arrow

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा, के लेख्ने के नलेख्ने 

यसरी सकिन्छ भाषा सुधार्न 

logo
अयोध्याप्रसाद श्रीवास्तव
प्रकाशित २०७५ भदौ १३ बुधबार
aayodha-prasad.jpg

काठमाडौं । नितान्त समृद्धशाली भाषाहरूमध्ये संस्कृत यस्तो भाषा हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । तर अन्य भाषा र भाषिकाहरूमा यस्तो विशेषता कमै पाइन्छ । नेपाली भाषा, संस्कृत र हिन्दी (खडी बोली) बाट जन्मेको भए पनि यसको उच्चारण र लेखनमा आफ्नै विशेषता छन् । धेरैे ठाउँको जनजिब्रो फरक–फरक भए पनि यसलाई समग्रमा एउटा राम्रो र परिष्कृत भाषाको रूपमा स्थान प्राप्त छ । 

एक कालखण्डमा भारतमा मुगल साम्राज्य स्थापित रहेकोले नेपाली भाषामा उर्दु, अरबी र फारसी भाषाका शब्द पनि मिसिन आएका छन् । जुनसुकै भाषामा आगन्तुक शब्दहरूलाई कि त जस्ताको त्यस्तै प्रयोगमा लिइन्छ कि त आगन्तुक शव्दहरू स्थानीय जनजिब्रोमा लत्पतिएर अपभ्रंश रूपमा भाषामा प्रवेश गर्ने गर्दछन् र प्रचलनमा आउँछन् । वारेश, तारीख, फिराद, सर्जमीन, मुचुल्का, गवाह, सिपाही, तामेल, असुुल, तहसील आदि थुप्रै कानूनी शब्द उताबाट आएका शब्दका अपभ्रंश हुन् । अंग्रेजी, स्पेनी लगायतका शब्दहरू पनि नेपालीमा मिसिएका छन् । यी सबैको सम्मिश्रण भएर पनि नेपाली भाषाको आफ्नो व्याकरणसहित छुट्टै पहिचान र भाषिक मापदण्ड स्थापित रहेको छ ।

कुनै पनि देशमाथि कब्जा गर्नुछ भने त्यसको धर्म र संस्कृतिमाथि पहिले कब्जा गर्नु पर्दछ भन्ने राजनीतिक कथन छ । विगत केही वर्षदेखि नेपालको धर्म र संस्कृतिमाथि जुन चौतर्फी आक्रमण  भैरहेको छ त्यो छर्लङ्ग छ । संस्कृतिमा भाषाको स्थान प्रमुख हुन्छ । यसकारण नेपाली भाषालाई दूषित पार्नका लागि षडयन्त्रकारीहरूले नेपाल प्रज्ञा प्रतिष्ठानबाट विकृत नेपाली शब्दकोषसम्मको प्रकाशन गराए । तर जनदबावले गर्दा अन्त्यमा यो विसर्जन गरियो । त्यस्तै भाषा बिगार्नलाई वाक्यमा नयाँ शब्दावली जोडेर, शब्द तोडेर, वर्णमा थपघट गरेर के गर्दा बिग्रन्छ, त्यो काम भैरहेको देखिन्छ । कसैले जानेर गरेको होस् या अन्जानमा होस् या लापरवाही अथवा अन्य कमजोरीबस होस् नेपाली भाषालाई दुष्प्रभावित पार्ने काम भने तीब्र रूपमा भैरहेको छ । यसको असर प्रत्यक्ष रूपमा आम नेपालीको शिक्षण र सिकाईमा परिरहेको छ भने भविष्यमा देशमाथि नै दुष्प्रभाव पर्न सक्दछ ।

आज सामान्यतया धेरैजसो नेपालीले पठनपाठन, लेखन र वाचनमा जुन शब्दहरूको गलत प्रयोग गर्न थालेका छन् त्यस्ता शब्दहरू यिनले नत शिक्षा ग्रहण गरे न त त्यसबेलाका स्कूलका पुस्तकमा लेखिएको थियो । न त शिक्षकले नै पढाएका थिए  । यिनले स्वयं यी शब्दहरू यसरी न बोलेका थिए र न त लेखेका थिए । ४–५ वर्ष यता आज अचानक यिनीहरूको बोली वचन र लेखनमा यस्तो परिवर्तन आयो किन ?

