नेपाली कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र

डा. राजकुमार राई, प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार

काठमाडौं।  नेपाली कांग्रेस जहिले पनि लोकतन्त्रको लागि लडेको पार्टी हो भन्ने कुरामा कसैको पनि दुइमत छैन । तर यहि पार्टी भित्र चाहिं आन्तरिक लोकतन्त्र नभएको भन्ने गुनासाहरु सुन्नमा आइरहन्छ ।

जस्तै, पार्टीको शक्तिसाली पदमा पुगिसकेपछि नेताहरुको पहिलाको भनाइ र पछिको व्यवहारमा एकरुपता देखिन्न । नेताहरुको सोंच र व्यवहार आत्मकेन्द्रित छ ।  पार्टीको उच्च तहका नेताहरुबाट कार्यकर्ताको भावना बिपरित काम भैरहेको हुन्छ । तुरुन्त गर्नु पर्ने निर्णयहरुरकामहरु पछि पछि धकेलिइरहेका हुन्छन ।

बास्तबमा भन्ने हो भने पार्टी भनेको नितान्त सार्वजनिक संस्था हो, जुन देश र जनताको हितको लागि स्थापना गरिएको हुन्छ । पार्टी कोहि कसैको व्यक्तिगत सम्पत्ति होइन । तर कतिपय अवस्थामा नेतृत्वबाट पार्टी एउटा व्यक्तिगत सम्पत्ति जस्तो ठान्ने गरिएको देखिन्छ । यसै बिषयलाई लिएर निम्न बुंदाहरुको आधारमा ब्याख्या बिश्लेषण गर्ने प्रयास गरिएकोछ।

विधान सम्मत :
विधान अनुसार चल्नु पार्टीको साधारण सदस्यदेखि उपल्लो तहको सभापतिसम्म सबैको कर्तब्य हो । विधानले नै पार्टी संचालनको लागि मार्गदर्शन प्रदान गरेको हुन्छ । पार्टीलाई जिवन्त बनाउदै अगाडी बढाउन विधानको ठुलो भूमिका हुन्छ । विधान अनुसार काम हुँदै जाँदा पार्टी चुस्त दुरुस्त हुनुको साथै पार्टी संगठनले राम्रो सित काम गरिरहेको हुन्छ।

तर त्यहि विधानमा टेकेर पद हासिल गरिसकेपछि त्यहि विधानलाई बेवास्ता गर्ने पार्टी नेतृत्वको परम्परा जस्तो बनिसकेको छ । धेरै अघि देखि नेतृत्व तहबाट आ-आफ्नो स्वार्थ मिल्ने अवस्थामा विधान मिच्ने काम भैरहेको देखिन्छ। जब नेतृत्वले विधान अनुसार काम गर्नु छोड्छ तब पार्टीको आन्तरिक लोकतन्त्र धरापमा पर्दै जान्छ । र जता सुकै असन्तुष्टिका स्वरहरु गुन्जिन्छ ।

विधानले तोकेको समय भित्र गर्नु पर्ने कतिपय कामहरु भैरहेको हुदैन र पार्टीका निकायहरु तदर्थबादमा गुज्रिरहेको हुन्छन । यसो गर्दा न नेतृत्वले जस पाउँछ न संगठन बलियो हुँदै जान्छ । संगठन चुस्त दुरुस्त हुँदै विस्तार हुनुको सट्टा गिजोलियेर बस्छ र एउटा भुत्ते हतियार जस्तो बन्छ ।

निर्णय प्रक्रिया :
लोकतन्त्र भनेको बिधिको साशन हो । लोकतन्त्र भित्र सबैलाई समान व्यवहार र अवसर प्रदान गरिन्छ । पार्टीलाई जिबन्त राख्न र यसको उद्देश्य पुरा गर्नु पार्टीले निरन्तर निर्णयहरु लिइरहनु पर्ने हुन्छ । परिपक्व निर्णय गर्नको लागि पार्टीमा केन्द्रिय समिति, पदाधिकारीहरु आदिको बैठक बस्दछ । र केहि गम्भीर प्रकृतिको मुद्दामा गाउँ स्तरको कार्यकर्ताहरु देखि पनि राय संकलन गर्नु पर्ने हुन्छ । तर कतिपय अवस्थामा निर्णय प्रक्रियामा त्रुटी हुने गरेको देखिन्छ । र भएका निर्णयहरु पनि ठिक ढंगले लागु नभएको अवस्था पनि छ ।

निर्णयहरु पार्टी हितको लागि भन्दा पनि सिमित व्यक्ति विशेषको स्वार्थको आधारमा भैरहेको देखिन्छ । चाहे पार्टीले निर्वाचनको बेलामा टिकट दिंदा होस् या पार्टी भित्रको पदमा नियुक्ति गर्दा होस् या राज्यको कुनै निकायमा राजनैतिक नियुक्तिको लागि सिफारिस गर्दा होस्, राम्रोलाई होइन हाम्रोलाई गर्ने बढ्दो चलन छ । त्यसो नगरी सबैसंग छलफल चलाएर लोकतान्त्रिक बिधि अपनाएर निर्णयहरु गरेको खण्डमा सबैले अपनत्व बोध गर्ने र कम बिबादित हुने थियो ।

