arrow

एक वर्षमै फल्ने स्याउका विरुवाकाे माग धान्नै सकेन सरकारले (कुराकानीसहित)

माग चार लाख, किन्न लागेकाे जम्मा एक लाख

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
tej_bahadur.jpg

सरकारले एक वर्षमै फल दिन सुरु गर्ने स्याउको व्यावसायिक उत्पादन सुरु गर्ने सुरसार गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनार्फत विदेशबाट एक वर्षमै फल दिने स्याउका बिरुवा आयात गर्न लागेको छ ।  स्याउमा आत्मनिर्भर हुने लक्ष्य राखेर १ लाख स्याउका बिरुवा आयात गर्ने तयारी छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धेरै उत्पादकत्व भएको स्याउका बिरुवा खरिद गर्न चालू आर्थिक वर्ष ०७५–७६ मा ९ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटअनुसार टेन्डर प्रक्रियामा गई जतिसक्दो धेरै बिरुवा खरिद गरिने बताईएको छ । 

छोटो समयमै फल दिने बिरुवाको मूल्य प्रतिगोटा १ हजार ५ सय रुपैयाँसम्म पर्ने आकलन गरिएको छ । एउटा बिरुवाको मूल्य १५ सय पर्ने देखिएको छ । सरकारले किसानलाई त्यति महँगोमा होइन, ७० प्रतिशत अनुदानमा बिरुवा दिने भनेको छ । सरकारले १ लाख बिरुवा आयातको तयारी गरे पनि किसानले साढे चार लाख बिरुवाको माग गरेका छन् । एक वर्षमै फल दिने स्याउका बिरुवा लगाउन इच्छुक किसानलाई आवेदन दिन जारी गरिएको सूचनापछि १३ जिल्लाका किसानले ४ लाख ५४ हजार ७ सय ६९ बिरुवाको माग गरेका हुन् । सबैभन्दा धेरै जुम्लाका किसानले १ लाख ३९ हजार ८ सय २८ बिरुवाको माग गरेका छन् । यस्तै, मुगु हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ र इलामबाट स्याउका बिरुवाको माग आएको छ ।

एउटा विरुवाले प्रत्येक वर्ष ३५ केजी उत्पादन दिने भनिएको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत ल्याउन लागेका यी विरुवा झन्डै २० वर्षसम्म बाँच्छ । यस्ता विरुवाको अत्याधिक माग हुँदाहुँदै पनि राज्यले किन दिन सक्दैन भन्ने जिज्ञासा कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीसँग हामीले कुरा गरेका छाैँ । 

० सरकारले एक लाख स्याउको विरुवा ल्याउन लागेको हो ?
– हो, कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले ल्याउन लागेको हो । यो परियोजनाअन्तर्गत जुम्लामा स्याउको सुपर जोन छ, त्यस्तै मुस्ताङमा पनि हामीले स्याउको सुपरजोन सुरु गरेका छौं । परियोजनाअन्तर्गत जोन र सुपरजोनमा यी विरुवा उपलब्ध गराउने हिसाबले यो वर्ष केही बजेट विनियोजन भएको छ ।

० तोकिएको क्षेत्रमा मात्र वितरण हुन्छ ?
– यो कार्यक्रम जोन र सुपरजोनलाई टार्जेट गरेर विरुवा ल्याउन लागिएको हो । हामीले स्याउको व्यवसायी उत्पादन सुरु गर्ने र औद्योगिकीकरणतर्फ जाने हिसाबले जोन र सुपरजोन स्थापना गरेका छौं । यही जोन र सुपर जोनलाई लक्षित गरेर यो वर्ष स्याउको विरुवा आयात गर्न लागिएको हो ।

० अन्य धेरै जिल्लामा यी विरुवाको माग भएको छ । उनीहरुले पाउँदैनन ?
– हामीले फोकस जोन र सुपरजोनलाई गरेका छौं । अरु क्षेत्रमा प्रदर्शनको हिसाबले दिन सकिन्छ । हामीले राखेको लक्ष्यअनुसार सबै ठाउँमा विरुवा दिन सक्ने सम्भावना छैन । सधैं विरुवा बाहिरबाट आयात गरेर सम्भव हुँदैन । हामीले सरकारी फर्महरुमा विगतदेखि नै स्याउका विरुवा उत्पादन गरिरहेका छौं । आउँदो वर्ष अहिले आएको विरुवालाई नै हामीले प्रयोग गरेर सरकारी फर्म केन्द्रहरुमा यसको मूलवृद्ध (रुटस्टक) को उत्पादन गर्ने र विरुवा नेपालमै उत्पादन गरेर स्याउको हाइडेनटेन्सी प्लान्ट गछौं । नजिक विरुवा रोप्ने, जसले गर्दा थोरै क्षेत्रमा पनि धेरै विरुवा लगाउन सकिन्छ । नेपालमै विरुवा उत्पादनको कार्यक्रम सुरुवात गरिसकेका छौं ।

