेडका घटनाक्रम हेर्दा प्रहरीभित्र व्यक्ति प्रधानताले काम गरेको देखियो । यसले प्रहरी संगठनलाई फाइदा गर्छ कि घाटा ?
–यसमा दुईटा कुरा छ । मुठभेडमा जति पनि व्यक्तिहरु मारिएका छन् । उनीहरु आपराधिक व्यागराउण्डका भएकाले केही कुराहरु उठ्यो होला । समाजले त्यसलाई एसेप्ट गरेको कुरा छ, एउटा कुरा यो भयो । तपाईले उठाएको एउटा कुरा गम्भीर छ । अहिले होल समाज । चाहे त्यो सिभिल सोसाईटी होला, प्रहरी, सशस्त्र वा आर्मी जो सुकै भए पनि । अहिले संस्थालाई समेटेर अघि बढ्नु भन्दा पनि म भन्ने कुराहरु अलिकति बढेर आएको छ । हामी सबैले नोटिश गरिरहेकै छौँ । नेपाल प्रहरीको काम गर्ने तौर तरिका मात्रै होईन सिंगो कर्मचारीतन्त्र व्यक्तिबादी चरित्रबाट अघि बढ्दा के हुन्छ ? संस्थालाई कुनै न कुनै रुपमा त्यसले ड्यामेज गर्छ गर्छ । म को ठाउँमा हामी भन्ने कुरा हराउँदै छ । सबैतिर । यसले गर्दा भोलि संस्थाको अस्तित्व नै संकटमा पर्ने अवस्था आउँछ ।
० यो प्रश्न कहाँ जोडियो भने, बालक बचाउन नसकिएको प्रश्नसँग जोडियो । खटिएका प्रहरी युनिटबीच समन्वय भएको छैन । तीन टोली तीनतिर भएका छन् । बालकलाई किन बचाउन सकिएन भन्ने प्रश्न अनुत्तरित छ । प्रहरीले यसको जवाफ दिन्छ ?
– तपाईले भनेको कुरा सही हो । किन कि हामीले व्यक्तिवादी चरित्रको कुरा भन्यौँ । त्यो कुरा तपाईले गरेको कुरासँग मिल्छ । तीन–चार वटा प्रहरी युनिटहरु खटिएको छ । एक अर्काकोबीचमा समन्वय छैन । त्यो भएन भने त्यसले के हुन्छ भने, अल्टिमेटली अनुसन्धानमा असर गर्छ । त्यसको नकारात्मक असर बाहिर आउँछ । वास्तवमा यो राम्रो होईन । समन्वय छैन, भने यसले राम्रो गर्दैन । त्यसकाे अर्थ याे बुझ्नुस् प्रहरी चुक्याे ।
० यो खालको कार्यसम्पादनले संगठनलाई के हानी पुग्छ ? मैले जान्न खोजेको ?
–हानी पुग्छ । तपाईले सोधेको प्रश्न कतातिर जोडिन्छ भने, प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्याङ्कनसँग जोडिन्छ । प्रपर मूल्याङ्कनमा पो कमि कमजोरी छ कि भन्ने प्रश्न समेत उठ्यो अब । प्रपर मूल्याङन भईरहेको छैन भन्ने कुरा यी घटनाहरुले प्रमाणित गर्छन् । कुनै मान्छेले आफुले गरिरहेको काम बढी प्रचार प्रसार गरिरहेको छ, मिडियामा होहल्ला बढी भईरहेको छ भने त्यो समस्याको ईन्डिकेटर के हो भने ? काम कारबाहीको प्रपर मूल्याङ्कन भईरहेको छैन । मूल्याङकनमा कहीँ न कहीँ समस्या छ भन्ने कुरा तपाईले भन्नु भो त्यो सही कुरा हो ।
० यो कुरा कार्यसम्पादन मूल्याङ्कनसँग जोडियो । जसले कार्यसम्पादन मूल्याङ्कनमा नम्बर थप्छ ?
–विलकुल सही कुरा हो त्यो ।
० भनेको नेतृत्वको दौडधूप यहीँबाट हुन्छ भन्ने बुझौँ ?
–हो विलकुल । मूल्याङ्कनको समस्याले नै व्यक्तिहरु आएर चिच्याउनुपर्ने समस्या बढेको जस्तो लाग्छ मलाई ।
० मूल्याङ्कन गर्ने ठाउँमा प्रहरी संगठनमै खारिएका मान्छेहरु हुँदैनन् र भन्या ? किन यस्तो खालको प्रतिस्पर्धा ?
–ति मान्छेहरु छन् । तर, मूल्याङकनको परिपाटी कस्तो राखिएको छ भने, ईन्फ्लूएन्स हुने ठाउँ धेरै छ । पहिल्यैबाट यो मूल्याङ्कनमा समस्या छ भन्ने कुराहरु आईरहेको छ । यो अहिले होईन कि दुई चार वर्ष पहिलादेखि मूल्याङ्कनमा ठूलो कोईसन्समार्क आईरहेको छ । प्रश्न उठेपछि प्रहरी ऐन नियमावली परिवर्तन भयो तर, त्यति हुँदा पनि त्यसले सम्बोधन गर्न सकेन । जुन तपाईले भन्नु भयो मूल्याङ्कन फेयर भो, मूल्याङ्कनमा विभाग भित्रैका अधिकारीहरुले प्रश्न गरिरहेका छन् भने मूल्याङ्कनमा कँही न कहीँ समस्या छ भन्ने कुरा ईण्डिकेट हुन्छ ।
० प्रहरीभित्र राजनीतिक प्रभाव परेको वा अनियमिताले काम गरेको छ, भन्न मिल्छ ?
–विलकुल किन मिल्दैन ? राजनीतिक प्रभावको कुरा मात्रै होईन । दलीय भागबण्डाकै कुराहरु आउँछ । होल समाजमा त्यो देखिएको छ भने, नेपाल प्रहरीलाई भिन्न राख्न त मिल्दैन । नेपालको ३५ सय ठाउँमा नेपाल प्रहरीको युनिट छ । कुना कन्दरामा सकारलाई रिप्रिजेन्ट गर्ने काम प्रहरीले गरिरहेको छ । चुनावसँग जोडिएको छ, डेली पब्लिकसँग पनि जोडिएको छ । सबै ठाउँमा उपस्थिति भएको संगठनलाई पोलिटिकल पार्टी वा नेतृत्वले आफ्नो पकडमा राख्न खोजिहाल्छ । त्यसैले समाजबाट अछुतो रुपमा प्रहरी बस्न सक्छ जस्तो मलाई लाग्दैन ।