arrow

बिमस्टेकः आर्थिक सुधारको सहकार्य कि भारतको चीन चिढ्याउने योजना ? 

पाकिस्तानलाई एक्ल्याउने खेल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ भदौ १३ बुधबार
bimstec-1.jpg

काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा विहीबार र शुक्रबार हुँदैछ । दक्षिण एसियाका पाँच तथा पूर्वी एसियाका दुई गरी सात मुलुकहरुको सहभागिता रहेको यो सम्मेलनमा भारत भौगोलिक, आर्थिक तथा प्रभावको हिसाबमा सबैभन्दा ठूलो मुलुक हो । जसको कारण भारतको भूमिका यो संगठनको लागि महत्वपूर्ण बन्न सक्छ । 

हरेक पक्षका दुई पाटा हुन्छन् – सकारात्मक र नकारात्मक । यो संगठनमा पनि सबै मुलुकहरुको हितलाई आधार मानेर कुनै प्रस्ताव ल्याउन सकेको खण्डमा यो निकै सकारात्मक कुरा हो । तर यसमा कुनै मुलुकको नीति तथा स्वार्थ लाद्न खोजियो भने त्यसले राम्रो नतिजा दिन सक्दैन । यस्तै अहिले बिमस्टेकमा भारतको स्वार्थको विषयमा बहस सुरु भएको छ । 

भारतमा अबको केही समयमा बिमस्टेकका मुलुकहरुको संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको छ । यो सैन्य तयारी भारतमा हुन गइरहेको हो । नेपालले यसमा स्वीकृति दिइसकेको छ । भारतको महाराष्ट्रको पुणेमा हुने उक्त अभ्यासमा नेपाली सेनाको टोली पनि सहभागी हुने भएको हो । यो सैन्य अभ्यास सेप्टेम्बर १०–१६ सम्म हुनेछ । 

यो सैन्य अभ्यासको उद्देश्य आतंकवादी गतिविधिहरुलाई रोक्नु रहेको बताइएको छ । नेपालले पनि उक्त उद्देश्यको प्रशंसा गरेको छ । कुरा यति मात्र भने होइन । भारत बिमस्टेकमा बलियो मुलुक भएकाले पनि यो संगठनमा उसले आफ्ना निहित स्वार्थहरुलाई समावेश गर्न सक्छ । यस मामिलामा अन्य मुलुकहरु सचेत हुनु जरुरी हुन्छ । 

अहिले भारतमा हुन लागेको सैन्य अभ्यासलाई पनि अर्को चालको रुपमा बुझ्न सकिन्छ । भारतको लागि एसियामा चीन सबैभन्दा ठूलो प्रतिस्पर्धी मुलुक हो । यस्तोमा चीनलाई कमजोर बनाउनु भारतको मुख्य रणनीति रहेको छ । बिमस्टेकका सबै मुलुकहरुको सैन्य अभ्यास गराई चीनलाई सबै मुलुकहरु आफ्नो मुठीमा छन् र परेको बेलामा चीनको विरुद्ध लड्नका लागि पनि तयार छन् भन्ने सन्देश दिन चाहन्छ ।

तर नेपालका लागि दुवै छिमेकी मुलुकहरुसँग समदुरी राख्नु राम्रो हुन्छ । भारतले त्यस किसिमको सन्देशका लागि यो अभ्यास आयोजना गरेको हो भने कूटनीतिक हिसाबमा नेपाललाई यसले नकारात्मक नतिजा दिन सक्छ । 

बिमस्टेकका मुलुकहरुको बीचमा धेरै आर्थिक तथा सामाजिक समस्याहरु रहेका छन् । यस्तोमा ती सबै समस्याहरुलाई थाती राखेर सैन्य अभ्यास गर्नु कुनै प्राथमिकताको विषय नहुनुपर्ने हो । यस्तोमा सैन्य अभ्यासको स्थानमा रोजगारी सुधार, सडक, खानेपानीको सुविधामा विस्तारलगायतका कार्यक्रमहरु ल्याएको भए यो क्षेत्रका जनताहरु लाभान्वित हुने थिए । आशा गरौं, यो सम्मेलनमा यी कुराहरुमा पनि छलफल हुनेछ र भारतले यो संगठनका मुलुकहरुलाई आफ्नो स्वार्थ पूरा गर्ने हतियार नबनाओस् ।

पाकिस्तानलाई एक्ल्याउने खेल 

बिमस्टेक भारतको पाकिस्तान एक्ल्याउने खेल पनि हो । भारत र पाकिस्तानको बीचको सम्बन्ध लामो समयदेखि नै राम्रो छैन । यस्तोमा पाकिस्तानलाई एक्ल्याउनका लागि भारतले बिमस्टेकमा जोड दिइरहेको देखिन्छ । सार्कको विस्तार गर्दा पाकिस्तानलाई समावेश गर्नुपर्ने बाध्यता भारतलाई छ । त्यसैले सार्कमा भन्दा पनि बिमस्टेकमा भने आफ्नो ध्यान केन्द्रित गरेको हो । 

सार्कको पाकिस्तानमा हुने भनिएको सम्मेलन अहिलेसम्म हुन सकेको छैन र यस मामिलामा भारतले खासै चासो पनि देखाएको छैन । बिमस्टेकमा सार्कका नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेश गरी पाँच देश रहेका छन् । माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान भने यो संगठनभन्दा बाहिर रहेका छन् । जसमा भारतले चाहेको खण्डमा माल्दिभ्सलाई यो संगठनमा ल्याउन सक्छ तर माल्दिभ्सको सम्बन्ध पछिल्लो समय चीनसँग राम्रो बन्दै गएको कारण उसका लागि माल्दिभ्स ल्याउनु जरुरी नहुन पनि सक्छ ।

अहिलेसम्मको अवस्थामा सार्कमा भारतले प्रभाव राख्नसक्ने मुलुकहरु बिमस्टेकमा सहभागी भइसकेका छन्। अफगानिस्तान सार्कमा पनि पछि आएको मुलुक भएकोले आगामी दिनमा उसको पनि यो संगठनमा आउने सम्भावना भने छ। यसरी हेर्दा भारत बिमस्टेकलाई सार्कको विकल्पको रुपमा अघि सार्दै पाकिस्तानलाई एक्ल्याउने खेलमा रहेको स्पष्ट देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