arrow

'दुई तिहाईको दुरुपयोग, सामाजिक फाँसीवादमा गयाे मुलुक' (अन्तर्वार्ता)

‘हिटलरको पार्टीको नाम पनि त कहाँ फाँसीवादी थियाे र ? राष्ट्रिय समाजवाद थियो’  

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
CP-gajerel-new.jpeg

वर्तमान सरकारले सत्ताबाहिर रहेका दलमाथि गरिरहेको निगरानी र निर्वाचन आयोगमै दर्ता नभएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउको सर्वत्र चर्चा छ । सुनिन्छ,, सत्ताधारी (ने क पा)भित्रै चन्द नेतृत्वको नेकपाका नेता र कार्यकर्ता पक्राउबारे विरोध भएको छ । चन्दा असुली र आपराधिक गतिविधि गरेको भन्दै चन्द नेतृत्वको नेकपाका प्रवक्ता नै पक्राउ परेका छन् । चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हत्कडी नै लगाएकोबारे बाहिर चर्को आलोचना भएको छ । राजनीतिक व्यक्तिलाई त्यसरी हत्कडी लगाउन नहुने र सरकार स्वेच्छाचारी भएको भन्दै कडा आलोचना भएको छ । सत्ताभन्दा निकै पर रहेको नेकपासँग सत्तामा रहेको ठूलो पार्टी टक्राउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मुलुक फेरि राजनीतिक द्वन्द्वमा त फस्दैन भन्ने शंका पनि गर्न थालिएको छ । हामीले, यो के भईरहेको ? भनी देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेललाई सोधेका छौँ । 

० अहिलेको राजनीतिक गतिविधि हेर्दा के देख्नु हुन्छ ? 
–अहिले जब कोष्ठवाला नेकपाले जब सरकार बनायो, दुईतिहाई बहुमत हासिल गरिसकेपछि । त्यो दुई तिहाई बहुमतको दम्भका आधारमा सरकारलाई निरङ्कुश ढंगले संचालन गर्ने र विशेष गरेर सामाजिक फाँसीवाद लागू गर्ने प्रयासमा उनीहरु लागि परेका छन् । र, यही संविधान पनि पश्चगामी छ, भन्ने हाम्रो भनाई हो । अहिलेको सरकार त यही पश्चगामी संविधानले दिएको जनताको मौलिक हक पनि खोस्ने, जनताको शान्तिपूर्ण तरिकाले जम्मा भएर सरकारको विरोध गर्न पाउने अधिकारलाई पनि खोस्ने, मजदुरहरुको हड्ताल गर्ने स्वतन्त्रतालाई पनि खोस्ने । अझ एउटा नयाँ कानुन बनाएर अब त जुलुश गरेर एक छिन बाटो जाम भयो भने ३ वर्षसम्म जेल हाल्नेसम्मको विधेयक प्रस्तुत गर्दैछन् भन्ने सुनिएको छ । यो सरकारले सामाजिक फाँसीवाद लागू गर्दै छ । कुरामा समाजवाद तर, भित्र फाँसीवाद । समाजवादको तयारीका लागि भन्दै फाँसीवाद लागू गर्दै गईरहेको छ । त्यसकारण हामी समयमै सचेत भएर यसकाविरुद्ध संघर्ष गर्न सकेनौँ भने यो ढिलो भईसकेको हुन्छ  । र, फाँसीवाद लागू भईसकेपछि जनताले धेरै नै दुःख पाउँछन् । र, राष्ट्रले धेरै दुःख पाउँछ । 

