दोस्रो जनआन्दोलनको बलबाट पुनस्र्थापित संसदको बैठक तत्कालीन उपसभामुख चित्रलेखा यादवले सञ्चालन गरिन् । त्यस प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट भएको भएपनि जनआन्दोलनमा उनको सहयोग र समर्थन थिएन । संसद विघटन भएको थियो तर अर्काे संसदका निर्वाचन नहुदासम्मका लागि सभामुखका रुपमा उनी र उपसभामुखका रुपमा चित्रलेखा नै थिइन् । जनआन्दोलनले संसदको पुनर्थास्पनाको माग राखेको थियो । जनआन्दोलनको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले प्रमुख मागका नै संसदको पुनस्र्थापना गरेका थिए ।
त्यसैले संसद जिवीतै छ र यसले आफ्नो काम गरिरहेको छ भन्ने देखाउन र राजा ज्ञानेन्द्रलाई दबाब दिनका लागि ठाउ ठाउमा सडकमै संसदको बैठक आह्वान गरे र संसद अधिवेशनकै रुप दिनखोजे । तर त्यो पनि जनआन्दोलनको एउटा आकर्षण बन्यो । त्यस बैठकमा पनि नेताहरुले आफ्ना कुरा राख्ने र सञ्चारमाध्यममार्फत नै ती विचारहरु प्रवाहित पनि भए । त्यो बैठकको अध्यक्षता गर्न नेता कोइरालादेखि लिएर आन्दोलनका सबै दलका नेताहरुले सभामुख रानाभाटलाई आग्रह गरे । त्यसताकासम्म सभामुख रानाभाट राजासँग लहसिइसकेको भान हुन्थ्यो । उनी बारम्बार राजदरबार जान्थे र दर्शनभेटका समाचारहरु सरकारी सञ्चारमाध्यममार्फत निकै सुनाउथे । त्यस कारण पनि उनी त्यो बैठकको अध्यक्षता गर्न चाहेनन् । एक पटक त कमलादिस्थित प्रज्ञा भवनमा बैठकको आयोजना गरियो र त्यसम सभामुखका रुपमा रानाभाट नै आउने आशा पनि दलहरुले व्यक्त गरे । तर पछि उनी आएनन् । बैठकमा रौनकता छायो र नेताहरुको मुख रातोपिरो भयो । तर त्यहीँ रहेकी उपसभामुख चित्रलेखा यादवलाई भने कसैले देखेनन् । उनले आफै सो बैठकको अध्यक्षता गर्ने बताइन र अघि बढिन् । त्यस दिन उनले संसदकै अधिवेशन सरह नै बैठकको अध्यक्षता गरिन् र बैठक सञ्चालन गरिन् ।
उनी दोस्रो जनआन्दोलनमा निरन्तर लागिन् । जनआन्दोलनले उचाई ग्रहण गर्दैगर्दा विसं २०६२ को चैतको पहिलो साता उनी जुलुशमा भाग लिएकै कारण बागबजारबाट पक्राउ परेको मैले नै रिपोर्टिङ गरेको थिएँ । एकजना महिला प्रहरीले उनलाई सुरुमा स्यालुटगर्दै प्रहरी भ्यानमा हालेको फोटो कैयौँ पत्रकारको क्यामेरामा कैंद भएको थियो । उपसभामुखको हैसियतमै उनी प्रहरी थुनामा पनि बस्नुपरेको थियो । त्यसअघि सडक संसदहरुमा उनले बैठकको अध्यक्षता गरेका कारण पनि उनी प्रशासनको निशाना बनेको हुनुपर्छ । विसं २०६३ को वैशाख ११ गते लोकतन्त्रको स्थापना भयो र संसद पनि पुनस्र्थापना भयो । दलहरुले वैशाखको १२ गते नै १५ गतेका लागि संसद बैठक बोलाउन गरेको आह्वान गरेबमोजिम वैशाख १५ मा नै पुनस्र्थापित संसदको बैठक बस्नेभयो । जनआन्दोलनका क्रममा निकै आलोचित बनेका सभामुख रानाभाटले वैशाख १३ गते राजिनामा दिए । उनलाई संसदको पहिल्यै बैठकबाट महाअभियोग लगाउने चर्चा पनि गरिएको थियो । त्यसपछि स्वतहः सो संसदको अध्यक्षता उपसभामुख यादवले नै गरिन् । निकै राम्रोसँग सञ्चालन गरिन् उनले संसदको बैठक ।
