arrow

ओली र ‘अरिंगाल’को बचाउ गर्दै प्रतिपक्षिमाथि खनिइन् पम्फा भूषाल (वक्तव्यसहित) 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
pamfa1.JPG

काठमाडौं । नेकपाकी सांसद पम्फा भूषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको बचाउ गरेकी छन् । तत्कालीन माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको स्मृतिसभामा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको भूषालले बचाउ गरेकी हुन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद भूषालले प्रधानमन्त्रीले प्रतिपक्षि लक्षित वक्तव्य नदिएको तर, प्रतिपक्षिति विभिन्न कोणबाट उछालेको बताईन् । 

प्रधानमन्त्री ओलीले बोगटीको स्मृतिसभामा सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि प्रतिवाद नगरेकोमा पार्टीका नेता–कार्यकर्ताप्रति आक्रोश पोख्दै अब अरिंगाल जस्तै एकजुट भएर प्रतिवाद गर्नुस् भनेका थिए । उनले ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ?’ भने । अब त्यो हामीले हेर्नुपर्ने भएको छ, उनले अगाडि थपे, ‘एउटा अरिंगाललाई मार्दा त्यसलाई मार्‍याे ठिकै छ, अर्कोलाई हमला गर्‍याे ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’ 

तर, भूषालले देशभरी घटेका सामाजिक अपराध, हत्या हिंसा, बलात्कार जस्ता घटनाहरु र अनावश्यक ढंगले सरकारको बदनाम गर्ने कुराहरुप्रति पार्टीले डिफेन्स गरोस् भनेर आफ्ना कार्यकर्ताप्रति लक्षित गरेर दिएको अभिव्यक्तिलाई प्रतिपक्षीले उल्ट्याएको बताईन् । 

उनले अदालतले लोकतन्त्र र जनमतलाई सम्मान नगरेको भन्दै अदालतप्रति कडा टिप्पणी गरिन् । अदालतले सरकारका कतिपय कामकाजमा समेत बाधा पुर्याइरहेकाले अदालतले यसबारे नसोचे गम्भीर दुर्घटना निम्तिन सक्ने समेत उनले चुनौती देखाइन् ।  उनले थुप्रै कुरा उठाइन् तर, धेरै ठाउँमा वाक्य नै टुंग्याईनन् । जसले उनले भन्न खोजेको कुराको आशय आम सर्वसाधारण सबैले बुझ्न सकेनन् । 

उनले दिएको वक्तव्य यस्तो छ :
सभामूख महोदय अहिले देशमा शान्ति सुरक्षाको विषय बडो महत्वपूर्ण बनेर उठेको छ । हत्या, हिंसा जस्ता जघन्यउ घटनाहरु मध्ये कतिपय घटनाहरु जुन ढंगले अनुसन्धान भएर परिणाम आउनु पर्ने हो । नआएकोप्रति चौतर्फी आवाज उठिराखेको छ । त्यसो त अहिले यो नयाँ सरकार बनेरै मात्रै सामाजिक असुरक्षा, हत्या, हिंसा, बलात्कार घट्यो भन्ने त होईन । तर, कतिपय घटनाहरु अत्यन्तै शंकास्पद अनुसन्धानबाट निष्कर्षमा पुग्न नपाउने कुराले अहिले देशमा जुन ढंगले यसका विरुद्धमा आवाज उठिराखेको छ । यसले कतै एकातिर अपराधि पत्ता नलाग्ने, अनुसन्धानबाट अपराधि पत्ता लागेर कारबाही नहुने कुराले एउटा त्रास पैदा गरेको छ भने, अर्कोतिर राष्ट्रको छवि के हुने हो भन्ने एउटा प्रश्न पनि उठेको छ । त्यसैले यसको बडो नियम संगत, कानून संगत ढंगले खोजी गर्ने कुरामा सत्तापक्षमात्रै होईन प्रतिपक्षका निम्ति पनि यो त्यतिकै जिम्मेवारी हो ।

