arrow

निजगढ विमानस्थल : सरकारले जनतालाई गुमराहमा राख्याे, अब धेरैले प्रश्न गर्ने छन् (अन्तर्वार्ता)

याे दाेस्राे अन्तर्राष्ट्रिय हाेइन, चाैथाे

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
bhushan.JPG

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि कति जमिन चाहिन्छ, कति वन क्षेत्र मास्नुपर्छ भन्ने कुराको यकिन भइसकेको छैन । वातावरण मूल्यांकन प्रतिवेदन (इआईए) हेर्ने हो भने ८ हजार हेक्सटर जमिन चाहिने उल्लेख छ । तर संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्रीले २५ सय हेक्टर जमिन मात्र चाहिन्छ भनेका छन् । अर्को एउटा विवरणमा १३ सय हेक्टर भनिएको छ । अर्थात् यस विषयमा प्रष्ट कुरा बाहिर आएको छैन ।

यदि ८ हजार हेक्टरमा निजगढ विमानस्थल फैलिने हो भने त्यहाँ झन्डै २४ लाख रुख काटिने छन् । त्यसको सट्टा भर्ना गर्दा ६ करोड रुख रोप्नुपर्ने छ । ६ करोड रुख रोप्न ४० हजार हेक्टर जमिन चाहिन्छ । के हो वास्तविकता, अहिलेको प्रतिवेदनअनुसार निजगढ विमानस्थल बन्यो भने वातावरणमा कति असर पुग्छ । यस विषयमा हामीले वातावरणविद् भूषण तुलाधरसँग कुरा गरेका छाैँ ।

० वातावरणको कुरा गर्दा विकासविरोधीको भनिदैन ?
– भन्नेहरुले भन्छन्, त्यस विषयमा मेरो भन्नु केही छैन । वातावरणसम्बन्धी काम गर्ने धेरै व्यक्तिहरु स्पष्ट छन्, उनीहरुले हामी विकासविरोधी भन्दा पनि विकासलाई वातावरणमैत्री बनाउनुपर्छ भनिरहेका छन् । वातावरण रक्षा गर्नु र विकास गर्नु एउटा रथका दुई पांग्रा हुन् । यसलाई सँगसँगै नलैजाने हो भने विकास भनेर हामीले जुन काम गछौं, त्यसले विनास निम्त्याउन सक्छ । त्यसैले विकास र वातावरणलाई सँगसँगै लैजाने हो भने वातावरण मात्र होइन, सबैलाई त्यसले फाइदा पुग्छ । र, विकासको जुन कार्यक्रम गछौं, त्यसको प्रतिफल धेरै र दीगो रुपमा आउँछ । विकास र वातावरण सँगै लैजानुपर्छ भन्ने अवधारणा संसारभरिकै हो ।

० के कारणले हामी विकासविरोधी होइनौं ?
– विकास मात्रै भनेर हुँदैन, विकासको अवधारणालाई नै हामीले बुझ्नुपर्छ । आर्थिक विकास धेरै पैसा कमाउने अथवा पूर्वाधारको विकास गर्नु भनेको धेरै संरचना बनाउनु मात्रै होइन । समष्टिगत रुपमा विकास भनेको आर्थिक, सामाजिक विकास पनि हो, साथसाथै हाम्रो पर्यावरणको संरक्षण पनि हो । त्यसैले त्यसको आर्थिक पक्ष, प्राविधि पक्ष, वातावरणीय पक्ष सबैलाई समेटेर सँगगँगै अगाडि लगेर विकास गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रो मान्यता मात्रै होईन, संसारभरीकै मान्यता हो । वातावरणमा काम गर्नेहरु र वातावरणलाई बचाउनुपर्छ भन्नेहरुको मूल भनाई प्रकृतिको संरक्षण मात्रै गरौँ विकास नगरौँ भन्ने होइन । जस्ताको त्यस्तै जहाँको त्यहीँ बसौँ भन्ने हुँदै होईन हाम्रो तर्क । विकास गर्ने नै हो । विकास नगर्ने भनेकै छैन । सम्वृद्धि खोज्ने नै हो । हामीलाई सम्वृद्धि चाहिएको छ । सम्वृद्धि भनेको आर्थिक उन्नयन मात्रै सम्वृद्धि होइन । सम्वृद्धि भनेको सामाजिक हुन सक्नु पर्छ । हामीले सबैलाई बाँड्न सक्नु पर्छ । अहिलेको जेनरेशन र भावी पिडिलाई पनि सम्वृद्धि दिन सक्नु पर्छ कि पर्दैन । अहिले सबै मासेर पछिको लागि केही बाँकि नराख्ने भन्ने हुनै सक्दैन । सम्वृद्धि अथवा विकास हामीलाई चाहिन्छ । तर, त्यहाँ सबै भन्दा पहिले मानव जीवन चाहिन्छ । मानव जीवन खोज्न वातावरण चाहिन्छ । त्यही भएर विकास वातावरणमन्त्री चाहियो मात्रै भन्न खोजेको हो । यही कारण हामी विकास विरोधी होईनौँ । 

