arrow

चाड पर्वलाई बजारले निर्देशित गर्न थाल्यो, यो विडम्वना हो (संवाद)

‘‘भारतीय संस्कृतिले मौलिक शब्द खाइदियो : नेपाली मूलको ‘तिहार’ र मिथिलाको ‘सुकरात्री’ अहिले ‘दिपावली’ भो’’

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
dhirendra.jpg

दिदीबहिनीले, आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाईदिएका छन्। साथमा दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाईदिएका छन् । दिदीबहिनीलाई पुजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ । के हो त ? खासमा भाइटीकाको महत्व ? हामीले भाइटीकाको परम्पराबाट बुझ्नु पर्ने के हो ? भनी हामीले संवाद गरेका छौँ, संस्कृतिविद् (विशेष गरी मिथिला) धिरेन्द्र प्रेमर्षिसँग । 

० यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकालाई हामी कसरी लिन्छौँ ? 
–सामान्यतया दाजुभाई र दिदीबहिनीको सम्बन्ध हाम्रो समाजमा वेग्लै र विशिष्ट किसिमको रहेको छ । जुन प्रकारले पारिवारीक बाँडफाँड गरिएको छ । पारिवारीक संरचना जसरी मिलाइएको छ । त्यस आधारमा अहिलेसम्म पनि दिदीबहिनी भनेका विहेवारी भएपछि परायाघर जाने र दाजुभाइले आफ्नो वंश पराम्परालाई अघि बढाउने प्रचलन छ । अहिले हामी धेरै माध्यमले जोडिएका छौँ । नजिक भएका छौँ । पहिला पहिला दुरोह काम हुन्थ्यो । आफ्नो खेती किसानी वा जीवन धान्ने काममा लागेपछि दिदीबहिनीहरु आफुबाट छुट्टिएर गइसकेपछि उनीहरुलाई सम्झिने जुन अवसरहरु हुनुपर्ने हो त्यसमा पनि अभाव हुन्थ्यो होला । आपसी आत्मियतालाई कामय राखिराख्ने माध्यमको रुपमा यो भाइटीकालाई लिइएको मान्न सकिन्छ । त्यो परम्पराले निरन्तरता पाएको छ । खासगरी भिन्न ठाउँमा भिन्न तरिकाले मनाइन्छ ।

लोक परम्परामा आधारित हुन्छ, यसमा धार्मिक विश्वास पनि जोडिएको हुन्छ । मैले के देखिरहेको छुँ भने, भाइटीका नेपालमा जो नेपाली मातृभाषीहरु छन् उनीहरुकाबीचमा परम्परागत रुपमा मनाइन्छ भने, मिथिलामा अझ विशेष छ । मिथिला भनेपछि अहिले कुरा आउन थालेको छ, मैथलीभाषी क्षेत्र मात्रै हो कि भनेर ? तर, त्यो होइन । जुन प्राचिन मिथिला थियो पूर्वमा कोशी, पश्चिममा गण्डक, उत्त    रमा हिमालय, दक्षिणमा गंगा । नेपाल र भारतबीचको एउटा ठूलो भू–भाग प्राचिन रुपमा मिथिला सभ्यताको नामले चिनिन्थ्यो । त्यो बीचको भू–भागमा विशेष गरी मनाइएको देखिन्छ । अन्त हामीले हेर्दा त्यति साह्रो प्रचलन देखिन्न । यसरी वर्षको एक दिन भएपनि अनिवार्य भेटघाट होस्, आत्मीयताको साटफेर होस् भन्ने किसिमले यसलाई निरन्तरता दिइएको हुनुपर्छ । 

