- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा काठमाडौंमा हुँदैछ । सम्मेलनले घोषणापत्र र बडापत्र पारित गर्ने छ । बिम्स्टेकको प्राथमिकतामा पर्ने १४ वटा कार्यक्षेत्रमा पनि केही नयाँ थप हुँदै छन् । यो सम्मेलनमा कनेक्टिभिटी, व्यापार, माउन्टेन ईकोनोमी, ब्लीउ ईकोनोमी, ग्रिड इन्टरकनेक्सन र बुद्धिष्ट सर्किटबारे वृहद छलफल हुने बताइँदै छ । तर, नेपालले बिम्स्टेक राष्ट्र भारत र थाईल्याण्ड एक अर्काको मार्केट खोज्ने कुरामा साथ दिने भन्दा पनि सदस्य सबै राष्ट्रबीच सहकार्य गर्दै अघि बढ्ने कुरामा जोड दिन सक्छ कि सक्दैन ? कुटनीतिमा मुलुकको साझा रणनीति अनुरुप चल्नु पर्छ वा स्वेच्छाले जे गर्दा पनि हुन्छ ? सम्मेलन गराएर शिष्टाचार मात्रै गर्ने हो वा कुटनीतिक कौशल पनि प्रर्दशन गर्ने हो ? हामीले यही विषयमा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग कुरा गरेका छौँ ।
० नेपालमै सम्मेलन हुन लागेको भएर होला, बिम्स्टेक, बिम्स्टेक भनेर हामीले निकै सुनि राखेका छौँ, के हो यो बिम्स्टेक ?
–बिम्स्टेक पाँच वटा सार्क र दुईटा आसियन राष्ट्रलाई मिलाएर १४ वटा विषयमा हामी सहयोग सहकार्य गर्छौँ भनेर बनेको एउटा फोरम हो । यो सार्कको विकल्प पनि होईन । आसियनको विकल्प पनि होईन । सार्क र आसियनलाई जोड्ने पुल मात्र हो । यो सेक्टोरियल को–अपरेशन अर्थात् बंगालको खाडी वरीपरी भएका देशहरुले बनाएका हुन् । यसमा अब दुई चार वटा विषय थप्लान् । माउन्टेन ईकोनोमी र यो ब्लीउ ईकोनोमी । सी को डेभलपमेन्ट मेरिन ईकोनोमीलाई ब्लीउ ईकोनोमी भन्ने गरिएको छ । त्यो दुई वटा पनि थप्ने भनिएको छ । यस्तै, सार्कका अरु पनि मेजुरिटी देशहरु जोडिन बाँकी छन् । ईमरान खान पाकिस्तानको प्रधानमन्त्री भएपछि भारत र पाकिस्तानको वार्ता हुने सम्भावना बढेको छ । यी दुई देशको सम्बन्धन सुध्रिनेवित्तिकै सार्क फेरि सक्रिय हुन्छ ।
० भारतीय प्रधानमन्त्रीले भन्दै आउनु भएको छ । अब सगरमाथाको देश सागरसँग जोडिन्छ भनेर, त्यो यही बिम्स्टेकबाट गर्ने भन्न खोजेको हो उहाँले ?
–बिम्स्टेक पनि एउटा हो । जस्तो हामी कहाँ पानी परिराखेको छ । त्यो बंगालको खाडीबाट आएको वादलले पारेको पानी हो । हाम्रो मनसुन र हाम्रो वर्षा भनेको बंगालको खाडीबाट आउने हो । यहाँबाट गएको पानीले कहिल्यै सिंचाईको लागि राम्रो गर्छ । कहिल्यै बाढीले दुःख दिन्छ । नेपालले समयमा यति धेरै पानी परेको छ र, बाढी आउनसक्छ उपाय गर्नु है भनेर खबर गरिदियो भने त्यहाँको नोक्सान रोक्न सकिने रहेछ । त्यसैले बंगलादेश र भारतको,, खास गरेर बंगालको कुरा आउँछ । त्यसैले प्रकृतिले जोडेको । नदी, नाला, जलवायु र समुद्रले पहाडलाई जोडेको हुनाले सागरदेखि सगरमाथासम्मको सम्बन्धको कुरा आएको हो । र, बंगालको खाडीसँग हाम्रो प्राकृतिक सम्बन्ध भयो ।
०कुटनीतिक सम्बन्धको कुरा । भारत र थाईल्याण्ड एक अर्काको मार्केटको सम्बन्ध बनाउने संगठन बनाउन खोजियो कि भन्ने कुरा पनि आईरहेका छन् । यहाँनेर नेपालले के मा बुद्धि पुर्याउनु पर्दछ ?
–नेपालले गर्नु पर्ने त मूख्य कनेक्टिभिटीकै कुरा हो । कनेक्टिभिटी भनेको सडक यातायात, रेल यातायात, जल यातायात । जलमार्ग भारतसँग मात्रै सिमित नगरेर बंगलादेशसँग पनि जोड्नु पर्छ । त्यसले सस्तो सामान पनि पुर्याउन सकिन्छ । अहिले एडिबीको सहयोगमा लक बनाईसकेको छ । खुल्नापोट जानसक्ने पनि बनाउनु पर्दछ । अर्कोतिर हाम्रो विजुली किन्छु भनिएको छ । सम्झौता पनि बंगलादेशसँग भईसक्यो । बिम्स्टेक पावर ग्रिड बनाउने प्रस्ताव पनि छ । त्यसमा हस्ताक्षर भएर हामीले ट्रान्समिसन लाईनको सुविधा पायौँ भने, ३ वर्षपछि विजुली बेच्न सकिन्छ । पानीमा पनि के छ, भने सुख्खा याममा आपत पर्दो रहेछ । भारत र बंगलादेशलाई । हामीकहाँ जलाशय बनोस् र पानी आओस् भन्ने चाहन्छन् उनीहरु । ठिक छ, हामी जलाशय बनाउँला । जहाज चलाउन पनि जलाशयको हाईट हुनु पर्छ । हामीले लगानी गरेर ड्याम बनाएपछि त्यहाँबाट जाने पानी रेगुलेटेड वाटर हो । डाउनस्टिम वाटर भएर परोपकार भएर सित्तै पानी दिने कुरा आउँदैन । त्यसको ग्यारेन्टी पनि खोज्नु पर्छ ।
० अनि, कुटनीतिक प्रदर्शन गर्दा नेपालले यो सँगठनभित्र के गर्नु पर्दछ ?
