स्वाइन फ्लू र हङकङ फ्लू एक पटक आयो कि आयो, कहिल्यै जाँदैन (अन्तर्वार्ता)

नेपालमा वर्षमा कति पटक हुन्छ सक्रिय ?

प्रकाशित मिति : २०७५ भदौ ३० शनिबार

सप्तरीको हनुमाननगर र कन्चनरुप नगरपालिकामा स्वाइन फ्लू र हङकङ फ्लूको संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि कन्चनरुपलाई विपद क्षेत्र घोषणा गरिएको छ । कञ्चनरुपमा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट खटिएको टोलीले रगतको नमूना संकलन गरी परीक्षण गर्दा एक जनामा स्वाइन फ्लू (एचवानएनवान) र १० जनामा हङकङ फुलू (एचथ्रीएनटू)को जीवाणु भेटिएको पुष्टि गरेको छ । यसपछि कञ्चनरुपलाई विपद क्षेत्र घोषणा गरियो । यो दुई भाइरसको संक्रमण कुन कुन समयमा फैलिने हो । यो कहाँबाट भित्रिन्छ ? संक्रमण भएको कसरी थाहा पाउने ? र यसबाट जोगिने उपाय के हो ? भन्नेबारे हामीले शुक्रराज ट्रपिकल अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुरा गरेका छौँ । 

० यो, स्वाइन फ्लू र हङकङ फ्लू देखा पर्ने समय हो वा जहिले पनि देखिन सक्छ ? 
–यसलाई यसरी हेर्नु पर्छ । फ्लू बाह्रै महिना देखिन्छ भन्ने भनाई छ नेपालमा । तर, वर्षमा खास गरी नेपालमा दुई पटक देखिने गरेको छ । देखिने भनाईको अर्थ प्रकोपको रुपमा देखिने भनेको हो । फ्लू वर्षमा दुई पटक अलिक बढी देखा पर्छ । खासगरी मनसुन अर्थात् बर्खाको सिजन र चोसिको सिजन । यो समयमा बढेको देखिन्छ । कुन ठाउँमा गएर प्रकोपको रुप लिन्छ भन्ने अनुमान भने गर्न सकिँदैन । अहिले देखिने बेलै भएर सप्तरीमा देखिएको हुनुपर्छ भन्ने लाग्छ मलाई ।

० स्वाइनफ्लूबारे मान्छेले धेरै कुरा थाहा पाएका छन् । यो हङकङ फ्लू भनेको के हो ? 
–यसको वैज्ञानिक नाम फरक हुन्छ । यही हङकङ फ्लूलाई हामी पहिले पहिले सिजनल फ्लू भनेर भन्थ्यौँ । हामीले हाम्रो भाषामा एचथ्रीएनटूको नामले चिन्छौँ । त्यो के हुन्छ भने, प्रत्येक पल्ट भाइरसको स्वरुप परिवर्तन हुँदै जान्छ । त्यही अनुसार वैज्ञानिक नामाकरण गरिँदै गइन्छ । उदाहरणका लागि स्वाइन फ्लू भनिएता पनि एनवानएनवान हो त्यसको वैज्ञानिक नाम । यो १९१८ मा स्पेनमा महामारी फैलिँदा छुट्टै नामले चिनिन्थ्यो । पछि २००९ मा देखिएपछि त्यसमा २००९ भनेर राखियो । त्यसको स्वरुप परिवर्तन भएर आएको हुनाले त्यो नाम दिईएको थियो । हङकङ फ्लूलाई गएको वर्षसम्म पनि सिजनल फ्लू भनिएको थियो । सर्वसाधारणमाझ हङकङ फ्लूले चिनियो । किन भने, सन् १९६८ तिर स्वरुप परिवर्तन भयो । पहिलो पटक हङकङमा यसले आफ्नो रुप देखाएको थियो । त्यहाँ पत्ता लागेको थियो । यसैको कारणले विश्वभरी झण्डै २० लाख मानिस मृत्यु भएको अनुमान गरिएको छ । 

० यो. कसरी लाग्छ, मानव शरीरमा प्रवेश गर्ने माध्यम के हो ? 
–कुनै पनि फ्लू एकै प्रकारको हुन्छ । नाम फरक छ । मैले अघि पनि भने । यो भाइरसको जीन जुन छ, त्यसलाई प्रकृतिका आधारमा फरक फरक नाम दिइएको हो । कडापन आदीबारे अनुमान गर्न सकिन्छ । तर, त्यो एकै प्रकारको अनुमान गर्न मिल्दैन । जीनको आन्तरिक स्वरुप परिवर्तन भएर आयो भने धेरै मान्छेलाई प्रभाव पार्न सक्छ । यसमा जोखिममा पर्ने समूहहरु हुन्छ । जेष्ठ नागरि, स्वासप्रश्वासमा समस्या भएका व्यक्ति, पहिलेदेखि रोग भएका दीर्घ रोगी । यस्ता खालका विरामीलाई प्रत्यक्ष र कडा खालको असर गर्छ । त्यही आधारमा उहाँहरुलाई बढी सतर्क रहनुस् भन्ने गर्दछौँ हामी । 