निर्णयहरु गर्दा संस्थापन पक्ष र अर्को अल्पमत पक्ष भनेर गरिनु हुँदैन । महाधिबेशनमा टिम बनाएर निर्वाचन लडे पनि निर्वाचन पछाडी पार्टी एक ढिक्का हुनु पर्दछस संस्थापन पक्ष र प्रतिपक्ष भन्ने हुनुहुँदैन । यसको लागि बढी जिम्मेवारी निर्वाचनमा जित्ने पक्ष को हुन्छ ।

आर्थिक पारदर्शिता :
पार्टी संचालनको लागि अवश्यक पनि ठुलो धनराशिको आवश्यकता पर्दछ । पार्टीमा त्यो धनराशी कहाँबाट कसरि आईरहेको छ र कसरि खर्च भईरहेको छ भन्ने बारेमा जान्ने अधिकार पार्टी भित्रका सबै सदस्यलाई हुनुपर्दछ । मुलुकमा लोकतन्त्रलाई मजबुत बनाउन पार्टी भित्र हुने आर्थिक पारदर्शिता पनि एक हो । यसो भयो भने कार्यकर्ताहरुमा पनि राम्रो विश्वासको बातावरण बन्दछ ।

परिणाम :

आन्तरिक लोकतन्त्र नभएपछि पार्टी भित्र विभिन्न खालको बिकृतिहरु जन्मने गर्दछ । जस्तै, गुट-उपगुटको जन्म, अनुशासनहिनता, निर्वाचनको बेलामा अन्तर्घात असहयोग, चिया पसलदेखि लिएर सडक आदि जतासुकै नेताहरुको खुल्लम खुल्ला बिरोध, कार्यकर्ताहरुमा नैराश्यता आदि । गुट-उपगुट भनेको हाम्रो आफ्नै पेट भित्रबाट निस्केको क्यान्सर जस्तो हो जसरि यसले ज्यानै लिन सक्छ, त्यसरी नै गुट-उपगुटले पनि पार्टीलाई ध्वस्त पार्दछ ।

किनकि गुट - उपगुट भएपछी राम्राले भन्दा पनि हाम्राले अवसर पाउँने र एकले अर्कोलाई असयोग गर्ने प्रबृत्ति हाबी हुन्छ । कार्यकर्ताहरु पनि पार्टीको कार्यकर्ता हुने भन्दा व्यक्तिको कार्यकर्ता बनिरहेको हुन्छन । लोकतान्त्रिक बिधिलाई ध्यान नदिई पार्टीले उम्मेद्वार तोकेमा अन्तर्घात हुने सम्भावना बढी हुन्छ । त्यस्तै यदि नेताहरुमा लोकतान्त्रिक चरित्र भएन कार्यकर्ताहरुमा पनि अनुशासित बन्ने बाध्यात्मक परिस्थिति सिर्जना हुँदैन ।
 
अबको निकास :
पार्टी भित्र पनि आन्तरिक लोकतन्त्र हुनु अति आवश्यक छ । यदि पार्टी भित्र आन्तरिक लोकतन्त्र भयो भने त्यो पार्टी कार्यकर्ता र जनताको माझ ज्यादै लोकप्रिय र प्रभावकारी हुन्छ । पार्टी बर्षौं बर्षसम्म टिकिरहन्छ, होइन भने इतिहासको केहि कालखण्डपछि त्यो पार्टी नासिएर जान्छ।

नेपाली कांग्रेस भनेको एउटा राष्ट्रिय पार्टी हो र यसको जिम्मेवारी भनेको राष्ट्रिय एकता कायम गर्नु पनि हो । यदि नेपाली कांग्रेस कमजोर भयो भने राष्ट्रीयता कमजोर हुन्छ । त्यसकारण पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै पार्टीलाई प्रभाबकारी बनाउन नेतृत्व असल हुनु पर्दछ । असल नेतृत्व भेनेको त्यो हो जो संग निम्न गुणहरु भेटिन्छ।

(क) पार्टीलाई आफ्नो कार्यकाल भित्र कुन उचाइमा पुर्याउने भन्ने स्पष्ट दुरदृष्टि हुन्छ ।
(ख) पार्टीका सबै कार्यकर्ताहरुलाई समान व्यवहार गर्न र समान अवसर दिन सक्ने र हाम्रालाई भन्दा राम्रालाई अवसर दिन सक्ने इच्छाशक्ति हुन्छ ।
(ग) पार्टीलाई विचार दिन सक्ने अर्थात् नयाँ नयाँ बिचारको लागि पार्टीका साथीहरुलाई प्रोत्साहन गर्न सक्ने क्षमता हुन्छ ।
(घ) विधानलाई हुबहु पालना गर्ने इच्छाशक्ति हुन्छ ।
(ङ) त्यागि, नैतिकवान र निडर हुन्छ ।
(च) आफ्ना र चाकडीबाजले घेरिएको प्रतिकुल अवस्थामा पनि पार्टी हितको लागि स्वबिबेक निर्णय लिन सक्ने क्षमता हुन्छ ।

email : drrkrai9@gmail.com

नयाँ