काठमाडौं। नेपाली फुटबलका तारा नवयुग श्रेष्ठ आमा, बुबा र हजुरआमालाई भेट्न गृह जिल्ला पुगेका छन्। इलामको पश्चिमी भेगमा पर्ने देउमाई नगरपालिकाको मंगलबारे पुग्दा नवयुगको भव्य स्वागत भएको छ। नवयुगको जन्म घर भने मंगबारेबजारस्थित तल्लो बुधवारे हो।
फुटबल करिअर स्थापित गर्ने उनको मुख्य थलो इलामको मंगलबारे र त्यसमा पनि त्रिवेणी युथ क्लबले उनलाई भव्य स्वागत गरेको छ । त्रिवेणी युथ क्लब, भानुभक्त उच्च मावि, मंगलबारे बहुमुखी क्याम्पस, देउमाई नगरपालिका, उद्योग वाणिज्यसंघ मंगबारे शाखा, सूर्योदय शिक्षा सदन र सिर्जशील आवासीय विद्यालयले संयुक्त रुपमा स्वागत तथा नागरिक अभिनन्दन गरेका हुन्। नगरवासीहरुले नेपाली फुटबलका माध्यमबाट राष्ट्रको नाम उच्च बनाएको भन्दै नगद ५१ हजार सहित सम्मान गरेको त्रिवेणी युथ क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । कार्यक्रमबीचबाटै श्रेष्ठले भने, ‘हामी नवयुगको सफलता र प्रदर्शनले गौरवान्वित भएका छौं ।’ स्वागतमा उनका बाल सखि, शिक्षक, व्यवसायी र नगरवासीहरु उर्लिए । नवयुगको अभिनन्दन कार्यक्रममा प्रहरीले उच्च सुरक्षा प्रदान गरेको छ ।
भारतको गुवाहाटीमा भएको दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण जित्ने निर्णायक गोल गर्ने नवयुगले साग सफलतापछी भारतबाटै इलामको मंगलबारे र घरपरिवारलाई निकै सम्झेका थिए । गुवाहाटीबाटै हाम्राकुरासंग नवयुगले खुसी साट्न हतारो भएको भन्दै नेपाल र घरपरिवारको बढी सम्झना आएको बताएका थिए ।
उनले भनेका थिए, ‘यस खुसीको क्षणमा एक दिन मात्रै भारत बस्दा नेपाल झजल्को आइरहेको छ।’ खुसीको सीमा छैन, उनले थपे, ‘नेपाल फर्किएपछि आमा, बुबा र हजुरआमालाई भेट्ने ठूलो इच्छा छ, तर जान पाउँछु पाउँदैन, प्रतियोगिताहरु छन्, क्लबले पनि जान दिदैन होला ।’ एक पटक इलामको मंगलबारे नै जान मन छ–भारतमै हुँदा नवयुगले भनेका थिए।
२३ वर्ष पछि नेपालले दक्षिण एसियाली खेदकुद ‘साग’को फाइनल जित्दै स्वर्ण हासिल गर्न सफल भयो। भारतीय भूमिमा नेपालले आयोजक भारतविरुद्ध नै सनसनीपूर्ण जित निकाल्दै नेपाली फुटबल इतिहासमा २३ वर्षपछी सागको उपाधि कब्जा गरेको हो। साग पुरुष फुटबलको स्वर्ण निकै प्रतिष्ठाको मानिन्छ। सन् १९८४ र १९९३ पछि नेपालले पहिलो पटक स्वर्ण जितेको हो। यसअघि नेपालको पोल्टामा दुई स्वर्ण मात्रै थियो । अब तीन स्वर्ण, दुई रजत र दुई कांस्य भएको छ।
राजनीतिक रुपमा नेपाल भारत सम्बन्ध चिसिएका बेला भारतविरुद्धको जितले नेपाली नागरिकलाई उत्साही बनाएको छ। जसले नेपालीहरुको शान बढाएको छ । सन् २००३ देखि यू–२३ टिम सहभागितामा खुम्चिए पनि साग उपाधि नेपालका लागि महत्वपूर्ण थियो। एकातिर खेल मिलोमतोको कोला वादललाई पूर्ण रुपमा मेटाउनु थियो भने, अर्कोतिर भारतविरुद्धको जित प्रतिष्ठासंग जोडिएको थियो।
यद्यपि, भारतको राष्ट्रिय टोलीविरुद्ध भने नेपालले १९८४ र १९९३ पछी जित हासिल गर्न सकेको छैन। तर, अबका दिनमा दक्षिण एसियाकै खरो टिमको रुपमा नेपाल उत्रनेमा विश्वस्त छन्, नेपाली फुटबलका तारा नवयुग श्रेष्ठ। विं.सं. २०४७ सालमा इलामको मंगलबारे (हालको देउमाई नगरपालिका) मा बुबा चन्द्र केशर श्रेष्ठ र आमा बसुन्धरा श्रेष्ठको जेठो छोराका रुपमा जन्मिए।
उनी भन्दा पछि एक बहिनी छन्। नवयुग स्कूले जीवनबाट खेल सुरु गर्दा देखि नै अब्वल थिए। स्थानीय उद्दीप क्लब र त्रिवेणी क्लबले वर्षेनी आयोजना गर्ने जुनियर फूटबलमा १२–१३ वर्षको उमेरमा नै आकर्षक गोल गर्दै सबैको मन लोभ्याउथे। सोही आकर्षक लयलाई नवयुगले जारी राखेका छन्। गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा समेत भारतविरुद्धको फाइनलमा डिफेन्डरले थाहै नपाउनेगरी छरितो बल नजिक पुगेका नवयुगले जम्प गरेर अति सुन्दर गोल गरिदिए। जुन गोलको अहिले सबैले चर्चा गरिरहेका छन्। नवयुगले यसै वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि दिलाएका थिए।