arrow

प्रधानमन्त्रीको उपचार गरेका डाक्टर दास निमोनियाबारे के भन्छन् ? (कुराकानी) 

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
das.JPG

विश्व निमोनिया दिवसको सन्दर्भ पारेर हामीले त्रिवि शिक्षण अस्पतालका प्रमुख छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससँग कुरा गरेका छौँ । दास केही दिन अघि प्रधानमन्त्री विरामी परेर शिक्षण अस्पतालमा भर्ना हुँदा उपचार टोलीमा संलग्न थिए । प्रधानमन्त्रीको उपचार गरेका डा. दासलाई हामीले निमोनियाको पहिचान, रोकथाम तथा निदानबारे जिज्ञासा राखेका छौँ । 

० विश्व निमोनिया दिवस मनाउनु पर्ने कारण के छ ?
–यो दिवस मनाउनु पर्ने कारण के हो भन्दा, निमोनियाका रोगिहरु अहिले धेरै नै बढिराखेका छन् । निमोनिया विशेष गरेर फोक्सोको संक्रमण भएकाले यसको उपचारमा अहिले धेरै जटिलताहरु थपिँदै गएको छ । त्यही भएर त्यो जटिलताहरुलाई उजागर गर्नको लागि बढी महत्व दिएर विश्व निमोनिया दिवस मनाउने गरिन्छ ।

० डाक्टसाब तपाईले जटिलता भन्नु भयो, कस्ताखालका जटिलता देखिन्छन्, उपचारमा ? 
–उपचारका क्रममा जटिलता भन्नाले के भन्न खोजिएको हो भने, निमोनिया भनेको ब्याक्टेरिया अथवा भाइरसको संक्रमणले हुन्छ । त्यसमा पनि धेरैजसो ब्याक्टेरियाले आक्रमण गर्ने हो । अहिलेको सन्दर्भमा के छ भन्दा, हाम्रो जस्तो देशमा । जहाँ खुल्ला रुपमा एन्टिबायोटिकहरु किनबेच गर्न सकिन्छ । त्यही एन्टिबायोटिकको जथाभावी प्रयोगले गर्दा अहिले जोखिमहरु विकसित भएको छ । निमोनिया लागिहाल्यो भने कुन एन्टिबायोटिकले काम गर्छ भन्ने कुरामा धेरै नै समस्या भइरहेको छ । धेरैजस्तो एन्टिबायोटिकमा रेसिस्डेन्ट डेभ्लप भइरहेको छ । त्यो भनेको एन्टिबायोटिकले काम गर्न नसक्ने अवस्थाहो । मुख्य जटिलता त्यो हो । चिन्ता भनेको विभिन्न किसिमको दीर्घ रोगहरुको संख्या बढी नै राखेको छ । निमोनियाले सामान्य मान्छेभन्दा पनि दीर्घ रोगीहरुलाई बढी नै खतरा हुन्छ । यो खतरा बालकालिका र बृद्धबृद्धामा पनि रहन्छ ।

० हामी कहाँ रहेको गरिबी र आर्थिक अभावले निमोनियाको जोखिम बढाउन मद्दत गर्ने भयो ? 
–हो, हो । किन भने निमोनिया भनेको ब्याक्टेरिया हो । उक्पोजरत हामी सबै हुन्छौँ । हाम्रो शरीरमा पनि ब्याक्टेरिया पुग्छ । तर, सबैलाई निमोनिया लाग्दैन । कस्तो व्यक्तिलाई लाग्छ भने जसको इमिन्युटि पावर कम छ । अथवा भनौँ, रोगसँग लड्ने क्षमता कम छ । त्यो भनेको पौष्टिक आहार नभएर, पौष्टिक खानपान नभएर पनि रोगसँग लड्ने क्षमता कम हुन्छ  । अर्को कुरा गरिबीसँग जोड्ने हो भने, निमोनिया एक व्यक्तिबाट अर्कोमा सर्ने हो । त्यसैले सफासुग्घर भएन भने समस्या हुन्छ । आर्थिक अवस्था कमजोर भएको वा गरिबी भएको ठाउँमा सरसफाइमा त्यति ध्यान दिएको भेटिदैँन । पौष्टिक आहारको कमि हुन्छ । यी दुबै कुराले निमोनियाको जोखिम बढाउँछन् । 

० उसो भए, आधारभूत आवश्यकताको सम्बोधन नभई निमोनियाको जोखिम घटाउन सकिँदैन, डाक्टसाब ? 
–हो, घटाउन सकिँदैन । जो मैले अहिले कारण भने । त्यसले निमोनियालाई बढाउन सहयोग गर्छ । आधारभूत आवश्यकताको सम्बोधन पनि निमोनियाको जोखिम रोकथामका लागि एउटा महत्वपूर्ण पाटो हो । 

