arrow

प्रक्रिया हामीले नै थालेका हौँ, तर अब एकता पर्खिएर समय बर्बाद गर्दैनौँ (संवाद)

‘नेपालीको पहिचान हिन्दूत्व मात्रै हो’ 

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
linden.JPG

पछिल्लो समय तीन राप्रपा एक हुने भन्ने चर्चा चल्यो । तीन राप्रपा एक हुने चरणमा पुगे पनि एकता घोषणा हुन सकेन । कमल थापा नेतृत्वको राप्रपाले पार्टी एकतालाई तत्काल थाती राखेर हिन्दु राष्ट्र पुनःस्थापनाको अभियान अघि बढाउने भनिरहेको छ । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकता प्रक्रिया अझै नटुंगिएको र अब छिट्टै एकता प्रक्रिया अघि बढ्ने भनिरहेको छ । मुख्य गरेर यी दुई घटकबीचमै कुरा मिलेन । र, पार्टी एकता घोषणा हुन सकेन । अब खासमा कुरा के हो त ? राप्रपाले पार्टी एकता रोकेकै हो त ? एकताबारे समय खेर नफाल्ने र अर्को अभियान सुरु गर्ने भनिएको छ । अब हुन्छ के ? भन्ने सन्दर्भबाट हामीले राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनसँग कुरा गरेका छौँ । 

० तपाईहरुले एउटा कुरा भन्नु भो र राप्रपा प्रजातान्त्रिकले अर्को कुरा भन्यो । तपाईहरुले पार्टी एकता रोक्ने कुरा गर्नु भो । राप्रपा प्रजातान्त्रिक अझै टुंगिएको छैन । अझै अगाडि बढ्छ भनिरहेको छ ? संगसँगै आएका यी दुईवटा कुरालाई कसरी लिने हो ? 
–उहाँहरुको अर्थात् अर्को पक्षको कुरा त मैले भन्ने कुरा भएन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन राजनीतिक धारको नेतृत्व गरिरहेको छ । अहिले यो नेतृत्व अथवा हामीलाई जे जिम्मेवारी छ । अहिलेको देशीय परिस्थितिमा अहिले हामी अल्मिलिएर बस्ने । अकर्मण्य भएर कर्तव्यविहिन भएर बस्ने छुट र सुविधा हामीलाई छैन । हामीले देशमा रहेको रिक्ततालाई पूर्णता दिनका लागि एउटा वैकल्पिक शक्तिको निर्माण अभियानलाई अघि बढाउनको लागि विभिन्न कार्ययोजनाहरुका लागि समान विचार धारा राख्ने र खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टी नामका अन्य पार्टीहरुलाई समेत मिलाएर लैजाने पनि कार्ययोजनाभित्र समावेश गरेका थियौँ । तर, अहिले तत्काललाई त्यो एकता सम्भव देखिएन । एकताको ढोका खुल्ला राख्दै, अरु कार्यक्रमहरु अगाडि बढाएर जाने तर, एकताकै प्रक्रियामा अल्झेर बसेर समय वर्वाद नगर्ने निष्कर्षमा हामी पुगेका छौँ । 

० भनेको, अब एकता प्रक्रिया रोकियो नै ? 
–हो, अब अहिले वार्ता पनि भएको छैन । कुराकानी पनि भएको छैन । त्यसकारणले अहिले तत्काललाई एकता प्रक्रिया स्थगत जस्तो भएको छ । एकता भन्ने कुरा त हामीले प्रारम्भदेखि नै भनेका छौँ । सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, राजासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्तशासनको मूल सिद्धान्तमा उहाँहरु सहमत हुनेवित्तिकै हाम्रो एकता प्रक्रिया अगाडि बढ्छ । पार्टी एक हुनलाई कुनै समस्या छैन । त्यसको लागि ढोका खुल्ला छँदै छ । तर, अहिले तत्काल तीन पार्टीबीच जुन समझदारी भइसकेपछि उहाँहरुले स्थगन गर्नु भो । उहाँहरु पछि हट्नु भो । त्यसले मात्रै पनि आपत्ति थिएन । तर, यसको कारणबारे आरोप प्रत्यारोप जस्ता कुराहरु आउन थाले त्यस कारण अहिले तत्काललाई सहज वातावरण बन्ने देखिएन । यसैलाई एकताको ढोका बन्द भयो भन्न चाहिँ हुँदैन । यद्यपि, यसैमा अल्झि राखेर, पर्खिएर, समय बर्बाद पारेर इतिहासले दिएको दायित्व र जिम्मेवारीबाट पञ्छिनु भन्दा अब अगाडि बढ्नु राम्रो ठोनेर संगठनको क्रियाकलापमा अघि बढिसकेका छौँ । 