० कसरी फाँसीवाद भन्नु हुन्छ ? 
–फाँसीवाद भनेको यही हो । पूर्ण रुपले फाँसीवादी भईसकेको भन्ने कुरा त होईन । तर, यो फाँसीवादतिरको कदम चैँ हो । फाँसीवादमा त्यही त हुन्छ नि । जनतालाई अधिकारहरु हुँदैन । सम्पूर्ण अधिकारहरु राज्यले प्रयोग गरेको हुन्छ । राज्यकाविरुद्ध बोल्नु नै राष्ट्रकाविरुद्ध बोल्नु भन्ने अर्थ लगाईन्छ । शासकहरु निरङ्कुश बन्छन् । त्यहाँ भ्रष्टाचार चरम अवस्थामा पुग्छ । कुनै कुराको विरोध गर्न पाइँदैन । राज्यलाई हिंसामा प्रयोग गरिन्छ । सामाजिक फाँसीवादमा यो सबै कुरा हुन्छ । एकै चोटी देखिँदैन । त्यो विस्तारै हुने हो । जनताका मौलिक अधिकार खोसिए । कुनै पनि ज्ञारेन्टी गरिएन । भ्रष्टाचार चरम अवस्थामा पुग्यो । शिक्षा र स्वास्थ्य क्षेत्र निजीकरण, व्यवसायीकरण र माफियाकरणतिर गईरहेको छ । यो सबै दिशा सरकारले पक्डिएको छ । हेर्दा खेरी के देखिन्छ र राजनीतिक रुपमा यसलाई के भन्दा उचित हुन्छ भने, सामाजिक फाँसीवाद । भनाईमा समाजवाद, गराईमा फाँसीवाद ।

० अहिले त व्यवस्था सुधार हुन लागेको होईन र भन्या ? 
–के मा सुधार ? खै सुधार भएको त कतै पनि देखिँदैन । 

० सम्वृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन नारा, कोही नियम विपरीत चल्न पाउँदैननन्, सबै विधिको शासनमा अटाउँछन्, त्यसै अनुरुप चल्छन्, अबको सरकारले पहिले जस्तो छाडा कसैलाई छोड्दैन भनेर यो सुधार गर्न खोज्या हैन र ? 
–यो सुधार हैन हेर्नुस् । भन्न त फाँसीवादीले पनि त्यसै भन्छन् । सम्वृद्धिको कुरा आज आएर ओली सरकारले मात्रै गरेको हो र ? राजा महेन्द्रले कति गरेका थिए । उनले त पञ्चायती व्यवस्था ल्याएकै विकासका लागि भनेका थिए । बहुदलीय व्यवस्थामा झगडा, टन्टा हुन्छ । जुलुश नारातिर मान्छे अल्मलिन्छन् अब अलमलिने कामै छैन । अब विकासतिर अघि बढ्ने भनेका थिए, महेन्द्रले । पञ्चायत विकास गर्नकै लागि ल्याएको भनेका थिए । पछि आएर वीरेन्द्रले नेपाललाई एसियाको मापदण्डमा लैजाने भनेका थिए । पञ्चहरुले भाषण गरेको हामीले सुन्ने गरेकै छौँ । अरुले सय वर्षमा गरेको काम हामीले १० वर्षमा गर्नुपर्छ भन्थे । एसियाली मापदण्डको कुरा आउँदा विकासको मुल फुटाऔँ भनेर नारै लगाएका थिए । कतिपय कलाकारले गीतै पनि गाए विकासको मुल फुटाऔँ भनेर । कहाँ के चैँ भयो ? भनिदिँदैमा हुन्छ र त्यो ? जनतालाई जबसम्म अधिकारसम्पन्न गरिँदैन र जनता नै विकासको काममा लाग्दैन भने दुनियाँमा कँही विकास हुन्छ ? जनतालाई अधिकार केही पनि नदिने ? छाडा नछोड्ने रे ? के जनतालाई छाडा नछोड्ने भनेको, देश त जनताको हो नि ! उनीहरुले छाडा छोडेर छोडिने हो र ? यो । यो देश सबै जनताको न हो । 

