- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली। परलोक, धर्म र पाप, जगतको सृष्टि लगायतका विषयमा हिन्दू धर्म आफैंमा स्पष्ट छैन। यसभित्रका विभिन्न सम्प्रदाय मान्ने आचार्यहरुले गरेको आफूखुशी व्याख्याका कारण हिन्दूधर्मको अध्ययन गर्ने ब्राह्मणहरु नै यस विषयमा अन्यौलमा पर्ने गरेका छन्। एक आपसमा बाझिने खालका दर्शनहरुका कारण यसको विषयमा जानकारी राख्न चाहनेहरुको लागि भने यो समस्याको विषय बनेको छ।
धर्म मान्ने र नमान्ने गरी पूर्वीय हिन्दू दर्शनमा कूल ९ वटा दर्शनहरु रहेका छन्। हिन्दू धर्म एउटा यस्तो दर्शन शास्त्र हो जहाँ भगवान मान्ने र नमान्ने, बलि प्रथालाई प्रश्रय दिने र नदिने जस्ता सबै स्वतन्त्रताहरु रहेको छ। ऋण गरेर भएपनि घिउ खाउ भन्ने चार्वाक दर्शनदेखि मानिसले गरेका सबै कामको मार्गदर्शक भगवान् हुन् भन्ने विशिष्टाद्वेत लगायतका दर्शनहरु यही पूर्वीय दर्शनमा नै पाईन्छ।
चार्वाक दर्शनको सुरुवातमा नै भनिएको छ कि
यावज्जीवेत सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत
भस्मि भूतस्य देहस्य, पुनर्जन्मो कुतः।
अर्थात्, जति जीउनु छ सुखी भएर जीउने गर। अरु किन चिन्ता लिन्छौं यदि सम्पति छैन भने ऋण लिएरै भएपनि घिउ पिउनलाई भने नछोड। जलेर भस्म हुने यो शरीरलाई किन दुख दिईरहन्छौ। पुनर्जन्मको कुरा त त्यो परैको कुरा हो। यसको बारेमा चिन्तै नगर।
पूर्वीय दर्शनहरुको विभाजन गर्ने क्रममा पनि यसको विभाजनको आधार स्पष्ट छैन। कसैले पुनर्जन्मलाई मान्ने र नमान्नेको आधारमा पनि यसको भेद छुट्याउन सकिन्छ भने अर्को हिसावले वेदलाई मान्ने र नमान्ने गरी दुई भागमा विभाजन गर्न सकिन्छ।
यी दर्शनहरुमध्ये वेद र भगवानलाई मान्ने र नमान्नेलाई आधार मानेर कूल ९ भागमा विभाजन गरिएको छ। कूल ६ दर्शन भगवानलाई मान्ने र ३ दर्शन भगवान र वेदलाई नमान्नेहरु रहेका छन्। यसरी आस्तिक मतहरु पनि सबै मतहरु समान छैनन्।
यस भित्र पनि कोही भगवान विष्णुलाई मूल देवता मानेर त्यसैमा आस्था राख्दछन् भने कोही भगवान शिवलाई मूल भगवान मानेर पूजाआजा गर्ने गरेको हुन्छन्। हाम्रा केही शास्त्रहरु यसैको आधारमा पनि सम्प्रदाय विशेष बनेर अन्य सम्प्रदायको खण्डन गरी लेख्ने गरिएको छ। यी सबै दर्शनहरुको बारेमा हामी क्रमसँग विस्तार गर्नेछौं।
सांख्यदर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक, पूर्व मिमांसा (वेदान्त) र उत्तर मिमांसा यी ६ आस्तिक दर्शनहरु हुन्। यसमध्ये योगको विषयमा पतञ्जली, न्याय दर्शनका आचार्य गौतम लगायतका आचार्यहरुको मूल योगदान रहेको छ।
मीमांसा दर्शन