० निमोनियाको उपचार नै नहुने भन्ने कुरा पनि होइन । तर, विविध समस्याले गाँजिएको समाजका आम नागरिकलाई खोजिममुक्त गर्न के गर्न सकिन्छ ? 
–पहिलो कुरा त, निमोनिया भनेको एउटा प्रिभेन्टेबल डिजिज हो । हामी रोकथाम गर्न सक्छौँ । सामान्य काम गरेर पनि हामी निमोनिया रोकथाम गर्न सक्छौँ । सबै भन्दा पहिले हामीले ध्यान दिने भनेको सरसफाइमा हो । निमोनिया सर्ने भनेको हावाबाट हो । खोक्दा, हाछ्यूँ गर्दा । अर्को हामी हातहरु मुखमा लान्छौँ । निमोनिया सर्ने मुख्य यी दुबै कारण हो । यी दुबै कुरालाई हामीले सामान्य नागरिकसम्म लैजान सक्यौँ भने रोकथाम सजिलो छ । विशेषगरी ग्रामिण क्षेत्र, आर्थिक विपन्नता भएका ठाउँमा यो चेतना दिनु पर्ने हुन्छ । यति दुईटा कुरा हामीले लैजान सक्यौँ भने ७० प्रतिशत निमोनिया रोकथाम गर्न सकिन्छ । जस्तो खोक्दा के गर्ने ? खाना खानु अघि हात धुने । खाना खाइसकेपछि हात धुने । मुखमा हात जथाभावी नलाने । यदि आफुलाई निमोनिया लागेको थाहा छ, भने सार्वजनिक स्थलमा नजाने । ता कि अरु व्यक्तिहरुलाई नसरोस् । यी कुराहरुमा सरकारले प्रचार प्रसार त गरेको सुन्नमा आउँछ । जहाँसम्म तपाईँले उपचारको पहुँचको कुरा गर्नु भएको छ । धेरै जसो निमोनियाको उपचार हामी स्थानीयस्तरमै गर्न सक्छौँ । सामान्य एन्टिबायोटिकबाट उपचार हुन्छ । महंगो पनि पर्दैन । खाली कुरा के हो ? भने समयमै यसलाई पत्ता लगाउनु पर्ने हुन्छ । 

० स्थानीय स्तरमै कसरी पत्ता लागाउने ?
– दुई तीन वटा कुराहरुमा ध्यान दिनु पर्छ । निमोनिया भाइरस र ब्याक्टेरियाले हुने हो । भाइरसबाट हुने निमोनिया सामान्यता पाँच–सात दिनमा आफै ठिक भएर जान्छ । त्यसका लागि सामान्य उपाय गर्नु पर्छ । जस्तो, घरमा आराम गर्ने, आराम गर्दा हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ । पानी प्रशस्त खाने । यस्तै, पौष्टिक खानेकुराहरु खाने । यत्ति गरे, धेरैजसो भाइरल तथा निमोनिया आफै हराएर जान्छ । मान्छे सञ्चो हुन्छ । एन्टिबायोटिकको आवश्यकता पर्दैन । जहाँसम्म ब्याक्टेरियाको कुरा छ, त्यो भनेको जीवाणुले गर्ने निमोनिया । त्यो निमोनियामा हामीलाई एन्टिबायोटिक चाहिन्छ नै । सामान्य रुपमा आराम गरेर वा कुरेर हुँदैन । त्यही भएर सर्वसाधारणले के बुझ्नु पर्छ भने कतिबेला डाक्टर कहाँ जाने र जचाउने ? अथवा घरेलु उपचार गर्ने ? भाइरलको उपचार घरमै हुन्छ । डाक्टर कहाँ जानेसन्दर्भमा दुईतीन वटा कुराहरु बुझ्न आवश्यक छ । जस्तो, बच्चा, बृद्धबृद्धा निमोनियाकै कारण मरिरहेका छन् । यदि कुनै मान्छे, ५६ वर्ष भन्दामाथि कटेको छ र ५ वर्ष भन्दा मुनि छ, गर्भवती महिला छ र दीर्घरोगी छ भने घरमा बसेर हुँदैन । मृगौला रोगी, लिभरको समस्या भएको मान्छे, डाइविडिजको समस्या भएको व्यक्ति र कुनै अंग प्रत्यारोपण गरेको व्यक्ति छ भने शरीरको रोगसँग लड्ने क्षमता सग्लो व्यक्तिको जस्तो हुँदैन । यी अवस्थाका मान्छेहरु घरमा बसेर उपचार हुन्छ भनेर कुर्नु हुँदैन । ती मान्छेहरु, ज्वरो आएको छ, खोकि लागेको छ, जीउ दुखेको छ भने, डाक्टरकहाँ गइहाल्नु पर्छ । अरु मान्छेहरु,, जो ६५ वर्ष भन्दा मुनि र ५ वर्ष भन्दामाथि तर, कुनै खालको स्वास्थ्य समस्या नभएकाको हकमा भने दुई तीन दिनसम्म घरमै हेर्न सकिन्छ । केही कुराहरु खतराको सूचक हुन्छ ? 