–नेपालले यसलाई सफल बनाउनको लागि कोसिस गरिराखेको छ । यो पल्ट अरु बेला भन्दा विभिन्न क्षेत्रगत मन्त्रालयहरु मिलेर तयारी पनि गरेको छ । कर्मचारीको पनि उच्च तहमा बैठक भईराखेको छ । मन्त्रीस्तरीय बैठकले फाईनल गरेपछि शिखर सम्मेलनमा घोषणापत्र र बडापत्र यो पल्ट पारित हुनेछ । यो महत्वपूर्ण हो । अनि सचिवालय बलियो बनाउने कुरामा पनि नेपालले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ । र, गएको वर्ष गोवामा बिम्स्टेक र ब्रिक्सको आउटरिच सम्मेलन भयो । त्यसपछि यसले नयाँ गति लिएको हो । त्यहाँ छलफल भयो । भारतले पाकिस्तान र चीन नभएको ठाउँमा आफ्नो राज चल्छ भनेर बिम्स्टेक भनेको हो भन्ने कुराहरु आयो । तर, भोलि पर्सि यो दक्षिण एसियामा आतंकवाद समाप्त पार्नलाई भारत र पाकिस्तान मिलेरै अगाडि बढ्नु पर्छ ।
किन भने पाकिस्तानमा पनि आतंकवादले निकै नोक्सान गरेको छ । अहिले ईमरान खान आएका छन् । उनलाई आर्मीको पनि साथ छ । पाकिस्तानले ठोस निर्णय लिन सक्छ, कार्यान्वयन गर्न सक्छ । ट्रम्प र किमको कुरा हुनसक्छ भने, एउटै क्षेत्रमा रहेका पाकिस्तान र भारतबीच किन कुरा नहुने ? नेपालले त्यसमा भूमिका खेलेर दुई देशको सम्बन्ध पनि सुधार्न लगाउने । सार्कको शिखर सम्मेलनलाई पनि सफल गराउनेतिर जानु पर्छ । विभिन्न तहको क्षेत्री संगठनहरु आवश्यक छ । एउटा कुरा नेपाले के गर्नु पर्छ भने, कसैको नेतृत्व अथवा प्रभाव होईन सार्वभौम समान देशको सहकार्य भन्ने कुरा बडापत्रमा लेखिनु पर्दछ । समानताको सिद्धान्त लागू हुनु पर्दछ । नेपाल भारतको सम्बन्धको कुरा मात्रै होईन म्यान्मारसम्मको बाटो लुम्बीनी भएर जानु पर्दछ । थाईल्याण्ड र म्यानमारको आकांक्षा पूरै हुँदैन कि बिम्स्टेकबाट भन्ने कुरा आयो । उनीहरु वुद्धिष्ट देश हुन् भनिएको छ । यसपाली विम्स्टेकको अर्को आकर्षण भनेको बुद्धिष्ट सर्किटको सम्भावनालाई बढाउने हो ।
० त्यो किन ?
–बुद्धिष्ट सर्किटमा किन भन्दा, भूटानदेखि लिएर श्रीलंका, थाईल्याण्ड, म्यान्मार सबै बुद्धिष्ट मेजुरिटी छन् । बंगलादेशको पनि चक्मा क्षेत्रमा बुद्धिष्टहरु छन् । बुद्धिष्ट सर्किटलाई बढाउने कुरा महत्वपूर्ण छ । त्यसलाई बढाउँदा पाकिस्तानलाई माईनस गरेर पूरा हुँदै हुँदैन । त्यो हुनै नसक्ने रहेछ । किन भने मूर्ति पूजा भन्ने पहिले थिएन । बुद्ध आफै मूर्ति पूजाको विरोधी । बुद्धको अस्तु राखेर के–के मनाउने मात्रै चलन थियो । तर, पाकिस्तानको गान्दाहार क्षेत्रमा पहिलो बुद्धको मूर्ति भेटियो । बुद्धले तपस्या गर्दा करङ देखिएको मूर्ति, जुँगा भएको मूर्ति त्यो मैले म्यूजियममा हेरेर आएको छु, पाकिस्तानमा । त्यसैले गान्दारलाई राख्नु पर्ने नै हुन्छ । अफगानिस्तानको बामियानमा ठूल–ठूला मूर्ति छन्, विश्वमै ठूला । त्यसलाई राखिनु पर्दछ, यो सर्किटमा । पूर्ण बुद्धिष्ट सर्किट बनाउनको लागि भोलि चीन र पाकिस्तानलाई पनि बिम्स्टेकमा भित्र्याउनु पर्ने दिन पनि छिट्टै आउँछ । भारत र चीनको सम्बन्ध सुध्रिदै गएको छ । भोलि व्यापार बृद्धिले यो सम्भव छ । उता, ट्रम्पको व्यापार युद्धले पनि त्यो कुरा संकेत गर्छ, कि यी दुई देशहरु एक अर्काको नजिक आईरहेका छन् । भविष्यको सम्भावना बढी छ ।