० हामी कहिले आर्थिक विकासमा जाने, राजनीतिक क्रान्ति सकियो, अबको क्रान्ति आर्थिक क्रान्ति हो भन्ने तर्क छ । त्यति धेरै तिब्र विकासमा जान खोजेको आकांक्षा हो कि लहड ?
–आकांक्षा हो । त्यसलाई म सम्मान गर्छु । आर्थिक विकासमा जानु पर्छ । राजनीतिक परिवर्तनहरु यो देशले दशकौँ हेरिसक्यो । त्योबीचमा आर्थिक वृद्धिदर ३–४ प्रतिशत भन्दामाथि गएन । छिमेकी देशमा ९–१० प्रतिशत थियो । योबीचमा सामाजिक क्षेत्रमा भने केही केही विकास भएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा जुन सूचकहरु छन् । त्यो राम्रो हुँदै आएको छ । आर्थिक विकासको जुन चाहाना छ । त्यो जनता र राजनीतिकर्मी सबैको हो । आर्थिक विकास गर्ने नै हो । तर, कहिलेकाँही के हुन्छ भने, तीब्र रुपले विकास गर्ने आकांक्षा राख्दा त्यसले कहिलेकाँही दुर्घटना नहोस् है भन्नेतर्फ सचेत हुनु पर्छ । हामीले भन्न खोजेको पनि त्यही हो । दु्रत गतिमा सवारी हाँक्दा दुर्घटनाप्रति सचेत भएजस्तै विकास गर्दा योजनावद्ध, वृहत्तर अध्ययन गरेर जानु पर्छ भन्ने हो । विकास चाहिँदैन भनेर कसैले पनि भन्दैन । 

० आकांक्षा तीब्र छ । तर, त्यसप्रति विकास वहाकहरुको बुझाई के हो ? 
–विकासको आकांक्षा सबैलाई छ । कसैलाई बढी थोरै होला । त्यो बुझाईमा कसैलाई ठूल ठूलो जलविद्युत होला, कसैलाई ठूल ठूला हाइवे होला वा कसैलाई पानी जहाजै नै होला । विकास चाहिएको छ , सबैलाई । कोही विकास विरोधी छैन । अर्कोकुरा योजनावद्ध विकास हुनुपर्छ र त्यसक्रममा दुर्घटना नहोस् भनेर अलिकति हामी सचेत हुनुपर्छ । त्यो उहाँहरुले बुझ्नु पर्दछ । विकास भन्दैमा तुरुन्त कुदिहाल्न हुँदैन । यही सिलसिलामा विकासको नेतृत्व सरकारले लिन्छ । त्यसमा सबैको भूमिका हुन्छ । चाहे निजी क्षेत्र भन्नुस्, अथवा साधारण जनताको । जनताको एउटा भूमिका के पनि हो भने प्रश्न गर्ने । हामीले बच्चैदेखि प्रश्न गर्न दिएनौँ । के प्रश्न गरिरा, धेरै किन जान्ने पल्टेको ? हामी यसरी गुज्रियौँ । त्यसैको असर हो, अहिले प्रश्न गर्नेवित्तिकै विरोधी भनेर बुझिने । त्यही भएर हामी भनिरहेका छौँ, प्रश्न गर्ने समाज भइदिएन । जब प्रश्न आउँछन्, उत्तरको खोजी हुन्छ, तब नयाँ ज्ञान प्राप्त हुन्छ । नयाँ नयाँ ढोकाहरु खुल्छन् । नयाँ नयाँ सम्भावनाहरु देखिन्छन् । त्यसैले प्रश्न गर्नु भनेको नराम्रो होइन भनेर उहाँहरुले बुझ्नु पर्दछ । विरोध गरेको होइन प्रश्न गरेको हो भनेर सम्झिनु पर्दछ उहाँहरुले । हामी सबैले प्रश्न सोध्न सक्छौँ, यसबाट वातावरणमा के असर पर्छ भनेर ? र, निजगढ विमानस्थलबारे पनि धेरैले प्रश्न गर्नेछन् । विकासमा अर्को महत्वपूर्ण कुरा हो, सञ्चार । सरकार र जनता मिलेर विकास गर्ने हो भने पनि पारदर्शीता अपनाउनु पर्दछ । त्यो भनेको कम्युनिकेशन वा सञ्चारमार्फत गर्ने हो । सबै कुरा भन्न मिल्दैन होला । तर, सकेसम्म जनतालाई साथमा लिएर मात्रै विकास सम्भव छ । जनतालाई पाखा लगाएर वा जनताको प्रश्नलाई दबाएर वेवास्ता गरेको विकास, विकास हुँदैन । 

