arrow

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७५ भदौ १ शुक्रबार
manohora-planting.jpg

काठमाडौं। ‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा रोप्न शुरु गरिएको छ। नगरपालिकाको वडा नं १ मा नौ हजार बिरुवा रोपियो। बिरुवा संरक्षणका लागि वरिपरि बाँस गाडेर तारबारले घेरिएको छ।

नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी सडकको दायाँबायाँ बिरुवा रोपी संरक्षण शुरु गरिएको हो। वडा नं १ को एक हजार ३०० मिटर सडक क्षेत्रमा बिरुवा रोपी संरक्षण गर्ने र सडक कालोपत्रे गर्ने काम सँगसँगै भइरहेको वडाध्यक्ष मुकुन्द गजुरेलले बताए। सडक पक्की बनाउने र दायाँबायाँ हरियाली बनाउने कामलाई नगरपालिकाले एकैसाथ अघि बढाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाललाई फलफूलको बगैँचा बनाउने सोचअनुरुप वडाभर सात हजार १०० बिरुवा बाँडेको जनाएको छ।

“वडाका एक हजार ४०० परिवारलाई प्रतिघर आँप र अम्बा एक-एक, कागतीको तीन बोट गरी पाँच बिरुवा बाँडियो, अरु जातका एक हजार २०० बिरुवा वडावासीलाई बाँडियो”, उनले भने। वडा कार्यालयले बाल उद्धार मावि र सिद्धिगणेश माविलाई बिरुवा उपलब्ध गराएको छ। फलफूलको बिरुवा सिन्धुली र सर्लाही एवं अरु बिरुवा इलाका वन कार्यालय गोकर्णबाट ल्याइएको हो।

वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्थलगत अभ्यास शिक्षण गर्ने व्यवस्था मिलाएको छ। यसवापत नम्बरसमेत दिने व्यवस्था मिलाइएको छ।  वातावरण, सरसफाइ र स्वास्थ्यलाई जोडेर कार्यक्रम लागू गर्न लागिएको हो। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको वडाले नगरपालिकाको ४० प्रतिशत भूभाग ओगट्छ। नगरपालिकाको २८ वर्गकिमी क्षेत्रफलमध्ये वडाले ११.७६ वर्गकिमी ओगटेको छ । उच्च भागको वडा नं १ बाटै नगरपालिकालाई स्वच्छ, सफा बनाउने अभियान थालिएको हो। वडा नं २, आलापोटमा २०० र वडा नं ३, भद्रवासमा २०० बिरुवा रोपिसकिएको छ। वृक्षरोपणले विश्वमा बढ्दै गएको तापमान घटाउन र वातावरण संरक्षण गर्न सहयोग पुर्‍याउने छ।

नगरपालिकाले छ जातका बिरुवा रोपेको छ। जसमा अशोक, लिची, आँप, अम्बा, चिनियाँ गुलाब र नासपाती जातका बिरुवा छन्। बिरुवा संरक्षण गर्न वडालाई जिम्मेवारी दिइएको नगर प्रमुख कृष्णहरि थापाले बताए। धार्मिक मठ मन्दिर तथा नगर क्षेत्रका सार्वजनिक र पर्ती जग्गामा वृक्षरोपणको अभियान चलाइएको छ।

ब्रह्मखेल–सातघट्टे–गागलफेदी–चिसापानी–गोसाइँकुण्ड सडक निर्माण अभियानमा लाग्नुभएका प्रदेशसभा सदस्य रामेश्वर फुयाँल निर्माणसँगै हरित सडकका रुपमा स्थापित गर्न लागिएको बताउछन्। “धार्मिक र पर्यटकीयस्थल गोसाइँकुण्ड जाने सबैभन्दा छोटो मार्ग यही हुन्छ, म सांसद भएका बेला ३ नं क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत यो सडक निर्माण शुरु भएको हो, हालसम्म २० किमी निर्माण भएको छ, कूल १२५ किमी सडकमा अरु काम बाँकी छ”, उनले भने।

प्रदेश नं ३ सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्वच्छ, सफा प्रदेश कार्यक्रमलाई सहयोग पुर्‍याउन नगरपालिकाले बिरुवा रोपी संरक्षण शुरु गरेको हो। प्रदेशको कार्यक्रमलाई सहयोग गर्न आलापोट बृहत् खानेपानी समितिले सुन्दरीजल–आलापोट–सातघट्टे १० किमी सडकमा बिरुवा रोप्न थालेको छ। एक किमी क्षेत्रमा २०० बिरुवा रोपिएको समिति अध्यक्ष शिवराम बस्नेतले जानकारी दिए। जनमार्ग भनिने यो सडक स्थानीयवासीको सहयोगमै बनाइएको निर्माण व्यवसायी बालकृष्ण श्रेष्ठले बताए। स्थानीय एलिजा खड्का सडक निर्माणसँगै पाँच फिट अग्ला बिरुवा रोप्न थालेपछि सौन्दर्यमा वृद्धि भई वाग्मती नदी किनारमा हिँडुहिँडु लागेको बताउछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