arrow

चुनाव खर्च लिएकाले हिसाब किताब मिलाउन बुढीगण्डकी गेजुवालाई (अन्तर्वार्ता)

‘अहिलेका सत्ता सञ्चालक विर्ता बाँड्ने जुद्धशमशेर बन्न खोजे’ 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
deepak_gyawali.JPG

बुढीगण्डकी बहुउद्देश्यीय आयोजना फेरि चिनियाँ कम्पनी गेजुवालाई नै दिने कुरा आएपछि धेरै खाले टिप्पणी हुन थालेका छन् । यसअघिको सरकारले गेजुवालाई दिने तत्कालीन प्रचण्ड सरकारले गरेको सम्झौता रद्द गरेको थियो । फेरि प्रचण्डहरु नै सरकारमा हुँदा बुढीगण्डकी विवादित तथा कालो सूचीमा परेको कम्पनीलाई दिने तयारी सरकारले गरेको छ । हामीले यसको अन्तर्य के छ ? भनि जलस्रोतविद् दिपक ज्ञवालीलाई सोधेका छौँ ।  

० बुढीगण्डकीमाथि के भईरहेको हो यो ? 
–खै सरकारमा बस्नेहरु जुद्धशमशेर हुनु भो क्यार । विर्ता बाँड्ने । यो दिने अधिकार उहाँहरुलाई छँदै छैन । यो नेपालको लागि बनाउनु पर्ने आयोजना । के दिँदै हिँडेको ? त्यो पनि ऐन कानुन सब मिच्दै । राजीनामा गरिसकेको सरकारले जबरजस्ती कम्पनीलाई बोलाएर सही गराएकाले संसदको विकास समितिले नै यो खारेज गर्नु पर्छ भनेर न त्यसपछिको सरकारले यसलाई खारेज गरेको हो ।  

० गेजुवासँगको प्रस्ताव रद्द गर्ने निर्णय कामचलाउ सरकारले गरेको भन्ने छ नि ? 
–हा,हा,, सबै सरकार काम चलाउ थिए । के कुरा गर्ने है । सरकार भनेको सरकार हुन्छ । काम चलाउ होस् कि काम नचलाउ होस् । अहिले पनि के पो काम चलाएका छन् र ? अनि के राजीनामा गरिसकेपछिको सरकारलाई निर्णय गर्ने अधिकार हुन्छ ? त्यो अधिकारै हुँदैन नि ! खारेज गर्ने सरकारले त खारेज गर्नुअघि राजीनामा दिएको थिएन । 

० चिनियाँ कम्पनीलाई नै दिनुपर्ने, त्यो पनि गेजुवालाई ? कारण के होला ? 
–जसले चमेलियादेखि लिएर कयौँ ठाउँमा राम्रो काम गरेको छैन । कालो सूचीमै परेको भन्नु पर्छ । दिनुका पछाडि केही शुभ–लाभ होला र त दिए होलान् । त्यसैत दिएन होलान् नि । मामा तिमि राम्रो छौ, भनेर यी भान्जाले दिएको त होईन होला । शंका गर्ने ठाउँ त उहाँहरुले नै उत्पादन गर्नु भयो नि । 

० यति धेरै शंका गर्ने ठाउँ छ र ? 
–रुल, नियम कानून मिचेर कसैलाई केही दिइन्छ भने शंका गर्ने ठाउँ आयो नि !

० हामीले गरेको टिकाटिप्पणी सुनिन्छ ?  
– कानमा तेलहालेर बस्नेलाई त के भन्न सकिन्छ ? संसदको समितिको रिपोर्टलाई नै मानिएन । निर्देशन उल्लंघन गरियो । 