० जीवाणु कसरी मानव शरीरमा आउँछ, या यो आयातित हुन्छ, अथवा कुनै जीव जन्तुबाट मान्छेमा सर्छ ? यसको सर्ने माध्यम के हो ? 
–नेपालमा खासगरी ट्रपिकल एरिया अथवा रिजनहरुमा चैँ यसको सिजनालिटी हुँदैन भन्ने छ । यसमा वैज्ञानिकहरुको तर्क पनि छ । पश्चिमा देश खासगरी जाडो हुने देशमा जाडो महिनामा बढी मात्रामा देखिन्छ । अमेरिका लगायत देशहरुमो डिसेम्बर, जनवरीतिर यसको प्रभाव सुनिन्छ । भारतमा के भइराखेको छ भने, एचवानएनवान तिब्र गतिमा फैलिराखेको देखिन्छ । यसैको कारणले मान्छेको निधन भयो भन्ने कुराहरु पनि आइराखेको छ । मैले धेरेलाई भने पनि रुघाखोकी जस्तो स्वरुपमा देखा परेको छ, सतर्क रहनु पर्दछ । हामी कहाँ यो बाह्रै महिना रहने हो । उपयुक्त समय आयो भने ह्वात्तै बढेको देखिने हो । मैले पढ्दा भारतबाट आयोकी भन्ने अनुमान गरिएको छ । सप्तरीमा भारतबाट आयो वा काठमाडौंबाट गयो भन्न नसकिएता पनि देखिएका मध्ये कोही व्यक्ति भारतबाट आए र फैलियो भन्ने अनुमान गरिएको छ । होइन त्यतिकै भन्न सकिँदैन । किन भने, पहिले भारतमा फैलिने र नेपालसम्म आइपुग्ने अवस्था पनि मैले देखेको हो । भारतबाट धेरै वस्तु आयात हुन्छ । आउजाउ उत्तिकै हुन्छ । यताबाट उता गएको र उताबाट यता आएको कुरा भित्र तहसम्म गएर अध्ययन गरे मात्रै थाहा हुन्छ । अहिले हामीले सुन्दा भारतबाट आएको हो कि भन्ने कुराहरु आएको छ । अध्ययन हुन आवश्यक छ । 

० हङकङ फ्लू चैँ कहाँबाट आयो ? 
–यो हङकङ फ्लू नाम दिइएको भयो । वर्षैभरी नेपाभित्रै हुन सक्छ । 
० हाम्रै वातावरणमा लुकेर बस्ने हो ? 
–हङकङमा पहिलोपटक देखा परेको हुनाले नाम दिइएको हो । नाम दिइएपछि संसारभरी फैलियो । र, सधैँभरी रहिरहयो । फेरि फेरि हङकङबाटै आउनु पर्छ भन्ने जरुरी भएन । यो कुनै पनि देशमा पुगेपछि थपक्क बस्छ । उसको अनुकुल बढीमात्रामा देखिने हुन्छ । सक्रिय कहिले हुने भन्ने कुरा हो । यो जहिले रहन्छ । नेपालमा दुई वा तीन पटकसम्म अलिक बढी सक्रिय देखिन्छ । त्यो भनेको मनसुनको समय र अर्को जाडो महिनाको सुरु र अन्त्यतिर बढी मात्रामा देखिन्छ । भारतमा पनि हाम्रो जस्तै हावापानी भएकाले त्यहाँ पनि यसको असर देखिएको छ । 

० स्वाइन फ्लू वा हङकङ फ्लू भए,, उपचार अस्पताल गएरै गर्ने हो अथवा घरेलु उपाय पनि छन् ? 
–यो एउटा महत्वपूर्ण प्रश्न हो । यो धेरैले थाहा पाउन जरुरत छ । धेरै स्वास्थ्यकर्मीले भनेका छन् । घरेलु उपचार पनि गर्न सकिन्छ । त्यो ठिक कुरा हो । धेरै मानिसले डाक्टरलाई नभेटेर पनि स्वास्थ्यलाभ गरेका छन् । म यहाँनेर महत्वपूर्ण कुरा के भनौँ भने, मेरो अनुभवले जो पहिलेदेखि विरामी छ, स्वासप्रश्वासमा समस्या छ, जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलाको हकमा त्यो लागू हुँदैन । उनीहरुले घरमा झोलिलो खाएर वा आराम गरेर स्वास्थ्य लाभ गर्न हुँदैन । स्वस्थ युवालाई यी फ्लूको संक्रमण हुँदा झोलिलो खानेकुरा वा घरमा आराम गर्दा स्वास्थ्य लाभ होला तर, मैले भनेका लक्षित वर्गले स्वस्थ व्यक्तिको सिको गर्नु हुँदैन । 

नयाँ