० निजगढ विमानस्थलकाे  वातावरणीय प्रभाव मूल्याङकन ईआईएमा खराबी छ ?
–मैले ईआईए पुरै पढ्न पाएको छैन । जेजति कुराहरु बाहिर आएका छन् । त्यसमा कमजोरीहरु देखियो । सबैभन्दा पहिले त यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनेर । तर, यो दोस्रो होईन चौथो हो । त्यसैले पनि फरक परिसकेको छ । किन भने यो २४ वर्ष अगाडि प्रस्तावित प्रस्ताव हो । त्यसपछि भएका परिवर्तनलाई पनि आत्मसात गर्नु पर्ने हुन्छ ।  त्यो भन्दैमा मैले निजगढ विमास्थल चाँहिदैन भनेको होईन । जहाँसम्म वातावरण प्रभाव मूल्याङ्कनको कुरा छ , त्यसमा दुई तीनटा कुराहरु गल्ती भएको भनिन्छ । एउटा कट पेष्ट रिपोर्ट हो भनियो । अर्कैबाट कट गरेर ल्याएको अथवा हाइड्रोपावरको ल्याएको भनिन्छ । त्यसमा गर्ने मान्छेको पनि कमजोरी भयो । र, वन तथा वातावरण मन्त्रालयले त्यसलाई स्वीकृत ग¥यो । मन्त्रालयको पनि कमजोरी देखिन्छ । ईआईएको गुणस्तरमै प्रश्न चिन्हहरु उठेको छ । त्यसलाई सुधार गर्नेकाम सरकारको हो । यसलाई फेरि एक पटक हेर्नै पर्छ । जहासम्म त्यसको डिटेल छ, त्यो डिटेल मैले पढ्ने मौका नपाएकाले त्यसमा धेरै कमेन्ट नगरौँ । 

० ईआईले ८ हजार हेक्टरमा फैलिने भनेको छ, त्यही अनुसार बने संसारको कतिऔँ ठूलो विमानस्थल हुन्छ यो ? 
–संसारकै तेस्रो ठूलो विमानस्थल हुन्छ ।   

० ८ हजार हेक्टरमा फैलिने हो, भने हामीले रुख काटिने कुरा मात्रै गर्दैनौँ, विमानस्थल निर्माणपछि त्यहाँ वरपर पानीको स्रोतको अवस्था, जीवजन्तको अवस्था र मानव जीवनको अवस्था के हुन्छ ? 
–यसमा दुईवटा कुरा अस्पष्ट छ । एउटा साढे २४ लाख रुख काट्ने र ८ हजार हेक्टरको कुरा । ८ हजार हेक्टरको कुरा ईआईएबाट आयो । ईआईएमा भएका धेरै कुरा सार्वजनिक भएका पनि छैनन् । अन्य रिपोर्ट त झन देखिएकै छैन । मन्त्री न्यूले ८ हजार कहाँबाट आयो २५ सय हेक्टर मात्रै हो भन्नु भयो । ल ठिक छ, ८ हजारबाट २५ सयमा आयो खुसीको कुरा हो । तर, ल्याण्डमार्कको रिपोर्ट, भनेको कोरियन संस्था जसले विस्तृत संभाव्यता अध्ययन गरेको थियो । ल्याण्डमार्कको रिपोर्टमा १३ सय हेक्टर भनिएको छ । त्यो झन राम्रो भयो । फेरि अहिले आएर हजार हेक्टर मात्रै हो, खास ठाउँमा मात्रै रुख काट्नु पर्छ भनिएको छ । त्यो झनै राम्रो भयो । राम्रो भन्ने भन्दा पनि स्पस्ट भएन क्या ? खास कति हो ? ८ हजार हो कि, २५ सय होकि, १३ सय हो कि , एक हजार ? यो प्रश्नको उत्तर सरकारले प्रष्टसँग भनिदिए राम्रो हुन्थ्यो । गुमराहमा राख्ने काम भयाे ।यति धेरै वन, जल, जमिन प्रयोग हुने भएपछि पानीको रिचार्ज, जीवजन्तुको वासस्थान र मानव स्वयंको अवस्थाका बारेमा निकै धेरै प्रभाव पर्छ । त्यसैले हामीले विमानस्थल बन्ने कति क्षेत्रफलमा हो ? के–के नोक्सान हुने हो ? त्यो क्षतिलाई कसरी व्यवस्थापन गर्ने ? त्यसको सट्टा भर्ना कसरी गर्ने ? र कसरी बढीभन्दा बढी वातावरणमन्त्री विमानस्थल बनाउने भन्ने चिन्ता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