यदि पहिलाको शिक्षा दीक्षा गलत थियो भने गलत साबित गर्ने व्याकरण र आधार प्रमाण के हुन् ? यदि पहिलाको शिक्षा दीक्षा गलत थिएन भने अहिले यस्तो अशुद्ध लेखन वाचन किन ? सम्बन्धितहरूले आफ्नो आत्मासँग यसको उत्तर माग्नु पर्दछ ।

अहिले प्रायः के देखिन्छ भने वाक्यमा अनावश्यक शब्द थपेर वा विकृत शब्दको प्रयोग गरेर भाषालाई कुरूप र व्याकरण विहीन पारिदैछ । जस्तै – बैठक चलिरहेको अवस्था थियो । पानी परिरहेको अवस्था छ । घर जलिरहेको अवस्था थियो । बाढी आइरहेको अवस्था छ । सरकारले सय दिन पार गरेको अवस्था छ । यी वाक्यहरूबाट “अवस्था” भन्ने शब्द झिके पछि पनि वाक्य अधुरो रहँदैन । अपितु शुद्ध वाक्य हुन्छ । त्यस्तै खाँदै गर्दा, बोल्दै गर्दा, जाँदै गर्दा, नुहाउँदै गर्दा जस्ता शव्द खुबै प्रयोगमा आउन थालेका छन् । खाइरहेको, बोलिरहेको, गइरहेको आदि व्याकरण सम्मत शब्दहरू तीव्रताका साथ विस्थापित हुँदै छन् । व्याकरण नै बिगारिरहेका छन् । खाँदै गर्दाको अंग्रेजी बनाउने हो भने eating doing अर्थात् verb को एकसाथ दुई पटक प्रयोग गर्नुपर्ने भाषाशास्त्रको व्याकरणीय नियमले असंगत हुन जान्छ ।

यस्तो तीव्र रूपमा यो विकृति नेपाल भर कसरी फैलिरहेको छ भन्ने सन्दर्भमा हेर्दा, यसका ६ वटा संचारक र विस्तारकहरू देखा पर्दछन् । १) नेता २) पत्रकार ३) नेताका अनुयायी ४) शिक्षक ५) कम्प्युटर अपरेटर ६) पेन्टर।

कुनै नेताले कुनै शब्दलाई आफ्नो पहिचान, विशेषता बनाउन वा कतैबाट प्रेरित भएर कुनै शब्दलाई बांगोटिङ्गो पारेर थेगोको रूपमा या नयाँपन देखाउने गरी (या आफ्नो उच्चारणको प्रकृतिले नै पनि हुन सक्छ,) शंविधान शमझौता, शरकार, शहयात्री, शंशद प्रत्येक स लाई श बोल्दा अथवा वाक्यहरूमा माथि उल्लेखित “अवस्था” जस्तै अनावश्यक शब्द बोल्न शुरू गर्नासाथ एकातिर पत्रकारले टिप्छ र जस्ताको त्यस्तै प्रशारणमा ल्याउँछ भने नेताका अनुयायीहरू र त्यस नेताका समर्थक र शिक्षक समेतले र कतिपय वकीलले पनि आफूलाई त्यस नेताको निकटको व्यक्ति भन्ने देखाउनलाई नेताको शब्द लेखेर, बोलेर गर्व महशुश गर्दछन् । कम्प्युटर अपरेटर र पेन्टर कतिपयले नजानेर या अल्छीवश आफूले शब्दको खोजी नगरेर अर्काबाट सुने बुझेको भरमा नै लेख्छन्, कीबोर्डको जुन अक्षरमा औँला पर्यो त्यसैलाई थिचेका छन् ।

“अवस्था” “गर्दै गर्दा” जस्ता थुप्रै शब्दहरू नेताहरूका उपज हुन् भने एउटै लाइनमा कुनै शब्द टाइप गर्दा ‘श’ र अर्काे शब्दमा ‘स’ लेख्नु टाइपिष्टको चरम लापरवाही हो । नेता, टाइपिष्ट र पेन्टरलाई बाहेक गरेर हेर्ने हो भने भाषा सपार्ने र बिगार्ने सबभन्दा बढी शक्तिशाली वर्ग शिक्षक र पत्रकार हो । यिनले आफ्नो भूमिका ईमान्दारीसँग निर्वाह गर्ने हो भने कसैले ‘मशाल’ शब्द उच्चारण गर्दा अर्काे व्यक्तिले मोटो मसाल कि पातलो मसाल ? भनेर सोध्ने अवस्था आउँदैन र उत्तरदाताले मशाल भने पुग्छ। एउटा शब्दलाई प्रष्ट्याउनको लागि ‘मोटो मसाल’ भनेर दुई शब्द बोल्नुपर्ने छैन ।