० तिहारको जुन पाँच दिने श्रृंखला छ, त्यो मध्येमा भाइटीका विशेष मानिन्छ,, यो विशेष दिनलाई अहिलेको सामाजिक परिवेशसँग कसरी जोड्ने ? 
–अहिलेको सामाजिक परिवेशमा पनि ठिकै छ । अहिले हामी पहिलेजस्तो ठाढा रहने अवस्था छैन । सम्पर्कका, निकटताका अनेकैँ शुत्रहरु छन् । अनेकौँ साधनहरु छन् । त्यसको प्रयोगले केही निकटता आएको छ । तर, त्यो आत्मीयता, जुन दाजुभाइ दिदीबहिनीहरुबीचको प्रेमको निश्चलता छ त्यसलाई कामय राख्ने दिशामा चाँहि भाइटीकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यमपञ्चकको कुरा गरिन्छ, जुन पाँच दिन । चार दिन आ–आफ्नै घरमा आफ्नै तवरले रमाइलो गर्ने उल्लास मनाउने एउटा वातावरण हुन्छ । मैले मिथिलाको कुरा गरे । मिथिलामा यसलाई सुखरात्री अथवा सुकराती भन्छन् । तर, अहिले दिपावली शब्दले बढी मार्केट पाइरहेको छ । चाड पर्वमा पनि बजारले बढी असर गररिहेको हुन्छ । पहिले हामीले दियो बाल्नुको अरु–अरु अर्थ पनि थिए होलान् । दियो एउटा बजारको प्रतिक भएको छ ।

विभिन्न प्रकारका विद्युतीय वत्तिहरु बालिन्छन् । विलुलीबाट बल्ने लहराको विक्रिवितरणदेखि लिएर विभिन्न सामानले बजार पाएका छन् । चमक, धमकको मार्केटिङ गर्ने पर्व पनि भएको छ । यसमा भारतीय संस्कृतिले एउटा शब्द अगाडि बढायो, दिपावली । त्यसले सबैतिर व्यापकता लियो । कतिसम्म भने, तिहार भनिने नेपालमा पनि सुकराती भनिने मिथिलामा पनि । दिपावलीको रमझम आफ्नो ठाउँमा छँदैछ । तिहार भनेकै उल्लास, उमंग र खुसीको साटफेर गर्ने पर्व हो । परिवारका सबै सदस्य एक ठाउँमा हुँदाको उमंग अलग्गै हुन्छ । अन्तिममा बीटमार्दामार्दै दिदीबहिनीसँग पनि भेटघाट गरेर मधुमयतामा सिध्याऔँ र आत्मीयतामा सिध्याऔँ भन्ने सन्देश हो । आत्मीयतालाई निरन्तरता दिने सन्दर्भमा अहिले पनि यो सान्दर्भिक छ । यो रहिरहनु पर्दछ । यस्ता पर्वले हामीलाई आत्मावलोकन गर्न सिकाउँछ । अहिले मान्छेको जीवन भौतिकवादतर्फ लम्किदै गएपछि विभिन्न अफ्ठ्यारा, चोसोपना बढेका छन् । त्यसमा दाजुभाइ र दिदीबहिनी बिचमै किन नहोस् । दाजुभाइबीच त बढिनै हुन्छ । दिदीबहिनीसँग पनि दरार आएको हुन्छ, त्यसको भैरभाव मेट्ने र त्यसलाई पुर्ननविकरण गर्ने, फेरि आत्मीयता प्रवाहित गर्ने एउटा अवसरको रुपमा आज पनि यो त्यतिकै सान्दर्भिक छ । 

० यमपञ्चक मानव विकासको पाँच वटा श्रृंखला हो भनिन्छ । जस्तै, काग तिहारले मान्छेकाे घुमन्ते जीवन, कुकुर तिहारले सिकारी काल, गाई अथवा लक्ष्मी पूजाले मुद्रा, गाेरु पुजाले कृषि कर्म र भाइटीकाले सभ्यता र सु-स‌ंस्कारलाई संकेत गर्छ भन्छन्, जानकारहरु । अहिलेको पुस्ताले यस्तो विषयमा चाँसो राख्छ ? 
–तपाईले भनेको एकदम हुनसक्छ । यो एउटा तपाइले त्यतातिर संकेत गर्नु भो जतातिर मैले त्यसरी अध्ययन गरेको थिइन । तपाईले प्रतिकात्मक रुपमा निकै महत्वपूर्ण कुरा गर्नु भयो । अहिलेको पुस्तामा त्यो पाइँदैन । चासो राख्न जरुरी छ, अहिलेको पुस्ताले । 