० उहाँहरुको भनाई त जसले जनतालाई दुःख दिन्छन्, उनीहरुलाई नछोड्ने भन्ने हो । के यो ठिक छैन ? 
–जनतालाई दुःख नदिने होईन, सरकारलाई दुःख नदिने भन्नुस् न । मण्डलामा गएर जुलुश लगाउँदा जनतालाई के दुःख हुन्छ । सरकारको विरोध भयो, उसलाई दुःख पर्ने भयो । त्यसैले निषेध गर्ने, लाठी चार्ज गर्ने हो । के जनतालाई दुःख भयो ? सरकारलाई चैँ दुःख भएको हो । विरोध गर्दा खेरी नाङ्गिने भयो । चुनाव अघि दिएको नारा हो, ओलीको । सम्वृद्ध नेपाल र सुखी नेपाली । त्यो ठिक उल्टो भएको छ । भएको सम्वृद्धि पनि खोसिदै छ, अब । सुखी नेपाली हैन दुःखी नेपाली बनाउने भो सरकारले । केही अधिकारै छैन । जनताका अधिकार खोसेपछि, त्यो जनता कस्तो हुन्छ ? जनता भेडा बाख्रा त होईन । जनतालाई त अधिकार चाहिन्छ । अनिमात्रै उनीहरु सुखी हुन्छन् । अधिकार जति खोस्ने अनि सुखी बनाउने भनेर कहीँ हुन्छ ?

० उहाँहरुले भनेको ठिक छैन, बाटोमा हिँडिरहेका मान्छेलाई रोक्दा, जाममा पार्दा, दुःख हुन्छ । यस्तो गर्नु हुँदैन भन्ने कुरा ठिक छैन ? 
–त्यस्तो कुरा पनि कहीँ राजनीतिमा गरेर हुन्छ । कहाँ हुँदैन जुलुश भन्नुस् त । त्यसो भए त जुलुश नारा गर्नै पाइँदैन भन्नु पर्छ । हुँदा हुँदा त्यो कहाँसम्म पुग्छ भने, राजनीतिक पार्टी नै खोल्नु हुँदैन भन्नेतिर जान्छ । बाटोमा जनतालाई माग राख्छन् । सडक आन्दोलन भनेको के हो ? सडकैमा नउत्रिनु कोही पनि जनता ? दुःख हुन्छ, गाडि जाम हुन्छ भन्ने हो भने त, जनताको त्यो अधिकार पनि खोसिदिए भैगो नि । जम्मै मौलिक अधिकार खोसिदिएपछि अनि जनता सुखी हुन्छन् त  ? त्यो त फाँसीवादीहरुले मात्रै सोच्छन्, त्यस्तो । 

० उहाँहरुले राजनीतिमुक्त समाज खोज्या भन्ने हो, तपाईको भनाई ? 
–राजनीतिविहिन समाज भन्नुस् न !  पञ्चायती व्यवस्था अझ अर्को शैलीले ल्याउन खोजिएको छ नि त यहाँनेर । निर्दलीय व्यवस्था भनिन्थ्यो । अब एउटै नेकपा भए पुगिहाल्यो । अरु पार्टीलाई केही पनि गतिविधि गर्न नदिने । उसले जे पनि गर्न पाउने भईहाल्यो । किन कि , उ सरकारमै छ । 

० एकदलीय व्यवस्थामै जान खोज्या होला त ? 
–हो । एकदलीय व्यवस्थामा र सामाजिक फाँसीवादतिर जाँदैछ, नेकपा । 