० एउटा कुरा प्रष्ट पारिदिनु न । कसैले पशुपतिको हठका कारण एकता घोषणा भएन भने, अनि कसैले कमल थापा नै दोषी हुन् भने ? रोक्न चैँ कसले रोकेको हो ?  
–यसमा यस्तो हो, हामी फेरि पनि एकताकै पक्षमा छौँ । भविष्यमा पनि पार्टीहरु एक भएर जानु परोस् भन्ने पक्षमा भएको र हामी संस्थापन पक्ष भएका कारणले हामी अरुलाई दोष दिने, यस विषयमा हामी राम्रो अरु नराम्रो भन्ने पक्षमा छैनौँ । त्यो विषयमा जान चाहन्न । तर, यत्तिमात्रै भन्न चाहन्छु, जुन अहिलेको एकता प्रक्रिया छ । प्रारम्भ नै हामीले गरेको हो । संस्थापन पक्ष हुनुका नाताले हामीले नै कुरा गरेर हाम्रो पार्टीको अध्यक्षलाई पार्टीको तर्फबाट जिम्मेवारी दिएर यो प्रक्रिया अगाडि बढेको हो । र, म सबैको जानकारीको लागि अनुरोध गर्छु,, अहिले छुट्टिएका दुई पार्टी पनि सँगै भएको एकता महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले नै आफु सरह अरुलाई पनि नेतृत्वमा समावेश गर्ने र सामूहिक नेतृत्वमा महाधिवेशन नभएसम्म काम गर्ने भनेर प्रस्ताव राखेर यो प्रक्रिया अगाडि बढाइएको हो । त्यस कारण यो एकतालाई टार्ने, एकतालाई भाँड्ने हाम्रो तर्फबाट कुनै उदेश्य पनि छैन । प्रयास पनि भएको छैन । मैले अहिले यत्तिनै जानकारी गराउन चाहन्छु । 

० अब नि, तपाईहरुले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियान थाल्ने भन्नु भयो । त्यसको लागि के कस्ता कार्यक्रम हुन्छन्, प्रारुप बनाउनु भा छ ? 
–अहिले हामीले प्रारम्भमा देशभरी प्रदेशस्तरीय हिन्दू जागरण सभाहरु गरिनै राखेका छौँ । त्यही सिलसिलामा प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा यो कार्यक्रम आयोजना गरिसकेका छौँ । यो एकता प्रक्रियाले गर्दा अन्य प्रदेशका कार्यक्रमहरु स्थगित भए । अब हामी त्यसलाई अगाडि बढाएर लान्छौँ । र, फागुन १ गतेबाट देशव्यापी रुपमा हिन्दूत्व जागरण अभियान आन्दोलनको रुपमा अगाडि बढाउँछौँ । 

० अहिले त्यसको आवश्यकता किन ? चुनाव त लागेको छैन ? 
–अहिले पछिल्लो दिनमा हिन्दूत्व, राष्ट्रिय एकता र हाम्रा पहिचान जस्ता विषयहरु कमजोर भए । संकटमा परे र यसको जागरण, यसको संरक्षण जरुरी भयो । र, यसको पक्षमा अहिले कुनै पनि राजनीतिक दलहरु नभएको अवस्थामा हामीले हाम्रो जिम्मेवारीको रुपमा, कर्तव्यको रुपमा लिएर हिन्दूराष्ट्र पुनःस्थापना अभियान अगाडि बढाउने निर्णय गरेका हौँ । 

० अहिले सरकारमा रहनेहरु, आफुलाई कम्युनिष्ट भन्नेहरु अथवा तीर्थाटन गर्ने, विभिन्न धाम धाउने गैरकम्युनिष्टहरुले गरेका पूजाआजा, टीकाटालो देखेर हौसीनु भा त हैन ? 
–हामी कसैले केही गरेको देखेर भन्दा पनि ०६२–०६३ को राजनीतिक परिवर्तनपछि र जुन मार्गचित्रमा यो राजनीतिक परिवर्तन भयो । त्यसको कारण नेपालको एकता, पहिचान र हिन्दूत्व जस्ता चिजहरु संकटमा पर्छन् भन्ने निकर्षका साथ त्यतिबेलै देखि नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता होइन सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र, राजसंस्था, राजासहितको प्रजातन्त्र र सुदृढ स्थानीय स्वशासन हुनुपर्दछ भनेर आवाज उठाउँदै आएको र छुट्टै दृष्टिकोण राख्दै आएका राजनीतिक पार्टीहरु हौँ । पछिल्लो दिनमा हामीले त्यस बेला भनेका कुराहरु अझ सही प्रमाणित हुँदै गएका छन् । त्यही सन्दर्भमा हामीले जनतालाई अझ बलियो रुपमा बुझाउन खोजेका छौँ । हिजो जोडबल, छलछामबाट टुक्रिएका नेपालीलाई जोड्ने, नेपालीलाई चिनाउने, हिन्दूराष्ट्रको पहिचानलाई स्थापित गर्न हामी लागि परेका हौँ । कसैले भगवानप्रति आस्था राख्यो अथवा मन्दिर धाउन थाल्यो र अरुले पनि यो कुरा मान्न थाले, कोही कुण्डमा नुहाउन थाले भन्ने कारणले हामीले यो कार्यक्रम अगाडि बढाएको होइन । 