यहाँ दुईवटा घटनाको उल्लेख गर्न प्रासंगिक होला । कानून मस्यौदा समितिमा मेरा एक जना मित्र विद्वान थिए तर लेख्दा शब्दहरू जथाभावी मस्यौदा गर्थे । हामीले शुद्ध लेखनमा प्रेरित गर्दा उनले भाषाशास्त्रीले हेरिहाल्छ नि भन्थे। अर्काे उदाहरण ।  एउटा उच्च कोटीको सम्मेलनमा एक जना महिलाको प्रवचनमा शुद्ध उच्चारण र वाक्य संयोजनले खुबै ताली बज्यो । खानाको टेबुलमा पनि एक जनाले साह्रै प्रशंसा गरे तर ‘तपाईले त शुद्ध हिन्दी पढेझैं बोल्नु हुँदो रहेछ’ भने । महिलाले म नेपाली विषयको प्रोफेसर भएकोले भाषिक शुद्धता आफ्नो दायित्व ठान्दछु भनिन् । दुई प्रकाण्ड विद्वानको दुई किसिमको व्यवहार । 

र विडम्बना के देखियो भने शुद्ध बोल्ने र लेख्नेलाई इन्डियन भन्ने लेबल लगाउने मानसिकता विकसित भएको छ । जानीजानी भाषा विगार्न चाहनेले शुुद्ध बोल्ने लेख्नेलाई इन्डियन मार्का भनेर अरूलाई दुरूत्साहित गरेको पनि हुन सक्दछ ।

एउटा अर्काे व्यवहारिक समस्या छ । पहाडको मानिस जागिरे वा शिक्षक जो होस् । तराईको मुसलमान र अन्य निवासीहरूको र गाउँठाउँका नामहरू सुन्ने बोल्ने र लेख्ने अभ्यास नहुनाले तराईमा यस्ता नाम सुनेपछि आफ्नै भाषा र तरीकाले बुझ्छ  । र त्यही आधारमा “मुहम्मद रजाक” लाई मम्मद रजाख, बेनी कुम्हारलाई बेनी कुमार, चितलहवालाई चित्तलुवा, लगन देईलाई लगान देही, कुसुम्भालाई कुसम्बा, साईंलाई शाही भनी बुझ्छ र लेख्छ । 

अर्काे कर्मचारीले लेख्दा उसको बुझाई अनुसार अर्कै तरिकाले लेख्छ । यसबाट हजारौँ हजारका नाम थर ठेगाना गलत र अलगअलग लेखिन्छन् । नागरिकता, लालपुर्जा र स्कूल प्रमाणपत्र भिड्दैन । हजारौँ हजार पीडित छन् । यस्तै तराई र पहाडका मानिसले हिमाली नाम लेख्न जान्दैनन् । थुप्रै गल्ती र समस्याहरू छन् । यस बारेमा सेवा प्रवेश तालीम, पुनर्ताजगी तालीम, सेमिनार, गोष्ठी र कार्यशालाहरू नियमित भैरहनुपर्दछ । राज्यले विद्यालयका पुस्तकमा तराई पहाड र हिमाली भेगको नाम र कथाहरू पाठमा समाविष्ट गर्ने हो भने शुरूदेखि नै हामीले विभिन्न स्थानीयताको जानकारी पाउन सक्दछौँ ।

