arrow

कानुन सिकाउदै वालिङ नगरपालिका

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
waling-nagarpalika.png

स्याङ्जा ।  मेलमिलापको अवधारणा अवलम्वन गरेर हाम्रो समस्या हामै समाधान भन्ने नारा सहित वालिङ नगरपालिकाले नगरवासीलाई कानुनी शिक्षा सिकाउन शुरु गरेको छ । स्थानीय सरकार बनेपछि स्थानीय तहमा न्यायपालीका रहने व्यवस्था अनुसार नगरपालिकाले कानुन सिकाउन शुरु गरेको हो ।

८ दिन सम्म चल्ने मेलमिलाप सम्वन्धी आधारभुत तालिम वालिङ नगरपालिकाको आयोजना र मेडिएसन नेपालको संयोजनमा शुरु भएको छ । नगरपालिकामा गठन भएको न्यायीक समितिलाई सघाउ पुग्ने उदेश्यले मेलमिलाप कर्ता उत्पादन गरी प्रशिक्षित गर्ने उदेशयले यो तालिमको आयोजना गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।

जनता विकास भन्दा पनि न्यायको खोजीमा बढी हुन्छन् नगरप्रमुख खाँणले भने,“पिडितले न्यायको अनुभुती गर्नु नै कानुनी धर्म हो ।” सानो विषयलाई गाँउठाँउमा मिलाउन सकियो भने धन, समय र सम्मानको अनुभुती जनताले मान्ने छन् खाँणले भने । सबै नागरिक कानुनको विज्ञ नभएपनि कानुनको ज्ञान लिनु आवश्यक छ नगरप्रमुख खाँणले भने,“कानुनबाट सचेत हुन सकियो भने न्याय र अन्याय आफैबाट पनि छुट्टाउन सजिलो हुनेछ ।” सर्वोच्च अदालतले दिने न्याय अव वडाबाटै मेलमिलापको माध्यमबाट न्याय दिलाउन सहभागीहरुलाई आग्रह गरे ।

कानुनको राम्रो ज्ञान नहुदा धेरै न्यायकालागि अदालतको बाटो खोज्दा धेरै पिडित बन्न पुगेका घट्नाहरु बाहिर आईरहेका छन् । अदालतबाट छिटो न्याय नहुनु, मुद्धालाई लम्व्याउने परिपाटीको विकसित हुन थालेपछि सरकारले स्थानीय तहमा न्यायीक समिति गठन गरेर स्थानीयबाट नै जनताले न्याय पाउन भन्ने नीति अवलम्वन गरेको छ । यही नीतिलाई अवलम्वन गर्दै वालिङ नगरपालिकाले सबै वडामा मेलमिलाप कर्ता उत्पादन गरी उनीहरुबाटै समस्या समाधान र अदालत सम्म नपुग्ने विश्वास लिइएको वालिङ नगरपालिकाका न्यायीक समितिका संयोजक तथा उपप्रमुख कल्पना तिवारीले बताईन् ।

अदालतमा पुगेका मुद्धाको फैसलाले केही ईगो जागेको देखिन्छ उपप्रमुख तिवारीले भनिन्,“न्याय र अन्यायलाई मेलामिलापको सिद्धान्तबाट दुवैलाई न्याय मिलेको अनुभुत गराउन सक्नुपर्छ ।” समाजमा बसेपछि सामान्य विवाद हुनु स्वभाविक हो तर सामान्य विवाद पनि कानुनको परामर्स नहुदा विकराल बन्दै गएका छन् तिवारीले भनिन्,“यस्ता समस्यालाई अवका दिनबाट मेलमिलाप, सहकार्यको माध्यमबाट निरुत्सायी बनाउनु पर्छ ।”

तालिमले हरेक वडाबाट २ देखि ३ जनाका दरले ३२ जना मेलमिलाप कर्ता बन्ने छन् । मेलमिलाप कर्ताले आ—आफ्नो वडामा हुने समस्यालाई वडामै मिलाउन सहजता मिल्ने विश्वास व्यक्त गरिएको छ । तालिममा प्रशिक्षित सहभागीहरुले वडामा कानुनी व्यवस्थाका बारेमा समेत सुसुजित गर्ने पनि बताइएको छ । मेलमिलाप सम्वन्धी तालिममा प्रमुख प्रशिक्षक महेन्द्र प्रसाई र सन्तोष कुमार थापाले प्रशिक्षण दिनेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