संसदको पहिलो बैठकमा उनले गरेको सम्बोधन मर्मश्पर्सी थियो । वैशाख ३० गतेसम्म उनले सञ्चालन गरेको संसदको बैठक साह्रो आकर्षक थियो । ३० गतेका लागि नयाँ सभामुखको निर्वाचन तोकियो र उनले त्यसमा इच्छा देखाउनु स्वाभाविकै थियो । मधेशी, महिला, जनआन्दोलनमा सक्रिय अनि अब्बल दर्जाको शैक्षिक प्रमाणपत्र । तर पछि हट्यो काँग्रेस । सुवास नेम्वाङलाई दलले अघि सारे र उनी नै सभामुखमा निर्विरोध भए । त्यस समयमा उनलाई सभामुख बनाउन सकेको भए देशले आजभन्दा झण्डै एक दशकअगावै पहिलो महिला सभामुखको इतिहास रचिसक्ने थियो । यति दरिलो र संभावना आफ्ना सामु हुदाहुदै पनि काँग्रेसले भागबन्डालाई बढी ध्यान दियो । हो, त्यसमा एमालेले इच्छा देखाउनु त स्वाभाविकै थियो । तरपनि यादवका त्यस समयमा योग्यताहरुका सामु सायदै कोही व्यक्ति यसका लागि फिट हुन्थे होला । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि उनलाई काँग्रेस प्रजातान्त्रिका रुपमा हेरे भने उनको आफ्नो दलले पनि यो अडानलाई दरो बनाउन सकेन ।
जो भएपनि काँग्रेसले नै इतिहास रच्ने थियो । अहिले पनि नेपालको पहिलो महिला मन्त्रीका रुपमा द्धारिकादेवीको नाम आउछ र त्यो इतिहासको रचना २०१६ सालको मन्त्रिमण्डलमा प्रधानमन्त्री विपी कोइरालाले रचना गर्नुभएको थियो । यादवले नयाँ सभामुख चयन गरेर जादैगर्दा संसदमा दिएको मन्तव्यको पाठले संसदभित्रका सबैको शिर एक हिसाबले नुगाएको थियो । उनको त्यो भाषणमा महिला भएकैले आफुले सभामुख नपाएको आसय थियो । त्यसको लगभग वर्षदिनमात्र पछि भारतले पनि मीरा कुमारलाई पहिलो महिला सभामुखका रुपमा संसदबाट निर्विरोध चयन गरो र त्यस सयममा नेपालले र विशेषगरी नेपाली काँग्रेसले चुकाएको इतिहासप्रति कैयौँ टिकाटिप्पणी पनि भएका थिए । यसै कारण पछि उनले मन्त्री पद नै अस्वीकार गरिन्, नेपालमा मन्त्रीपद अस्वीकार गर्ने महिला विरलै होलान् ।
प्रसंग देशले यतिखेर रचेको सर्वाेच्च स्थानमा महिलाको हो । देशले हप्तादिनयतादेखि निकै ठूल्ठूला इतिहासको रचना गरेको छ । संसारलाई मानवअधिकार, महिला सशक्तिकरण र समानताको पाठ पढाउने अमेरिकाले नै पहिलो पटक महिला राष्ट्रपतिको अभ्यास हिलारी क्लिन्टनबाट भर्खरै सुरु गर्दैछ भने हामीले पाइसक्यौँ । भारतले नै आफ्नो स्वतन्त्रताको छ दशकपछि नै सभामुख र राष्ट्रपतिमा महिला पाएको थियो तर हामीले पाइसक्यौँ । यसका लागि देशमा पछिल्लो समयमा कसिएको कम्युनिष्ट गठबन्धन धन्यवादको पात्र पक्का पनि छ । तर यो दुवै इतिहास बनाउने अवसर काँग्रेसकै हातमा थियो । उ नौ वर्षपहिले नै एकपटक चुक्यो र अहिले आएर अर्काे पटक । आफ्नै दलभित्रकै पदीय झगडाले काँग्रेसले यो इतिहास रच्ने कामलाई ‘वाकओभर’ दिएको छ । गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सफल बनाउन सकेको काँग्रेसकै हातमा पहिलो महिला राष्ट्रपति बनाउने अवसर पनि थियो । पढे लेखेका कैयौँ नेताहरु भएको काँग्रेस पार्टीमा यसरी इतिहास बनाउने र स्वदेशी तथा विदेशमा समेत पाठ्यक्रम र सामान्यज्ञानमा संग्रहित हुने यो कार्यले तत्कालका लागि कुनै एकजनाको पदको महत्वाकांक्षाभन्दा पनि पार्टीको भविश्यका लागि पनि एक राम्रो दस्ताबेज बन्छ भन्ने कुरा ज्ञात हुन नसक्नु दुर्भाग्य हो । दुई तिहाई बहुमतको प्रधानमन्त्रीका हैसियतमा संसदको ९० प्रतिशतको हाराहारीमा सहमति जुटाएर जनताद्धारा जारी पहिलो संविधान जारी गर्ने अवसर पाएका प्रधानमन्त्री सुशिल कोइरालाले तत्कालका लागि फाइदामात्र खोज्ने मिनेन्द्रजस्ता मन्त्री र भोलि पार्टी सभापतिमा च्याँखे हान्न पाइन्छ कि भन्ने मौका कुरेर बसेका रामचन्द्रहरुजस्ताको गलत सुझावका कारण फेरिपनि प्रधानमन्त्री पदमा ¥याल काड्ने प्रवृत्तिले आज कााग्रेस वर्तमान र इतिहासबाट पनि पछि परेको छ ।
यसका कारण यसअघि भन्ने गरिएको उनको सादगीपनले पदलोलुपताको लेपन मात्र गरेन देशको पुरानो र अगुवा पार्टी काँग्रेसले आफ्नो छ दशकभन्दा लामो राजनीतिक इतिहासका पनि यो महत्वपूर्ण इतिहास रचना गर्ने अवसरलाई आफ्नो पक्षमा पार्न सकेन । बुद्धि पुराएको भए आज यी दुवै ऐतिहासिक उपलब्ध नेपाली काँग्रेसकै दस्ताबेज वा घोषणपत्रमा लेखिने थिए । तर त्यो आफ्नै कारणले काँग्रेसले सफल बनाउन सकेन । उनले काँग्रेसको अघिल्लो महाधिवेशनमा पनि एक पटकका लागि सभापति भनेर सारा काँग्रेसीजनसँग भोट मागेका हुन् तर अहिले उनको खेमाका खेलाडीहरुले फेरि पनि सभापतिमा उठाउदै छन् रे भन्दा सुनिन्छ । त्यसैले अहिले वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा सभापतिमा पनि सजिलै आउनसक्ने त्रास उनले मनभित्रै पाले । त्यही मनभित्र गुम्सिएको त्रासले नै संविधान जारी गरेपछि एक मिनेटपनि सत्ताम बस्दिन भनेर पटक पटक देशवाशीका नाममा सम्बोधन गर्ने गरेका उनले सफलतासाथ संविधान जारी गरेपनि बालुवाटार छोड्न मानेनन् । यसले उनको राजनीतिक इमान्दारिता कहासम्म रहेछ भनेर देखाइदिएको छ । यो सबै उनले शेरबहादुरलाई छेक्नका लागि गरेका हुन् भन्नेमा काँग्रेसका सानाभन्दा साना कार्यकर्ता पनि जानकार नै छन् र त्यसको बाहिरै देखिनेगरी सन्देश नेता पूर्णबहादुर खड्काले नै दिएका छन् । यसरी आफ्नै पार्टीका एकजना नेतालाई छेक्न खोज्दा यतिखेर नेपाली काँग्रेसले तत्कालका लागि र ऐतिहासिक समेत गरी कति गुमाएको छ भन्ने कुराको मापन अहिले नै गर्न गाह्रो छ । किनभने मुलुकको सबैभन्दा ठूलो नेपाली काँग्रेस पार्टीका कार्यकर्ता यतिखेर ठूलो निराशामा बाँच्न बाध्य भएका छन् । यसरी कोइरालाको सत्तामोह र रामचन्द्रको च्याँखेदाउ प्रवृत्तिले काँग्रेस इतिहास रच्ने महान अवसरबाटै नराम्रोसँग चुकेको छ ।