नेपाली भाषामा देवनागरी वर्णमालालाई मनपरी प्रयोग गरिन्छ । आधुनिक कालमा हाम्रो वर्णमालामा १२ (बाह्र) वटा स्वर, स्वरका ११ वटा मात्रा, ऋ १ र ऋ को मात्रा १, ३६ (छत्तीस) वटा व्यञ्जन र ३६ वटा आधा अक्षर, श्री १ र श्र १, आधा र को माथि रेफ १, तल रेफ १ गरेर १०१ वटा वर्ण छन् । तर नेपालीले व, श, ष, ऋ र श्री पाँच वटा वर्णलाई छोड्दै गएको, साथै द मा या जोडेर ‘द्य’ तथा ह मा म आधा लगाउन छोड्दै गएकोले विद्याको सट्टा विधा, ब्रह्मको सट्टा बर्ह्म, ध्रुवको सट्टा धुर्व लेख्न थालिसकेका छन् भने समाचारवाचिकाले प्रायः मीठो बोल्नलाई जिब्रो लटपटाउंँदा व्यञ्जनको चौथो वर्णको सट्टा तेस्रो वर्ण अर्थात् घ को ठाउँमा ग, झ को ठाउँमा ज, ढ को ठाउँमा ड, ध को ठाउँमा द र भ को ठाउँमा ब बोल्न थालेका छन् । अझ कतै त छापेको र साइनबोर्ड, फ्लैस बोर्ड आदिमा लेखेको देख्दा लज्जा अनुभूति हुन्छ । यो प्रचलनले  नेपाली व्याकरण तथा शब्दकोष ध्वस्त हुनेछ अनि भाषाको के हुनेछ ? चिन्ताको विषय छ ।

नेपाली भाषामा आएका आगन्तुक शब्दहरू जनजिब्रोमा पसेर अपभ्रंश हुनु र पहाडतिरका मानिसको अल्पशिक्षा, दीक्षा, बोली र उच्चारणका शैलीले गर्दा संस्कृत–हिन्दी या अन्य भाषाको आगन्तुक शब्दहरूमा केही फरक आउनु त्यति अस्वाभाविक होइन तर पढेलेखको वा जानकारहरूले गर्ने यस्ता गल्तीलाई स्वाभाविक भन्न मिल्दैन र एकै जनाले एउटै शव्दलाई धेरै पटक लेख्दा अलग अलग अक्षर जस्तै शान – सान, कुटिल – कूूटील, कानून – कानुन, मठाधीश मठाधिस लेखने गरेको देखिन्छ । आज पनि गलत प्रचलनमा ल्याइन थालेका शब्दहरूको स्वाभाविकता र गल्ती निम्नानुसार हेर्न सकिन्छ । यस्ता गलत शव्द बोल्ने मात्र होइन, रेडियो, टीवी र छापामा पनि देखिन्छन् । 

क)शव्दहरू 
सही शब्द    अर्थ    गलत उच्चारण    अर्थ
विद्यालय    ज्ञानको घर    विध्यालय    प्वाल पार्ने, मार्ने ठाउँ, बधशाला
विद्यार्थी    ज्ञान प्राप्त गर्ने व्यक्ति    विध्यार्थी    बलि दिनलाई ल्याइएको
वीर    बहादुर    बीर    जंगली सुंगुर
उद्योग    उत्पादन हुने    उध्योग    भुत्ल्याउने खालको
शिक्षा    ज्ञान बुद्धि    सिछ्या    
भिक्षा    दयादेय    भिछ्या    
कक्षा    श्रेणी    कछ्या    
समीक्षा    सिंहावलोकन    समिच्छ्या    
प्रशिक्षक    सिकाउने    प्रसिच्छेक    
मही        मोही या मोई    
आत्मसात    भित्रबाट ग्रहण गर्नु    आत्मसाथ    
ऋतिथि    पाहुना    अथिति    
समृद्धि    सम्पदा सम्पन्न    सम्बृद्धि    समान रूपले बढ्ने
संरक्षण    हेरचाह    समरक्षण    एक समान हेर्ने, रक्षा गर्ने
वार्ड    खण्ड    वडा    यो निरर्थक शव्द नेपाल भर यसरी प्रचलित भैसकेको छ कि अब सही शव्द जस्तै भैसकेको छ ।  
व्यवस्था    प्रबन्ध    बेवास्ता    मतलब नराख्नु
परिणाम    नतीजा    परिमाण    संख्या या तौल नाप
आशीष    शुभेक्षा, आर्शीवाद    आशिक    प्रेमी, दीवाना
गर्व    घमण्ड    गर्भ    भित्र, भ्रूण
सौरभ    सुन्दर, उत्कृष्ट    सौरब    
सान्दर्भिक        सान्दर्विक    
देवनागरी    लिपिको नाम    देवनागरिक    देवताको मान्छे
अवहेलना    उपेक्षा    अपहेलना    
अध्यक्ष    संगठन प्रमुख    अदच्छे, अदक्ष्य    

