- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली काँग्रेसभित्र चरम गुटबन्दी छ भन्ने कुरा सर्वविदितै छ । यही चरम गुटबन्दीको कारणले गर्दा पार्टीले बेलाबेलामा धोका पाइराखेको छ । निर्वाचनमा नराम्रोसित पराजय व्यहोर्नु परिरहेको छ । यो काँग्रेस भित्रको पुरानै रोग हो ।
नेपाली काँग्रेस, नेपाली राष्ट्रिय काँग्रेस हुँदाकै बखत २००४ सालमा काबा अध्यक्षको बिषय लिएर बीपी कोइराला र डिल्लीरमण रेग्मीबीच दुई समूह भएको थियो ।
त्यस्तै २००९ सालमा बीपी कोइराला र उनको दाजु मातृकाप्रसाद कोइरालाबीचको चरम गुटबन्दीको परिणाम स्वरुप निवर्तमान पार्टी सभापति तथा बहालवाला प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पार्टीबाट निष्काशन गरियो र त्यसपछि उनले छुट्टै पार्टी गठन गरे ।
तर त्यो बेलाको गुटबन्दी व्यक्तिगत टकराब भन्दा पनि राजालाई गर्ने व्यवहार मूल कारण थियो । मात्रिकाप्रसाद कोइरालाको राजाप्रति बढी झुकाब थियो भने बीपी कोइराला राजालाई उचित स्थानमात्र दिन चाहन्थे । त्यस पछाडि बीपी बाँचुन्जेल त्यस्तो प्रभाबकारी गुट बनेन । बीपी आफै सर्वेसर्वा नेता रहे ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि जब काँग्रेस सरकारमा गयो त्यसपछि फेरि काँग्रेसभित्रको गुटबन्दी सतहमा आउन थाल्यो । एउटा गुटको नेतृत्व गिरिजाप्रसाद कोइराला र अर्को गुटको नेतृत्व कृष्णप्रसाद भट्टराईबाट हुन्थ्यो ।
संसदीय दलमा पनि ३६ से र ७४ रे भनेर दुई समूह सतहमा देखियो । जसले गर्दा २०५१ सालमा नेपाली काँग्रेसको एकमना सरकार हुँदा हुँदै पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराए ।
२०५२ सालमा काँग्रेसका नेता शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । त्यसपछि शेरबहादुर देउबाले एन्टी कोइराला क्याम्पको सेन्टिमेन्ट लिई एउटा गुटको सदाबहार नेतृत्व गरिरहे ।
जसले गर्दा २०५८ सालमा नेपाली काँग्रेस दुर्इ चिरामा बिभाजन पनि भयो । पार्टी बिभाजन भएको ५ बर्षपछि २०६३ सालमा पार्टी एकीकरण भयो । पार्टी एकीकरण भए पनि नेताहरु र कार्यकर्ताहरु बीच भावनात्मक एकता भएको थिएन ।
जसले गर्दा पार्टीभित्र, कोइराला गुट र देउबा गुट, प्रस्टसंग छुट्टिन्थ्यो । पछि पार्टीको १३ औं महाधिवेशनमा गुटको संख्या २ बाट बढेर ४ वटा भयो ।
जसमा कोइरालाहरुसहित पौडेल गुट, देउबा गुट, सिटौला गुट, र खुमबहादुर गुट । त्यस संगसंगै अन्य उपगुटहरुको पनि विकास भयो । कार्यकर्ताहरुमा पनि कुन गुटको मान्छे भनेर चिनिने अवस्था आयो ।
गुटमा रहेका केही नेता तथा कार्यकर्ताहरु चलायमान रहे । अवसर अनुसार एउटा गुटबाट अर्को गुटमा स्थानान्तरण पनि भए । १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि शेरबहादुर देउबालाई गुटको नेताबाट माथि उठ्ने शुवर्ण अवसर प्राप्त भयो । तर उनले चाहेर हो या नचाहेर हो समग्र नेपाली काँग्रेसको नेता बन्न नसकेको र अझै पनि उही आफ्नो पुरानो गुटको मात्र नेता बनेको आरोप लागिरहेकोछ ।
गुटबन्दी किन र कसरी हुन्छ ?