० तिहारको पाँच दिने श्रृखलाबारे हामीले अध्ययन गर्न पाएनौँ भने हराउँदै जान्छ ? 
–हो, पक्कै पनि । यसका जुन राम्रापक्षहरु छन् । तीनलाई सरल तरिकाले अहिले पनि हामीले प्रवाहीत गर्नु पर्ने अवस्था छ । शिक्षका माध्यमबाट, संचारका माध्यमबाट । व्यक्तिगत कुराकानीका माध्यमबाट वा सामाजिक सञ्जालहरुबाट । सामाजिक सञ्जालहरु अहिले यति व्यापक छन् । यी कुरा भेनको मानवले आफ्नो इतिहासलाई सम्झिनु, सम्मानीत गर्नु, रेखांकित गर्नु भनेको जीवन्त उदाहरण हुन्छ । 

० हामी संस्कृतिलाई औपचारिकता वा निरन्तरता मात्रै दिइरहेका छौँ कि त्यसको मूल भाव पनि बुझिरहेका छौँ ? 
–यो कुरा तपाईले धेरै महत्वपूर्ण ढंगले उठाउनु भयो । अहिले त्यही भइरहेको छ । विशुद्ध कर्मकाण्ड मात्रै । यसो गरिन्थ्यो त्यसैले यसो गर्दै छौँ, भनेर । यो भित्रको कारणहरु यी–यी थिए वा यी–यी हुन् भनेर नत हाम्रा अल्लिा पुस्ताले पछिल्ला पुस्तालाई सिकाउँछन् । न त शिक्षा, दिक्षा, संस्कार आदित्यादीमा गहिरोसँग आइरहेको हुन्छ । मैले भनिहाले नि अहिले बजारवादले बढी प्रभाव पारिरहेको छ । बजारले त्यसलाई कुन दिशा दिन्छ । कुन बाटोमा उभ्याउँछ, मान्छे त्यतातिर दौडिरहेका छन् । समग्रमा मैले भने, तिहार, सुकराती अहिले दिपावलीमा गयो । झिलिमिलि बत्ति बाल्न पायो सक्कियो । यो भित्र लोक कल्याणका पनि त्यत्तिकै कुराहरु छन् । हामीले मनाउने चाड पर्वलाई लोक कल्याणसँग जोड्ने कुराहरु अहिले कसैले गर्दैनन् । जस्तै दिपावलीको सन्दर्भमा अनेकौँ कथा जोडिएतापनि अथवा रामले रावणमाथि विजय प्राप्त गरेर फर्केर अयोध्या आएपछि दियो बालियो भनिए पनि । यसलाई तत्कालीन वातावरणसँग जोड्नेको भने  सामान्यतया कृषि कर्ममा आधारित मानिसहरुको कल्याणको कुरा छ । वर्षातमा किरा, फट्याङ्ग्राहरु प्रचुरमात्रामा बढेका हुन्छन् । तिनलाई सामूहिक रुपले नियन्त्रण गर्ने, त्यो पनि उनीहरुकै स्वेच्छामा ल्याउने अभियानको रुपमा एकदिन अवसर पनि भयो । दियो बालौँ सबैले । त्यो दियोमा फट्याग्राहरु बढी आकर्षित भएर आउँथे, जलेर मर्थे त्यसमा एकप्रकारको नियन्त्रण हुनुपर्ने हो, त्यो नियन्त्रण हुन्थ्यो ।

अहिले हामी विजुलीवत्ति बालेर भिलिमिलीमा सिमित भयौँ । यस्ता कुराहरु पनि छन् । जसलाई बजारले आफ्नो किसिमले निर्देशित गरिरहेको हुन्छ । बजारको झिलिमिलीमा चाड पर्वको वास्तविक संस्कृतिहरु ति पनि ओझेलमा परिरहेका छन् । यो दिशामा गम्भीरतापूर्वक काम गर्नु विभिन्न क्षेत्रमा आवश्यक छ । अरु बढी आवश्यक कहाँ छ भने, जुन क्षेत्रले हामी त राज्यको मूलधारमा छैनौँ । त्यो भन्दा फरक छौँ, भनिरहेका छन् । त्यहाँ पाँच पाँच वर्षमा संस्कृति फेरिन थालेको छ । जुन संस्कृतिले बोकेको विशालता छ, त्यही नै विटुलो हुन थालेको छ । यो विकृत भावनाबाट हामीले मानव सभ्यतालाई जोगाउन जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