लक्ष    अन्तिम गन्तव्य    लक्ष्ये    
क्षति    हनि    क्षेति, छेति    
क्षमा    माफी    क्षेमा, छेमा    

उर्दू ,अरबीका शब्द
शुद्ध    अर्थ    अशुद्ध    अर्थ
मेज    टेबुल    मेच    अझ ठुला बडा नामी साहित्यकारले समेत कुर्सीलाई मेच (मेज) शब्द प्रयोग गरेको पाइन्छ । यदि नेपालीमा कुर्सीलाई मेज भन्ने हो भने अंग्रेजीको टेबुलको नेपाली के हो त ?
कुर्सी    चेयर    कुर्ची, मेच    
अफसोस    चिन्ता    अफसोच    
आजिज    मिच्छिएको    आजित    
मिजाज    मनोदशा    मिजास    
बारूद    पडकने मसला    बारूत    
चश्मदीद    प्रत्यक्ष, आंखाले देखेको    चश्मदित    
नवाब    सानो राजा    नवाफ    
गुलाब    फूल को किसिम    गुलाफ    
रूवाब    धौंस    रवाफ    
कमीज    क्जष्चत    कमेच    
मोजा        मुजा    
जानिसकार    जान्ने बुझ्ने    जानिफकार    
कागज        कागत    
बानगी    नमूना    बानकी    
गाली गलौज        गाली गलौच    
मद्देनजर    दृष्टिगत    मध्यनजर    
हरूफ    अक्षर    हरफ    वाक्यको लागि प्रयोग गर्छन
लब्ज    शब्द    लवज    वाक्य ,,      ,,     ,,
लहजा    भाव    लहेजा    
शपथ    प्रतिज्ञा    सफत    

शहर  राम्रो सुविधा सहितको ठूलो बजार सहर    

बिहान  कुखुरा बासने समय
उपेक्षाको ठाउँमा अपेक्षा र अपेक्षाको ठाउँमा उपेक्षाको प्रयोग, परिणामको ठाउँमा परिमाण र परिमाणको ठाउँमा परिणाम भनि कतिपय नेता र पत्रकारले उल्लेख गर्ने, बोलने गरेको पाइएको छ ।

ख) ‘व’ को ठाउँमा ‘ब’ को प्रयोग हुन थालेकोले अर्थ र भाव बिग्रेको छ । जस्तै 
शिब, रबि, बार, बर्दी, बन्दना, राघब, बन्धु, दिबस, समाबेशी, दिबाकर, शिबानी, सबाल, गबन, हबन, दबाब, बक्र, बसुन्धरा, बासुदेव, त्रिभुबन, बुबा, नुबाकोट, बर्तमान, बिशेष, एबम्, बिद, बिदेशी, आबश्यक, सम्भब, भाब, परिबर्तन, गौरब आदि शब्दमा प्रयुक्त ‘ब’ गलत हो ‘व’ हुनु पर्दछ ।

ग) सर्वत्र ह्रस्वको प्रयोगले अर्थको अनर्थ बनाई रहेको छ । जस्तै 
सिता, गिता, रिता, दिप, दिपक, शहिद, बिच, सिमा, गरिब, शरिफ, सरिक, करिब, खरिद, बिक्रि, छिमेकि, चुनौति, जित, टिका, दाबि, शिल, सुशिल, स्विकृत, हिरक, निरज, बाहुबलि, इमलि, निलम, सिढि, पिढि, नतिजा, नविन, गोष्ठि, पुत्रि, बदनियत, दिदार, दिदि, चेलि, समाजसेवि, ममतामयि, कुकुरनि, नदि, जडिबुटि, तालिम आदि । दीर्घ कै दी त ह्रस्व (दि) लेख्छन् भने लापरवाही को उपमा के दिने ?
स्कुल, आलु, भालु, कालु, रामु, श्यामु, सुचना, सुचिकृत, नुडल आदि ।

