- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैं नजिकिँदो छ । एक अध्ययनका अनुसार बडादशैं र तिहारका बेलामा नेपालीले कूल गार्हस्थ उत्पादनको २० प्रतिशत खर्च गर्ने गरेका छन् ।
हुनत दशैंमा गच्छे अनुसारको खर्च गर्ने चलन छ भनिन्छ । तर अरुलाई देखाउनका गरिने खर्च, अरुले राम्रो लगाउँदा आफूले पनि राम्रो लगाउनु पर्छ भन्ने मान्यता र अरुले मीठोमसिनो खाँदा आफूले पनि त्यस्तै खानुपर्छ भन्ने गलत सोचका कारण ऋण खोजेरै पनि बडादशैंलाई पार लगाउने बानी नेपालीको छ ।
त्यसैले हरेक दशैंतिहारमा खर्च बढी हुने गरेको हो । २०६८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ भने वार्षिक जनसंख्या बृद्धिदर १.३५ प्रतिशत रहेको छ ।
हालको नेपालको जनसंख्या करीव तीन करोड होला । ५४ लाख २७ हजार ३ सय २ परिवार संख्या छ भने औसत परिवार संख्या ४.८८ । केन्द्रीय तथ्यांक विभागले दुई वर्षअघि सार्वजनिक गरेको घरधुरी सर्वेक्षण अनुसार औसत परिवार संख्या ४.६ छ ।
आर्थिक वर्ष २०६६–६७ मा गरेको नेपाल जीवनस्तर सर्वेक्षण अनुसार वार्षिक १९ हजार २ सय ६१ रुपैयाँभन्दा कम आय भएकालाई गरिवीको रेखामुनी राखिएको छ । २०६८ को जनगणनाको तथ्यांकलाई आधार मान्दा यस्तो संख्या ५५ लाख ६३ हजार बढी छ । तर, आयस्तरका आधारमा मध्यम र उच्च आय भएका जनसंख्याको औपचारिक तथ्यांक कुनै पनि निकायसँग छैन ।
प्रतिव्यक्ति औसत वार्षिक खर्चयोग्य आय १ लाख ३३ हजार अर्थात् मासिक ११ हजार रुपैयाँ छ । जबकि दशैंका बेलामा एक परिवारको मासिक खर्च औसतमा ५० हजार रुपैयाँ हुने देखिन्छ ।
सन् २०१५–१६ को तथ्यांक विभागको घरधुरी सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालीको औसत वार्षिक उपभोग खर्च ३ लाख २२ हजार ७ सय ३० रुपैयाँ छ । त्यसमध्ये औसत ५४ प्रतिशत खाद्यान्नका लागि खर्च हुने गरेको छ ।
अर्थात् एक परिवारको मासिक २६ हजार ८ सय ९४ रुपैयाँ उपभोगमा खर्च हुने गर्दछ । रोजगार हुनेले दशैं, तिहारमा एकैपटक दुई महिनाको तलब पाउने गरेका छन् भने वैदेशिक रोजगारीमा जानेले पनि यसबेला न्यूनतम दुई महिनाको तलब नेपाल पठाउने गरेका छन् । यस अर्थमा अन्य महिनाको तुलनामा दसैंमा दोब्बर खर्च हुने अनुमान गर्न सकिन्छ ।
यसरी ठूलो रकम खर्च हुँदा मुलुकको अर्थतन्त्रलाई चलायमान त बनाउँछ तर गरिबीको रेखामुनि रहेको र मध्य आय भएको जनसंख्याको ठूलो हिस्सालाई भने झन् गरिब बनाउँदै लैजाने छ ।
यो तथ्यांकलाई केलाएर दशैंलाई चाहिने भन्दा बढी खर्च गरेर दशा बनाउने कि थोरै र किफायती बनाएर खुशीयाली बनाउने त्यो बुद्धिविवेक लगाउने जिम्मा एक परिवारकै हो ।
कसैको उक्साहटमा लागियो भने तत्काल त आनन्द आउला तर त्यसले फेरि एक वर्षसम्म दुःख दिने निश्चित छ ।
त्यतिमात्र होइन चाडबाडका नाममा खाइने अधिक माछा मासु अनि मदिराले दिने असर छुट्टै छ । त्यस्तै जुवातासले दिने बर्वादी अझ ठूलो छ ।
हरेक वर्ष आउने चाडपर्वलाई गच्छेअनुसार नै स्वागत र विदाई गरौं ।