तीजको व्रत पुरुषले बस्दा

हाम्राकुरा डेस्क, प्रकाशित मिति : २०७५ भदौ २७ बुधबार

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको अवसरमा हिन्दू महिलाहरुले व्रत बसेर आफ्नो संस्कार पूरा गर्छन् । परापूर्वकालदेखि यो संस्कार चल्दै आएको छ । 

यसलाई समयअनुसार परिवर्तन गर्नुपर्नेमा व्रत नबस्ने तर महिला अधिकारका नाममा  एनजीओ र आइएनजीओ चलाउँदै आएका महिलाहरुले जोड दिँदै आएका छन् । क्रान्तिकारीहरु धर्मलाई अफिम मान्छन् । अनि अधिकारकर्मीहरु महिलामात्र किन पुरुषले पनि व्रत बसे भयो भन्छन् । 

यो भनाइ र धर्म संस्कार नितान्त फरक विषय हुन् । धर्मले यसो ‘गनुर्’ भन्छ तर ‘गर्नेपर्छ’ नगरे ‘कार्वाही गर्छु’ भनेर भन्दैन अहिले भदौ १ गतेदेखि लागु भएको कानुनजस्तै । 

वास्तवमा अन्य पर्वहरु जस्तै एकादशी वा पूर्णिमा वा कसैले आइतबारदेखि शनिबारसम्मका कुनै दिन कुनै निश्चित उद्धेश्यका लागि व्रत बसेका हुन्छन् । यस्तो व्रत बस्नेमा धेरैजसो महिला नै हुन्छन् । तर कसैले अवरोध गर्र्दैनन् । जब तीजको कुरा आउँछ तब अधिकारकर्मीहरु उफ्रिन थाल्छन् । 

व्रत कसरी बसिन्छ ? 
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार व्रत तीन किसिमका हुन्छन् । निराहार, जलाहार र फलाहार । 

सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ । 

“सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने अध्यक्ष गौतमको भनाइ छ । 

व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राह्मणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । 

महिलामात्र बस्छन् र तीजको व्रत ? 
तीजको व्रत महिलाले मात्र बस्दैनन् पुरुषले पनि बस्छन् । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको गौतम बताउँछन् । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । 

यो व्रत पुरुषले पनि गर्छन् । पुरुषले व्रत बसे विधुर हुनु नपर्ने र नारीले व्रत बसे अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । 

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । 

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । 

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । 

सत्ययुगमा हरितालिकाकै दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले यसै दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने छैन जे सकिन्छ त्यही गर्ने हो । 

व्रत पुरुषले पनि बस्न सक्छन् । अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ । 

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् ।

यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ । 

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि व्रतको प्रयोजन रहेको धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ । 

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको प्रा डा गौतम बताउँछन् । 

तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि गौतमको भनाइ छ । 

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ (यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो) भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने अध्यक्ष गौतमको भनाइ छ । (राससको सहयोगमा)

नयाँ