सिन्धुली (पोखरी)। दमसे ८ नवलपुर ओखलढुङ्गाकी इन्दीरा माझी दैनिक रुपमा भारी बोक्न सिन्धुली स्थित मध्य पहाडी लोकमार्गमा आउँछिन्। ओखलढुङ्गाको नवलपुरबाट उदयपुरको घुर्मीमा लैजान लागिएको ग्यासको सिलिण्डर बोक्दै गर्दा सिन्धुलीको पोखरी गाविस ६ नवलपुरघाटमा भेटीएकी माझीले कपी, कलम, ड्रेस र खाजा खर्चका लागि दैनिक भारी बोक्ने गरेको बताइन्। स्थानीय विद्यालय चण्डीभन्ञ्याङ माविमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया माझी विद्यालय विदाका दिन दिन भरी र विद्यालय खुल्ने दिन पनि यसरीनै विहान र बेलुकाको समयमा भारी बोक्न मध्यपहाडी लोकमार्ग आउने गरेको बताइन्।
ओखलढुङ्गा स्थित दमसेको नवलपुरबाट सिन्धुलीको पोखरी गाविस ६ स्थित नवलपुरघाटसम्म सुनकोसी नदीमा मान्छेले बोकेरै सामान ओसारपसार गरिँदै आएको छ। माझीले सात वर्षदेखि निरन्तर भारी बोकेरै पढ्दै आएको बताइन्। बुवा आमा पनि भारी बोक्ने काम गर्ने गरेको उनले वताइन्। बुबा आमाको कमाईले घरमा रासनपानी नै धौधौ भएपछि पढ्नका लागि आफैले भारी बोकेर खर्च जुटाउने गरेको उनको भनाई छ।
‘भारी बोकेर दैनिक रुपमा एक सयदेखि तिन सय रुपैयाँसम्म कमाउने गरेको छु,’ माझीले भनिन्, ‘त्यही कमाईले पढ्नका लागि कापी कलम र खाजा खर्च गर्ने गरेकी छु।’ उनले विदाको दिन दिनभर र अन्य दिन विद्यालय जानु अघि र विद्यालय समयपछि भारी बोक्ने गरेकी छिन्।
भविष्यमा शिक्षीका बन्ने सपना बोकेकी उनले आफु सात वर्षको उमेर हुँदा देखिकै भारी बोकेर पढ्दै आएको सुनाईन। आफु मुनिका भाइ बैनीका लागि समेत आफैले खर्च गर्ने गरेको उनको भनाई छ। अरु साथीहरु जस्तै सर्ट पाइन्ट लगाउन र खाजा खानका लागि पनि भारी बोक्नु परेको उनले दुखेसो पोखिन्। ‘अहिले बोकेको भारीबाट आउने पैसाले चाहीं सर्ट र प्वाइन्ट किन्ने रहर छ,’ उनले लजाउँदै भनिन्।
उनिसंगै भेटीएकी सोही स्थानकी ९ वर्षकी धनकुमारी माझी पनि आफुभन्दा ठुलो सिलिण्डर बोक्दै थिन्। स्थानीय श्रीत्रीवेणी प्राविमा कक्षा चारमा अध्ययनरत धनकुमारी आफुले सकेको भारी बोक्ने गरेको बताउँछिन्। उनले एउटा सिलिण्डरको दश रुपैयाँ पाउने गरेको बताइन्। स्कुलबाट घर फर्कदा स्थानीय साउँजीले दश वटा सिलिण्डर नलपुरबाट सुनकोसीवारी
मध्यपहाडी लोकमार्गमा निकाल्न भनेपछि भारी बोकेको उनले सुनाईन्। उनको पनि बुबाआमा सुनकोसी र लिखुनदीमा माछामार्नुका साथै भारीबोकेरै गुजारा चलाउँदै आएका छन्। ‘घरमा कमाउने मान्छे नहुँदा आमा बुबालाई सघाउँन पनि यसरी काम गर्ने गरेका हौं,’ धनकुमारीले भनिन्।
गाउँका प्रायः युवाहरु रोजगारका लागि भारत तथा खाँडी मुलुक गएका छन्। गाउँमा भएका बालबालिका तथा महिलाहरु प्रायः यसरीनै भारी बोकेर गाउँमा ज्याला मजदुरी गरेर खर्चको जोहो गर्ने गर्छन्। ‘पढ्नका लागि कि चाही भारी बोक्ने पर्छ की त पढाई छाड्नु पर्छ,’ बालिकाहरु बताउँछन्।
इन्दीरा र धनुकुमारी जस्ता यहाँका सयौं बालबालिकाहरुले यसरीनै भारी बोकेर आफ्नो पढाइ खर्चको जोहो गर्ने गरेका छन्। ओखलढुङ्गाको विकट गाविसका रुपमा रहेको उक्त क्षेत्रका ब्यापारीहरुले सिन्धुली तथा उदयपुरको घुर्मीबाट ढुवानी गर्ने दैनिक उपभोग्य बस्तुको मान्छे लगाएर ढुवानी गर्ने गरेका छन्। त्यस क्षेत्रमा सुनकोसी नदीमा झोलुङ्गे पुल छ। उक्त पुलबाट बालबालिकाहरु सामान वसार पसार गर्ने गर्छन्।
अति विपन्न माझी तथा दलित परिवारका बालाबालिकाहरु धेरै जसो यस्तो भारी बोक्ने गरेको स्थानीयहरु बताउँछन्। गाउँका प्रायः सबै अभिभावकहरु यस्तै काम गरेर परिवार पाल्नु पर्ने बाध्यतामा रहेका कारण बालबालिकाहरु समेत आफै भारी बोकेर पढ्न बाध्य भएको स्थानीय शिक्षक सरोज कार्की बताउँछन्। यसरी भारीबोक्ने बालबालिकाहरुले नियमित विद्यालयमा पढ्न जान समेत पाउँदैनन्।