घ) शब्दको अन्तमा ‘वा’ छ भने बीचको अक्षरमा उ को मात्रा लगाएर शब्द बिगार्ने गरेको जस्तै ः थपुवा, बेलुवा, हलुवा, कपुवा, तलुवा, नकुवा, सपुवा, इनरूवा,

ङ) मनपरी दीर्घको प्रयोग । जस्तै 
परीत्याग, कनीष्ठा, दीया, रीया, कीताब, नीमीष, सीन्दूर, शीक्षार्थी आदि ।

च) शब्दको बीचको ‘ह’ छुटाएर बोल्ने लेख्ने जस्तै 
शहनाई . सनाई,सनई । सहदेई . सदेई, सहचरी . सचरी, बरदहवा . बरदवा,
हर्नहवा . हर्नुवा, फचकहवा . फचकुवा, गिन्तीका शब्दहरू जस्तै —
एग्यारह . एघार, बार, तेर , चौद (चौध), पन्द्र, सोर, सत्र, अठार आदिमा ह अक्षर छोडनु गलत हो । ।

छ) शब्दको अन्तमा ई छ भने ‘ही’ र हा छ भने या को प्रयोग 
सरलाहीको सरलाई, मुर्तिहाको मुर्तिया, गुलरिहा को गुलरिया । सार्इं (मुस्लिम जाति) को शाही (हिन्दु जाति ), गुलाबदेई, जगनदेई, विसुनदेई, निमनदेईको गुलाफदेही, जगनदेही, बिसुनदेही, निमनदेही, सुराहीको सुराई, आदि तराईतिरको नाम र शब्द सम्झाई बुझाईको कारणबाट प्रायः गलत लेखिदै आएको पाइन्छ । बढई, मकइलाई बढै या मकै लेख्छन् ।

ज)शब्दको अन्तमा हा छ र बीचको अक्षरमा इकार उकार छैन भने बीचको अक्षरमा अकार लगाई दिन्छन् जस्तै सिराहा, बगनहाको बगनाहा बगना या बगनाह । रतनाहा, बिगाहा या विघा, दमाहा, फटाहा या फटा आदि ।

झ) श्री को सट्टा सृ को प्रयोग शुरू भएको छ जस्तै ः श्रृजक, श्रृजना, श्रृष्टिको क्रमशः सृजक, सृजना, सृष्टि आदि ।

ञ) चन्द्रबिन्दु, शिरोबिन्दु र निम्न बिन्दुको प्रयोग नगर्नाले भ्रम श्रृजना हुने ः
गए, खाए, सुते ।
राती खानपिन गरेर सुतेका थिए (म, उनीहरू को सुतेको?)

ट) चन्द्रबिन्दुको प्रयोग हराएकोले ः माँ, साँध, बाँध, नाँद, माँद, चाँदको सट्टा मा साध, बाध, नाद, माद,चाद बोल्ने र लेख्ने गरिन्छ । त्यस्तै शिरो बिन्दु नंद, कंद, फंदा, संध्या आदि शब्दबाट शिरोबिन्दु हट्दै गएको छ भने बडा, खडा, गडा, घडा, घोडा, सडक, सीढी, पीढी अािद शब्दहरूबाट निम्न बिन्दु हट्दै गएको र टीवी मा त घोडा सडक पिढी बोलेको पनि सुनिएको छ ।

ठ) टेलीवीजन प्रशारणमा पनि असावधानी र लापरवाही देखिन्छ । उपेक्षको अपेक्षा, परिणामको परिमाण मीटरको ठाउँमा किलोमिटर अादी जथाभावी बोलेको सुनिएको छ ।

नेपालीको रोमनमा लेख्दा गल्ती नै गल्ती
नेपालीलाई रोमनमा लेख्दा त अधिकांश नेपालीले गलत लेख्ने गरेको यहाँ सम्म कि कतिपय स्कूल कलेज (अझ इंगलिश मिडियम स्कूल) का साइनबोर्ड, लेटरपैड, मार्कशीट, बस र रिक्शामा समेत गलत अक्षर प्रयोग गरिन्छन् । भ को द्यज नलेख्ने, SHUBHAKAMNA SCHOOL लेख्दा SHUVKAMNA, भगवती VAGWATI, सावित्री SABITRI, भाइ VAI, भेटघाट VETGHAT, विनय BINAY, विजय BIJAY, प्रभाव PRAVAB (प्रवाब) क्षा को CHYA लेख्ने, SAMIKSHA को SAMIKCHYA, SADIKSHA को SADIKCHYA  जस्ता स्पेलिंग लेख्ने गरिन्छ । English mistake को त विचित्र अवस्था छ ।

स्मरणीय यो छ कि बेलायत र अमेरिकन अर्थात् Queen र Thomas  दुवै इंगलिशमा ख् लाई भ होइन व बोलिन्छ । Russia लाई नेपालीमा रसिया भनिन्छ तर सही शब्द ‘रशा’ हो । नेपालमा इंगलिशको कयौं ठाउँमा गलत उच्चारण हुने गर्दछ । यो गलत उच्चारण कहाँबाट सिकेका हुन् ? विदेशमा रहे बसेका नेपालीले समेत अभ्यासवश गलत उच्चारण गर्ने समस्या रहेको छ । परिचयको क्रममा म ‘भिजिटर’ हुँ भनेपछि अमेरिकन पहिलो सुनवाईमा झस्कन्छ अनि पछि ‘विजिटर’ रहेछ भन्ने बुझ्छ । कहिले त तपाई मंगोलियन हो ? भनेर सोध्छ ।

प्रख्यात राष्ट्रिय दैनिक समेतका कतिपय सम्पादक र नेपाली साहित्यमा मास्टर डिग्री गरेकाले समेत नेपाली भाषामा अत्यधिक लापरवाही गरेको देखिन्छ । एउटा प्रमुख दैनिकमा समाचार शीर्षकमा थियो “साही दम्पति” तर समाचारमा लेख्यो “शाही दम्पत्ति” एउटै लेखकले सा र शा को प्रयोग गर्याे । एउटा शीर्षक थियो “सनई रोई रहेछ” भित्रलेखमा शहनाई लेखेको थियो । यस्तो गलत लेख्ने छाप्ने र पस्कनेहरू भाषा बिगार्ने दोषी हुन् ।

मनमा जे आयो, आँखा जहाँ पर्यो कीबोर्डको त्यही बटन थिच्यो र कम्प्युटर गर्यो, लेख्यो । पढे लेखेको वर्गमा कुरा गर्दा “भाषा हो, बुझ्नुसँग मतलब छ, नेपालीमा जे पनि चल्छ” भन्छन् । जे पनि चल्छ भन्नुको मतलब के हो ? आँपको ठाउँमा केरा लेख्दा पनि फलै त हो भन्ने अर्थ लगाउन मिल्छ र ? शव्दार्थ, भावना र व्याकरणलाई छोडदा हानि छ छैन ? अब पनि त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानले आफनो दायित्वलाई भजाउने हुन् कि देशहितमा चनाखो भएर सुधार गर्ने हुन समयले बताउला । 

उर्दूको हरफ (वर्ण या अक्षर) नेपालीमा अपभ्रंश भएर हरफ भएको छ तर यहाँ पूरा पंक्तिलाई अझ कोहीकोहीले त पााराग्राफलाई नै हरफ भनि हाल्छन् । प्रायः कानून र न्यायको क्षेत्रमा हुने यस्तो प्रयोग गलत हो ।

कक्षा ११ को व्यवसायिक अध्ययनको परिचय नामको पुस्तकको नाम “व्यावसायिक अध्ययनको परिचय” र पुस्तकमा “व्यावसायिक” शब्दहरू लेखिएका छन् । अन्य कतिपय पुस्तक र लेखहरूमा अध्ययनलाई “अध्यायन” छापिन्छ । अयोध्या लेख्दा त अधिकांशले आयोध्या या अयोध्याय लेख्छन् । यो थोरै पढे लेखेका मानिसले लेखेको त होइन । यदि राम्ररी पढे लेखेकाले यसरी लेख्छन् या छाप्छन् भने कि त अध्ययनको कमी छ, कि लापरवाही हो अथवा कतैबाट प्रेरित हो ? आ–आफैले आत्मचिन्तन गर्न जरूरी छ ।

समस्या समाधानका केही उपाय
१. विदेशी चलखेलमा राष्ट्र भाषामाथि प्रहार गर्नेहरूले आफ्नो संस्कृतिप्रति संवेदनशील हुनु पर्दछ । विदेशीको पक्षमा लागेर राष्ट्रघात गर्नु नितान्त गलत काम हो ।