माथिको संक्षिप्त पृष्ठभूमिबाट यो भन्न सकिन्छ कि गुटबन्दी बिशेष गरेर कहिलेकाहीं विचार नमिल्दा हुन्छ भने कहिलेकाहीं नितान्त व्यक्तिगत वा सीमित व्यक्तिहरुको स्वार्थ पूर्तिको लागि हुन्छ ।
कहिलेकाहीं नेतृत्वको अहमताको कारणले पनि हुन्छ या मैले उसलाई किन टेर्ने भन्ने खालको व्यक्तिगत टकराबले हुन्छ । पार्टीका निर्णयहरु गर्दा केही सीमित व्यक्तिहरुले आफु खुशी गर्दा पनि गुटबन्दि सुरु हुन्छ ।
जब कुनै पनि पार्टी वा संघ संस्थामा आबद्द केहि सदस्यहरुले मूल नेतृत्व पक्षपाती भएको ठहर गर्दछ तब गुटबन्दिको सुरुवात हुन्छ । अर्थात् कोहि कसैलाई निषेध गरिन्छ या प्रतिसोधको भावनाले व्यवहार गरिन्छ तब उसले (उनीहरुले) पनि आफ्नो अस्तित्वको लडाईको लागि गुट उपगुट बनाउन सुरु गर्छ ।
जब कसैले पार्टीभित्र आफु सुरक्षित महसुस गर्दैन, तब उ गुट–उपगुट बनाउने तिर लाग्छ । कहिलेकाहीं नेतृत्वको कार्यशैलीबाट निराशा पैदा भएपछि पनि गुट उपगुट बन्न सुरु हुन्छ अथवा भईरहेको गुट उपगुट सक्रिय हुन्छ ।
गुट बन्नु भनेको पनि एक किसिमको विद्रोह गर्नु हो । जब मानिस आफ्नो सुनुवाई भएन वा आफ्नो अस्तित्व माथि खतरामा पर्ने भयो भन्ने महसुस गर्छ, तब उ गुटउपगुट बनाउन सुरु गर्छ ।
गुट भएपछि दबाब सृजना गर्न मद्दत पुग्छ र त्यो दबाबको मात्र अनुसार संस्थापन पक्ष वा नेतृत्व झुक्न बाध्य हुन सक्छ । गुटबन्दी चलाउंदा नेता कार्यकर्ता दुवैको स्वार्थ पुरा हुन्छ । गुट चलाउंँदा नेता आफु बलियो हुन्छ भने ऊ भन्दा तल्लो तहको नेता अथवा कार्यकर्ताले नेताबाट आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्छ ।
गुटबन्दीबाट के के हानी नोक्सानी हुन्छ ?
गुटबन्दी भनेको पार्टीको लागि अभिशाप हो । गुटबन्दीबाट पार्टीलाई धेरै नोक्सानि छ । अबैधानिक र पद्दतिशुन्य राजनीतिको सुरुवात हुन्छ । शक्तिको क्षय हुन्छ ।
आफ्नै पार्टीभित्र एकले अर्कोलाई सिध्याउने खेल हुन्छ । पार्टीको मूल संगठनदेखि लिएर भ्रात्री संगठनहरु सबै अस्तब्यस्त हुन्छ । जता सुकै विवादै विवाद, संगठन चुस्त दुरुस्त नभई बढी समय तदर्थबादमा गुज्रन्छ ।
कार्यकर्ताहरु बीच अन्योलको वातावरण सृजना हुन्छ । कार्यकर्ताहरुलाई मात्र नभएर सर्वसाधारण जनतालाई पनि नैराश्यता पैदा गर्छ । संगठन भुत्ते हतियार जस्तो एउटा नाम मात्रको हुन्छ । चरम गुटबन्दीको कारणले गर्दा कतिपय स्वाभिमानी पुराना नेता तथा कार्यकर्ताहरु वल्लो घाट न पल्लो तीरको अवस्थामा बसिरहेका देखिन्छ ।
किनकि उनीहरु गुटमा लाग्नेहरु जस्तो नेतालाई निरन्तर चाकडी गर्नु जाँदैनन् । जसले गर्दा उनीहरुलाई पार्टीले पुरै उपेक्षा गरेको जस्तो देखिन्छ ।
गुटबन्दी हाबी भएपछि निर्वाचन लगायत जुनसुकै अवसरमा भागबन्डाको खेल हुन्छ । जसले गर्दा इमान्दार, स्वाभिमानी, र लोकप्रिय व्यक्तिहरुलाई उक्त अवसरबाट पाखा लगाइन्छ ।
परिणामतः निर्वाचनमा सिंगो पार्टी लडेको नभई गुट–उपगुटको मोर्चा मात्र मैदानमा उत्रिएको जस्तो अनुभूति हुन्छ । गुटबन्दीको चरम उत्कर्षमा पार्टी टुक्रिन या चोइटिन सक्छ ।
पार्टी टुक्रिनु या कमजोर हुनु भनेको समग्र देशलाई घाटा हुनु हो । गुट उपगुट चलाउनु साधन, श्रोत, शक्ति र आँट चाहिन्छ । श्रोत र शक्ति बिनाको नेताको पछि कोहि पनि लाग्दैन ।
हाल चलन चल्तीमा देखिएका गुट उपगुट संचालन गर्नेहरु पटक पटक शक्तिमा पुगेका ब्यक्तिहरु नै छन् । पावर र पैसाको बलले बनाएको गुटले समग्र पार्टीलाई फाइदा गर्दैन । यसले त्यो गुट वा गिरोह भित्रको सिमित व्यक्तिबिशेषहरुलाई मात्र फाइदा हुन्छ । बरु उल्टै पार्टीको छबि नराम्रो हुन्छ ।
पार्टी धनबाद र डनबादमा चलेको आरोप लाग्दछ । यसरी पार्टी चलाउँदा पार्टीको संस्कार नै बिग्रन्छ जसले गर्दा सचेत नागरिकको नजरमा पार्टीको छवि धुमिल हुँदै जान्छ । र अन्त्यमा पार्टीको अस्तित्व नै समाप्त हुन सक्छ ।
गुटबन्दी को ब्यबस्थापन कसरी गर्ने ?