० बुझाउने भन्नु भो, मान्छेलाई के बुझाउन खोजेको ? 
–वास्तवमा ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्ममा विश्वास राख्ने मानिसहरु छन् । ९ प्रतिशत भन्दा बढी बुद्धधर्म र ३ प्रतिशत भन्दा बढी किँरात धर्ममा विश्वास राख्ने मान्छेहरु छन् । यस्तो बसोबास रहेको ठाउँ नेपाल हो । ९४ प्रतिशत मानिसहरु कुनै न कुनै प्रकारले हिन्दूत्वमा विश्वास राख्छन् । ओमकार परिवारका सदस्य छन् । यति धेरै मान्छेले हिन्दूत्वमा विश्वास राख्दा राख्दै देश धर्मनिरपेक्ष हुँदा कसैले आवाज उठाएन । यसको एउटै मात्र कुरा हो, कि हामीले यसको महत्वलाई बुझाउन सकेनौँ । यसको अनुपस्थितिले हुने नोक्सानीका बारेमा बुझाउन सकेनौँ । त्यही कुरा बुझाउने र हिन्दूत्वको महत्वका बारेमा जानकारी गराउने र हिन्दूराष्ट्र पुनःस्थापनमा गराउने उद्देश्यका साथ हामीले अभियान सञ्चालन गरिरहेका हौँ । 

० फेरि हिन्दूराष्ट्र पुनःस्थापना हुन्छ भन्ने आधारहरु देखिन्छन् ?
–मैले भनिहाले नि,, यसको जग हाम्रो देशमा यति बलियो छ । ९४ प्रतिशत मानिसहरु कुनै न कुनै ढंगले हिन्दूत्वमा विश्वास गर्दछन् । त्यति मात्रै होइन यो देशमा अरु गैर हिन्दू समेत अथवा भनौँ इस्लाम धर्ममा विश्वास राख्ने मानिसहरुसमेत र अन्य धर्ममा विश्वास राख्ने मानिसहरु समेत हिन्दुराष्ट्र हुनुपर्दछ भनेर अभियानमा लागेका छन् भने यसको पुनःस्थापना नहुने भन्ने कुरै छैन । यसको जग अत्यन्त बलियो छ । यसको जगकै कारण । नेपाल ढिलो चाँडो हिन्दूराष्ट्र हुन्छ । 

० मुलुक धर्मनिरपेक्ष भयो । अहिले संघीयताको अभ्यास भइराखेको छ । मान्छेहरु मौन छन् । मान्छेहरु बोलेका छैनन् भनेर तपाईहरुले भनेकै मान्छन् भन्ने छ ? भोलि बोल्न थाल्यो भने के होला ? 
–हो, मान्छे नबोलेरै अहिले धर्मनिरपेक्षतालाई बल पुगेको छ । केही दलका केही नेताहरुले आफूखुसी देशमा धर्मनिरपेक्षता लाददा पनि जनता केही बोलेनन् । मान्छे नबोलकै कारण त्यसले संस्थागत रुप लियो । तर, जन्ता बोलेको दिन यो धर्म निरपेक्षता एक दिन पनि टिक्दैन । 

० तपाईहरु यसको साटो लोक कल्याणका काम किन गर्नु हुन्न ? 
–अहिले हामीलाई जनताले जे हैसियत दिएका छन् र हामी जुन ठाउँमा छौँ । अहिले आवाजै उठाउने हो । विरोधै गर्ने हो । निर्णय तहमा हाम्रो हात नभएपछि हामीले धेरै ठाउँमा असहमति जनाउँदै आएका छौँ । अहिले हामीले राष्ट्रपति, उपराष्ट्रपतिको सेवा सुविधा तथा जनप्रतिनिधिको सेवा सुविधा भन्दा जनताको सेवा सुविधालाई प्राथमिकता दिनुपर्ने समय हो । अहिलेको सरकार यो कुराबाट विमुख भएको छ । आफ्नो सेवा सुविधानमा प्राथकिता दिन थालेको देखिएको छ, यसमा हाम्रो विरोध छ । हामीले राखेका कुराहरु लोककल्याण सँग सम्बन्धित नै कुरा हुन् । मैले अरु ठाउँमा पनि भनेको छुँ । देश भन्ने कुरा एउटा भूगोलले मात्रै बन्दैन । देश बन्नको लागि, तपाईँ र मलाई जोड्नको लागि अरु तत्वहरु पनि चाहिन्छ । त्यसमध्ये देश बनाउने र देश जोड्ने । देशलाई चिनाउने चिज भनेको हामीले उठाइराखेको राज संस्था, हिन्दूत्व, हिन्दूराष्ट्र जस्ता कुराहरु नेपालको सन्दर्भमा अत्यन्त जरुरी छ । भूगोलले मात्रै देश बन्ने भएको भए । सिक्किम भन्ने भूगोल पनि छँदै छ नि । कसैले लगेको छ र ? हामीले सिक्किम त भन्छौँ नि, त्यो देश अहिले छ, त ? छैन नि ! त्यसैले भोलि नेपालीले त्यो नियति बेहोर्न नपरोस् । नेपाल भनेर चिनाउने तत्वहरु जोगाएर राख्नु पर्दछ । 