२. स्कूल कलेजको परीक्षा सकेपछि पनि किताब पढ्ने काम खतम हुँदैन । जीवनभर केही न केही पढ्ने अभ्यास र पुस्तकालयमा समय दिने अभ्यास गर्न राम्रो हुन्छ । यस्ता गल्ती प्रायः किताब नपढने, अर्काको सही गलत शव्द सुनेर लेखने बोलने गरेर गलत भएको हो । 

३. नेपालीमा उर्दू, अरबी र फारसीका पनि थुप्रै शब्दहरू मिसिएका छन् । ती भाषा न पढेसम्म तिनको सही अर्थ र भाव बुझ्न यद्यपि गाह्रो हुन्छ तर त्यस्तो सम्भव नभएमा, ती भाषाका शब्दहरू हिन्दीमा पनि समाविष्ट रहेकाले र हिन्दी स्वयं नेपालीको जननी मध्येको भाषा भएकोले हिन्दी भाषाका पुस्तक पढ्नु नेपालीको लागि आवश्यक छ । यसबाट शाब्दिक अर्थ र इकार, उकार तथा स, श, को समस्या समाधान हुन्छ । समिधाको मि ह्रस्व कि दीर्घ ? भनेर सोधिरहनु पर्दैन ।

४. हामीलाई नेपाली व्याकरण शुरूदेखि पढाइँदैन । भाषा बिग्रिसकेपछि ११–१२ मा व्याकरण पढाएर के प्राप्ति हुन्छ ? यो नीतिमा परिवर्तन गरेर नेपाली व्याकरण शुरूदेखि पढाउनु पर्दछ ।

५. लोकसेवा या अन्य जुनसुकै परीक्षामा शुद्धाशुद्धीको अंकभार छुट्याउनु पर्दछ ।
६. शिक्षक र पत्रकारहरूलाई शुद्धताको घेराभित्र राख्नलाई समय समयमा सेमिनार र कार्यशालाहरू निरन्तर चलाई रहनुपर्दछ ।

७. देशमा पुस्तकालयप्रति नितान्त उपेक्षा छ, आवश्यकता नै ठानिदैन । यता ध्यान दिनुपर्छ । पुस्तकालयको स्थापना, सञ्चालन, पुस्तक पठनपाठनमा रूचि जगाउने कामहरू गर्नुपर्दछ ।

८. राष्ट्रभाषासँग खेलाची गर्ने गद्दारी गर्ने र दूषित पार्नेहरूलाई निरूत्साहित गर्ने र दण्डित गर्नु पर्दछ । भाषाको उत्थानमा सहयोगीलाई सराहना, सम्मान र पुरस्कारको व्यवस्था हुनु पर्दछ ।

९. नेपाल प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयहरूले नेपाली भाषाको प्रतिष्ठा, गौरव र उत्थानको काममा सक्रियता देखाउनु पर्दछ । सरकारले यिनीहरूको कामको सुपरिवेक्षण र मूल्यांकन गर्नु पर्दछ ।

१०. फेसबुक चलाउनेहरूले जानेर वा नजानेर अथवा हतारमा के कसरी हो बहुतै गलत नेपाली शब्द र नेपाली रोमन लेख्ने गरेका छन् । यो संचारको युगमा निरन्तर गलत शब्द देख्दा देख्दै गलत लेख्ने बोल्ने अभ्यासमा अरू पनि लागि पर्ने सम्भावना र यसबाट हुने हानीलाई मद्देनजर राखेर सबैले आफूलाई सच्याउन सकेमा नेपाली भाषाको ठूलो सेवा हुनेछ ।

११. शिक्षक, पत्रकार कम्प्यूटर अपरेटर र पेन्टरहरूलाई अभियान चलाएर भाषिक तालीम दिनुपर्दछ ।

१२. यस विषयमा चेतनशील विज्ञहरूले आफनो स्तरबाट गर्न सकने सेवा  सहयोग गर्न आवश्यक छ । यो लेखमा रहन गएका कमी कमजोरीमा विज्ञहरूबाट सहयोगको अपेक्षा  छ ।  
(लेखक नेपाल सरकारका पूर्व प्रशासकीय अधिकृत, प्राध्यापक र अधिवक्ता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