० जुम्लामा कति विरुवा लगाउदै हुनुहुन्छ ?
– जुम्लामा हाम्रो सुपरजोन क्षेत्र एक हजार हेक्टर हो । यो आर्थिक वर्षमा हामीले मुस्ताङमा पनि सुरु गर्दैछौं । मुस्ताङमा पहिलेदेखि नै स्याउ उत्पादन हुँदै थियो, तर प्रधानमन्त्री कृषि आधुनिकरणअन्तर्गत यो वर्षदेखि मुस्ताङमा पनि स्याउ लगाइदैछ । अन्य क्षेत्रमा पनि परीक्षणका रुपमा किसानलाई विरुवा उत्पादन गराउने सम्भावना छ । तर यो आर्थिक वर्षमा उहाँहरुले मागेअनुसारको विरुवा दिन सक्ने सम्भावना न्यून छ ।

० किन दिन सक्नुहुन्न ?
– यो वर्ष हामीले एक लाख विरुवाको लक्ष्य राखेका छौं । त्यो एक लाख विरुवा हाइडेन्टेसिटी प्लान्टमा जाँदा दुई हजार रोपनी मात्र विरुवाले ढाक्छ । अहिले ४–५ लाख विरुवाको माग छ । टेन्डरमार्फत विरुवा आपूर्ति हुन्छ । आगामी वर्षदेखि नेपालमै विरुवा उत्पादन गरेर किसानको माग पूरा गर्न सरकारले तयारी गरिरहेको छ ।

० एउटा विरुवाको मूल्य कति पर्छ ?
– मेरो जानकारीमा आएअनुसार गत वर्ष कीर्तिपुरले विरुवा उत्पादनको काम सुरु गरेको थियो । गत वर्ष टेन्डरमार्फत एक विरुवाको १४ सय रुपैयाँसम्म प्रस्ताव राखिएको थियो । हामीसँग विनियोजित बजेटबाट टेन्डर प्रकृयामा जाँदा एक लाख विरुवा ल्याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा छ ।

० एउटा बोटले कति उत्पादन दिन्छ ?
– एउटा विरुवाबाट लगभग ३५ केजी उत्पादन हुन्छ भनिएको छ । नेपालमा हाइडेन्टसिटी प्लान्टका निम्ति हामीले मार्फा फार्ममा पहिले पनि परीक्षण गरेका थियौं । यो प्लान्टका लागि विशेष मेहनत गर्नुपर्ने हुन्छ । प्रविधि हामीसँग पहिला पनि थियो । यसका लागि किसानले गर्नुपर्ने क्षमता र व्यवस्थामा हाम्रो परम्परागत विधि छ । यो विधिमा मेहनत नपुग्ने भएको हुनाले खासै विस्तार हुन सकेको थिएन । विगत दुई तिन वर्षदेखि मनाङका कृषकहरुले सफल व्यवसायिक उत्पादन सुरु गरिसक्नु भएको छ । एक दुई किसानले उत्पादन लिइसकेपछि अन्य क्षेत्रमा यसको माग बढेको हुनाले सरकारी स्तरबाट यसको विस्तार गर्ने कार्यक्रम ल्याइएको हो ।

० एउटा विरुवाको आयु कति हुन्छ ?
– सामान्यतयाः हाइटेन्टिसिटी प्लान्ट भन्नेवित्तिकै थोरै क्षेत्रफलमा हामी बढी विरुवा राख्छौं । यस विरुवाको नर्मल लाइफ २० वर्ष भनिएको छ । कलमी विरुवाको आयु बिज विरुवाकोभन्दा कम हुने अध्ययनले देखाउँछ । कलमी विरुवा हाइटेन्टिसिटी प्लान्टमा भएको हुनाले १५–२० वर्ष उत्पादन दिनसक्छ भनिएको छ । विरुवाको आयु व्यवस्थापनले पनि निर्भर राख्छ । त्यहाँको हावापानी, रोग किराको प्रकोपमा विरुवाको आयु निर्भर रहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