महर्षि जैमिनी यस दर्शनका मूल आचार्य एवं मूल प्रणेता हुन्। मिमांसा दर्शनलाई पूर्व मिमांसा पनि भनिन्छ। यस दर्शनमा विशेषगरी वैदिक कर्मकाण्डको युक्तिपूर्वक प्रतिपादन गर्ने विषयलाई महत्वका साथ दर्शाईएको छ।
यो दर्शनले वेदलाई मूल ग्रन्थको रुपमा लिएको छ। यसमा प्रयुक्त कर्मकाण्डका विषयहरु वेदको आधारमा दर्शाइएको छ। यही ग्रन्थहरुले नै वेदको अपौरुषेयतालाई पुष्टि गर्ने प्रयास गरेको छ। अर्थात् वेद नित्य हो र कुनैपनि पुरुषले रचना गरेको नभएर स्वयं प्रकाशित ग्रन्थ हो भन्ने विषयलाई पुष्टि गर्नको लागि यो दर्शनका आचार्यहरुले निकै मेहनत गरेका छन्। यो ग्रन्थले वेदलाई पुरुषकृत दोषदेखि रहित रहेको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
मिमांसा दर्शनले यी विषय मुख्य रुपमा प्रस्तुत गर्ने गरिएको छ कि वेदमा लेखिएका सबै ज्ञान स्वतः प्रमाणहरु हुन्। हाम्रा व्यवहारहरुलाई नियाल्ने हो भने प्रमाणको हिसावले हामीहरुका प्रमाणका मूलभूत दुई स्रोतहरु हुन्छन्। एउटा प्रत्यक्ष प्रमाण र दोस्रोमा शब्द प्रमाण। प्रत्यक्ष प्रमाण हाम्रा इन्द्रियहरुले सीधै अनुभव गरेका र देखेका विषयहरु प्रमाणहरु हुन्। अर्थात् हाम्रा इन्द्रियले देखेका विषयहरु प्रत्यक्ष प्रमाण हुन् भने वेदमा लेखिएका विषयहरु शव्द प्रमाणको भेद भित्र पर्दछ।
हाम्रा दैनिक व्यवहारका अनुसार पर्याप्त सामग्री रहेमा नै हामीहरुमा ज्ञानको उत्पत्ति हुन्छ। हामीभित्रका इन्द्रियहरुको गतिविधि निर्दोष भयो भने वा वस्तुको सन्निकटमा रह्यो तथा अन्य सहकारीकारणहरुको उपस्थितीमा नै भयो भन्ने त्यतिबेला हामीमा प्रत्यक्ष ज्ञान हुन्छ।
यसरी मिमांसालाई व्याख्या गर्नको लागि धेरै आचार्यहरुले आफ्नो बुद्धि खर्चिएका छन्। मिमांसाको एउटा शाखाका प्रवद्र्धक थिए प्रभाकर। त्यस्तै, यही दर्शनका अर्का आचार्य हुन् कुमारिल भट्ट। मिमांसावादीहरु बाह्यसत्तावादी विचारका विचारकहरु हुन्। उनीहरु संसारको अतिरिक्त आत्मालाई पनि एउटा विशेष महत्व दिने गर्दछन्। उनीहरुको विचारमा संसारमा भोग्ने शारीरिक सुख भनेको क्षणिक सुख हो। आत्माले सुख पाउनको लागि मानिसहरु क्षणिक सुखबाट माथि उठेर भगवान् भक्तिमा ध्यान दिनु आवश्यक हुन्छ भन्ने उनीहरुको तर्क हुन्छ।
यो दर्शनको अर्को पनि एउटा विशेषता के छ भने यो संसार भगवानले सृष्टि गरेको भन्ने विषयलाई स्वीकार गर्दैन। यो दर्शन जगतलाई अनादि अनन्त मान्ने गर्दछ। यो जगत न त कहिल्यै सृष्टि हुन्छ न त कहिल्यै नष्ट नै हुन्छ भन्ने तर्क मिमांसकहरुको छ। यो दर्शनले जगतलाई भगवानको सृष्टि नमानेपनि यो जन्ममा गरेको पाप र धर्मले परलोकमा भोग हुन्छ भन्ने मान्यता यो दर्शनको छ। यो दर्शन अभावको ज्ञान अनुपलब्धिद्वारा नै हुन्छ भन्ने मान्यता राख्ने गर्दछ।