arrow

चुरोटका आविष्कारक को थिए ?

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
byukenen-dzhejms.jpg

काठमाडौं । सेतो, ३ इन्च लामो र एउटा बच्चाको औंला जत्रो–हो, यो त्यही चुरोटको कुरा हो, जुन विश्वभरमा सायद सबैभन्दा बदनाम उत्पादन पनि हो ।

तर, तपाईंलाई थाहा छ चुरोट कसले बनायो ? के ती व्यक्तिलाई धुमपानका कारण हरेक वर्ष हुने मानिसको मृत्युको जिम्मेवार ठहर्‍याउन सकिन्छ ? अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका रोबर्ट प्राक्टर भन्छन्–‘मानव सभ्यताको इतिहासमा चुरोट सबैभन्दा घातक उत्पादन हो । २० औं शताब्दीमा धुमपानका कारण १० करोड मानिसको मृत्यु भईसकेको छ ।’

समाचार एजेन्सी बीबीसीका अनुसार ‘टोबाको इन हिस्ट्री’ किताबका लेखक जोर्डन गुडम्यानले चुरोट उत्पादनको सन्दर्भमा कुनै पनि व्यक्तिको विशेष नाम लिन आफूले नचाएको बताउँदै उनले अमेरिकाका जेम्स बुकानन ड्युक चुरोट आविष्कारको लागि जिम्मेवार भएको भने बताएका छन् ।

जेम्स बुकानन् ड्युक चुरोटलाई वर्तमानको अवस्था दिन मात्रै जिम्मेवार छैनन् उनले चुरोटको मार्केटिङ र वितरणमा समेत अहम् भूमिका निभाएका छन् जसका कारण विश्वमा चुरोटको लोकप्रियता बढ्यो ।

सन् १८८० को मेमा ड्युकले हातबाट बनेको चुरोटको कारोबार सुरु गरेका थिए, त्यतिबेला उनी २४ वर्षका थिए । त्यतिबेला यस्तो चुरोट बनाउने कार्य व्यापक थिएन । उत्तरी क्यारोलिनाको डरहम नामक शहरमा केही व्यक्तिहरु मिलेर ‘ड्युक अफ डरहम’नामबाट चुरोट बनाउन सुरु गरेका थिए ।

यसको २ वर्षपछि ड्युकले जेम्स बेनसेक नामक एक युवा मेकानिक्ससँग काम गर्न सुरु गरे । जुन युवाले मेसिनबाट चुरोट उत्पादन गर्न सकिने दाबी गरेका थिए । ड्युकलाई बोनसेक भेटेपछि आफ्नो कारोबार फैलाउन उचित मौका मिल्यो । ड्युकलाई विश्वास थियो कि, मानिसहरु हातबाट बनेको बेमेल आकारको चुरोटको सट्टामा मेसिनबाट बनेको एकै आकारको चुरोट सेवन गर्न रुचाउँछन् ।

त्यस्तै सोही समयमा ड्युकको कारखानामा युवतीहरु एक ‘सिफ्ट’मा हातबाट लगभग २ सय चुरोट बनाउने गर्थे भने बेनसेकको नयाँ मेसिनले एक दिनमा १ लाख २० हजार चुरोट उत्पादन गर्न थाल्यो । जबकी त्यतिबेला अमेरिकामा एक दिनमा २४ हजार खिल्ली चुरोट मात्रै खपत हुने गथ्र्यो ।

बीबीसीका अनुसार ड्युकले चुरोटको मार्केटिङ पनि राम्रौसँग गरे, त्यतिबेला । उनले सन् १८८९ मा चुरोटको मार्केटिङमा मात्रै ८ लाख डलर खर्च गरे । त्यस्तै उनले सौन्दर्य प्रतियोगितामा सित्तैमा चुरोट बाँढ्ने, पत्रिकाहरुमा चुरोटको विज्ञापन छपाउने जस्ता कार्य गरे । त्यस्तै उनले चुरोटकै माध्यमबाट घोडादौडको प्रायोजन समेत गरे ।

अमेरिकामा आफ्नो काम र प्रविधिले सफलता हासिल गरेपछि उनले सन् १९०२ मा बेलायती इम्पियरियल टोबाको कम्पनीसँग मिलेर बेलायती अमेरिकन टोबाको नामक कम्पनी स्थापना गरे । विश्वभरमा आजपनि धुमपान गर्नेको संख्या दिनहुँ बढिरहेको छ । विकसित देशमा धुमपान कम हुँदै गएपनि विकाशिल देशमा भने हरेकवर्ष ३.४ प्रतिशतका दरले चुरोटको माग बढिरहेको बीबीसीले उल्लेख गरेको छ ।

तर, विश्वमै हानिकारक चुरोटका लागि जेम्स बुकानन् ड्युक कतिसम्म दोषी छन् त ? ड्युकको मृत्यु सन् १९२५ मा भएको थियो । तर सन् १९३० सम्म चुरोटलाई स्वास्थ्यको लागि लाभदायक भनेर प्रचार गरिन्थ्यो । वर्ष १९०६ सम्म चुरोट औषधीको इन्साईक्लोपिडियामा सामेल भएको बीबीसीले जनाएको छ ।

ड्युकलाई राम्रो मान्नेहरु पनि छन् भने नराम्रो मान्नेहरु पनि छन् । बजार विश्लेषण, मनोविज्ञान र विज्ञापनका हिसावले उनलाई हिरो मान्नेहरु पनि छन् । तर, धुमपान र सुर्तीको विवादले उनको क्षमता ओझेलमा पर्ने गरेको बताइन्छ ।

‘टोबाको इन हिष्ट्री’का लेखक जोर्डन गुडम्यान ड्युकको बारेमा भन्छन्–‘जेम्स ड्युकले विश्वलाई चुरोट दिए र यो चुरोट विसौं शताब्दीको समस्या हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