० अहिलेको तत्कालको घटनालाई लिऔँ, सत्ताधारी नेकपाले संसद र सत्ताभन्दा निकै पर रहेको नेकपालाई प्रहार गर्‍यो । जनसरकारको कुरा गर्दै हिँडेको नेकपाका कार्यकर्ता सरकारले धमाधम पक्राउ गरिरहेको छ । यो घटनाक्रमलाई कसरी लिनु भएको छ ?
–यो पनि सामाजिक फाँसीवादकै निरन्तरता हो । अहिले टार्गेट विप्लव नेतृत्वको नेकपालाई गरेको छ । अरुले ढुक्क भएर नबसे हुन्छ । अहिले नेकपालाई गरको छ, भोलि अरुलाई पनि हुन्छ । त्यो प्रयोग हो । त्यहाँ गर्दा के हुँदो रहेछ भनेर प्रयोग गरेको हो । प्रतिक्रिया के आउँछ भनेर जाँच्न गरेको हो । यसलाई पचायो भने अर्को पार्टीतिर लाग्छन्, उनीहरु । यस्तै गर्दै गर्दै अरु सबै पार्टीलाई नियन्त्रणमा लिन्छन् । 

० तपाईहरु सचेत हुनुहुन्छ त ? तपाईहरु पनि विरोध गरिरहनु हुन्छ ? 
–हामी त सचेत छौँ छौँ । अरुलाई पनि सचेत गराउँदै छौँ हामी त । यो हाम्रो लागि मात्रै आउँछ भनेर डर होईन । यो सबै पार्टीमाथि आउँछ । सामाजिक फाँसीवाद लागू भयो भने त, सबै भन्दा पहिलो प्रहार त मिडियालाई हुन्छ । तपाईहरु पनि सचेत हुनुस्, मिडियामा पनि अंकुश लाग्छ अब । यो कानुनहरु आउँछ । अब कसैले सडकमा उत्रिएर आन्दोलन नै गर्न पाउँदैनन् । त्यसो गरिए सिधै जेल हुन्छ । अब कतातिर जाँदैछ देश भने, सामाजिक फाँसीवादतिर । फाँसीवादले टार्गेट त मिडियालाई पनि गर्छ नि ! मिडिया खुल्ला भयो भने फाँसीवाद त नाङ्गिन्छ । मिडियालाई त कन्ट्रोल गर्छन् गर्छन् । नेपाली काँग्रेसलाई पनि लक्षित हुन्छ । भईसकेको छ नि, जस्तो भन्नुस् त अहिले संविधानमा प्रस्ट व्यवस्था छ नि सभामुख र उपसभामुख एउटै पार्टीको हुँदैन भनेर । उपसभामुख त दिएको छैन काँग्रेसलाई । त्यसकारण जो यो सामाजिक फाँसीवाद हो । विप्लव समूह अहिले त्यसको सिकार भईरहेको छ । उसैलाई मात्रै हो भनेर कोही ढुक्क नभए हुन्छ । 

० न विप्लवलाई हामीतिरै आउनुस् भनेर घुमाउरो ढंगले भनिएको हो कि ? 
–उनीहरुका भित्र के भएको छ , हामीलाई थाहा हुने कुरा भएन । त्यतातिर के भनौँ । तर, कुरा के हो भने जुन प्रकारको दमनहरु गरिरहेका छन् । त्यसलाई समग्रतामा हेर्नुपर्छ । समग्रतामा हेर्दा त्यो फाँसीवाद लागू गर्ने अभ्यास हो । केही दिन अघि प्रकाण्ड जीलाई पक्रेको मात्रै होईन । कार्यकर्तालाई पक्रिन थालेको त धेरै भईसक्यो नि ! अब उनीहरु त्यसको नेतृत्वतिरै गए । त्यो संकेत हो । त्यसकारण समग्रमा हेर्दा यो सामाजिक फाँसीवादको अभ्यास हो । 