यसको न्यायिक ढंगले अनुसन्धान गर्ने, अपराधि पत्ता लगाउने र दण्डित गर्ने कुरामा संयमित ढंगले हामी लाग्नु पर्ने आवश्यकताको मैले महसुस गर्दछु । अन्यथा सन् २०२० सम्म ५० लाख पर्यटक ल्याउने भनेर सरकारले एकातिर घोषणा गरेको छ । जसले राष्ट्रको सम्वृद्धि र सुखी जनताको लक्ष्य पूरा गर्नका निम्ति मद्दत गर्ने छ । तर, हामी कहाँ घटेका घटनाक्रमको निराकरण गर्न नसक्ने कुरा सत्तापक्ष र प्रतिपक्षको विषय हैन, यो कुरा । सामाजिक विषय हो, सबैको साझा विषय हो । अनुसनधान गर्ने, कारबाही गर्ने कुरा भन्दा अझ अन्य शक्तिहरु पनि जुन ढुंगले लाग्ने र देशको छविनै धुमिल पार्ने काम गर्नु हुँदैन । मानौ अव कोही पनि भ्रमण गर्न जानु हुन्न, असुरक्षित छ भन्ने सन्देश जाने सन्दर्भमा बडो जिम्मेवार बन्नु पर्दछ भन्ने मलाई लाग्दछ । त्यस्तै हामीले देख्दा सरकारले पूरानो बजेट सकिएको, नयाँ बजेट ल्याउँदै गर्दा कार्यान्वयन गर्न नसकिरहेका बेला पनि जनताका मनछुने कतिपय काम गरेको हामीलाई अनुभव छ । लामो समयदेखि जरा गाडेको यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गरेको छ । अब नयाँ यातायात नीति छिटो भन्दा छिटो लागू गर्नु पर्दछ । सुन काण्ड अनुसन्धान । तर, नेपाल अचम्म छ , सरकारले काम गर्दै गर्छ । हाम्रो न्यायपालिकाले उल्ट्याउँदै गर्छ । डेढ दुई महिना, तीन महिना लामो समय लगाएर सुन तस्करहरुको सन्जालको खोजी गर्दै गरेर त्यो अझै अनुसन्धानको प्रक्रियामा छ ।

अदालतले चाहिँ सामान्य तारिख वा न्यूनतम धरौटीमा छोडिरहेको छ । त्यसैले यस्तो राज्यका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाले सन्तुलित ढंगले काम नगर्ने हो भने केबल कार्यपालिकाले मात्रै देशमा सुशासन कायम गर्न बडो मुस्किल हुन्छ । हामी कहाँ जहिले पनि एउटा निकायका विरुद्ध अर्को निकाय  र पछिल्लो चोटी न्यायपालिका नै यस्तो निकाय भएको छ । जसले परिवर्तनलाई स्वीकार्न सकेको छैन । लोकतन्त्रलाई स्वीकार्न सकेको छैन । जनताको जनमतलाई स्वीकार्न सकेको छैन । आज सरकारले निर्णय गर्ने, कतिपय भोलि, कतिपय एक हप्ता, कतिपय एक महिना नपुग्दै निर्णय उठाउने कुरा बडो विडम्पनाको कुरा हो । परिवर्तनलाई स्वीकार गरियोस् भन्ने म अपिल पनि गर्न चाहन्छु । त्यस्तै गरेर ठूलठूला ठेक्का पट्टा लिने, अनि होल्ड गर्ने, काम नगर्ने विषय प्राय हामी सांसदले दैनिक उठाइरहेकै हुन्छौँ । ठेकेदारमाथिको कारबाही के सुरु भएको हुन्छ र त्यसपछि सरकार र निश्चित मन्त्रालयको घेराबन्दी गर्ने गरेर जसरी आउने कुरा भएको छ । नेपालमा उखान महिलाप्रति लक्षित छन्, तर, म बुढा मर्‍यो भनेर होइन, काल पल्क्यो भन्ने जस्तो गरेर जुन ढंगले गतिविधि भएका छन् । सबैले ध्यान दिएर हामीले कार्यान्वयन गरौँ । सहयोग गरौँ र समुन्नत राष्ट्रलाई अगाडि बढाउने कुरा गरौँ । 

अहिले प्रतिपक्षीले धेरै ढंगले उचालेको एउटा विषय छ, अरिंगाल । अरिंगालको गोला । सम्मानीय प्रधानमन्त्री ज्यूले हाम्रा दिवंगत नेता पोष्टबहादुर बोगटी दिवाकरको स्मृतिसभामा देशभरी घटेका सामाजिक अपराध, हत्या हिंसा, बलात्कार जस्ता घटनाहरु र अनावश्यक ढंगले सरकारको बदनाम गर्ने कुराहरुप्रति पार्टीले डिफेन्स गरोस् भनेर आफ्ना कार्यकर्ताप्रति लक्षित गरेर दिएको अभिव्यक्तिलाई प्रतिपक्षीका माननीयहरुले त्यसलाई नउल्ट्याउनुस् । त्यो कोही प्रतिपक्षि लक्षित थिएन । हामी बडो लोकतान्त्रि, विधि, पद्दती र मूल्य मान्यताबाट जान तयार छौँ । सरकार त्यसका निम्ति तयार छ । त्यसैले हामीलाई अहिले प्रतिपक्षिप्रति कुनै कार्यकर्ता लगाउनु पर्ने स्थिति पनि छैन । प्रधानमन्त्रीको अभिव्यक्तिको त्यो आशय पनि थिएन । त्यसैले हजार चोटी भन्दा झुठ पनि सत्य हुन्छ जस्तो गरेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपभ्रंस गर्ने, अलक्षित ठाउँमा व्यक्त गर्ने कुरा नगरौँ म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । यत्ति भनेर अर्को विषय कोट्याउँ भन्दा उनको माइक्रोफोनको फेडआउट भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