० खासमा यसको अन्तर्य के छ ? तपाईले बुझेको के हो ? 
–यो नेपालको लागि बनाउनु पर्ने आयोजना हो । नेपालले आफ्नै स्रोतबाट बनाउन सक्छ । यो जसरी एउटा विदेशी परामर्शदाता संस्थालाई दिइयो र त्यसले दिएको डिजाइन गलत थियो । त्यो डिजाइन नै नेपाललाई सुहाउने थिएन । त्यो अनुसार बनाउनु परेको भए नेपालले ठूलो मूल्य चुकाउनु पर्ने थियो । त्यसबारे धेरै लेखिसकिएको छ । डिजाइन गलत, आवरण नै ठिक छैन भन्ने कुरा त अफिसियल रिभ्यूले नै भनिसकेको छ । त्यो सब कुरा विर्सेर यस्तो गर्न मिल्छ ? पहिलो कुरा त के भने, यो विद्युत आयोजना नै होइन यो । यो बहुउद्देश्यीय आयोजना हो । विद्युत एउटा उत्पादन मात्रै हो । यसले उत्पादन गर्ने सञ्चित पानी हो । त्यो पानीले पूर्वी चितवनदेखि पश्चिम नवलपरासीसम्म सिंचाई हुन्छ । त्यो कुरा चटक्कै बिर्सिएका छन् । त्यो नगर्ने हो, भने, हाम्रो गाँउ डुबाएर निस्केको पानी त्यसै बगिरहेको पानी होईन । उत्पादन गरेको पानी हो । त्यो सित्तैमा भारत जान्छ र उसले प्रयोग गर्छ । र, हाम्रो गाउँ डुबाएर उत्पादन भएको पानी सित्तमा पाएर काउली फलाएर हामीलाई बेच्छ । अनि नेपाल कसरी धनी हुन्छ ? मलाई बताइदिनुस् । दोस्रो कुरा के छ, भने बहुउद्देश्यीय योजनामा अरु लाभहरु हुन्छन् । ती लाभहरुबाट पनि यो लगानीको पैँसा उठ्नु पर्छ । सिंचाईबाट, बाढी नियन्त्रणबाट, मत्स्य पालन, टुरिजम, जल यातायात । अनेक निस्किन्छ यसबाट लाभ । सबै खर्च विद्युतमा हालिदिने हो भने, विद्युतले केही फाइदा गर्ने वाला छैन । त्यो विद्युत् बनाएर कुनै कम्पनीले बेच्न सक्दैन । पश्चिम सेतीबाट चिनियाँले हात झिकेको यही कारण हो । यहाँ पनि त्यो हात झिक्ने कारण आउँछ । बनाउन भनेर गरेको सम्झौता नै होइन । यो उहाँहरुले चुनाव अगाडि जसरी गलत ढंगले गेजुवालाई दिनु भो, र त्यहाँ शंक ागर्ने ठाउँ छ , उहाँहरुले चुनावको लागि पैँसा उठाउनु भएको हुनुपर्छ, अरु कुरा केही पनि होईन । त्यसको हिसाब किताब मिलाउनलाई यो के के गरेका हुन् ? 

० चुनावका लागि खर्च लिएकै भएर हिसाब मिलाउन खोजिएको होला त ? 
–त्यसै भनौँ अब । शंका गर्ने ठाउँ त उहाँहरुले नै छोड्नु भयो नि । नेपालको ऐन, नियम, कानून सबै मिचेर सम्झौता किन गरेको भनेर जवाफ प्रष्ट त उहाँहरुले दिनु पर्ने हो नि । यसअघि, योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको समितिले दिएको रिपोर्टमा नेपालले बनाउन सक्ने कुरा प्रष्ट छ । मोडालिटीसहित छ । त्यो सबै लत्याएर एउटा विदेशी कम्पनी, जसले नेपालमा खराब काम गरेको छ, त्यस्तैलाई दिने भन्नुको अर्थ के ? हाम्रै सांसद त्यसको एजेण्ट भएको सुनिन्छ हेर्नुस् । कस्तो हाँसो उठ्दो । 

० तपाई त्यतिसारो हाँस्नु भो, यो हाँसोकाे विषय किन बन्यो ? 
–यो साह्रै कच्चा काम भयो । यो त एसएलसी पास नगरेको बच्चाले पनि यस्तो काम गर्दैन होला । हाँसो त्यसमा उठेको हो । कि उहाँहरु आफैलाई महान् ठान्नु हुन्छ, हामीले जे गरेपनि हुन्छ । हामीलाई कसैले छेक्न सक्दैन । दुइतिहाई बहुमत छ । प्रचण्ड घमण्ड भनौँ न । त्यो भएर गरेको हुनुपर्छ या उहाँहरुले महामूर्ख्याँई गरेको हुनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