० प्रकाण्डको हातमा हत्कडी लाग्यो । यो के गर्न खोजिएको ? 
–फाँसीवाद लागू गर्ने भनेकै त्यही हो । किन भने नेताहरुलाई कम्तिमा पनि राजनीतिक व्यवहार त गर्नु पर्छ । एउटा अपराधीलाई जस्तो गरेर पक्रिनेवित्तिकै हत्कडी लगाईहाल्ने भन्ने हुन्छ र ? त्यो राजनीतिक पार्टीको मान्यता नदिएको न हो । राजनीतिक पार्टीहरुलाई अवमूल्यन गर्ने, उनीहरुको हुर्मत लिने अब, अपमानित गर्ने, दण्डित गर्ने, यो काम गर्न सुरु गरेको न हो त्यो । हत्कडी लगाउनु पर्ने जरुरत के ? मुद्दा हो भने मुद्दा के लगाएको हो, र कानुनी राज्य खडा गर्न खोजेको हो भने त, उनीहरुले लगाएको मुद्दा सार्वजनिक गरे भईहाल्यो नि त ! त्यस्तो केही छैन । मान्छेलाई गिरफ्तार गरेको छ, हत्कडी लगाएको छ । यातना दिएको छ । यो भनेको के हो, फाँसीवाद । हामीले भन्दा पूर्वाग्रबाट भन्यो भनेर भन्छन् मान्छेहरु, र त्यस्तो सोच्दा होलान् । तर, व्यवहारले त्यही कुराको पुष्टि हुँदैन छ । हामीले समयमै सोचेनौ भने यो मुलुक सामाजिक फाँसीवादमा जान्छ । दुईतिहाईको प्रयोग त्यसैका लागि हुन्छ । 

० सत्तामा रहेको नेकपा र सत्ताभन्दा निकै पर रहेको नेकपामा यो घटनालाई उत्तिकै कम्पन भएको कुरा आयो । सत्ताधारी नेकपाभित्रै नेताहरुले प्रकाण्डको गिरफ्तारी अनावश्यक भने । हिजो संगै रहेका व्यक्ति, गृहमन्त्री हुनुहुन्छ । गृहमन्त्रीले विप्लव नेतृत्वको नेकपाका नेताले आपराधिक गतिविधि गरेको भनेरे सोझै भनिदिनु भयो । कुरा याे चैँ हाेइन ?
–सत्ताधारी नेकपामा त त्यति कम्पन भएको मैले देखेको छैन । केही मान्छेहरु आफ्नो अनुहारमा पोतिएको कालो हटाउन विलौना गरिरहेको देखेको चैँ हो । अलिअलि विलौना गरेको सुनिन्छ । म त्यसमा संलग्न छैन भनेर उम्किन खोजेको होला त्यो । उनीहरुकै नेतृत्वको कुरा हेर्नुस् न । एक जना प्रवक्तालाई ओली र प्रचण्डले हप्काईसकेपछि म यो हप्काई सहन्न र राजीनामा दिएँ भनेर हिँडेको मान्छे फेरि प्रवक्ता बनेर व्रिफिङ गर्दै छन् । ति मान्छेहरु विरोधमा उत्रिए र सत्ताधारी नेकपामा कम्पन गयो भन्ने कुरा त म मान्दिन । त्यस्तो असर परेको जस्ता लाग्दैन । फाँसीवाद लागू गरे भने मनपरी गर्न पाईन्छ र लुट्न पाईन्छ भनेर भित्रभित्रै खुसी भईराखेका होलान् जस्तो लाग्छ । यस्तो बेलामा बोलेको बाहिर समाजमा देखिएको खै । कसरी असहमत छन् भनेर भन्ने ? त्यो चैँ होईन । जुन अहिले गृहमन्त्री बोलिरहेका छन् । फाँसीवाद लागू गराउने जिम्मा उनलाई दिईएको छ, उनीमार्फत काम हुँदैछ । उनी अन्धो भएर त्यसलाई लागू गर्दै छन् । फाँसीवाद लागू गर्न विशेष विशेष पात्रहरु चाहिन्छ , नि ! सबैले त्यो काम गर्न गर्दैनन् । त्यसैले पात्रहरु खोजेर गरिएको हो ।  