पार्टीको विचार उही भएपनि समाजका सबै किसिमका व्यक्तिहरु समेटिने भएकोले पार्टी भित्र गुटबन्दी हुनु स्वाभाविक हो । तर यसलाई समयमै ब्यबस्थापन गर्नु पार्टी नेतृत्वको खुबीमा भर पर्दछ । यदि नेतृत्व असल भएमा गुटबन्दी मौलाएर जादैन, समयमै समाधान खोजिन्छ ।
पार्टीभित्र विभिन्न स्वार्थि गुट उपगुटहरु बन्ने अवसर नदिई एकता कायम गर्नु मूल नेतृत्वको सबभन्दा ठुलो भूमिका हुन्छ । मूल नेतृत्वमा बस्ने व्यक्तिहरुले पार्टी भित्र गुट उपगुट किन र कसरी बन्दैछ भन्ने बारेमा बुझ्नु जरुरी छ । र त्यसलाई समयमै रोकथाम गर्नुको लागि सबैलाई संग संगै लिएर अघि बढ्ने क्षमता राख्नु पर्दछ ।
सबै नेता कार्यकर्ताहरुलाई समान अवसर, समान व्यवहार गरिनु पर्दछ । सल्लाह, सुझाव, र गुनासाहरु सुन्ने क्षमता राख्नु पर्दछ । एउटा कुरा यो पनि सत्य हो कि कुनै पनि नेतृत्वले १०० प्रतिसत नेता तथा कार्यकर्ताहरुलाई खुशी बनाउनु सक्दैन र १०० प्रतिशतलाई चित्त बुझाउनु खोज्नु भनेको आफु सरासर असफल नेता बन्नु हो ।
तर नेतृत्वमा पुग्नेले ‘कांग्रेस भनेको मै हुँ र मलाई सहयोग गर्ने मात्र कांग्रेस हुन्छ’ भन्ने दम्भ बोक्नु पनि गलत हो । नेतृत्वले पार्टीलाई बलियो बनाउन पहल गर्नुको सट्टा आफु र आफ्नो गिरोहलाई बलियो बनाउन स्वयं गुट निर्माणमा लाग्नु अरुलाई पनि गुट निर्माणको लागि बाध्य तुल्याउनु हो ।
पार्टीभित्र गुट निर्माण हुनु जहिले तहिले नराम्रो पनि होइन। तर त्यो गुट नितान्त व्यक्तिगत फाइदा भन्दा पनि पार्टी हितको लागि विचार केन्द्रित हुनुपर्दछ । पार्टीको विचारलाई कार्यकर्ताहरु माझ पुर्याएर कुशल संगठनकर्ता भएर अथवा बिचारको आधारमा गुटको नेता बनेको राम्रो हो ।
पार्टीभित्र विचारको लागि व्यापक बहस हुनु पर्दछ । फरक बिचारहरुलाई पनि पार्टी भित्र स्थान दिनु पर्छ, किनकि फरक विचारले पार्टीलाई कमजोर होइन, बलियो बनाउन मद्दत गर्छ ।
पार्टीभित्र जहिले पनि एजेन्डा, विचार, र एकताको सुत्रहरुको खोजी भइरहनु पर्छ । पार्टी पूर्ण लोकतान्त्रिक पद्दतिले चल्नु पर्दछ । पार्टी, नेता मुखी होइन नीति मुखी हुनु पर्दछ ।
पार्टी विधि विधानले चल्नु पर्दछ । नेतालाई गलत काम गर्नको लागि उक्साहट गर्नु वा निरङ्कुश बन्न दिनु हुँदैन । नेतृत्व अतिनै बिबेकवान हुनुपर्छ । उसले पार्टीका सकेसबै नभए अधिकांश नेता कार्यकर्ताहरुको भावना बुझेर निर्णयहरु लिनु पर्दछ ।
नेताहरु बीच व्यक्तिगत फाइदाको लागि नभएर पार्टी हितको लागि आपसी समझदारी हुनु पर्दछ । पार्टी भित्र निस्पक्ष अनुसाशन समितिको व्यवस्था गरी राम्रो काम गर्नेलाई पुरस्कार र पार्टी हित बिपरित काम गर्नेलाई दण्डको व्यवस्था हुनुपर्छ ।
अन्त्यमा, बीपीको विचारलाई सबैले आत्मसात गर्ने हो भने गुटबन्दी ब्यबस्थापन गर्नु कत्ति पनि गार्हो छैन ।