- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विविध कार्यक्रम गरि भनाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा थुप्रै लेखक तथा साहित्यकार एवं प्रशंसकहरुले १० वर्षको कलिलो उमेरदेखि नै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई शिखरमा पुर्याएको चर्चा गरे । अङ्ग्रेजीको बोलबाला रहेकाे अाधुनिक युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको आवश्यकता समेत औँल्याइएको छ । २०१० मा भानुभक्तको पहिलो शालिक राजा महेन्द्रले शिलान्यास गर्दा महाकवि देवकोटा समेत उपस्थित थिए । कार्तिक कृष्ण औँसी अथवा लक्ष्मी पूजाको दिन जन्मिएका महाकवि देवकोटालाई हामीले लेखक युवराज नयाँघरेमार्फत सम्झिने प्रयत्न गरेका छौँ ।
० महाकविलाई कसरी सम्झिने ?
–महाकवि देवकोटालाई सम्झिने विभिन्न आधारहरु छन् । खासगरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान महाकविको भूमिका प्रमुख छ । सबैभन्दा ठूलो योगदान महाकाव्य लेखन, निबन्ध लेखन, स्वतन्त्र कविता लेखनमा छ । त्यो मध्ये पनि देवकोटा राष्ट्रिय चिन्तनबाट सिर्जना गर्नु हुन्थ्यो । त्यो बेलाको समयको हिसाबले हेर्ने हो भने, विशिष्ट, उच्च देन पाउँछौँ लेखनमा हामी । अहिले पनि देवकोटालाई सम्झिने आधारहरु धेरै छन् । महाकवि देवकोटा शिक्षामन्त्री भएकै बेला गरिएको त्रिभुवन विश्वविद्यालयको परिकल्पना, स्थापना, स्थायीकरण र जनमूखि तवरबाट लैजाने काम उहाँकै समयमा भएको थियो ।
अर्कोतिर देवकोटालाई सम्झिनु पर्ने कुरो के छ भन्दा सरल कुराभित्र पनि जीवनका गम्भीर दार्शनिक पक्ष र चिन्तन हुनसक्छ भन्ने कुरा हामी देवकोटाको साहित्यबाट पाउँछौँ । र, देवकोटाले त्यो बेला नै नेपाली समाजका विभिन्न पक्षहरुको गहिरोसँग अध्ययन, अनुसन्धान गर्नु भएको थियो । किन भने, आज रोजगारीका लागि नेपाली युवा विदेशतिर गइरहेको सन्दर्भमा महाकवि देवकोटाले धेरै अगाडि त्यसको उठान गर्नु भएको थियो । महाकवि देवकोटालाई सम्झिने प्रमुख सन्दर्भ अर्को पनि छ । देवकोटाले सम्पूर्ण भाषा भाषीबीच एकताको सन्देश उहाँले दिनु भएको छ । किन भने, देवकोटाले तामाङ भाषामा पनि साहित्य लेख्नु भयो । गुरुङमा पनि लेख्नु भएको छ । नेवारी भाषामा पनि देवकोटाले साहित्य लेख्नु भएको छ ।
मुलुकभित्र पूर्व देखि पश्चिमसम्म रहेका विभिन्न भाषाभाषिहरुलाई जोड्ने मियो भनेको नेपाली भाषा हो । उहाँले त्यसलाई असाध्यै निमाउनु भयो । देवकोटा विशिष्ट लेखकको रुपमा मलाई अनुभव हुन्छ ।
० लेखक तथा साहित्यकारले एउटा धार पक्डिएर लेख्छन भनिन्छ । महाकविले कुनै धार पक्डिनु भएको थियो ?
–मलाई चैँ त्यस्तो लाग्दैन । देवकोटा लेखन भनेको समग्रमा एउटा मानवतावादी चिन्तन हो । उहाँ कुनै एउटा प्रगतिशित अथवा सानो घेरामा बसेर लेख्ने मान्छे होइन । उहाँले निकै फराकिलो ढंगले मानवतावादी चिन्तनबाट लेख्नु भएको छ । त्यो क्रममा जनजीवनका प्रसंग, राजनीतिका प्रसंग, समाजका प्रसंग अथवा आर्थिक प्रसंग, सांस्कृतिक प्रसंगलगायत विभिन्न सन्दर्भहरु जोडिएर उहाँको लेखनमा आएको छ । फराकिलो सोच्ने र फराकिलो दृष्टिकोणबाट आयामिक चिन्तनको हिसाबले देवकोटाको लेखनलाई हेर्नु पर्छ । किनभने देवकोटाको लेखनमा हिमालका प्रसंगहरु छन् । पहाडको प्रसंग छ , मधेसको प्रसंगहरु छन् । जनजीवनका एकदमै गहिरा कुराहरु छन् । त्यो सन्दर्भमा हेर्दाखेरी देवकोटालाई सानो घेराबाट अथवा सानो दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्नु सही ठहरिँदैन । त्यसो गर्नु हाम्रो ठूलो कमजोरी हो । एउटा ठूलो झरनालाई एउटा चम्चामा अटाउन सकिँदैन । देवकोटाको धारणा, लेखन र अभिव्यक्ति विशिष्ट प्रकारको छ । त्यो तहबाट उहाँलाई हेर्नु पर्छ ।
० अहिलेका लेखक वा साहित्यकारमा देवकोटाको चिन्तन भेटिन्छ ?
– देवकोटाको जीवनशैली, देवकोटाको चिन्तन देवकोटाको अभिव्यक्ति, सिर्जनात्मकताको कति नजिक छन् भन्ने हिसाबले सोध्नु भएको हो भने देवकोटाकालीन समय र अहिलेको समय निकै भिन्न छ । तर, अहिले पनि उहाँको चिन्तन, अभिव्यक्तिको सम्मान भइरहेको छ । अहिले पनि उहाँप्रतिको समर्पण देखिन्छ ।