० गृहमन्त्रीले व्यक्तिगत वा पार्टीगत आग्रह पूर्वाग्रह भन्दा पनि मैले गृहमन्त्रीको जिम्मेवारी बहन गरेको हुँ भनिरहनु भइको छ ? उहाँले भनेको कुरा ठिक छैन ?  
–गर्ने त त्यही त हो नि ! त्यो हिटलरले के गरेको थियो र ? हिटलरको व्यक्तिगत के थियो र ? सिस्टमलाई लागू गरेको थियो उसले पनि । हिटलरको सबैसँग व्यक्तिगत दुस्मनी थियो र ? थिएन नि ! त्यसलाई लागू गर्दा बदमासी गर्‍यो । गर्ने त्यही हो । जिम्मेवारी पूरा गर्ने भन्दै लागू गर्ने न हो । 

० अनि, आपराधिक गतिविधि गर्ने मान्छेलाई त्यतिकै छोड्न मिल्छ त ?
–छोड्न मिल्दैन त त्यसको तरिका हुने भयो नि ! एउटा राजनीतिक पार्टीको लिडरलाई पक्रिँदा त अपराधि होस् भन्दिने । 

० तरिका भएन भन्नु भा ?  
–त्यो त राजनीतिक हुनु पर्यो नि । तिमिले यो गतिविधि किन गरेको भनेर पार्टीलाई प्रश्न गर्न पर्ने होईन । व्यक्तिमाथि आरोप लगाउने हो भने, के–के आरोप भनेर सार्वजनिक गर्नु पर्‍यो । कानून सम्वत् तरिकाले जानु पर्‍यो । जसलाई मन लाग्यो उसलाई समाईदिएको छ , हत्कडी झुण्ड्याई दिएको छ । यातना दिएको छ । यो पनि कहीँ तरिका हो यो । उनीहरुले भन्ने गरेको लोकतान्त्रिक अभ्यास हो त यो ? यो चैँ लोकतन्त्र हो भने, फाँसीवाद भनेको के हो ? पहिले हामीले संकेत पाएर सामाजिक फाँसीवादतिर जाँदै छ भनेका थियौँ । अब त्यो व्यवहारमा देखिने भयो । 

० हत्कडी लगाईएपछि प्रकाण्डले प्रतिक्रान्ति सुरु भयो भन्ने भयो । त्यो भन्या चैँ के हो, के हुन्छ ? 
–हाम्रो विचारमा त प्रतिक्रान्ति अगाडिबाटै सुरु भएको हो । नेपालमा जसरी क्रान्तिका उपलब्धिहरुलाई खोसियो । त्यहीँबाट प्रतिक्रान्ति सुरु भएको हो । त्यो उपलब्धिहरु खारेज गरियो, फेरि पुरानै व्यवस्था लागू गरियो । प्रतिक्रान्ति भनेको त त्यही त हो नि !  क्रान्तिका उपलब्धिलाई उल्ट्याएर प्रतिगामी काम गर्नु भनेको प्रतिक्रान्ति नभई के हो ? 

० सरकार अथवा सत्ताधारी दल प्रतिक्रान्तिमा लाग्यो ? 
–प्रतिक्रान्तिमा गएर त सामाजिक फाँसीवाद लागू गर्न लागेको छ । क्रान्तिले सफलता पाएको भए प्रतिक्रान्ति गर्नेहरु त कहाँ हुन्थे हुन्थे । क्रान्ति एक प्रकारले पराजित भयो भनौँ । क्रान्तिले धक्का खायो । प्रतिक्रान्तिकारीहरु हावी भए । 