० भन्नाले, जस्तै ? 
–केही त्यस्ता सूचक हुन्छ । त्यसमा हामी एक मिनेट पनि ढिलो गर्नु हुँदैन । यदि खोक्दा खकारमा रगत देखियो, ज्वरो झन्–झन् बढ्दै गयो, खोकी लामो हुँदै गयो, सास छिटो छिटो फेर्न थाल्यो, छाती दुख्यो र सास फेर्न गाह्रो भयो भने तथा आफुलाई निकै गलेको मसुस भयो भने, यी खतराका सूचक हुन् । यो अवस्थामा हामी कहिल्यै पनि घरमा बस्नु हुँदैन । तुरुन्त स्वास्थ्य संस्थामा गइहाल्नु पर्छ । 

० निमोनियाबारे धेरै मान्छेहरु अनविज्ञ छन्, यो बारे थाहा पाउने कसरी ? 
–निमोनिया भनेको एक प्रकारको संक्रमण हो । त्यो पनि स्वास नलीको संक्रमण हो । त्यसलाई पनि हामी तल्लो सासको नलीको संक्रमण भन्छौँ । तल्लोसास भनेको स्वर नली, भोकल कर्ड । जहाँबाट हाम्रो आवाज निस्किन्छ । त्यो स्वरयन्त्रभन्दा मुनिको भागलाई हामीले तल्लो सासको नली भन्छौँ । यसमा संक्रमण ब्याक्टेरिया र भाइरसले पनि गर्छ । यो भयो भने, लक्षण खोकी लाग्ने, ज्वरो आउने, कसैकसैलाई छाति दुख्न सक्छ । जीउ दुख्न सक्छ । यी कुराहरु भयो भने हामीले यसलाई निमोनिया भन्छौँ । सुरुमा नहुन सक्छ, दुईचार दिनमा खकार आउँछ । खकार आयो भने निमोनिया भएको मान्नु पर्दछ । हामी फेरि रुखाखोकी र निमोनियामा झुक्किनु हुँदैन । सामान्य रुघाखोकीमा खकार धेरै आउँदैन । सुख्खा खोकी हुन्छ । तर, निमोनियामा खकार आउँछ । झुक्किने मान्छे रुखाखोकीमै हो । खकार आइरहेको छ, जीउ दुखेको छ र ज्वरो धेरै आएको छ भने त्यसलाई रुखाखोकी भनेर बस्न मिल्दैन । 

० निमोनियाकै कारण मान्छेको मृत्यु हुन्छ ? 
–हुन्छ । भएका छन् । मैले भने दीर्घ रोगी, जोखिम वर्गका मान्छेलाई समयमै उपचार गर्न लानु पर्छ । 

० रोकथाम गर्न सरकार वा राज्यले के गर्नु पर्ला ? 
– केही कुरा अहिले पनि भएका छन् । जस्तो बच्चाहरुलाई निमोनियाको भ्याक्सिन लगाउने कुरा सरकारले तालिकामै राखेको छ । अरु उच्च खोजिम वर्गका मान्छेलाई पनि सरकारले भ्याक्सिनको व्यवस्था गरिदिने हो भने ५० प्रतिशत रोकथाम हुन्छ । अर्को, हेल्थहाइजिन सम्बन्धी जानकारी गाउँ–गाउँ । टोलटोलमा लैजान सकिन्छ । त्यो कुनै एक संस्था वा व्यक्तिले सम्भव छैन । सरकारले नै इनिसियसन लिनु पर्छ । मुख्य कुरा स्वास्थ्य शिक्षा र पोषणको कुरामा जोड दिनु पर्दछ । पौष्टिक आहारको ग्यारेन्टि हुनुपर्छ । र, भ्याक्सिनलाई सरकारले प्रमोट गर्नु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