० के हामी नेपालीको पहिचान हिन्दूत्व मात्रै हो त ? 
–एकदम । हिन्दूराष्ट्र । नेपालभित्र रहेका जुनसुकै धर्म मान्ने । जुनसुकै थर, गोत्रका मानिसहरुलाई चिनाउने र नेपाललाई चिनाउने चिज हो । यो एउटा धर्म मान्ने मानिसहरुसँग सम्बन्धित विषय मात्रै होइन । हिन्दूराष्ट्र हामी आम नेपालीलाई चिनाउने हाम्रो पहिचानसँग सम्बन्धित विषय हो । 

० तर, अहिले त्यस्तो त भन्दैनन् मान्छेले ? 
–बुझेको छैनन् । त्यसैले हामी त्यो बुझाउने अभियान सञ्चालन गरिराखेका छौँ । 

० तपाईहरुले बुझाउँदा बुझ्छन् त ? 
–बुझ्छन्, किन नबुझ्ने ? यो त समयले बुझाउँदै जाने हो । हामीले सत्य कुरा बोकेका छौँ । यो भ्रम भयो होला । तर, धेरै जनताले बुझ्ने छन् । हामी बुझाउने छौँ । 

० पूरानै अवस्थामा फर्किँदा, यथास्थितिवादी भन्दैनन् फेरी ? 
–हामी यथास्थिति होइन । निरन्तरतासहित परीवर्तनको पक्षमा छौँ । हामी भएका परम्परागत सनातन मान्यताहरुको रक्षा गरेर पनि देशलाई अगाडि बढाउन सकिन्छ, संसारका अन्य विकसित मुलुकको दाँजोमा पुर्‍याउन सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छौँ । अरु नयाँ बनाउनको लागि नभत्काइकन, समाप्त नगरीकन नयाँ बनाउन सकिँदैन भनेर भत्काउने अभियानमा छन् । भत्काउनेहरुले नयाँ बनाउन सकेन तर, हामी राम्रा, पूरानाहरुको संरक्षण गरेर पनि नयाँ बनाउन सकिन्छ भन्ने अभियानमा छौँ । हामीले अहिले कुरा गरिरहेको निरन्तरता सहितको परिवर्तनको कुरा हो । हामीले परिवर्तनको विरुद्धमा उभिने कुरा गरेको होइन । यथास्थितिको कुरा गरेको होइन । हामीले हाम्रा मूल्यमान्यताको पनि रक्षा गरेर अगाडि जान सकिन्छ, भन्ने मान्यता चैँ अगाडि सारेको हो । 

० अहिलेको पुस्ता त फास्टट्रयाक चाहन्छ । अनि त्यति घुमाउरो बाटो हिड्छ त मान्छे ? 
–हैन, यही फास्टट्रयाक हो । फास्टट्रयाक नाममा भएको चिज भत्काउने । नयाँ घर बनाउँछु भनेर भएको घर पनि भत्काउने, अनि अर्को नयाँ घर बनाउँदा नापनक्सा विनै जान खोज्ने । अनि गएर आफ्नो घर भत्काएर त्रिपालमुनी बस्ने व्यवस्थाको मात्रै हामी विरुद्धमा हौँ । 

० अनि के तपाईहरु नापजाँच सहितको बाटो हिँडाउनु हुन्छ त ?
– एकदम, अध्ययन गरेर । बुझेर जान्छौँ । मैले भने त, आफ्नो परम्पराको रक्षा गरेर आफ्नो पहिचानको रक्षा गरेर अगाडि जान सकिन्छ । संसारमा धेरै देशहरु आफ्नो परम्परागत मूल्य मान्यताको रक्षा गरेर पनि अगाडि बढेका छन् । त्यही बाटोमा हामी पनि अगाडि जान चाहन्छौँ र मुलुकलाई लैजान चाहन्छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