० पार्टीको नामै उहाँहरुले (ने क पा) भनेर राख्नु भा छ ? कसरी प्रतिक्रान्तिकारी ? 
–नाम राखेर प्रतिक्रान्तिकारी नहुने हो भने, अथवा नामकै कुरा गर्नु हुन्छ भने । हिटलरको पार्टीको नाम चैँ फाँसीवादी थिएन । हिटलरको पार्टीको नाम के थियो भने ? राष्ट्रिय समाजवाद भन्ने पार्टी थियो । के नरामं्रो हो त्यो राष्ट्रिय समाजवाद भनेको ? फाँसीवादीहरुले फाँसीवादी हुँ म भनेर भन्छन् र ? तानाशाहहरुले म तानाशाह हुँ भनेर भन्छन् र कहीँ ? भन्दैनन् । पञ्चायती व्यवस्था पनि त प्रंजातन्त्र नै भनको थियो नि हैन । पञ्चायती प्रजातन्त्र भनेको न हो । राजा महेन्द्रले प्रजातन्त्र मास्न ल्याएको हो पञ्चायत भनेर भनेर कहिल्यै ? माटो र देश सुहाउँदो प्रजातन्त्र ल्याएको भनेको होईन र महेन्द्रले ? उनलाई किन निरङ्कुश भनियो । कसैले पार्टीका नाम राख्दैमा हुन्छ र ? नाम को पुष्टि हुन पर्छ कि पर्दैन ? त्यो पुष्टि भएको छ त छैन । अहिलेको ब्राकेट नेकपालाई कम्युनिष्ट भन्ने त नबुझ्ने ले मात्रै हो । जे उनीहरुले गर्न खोजेको भनेर कांग्रेसहरुले भनिरहेका छन् । विचरा उनीहरुको विश्लेषण पुगेको छैन । देउवा जी ले के विश्लेषण गरे ? कम्युनिष्ट तानाशाही लागू गरेको रे ? यस्तै हुन्छ कम्युनिष्ट तानाशाही ? लेनिनले रुसमा लागू गरेको जस्तै हो र यो ? विश्लेषण गर्ने तरिका भएन कांग्रेसको । कांग्रेसीहरुले ९–१० सालमा जे भन्थे त्यही भनिरहेका छन् । 

० भनेको,  कांग्रेसले यिनीहरुले के भनिराखेका छन् भन्ने भेउसम्म पाउन सकेको छैन ? 
–छैन । त्यो उनीहरुको पूरानै विश्लेषण छ । नयाँपन केही पनि छैन । भए भरका जम्मै कम्युनिष्टलाई गाली गर्दै हिँडेका छन् । त्यस्तो पनि कँही हुन्छ । हामी कम्युनिष्ट होईन ? यो सामाजिक फाँसीवाद हो भनेर उनीहरुलाई नङ्गयाउने काम त हामीहरुले गरिरहेका छौँ । जो सच्चा कम्युनिष्ट छन्, उनीहरुलाई प्रहार हुनेगरी जम्मै एउटै हुन्छन् भनिरहेका छन् । त्यो कांग्रेसीहरुको कमजोरी हो । तर, (ने क पा) कम्युनिष्ट होईन । कम्युनिष्ट नजरबाट हेर्दा त्यो कम्युनिष्ट पार्टी नै होईन ।  

० तपाईले भने अनुसार त अब सत्तामा रहने र सत्ता नजिक हुने मात्रै सुरक्षित छन्, बाँकी सबै खतरामा हैन ? नागरिकले अब के हुन्छ भनेर बुझ्ने ?   
– त्यो खतरामा हेर्नु होला । हामीले त अलिक अगाडि नै भनेको हो । सम्भावना छ भनेर भनेको त धेरै भईसक्यो । हाम्रो पार्टीले त्यही विश्लेषण गरेको । अहिले त क्रमशः लागू हुँदै जाँदै छ नि ! सबैले बुझ्छन् अब । हामी सबैले मिलेर बनाएको संविधान भनेर अंकमाल गर्दै हिँडेको कांग्रेसले त अहिले आएर बुझ्न थाल्यो । त्यो फाँसीवाद त सबैमाथि लागू हुन्छ नि अब । क्रमशः हामी सबैले बुझ्दै जाने कुरा आउँछ । 

० तपाईहरु त हिजो संगै हिड्नु भा, अलिक अगाडि नै जानकारी हुन्छ होला । हुन्छ के त ? 
–अब विस्तारै फाँसीवाद लागू हुन्छ । हामी एकपल्ट सँगै काम गरेको भन्ने कुरा त एउटा ईतिहास भईहाल्यो । ईतिहासमा भएको थियो । हामीसँग काम गरेका मान्छेहरुले बाटै छोडेर अर्कै दिशा पक्डिसकेपछि अब हामीसँग साईनो सम्बन्ध केही पनि छैन । उनीहरु अर्कै भईसके । 

० विलकुल अलग ? 
–हेर्नुस् न एउटा कम्युनिष्ट पार्टी र फाँसीवादी पार्टीमा हुने अन्तर देखि सकियोन्त अब । आफ्नै साथीहरुलाई अपराधि भन्न थालिसके । छोड्दिन भन्न थालिसके अनि कसरी कम्युनिष्ट भन्ने र साईनो सम्बन्ध छ भन्ने ? अहिले नै भन्ने हो भने, विप्लव र वादल एक ठाउँमा काम गरेका रहेछन् भनेर कसरी भन्ने ? हामीले प्रचण्डसँग विद्रोह गर्दा विप्लव पनि हामीसँगै हुनुुहन्थ्यो, वादल पनि हामीसँगै हुनुहुन्थ्यो । ईतिहासमा फर्केर हेर्दा त हो नि एउटा कुरा । अब त्यो एक ठाउँमा थियो भन्दा के अर्थ भयो भन्नुस् त ? हामीले बुझ्नु पर्ने के हो भने सामाजिक फाँसीवादतिर मुलुक गयो । 

० उहाँहरुलाई कम्युनिष्ट नभन्नु भन्नुहुन्छ, के नेपालमा कम्युनिष्ट छैनन्, उसो भए ? 
–कम्युनिष्ट किन छैनन् । छन् । उनीहरु पो भएनन् । अरु त छन् नि ? सत्तामै भएपछि मात्रै देखिने भन्ने कुरा त भएन नि ! सत्ताभन्दा बाहिर छन् । फाँसीवादको विरोध गरिरहेका छन् । प्रतिक्रान्तिविरुद्ध लड्छौँ भनिरहेका छन् । असली कम्युनिष्ट त उनीहरु हुन् नि त । 

० टुक्रा टुक्रामा भएका टुक्रे कम्युनिष्ट ? 
– टुक्रामा त त्यस्तै हो हेर्नुस् परिस्थितिले । प्रतिक्रान्ति हावी भएको बेलामा प्रतिक्रान्तिले फुटाईदिन्छ । गिरफ्तार हुन्छ । अपमानित गर्छ । सबै कुरा गर्छ नि त ! 

० अनि टुक्रे पार्टीबाट नागरिले के आशा गर्ने ? 
–कुनै जमानामा हाम्रो पार्टीले जनयुद्ध गर्दा कसले पत्याएको थियो र ? यिनै ओलीले भन्या होईन । गुलेली हान्ने ढंग छैन, सेना बनाउँछौँ भन्छन् भन्थे ओलीले । तिनै गुलेली हान्ने ढंग नभएको भनिएको पार्टीले ३० हजार सेना निर्माण गरेर त्यत्रो तहल्का मच्चायो । यदि हाम्रो लाईन र विचार ठिक छ भने । र, जनताको पक्षमा, राष्ट्रको पक्षमा छौँ भने त्यो सानो शक्ति पनि ठूलो हुन्छ । यदि त्यो जनताको पक्षमा छैन र त्यो जनताको विरोधमा छ, भने ठूलो भएपनि सिद्दिन्छ । हिटलर विश्व विजय गर्छु भनेर हिँडेको होईन र ? आखिर कहाँ पुग्यो त पछि गएर । कुरा त त्यही सत्य हो नि !   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