- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रामपुर, पाल्पा । पछिल्लो समयमा नेपालमा आत्महत्याको अवस्था कति विकराल छ भन्ने कुरा ५ नं. प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला पाल्पाको विकट बस्ती ईलाका प्रहरी कार्यालय रामपुरको कार्यपत्र अन्तर्गत साउन महिना यताको यो तथ्याङ्कले पनि छर्लङ्ग पार्दछ ।
जम्मा जम्मी चार महिनाको यो अबधीमा विविध कारणले झुण्डिएर १० जनाले, बिष सेवन गरेर ३ जनाले र नदीमा हाम फालेर २ जना गरी विभिन्न उमेर समुहका जम्मा १५ जनाले विभिन्न माध्यम प्रयोग गरी अल्पायुमै जीवनलिला समाप्त गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्नेहरुको आंकडा अन्यहरुको तुलनामा बढी छ भने लिंगको हिसाबमा महिलाको संख्या अधिक छ । यहां प्रस्तुत तथ्याङकले एउटा पहाडी जिल्लाको विकट बस्ती ईलाकाको वर्तमान अवस्थालाई दर्शाउन खोजिएको छ र त्यस्ता घटनाहरु दिनानुदिन बढ्दो अवस्थामा छन, कुनै कारणले पनि आत्महत्याका घटनाहरुमा कमि आएको तथ्याङ्क देख्न सकिदैन ।
मानिस एउटा चेनतशिल र सामाजिक प्राणी भएको नाताले उसको सचेतन मस्तिष्कमा सकारात्मक र नकारात्मक सोच र भाव रहेको हुन्छ । नकारात्मक सोच प्राय जसो नआउन सक्छ र हरदम सकारात्मक सोच पनि रहिरहन्छ भन्ने छैन । सकारात्मक सोचमा परिवर्तन आई कुनै परिवेश र घटना बिशेषलाई आधार बनाई त्यहि बिषयमा निरन्तर मानसिक उल्झन गरी उक्त समस्या समाधान गर्न असमर्थ भएको कारण उसको सोचमा नकारात्मकपना पैदा भई जीवन प्रति नै घृणा भाव महशुश गरी आफ्नो जीवनको अन्य सहारा नदेखि अल्पायुमै अस्वभाविक रुपमा मृत्युको बाटो रोज्नुलाई आत्महत्या भनिन्छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ ले पनि आत्महत्या सम्बन्धमा स्पष्ट कानूनी व्यबस्था उल्लेख गरेको छ । ऐनको परिच्छेद १२ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्ने दुरुत्साहन दिन वा त्यस्तो काम गर्न सम्मको परिस्थिती खडा गर्न वा गराउन हुदैन । र यदी कसैले माथि उल्लेखित दफा बिरुद्धको कार्य गरेमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुनेछ भनि उल्लेख गरेको छ ।
पहिलो पटक मुलुकी ऐनमा समेत स्पष्ट ब्यबस्था सहित उल्लेख भएको कारण पक्कै पनि यो अपराधमा कमि आउन सक्ने देखिन्छ । किनभने नेपालमा हुने गरेका धेरै आत्महत्या आफ्नो लहड भन्दा पनि बाध्यता र परिवेश (चाहे त्यो पारिवारिक वा आर्थिक एवं सामाजिक नै किन नहोस) को कारण हुने गरेका छन । सानो बिषय र तत्काल समुदायमा रहेका अरुलाई सहाराको रुपमा गुहार्दा पनि समाधान हुन सक्ने बिषय बिषयमा समेत संघर्ष गर्न नसकी मृत्युवरण गर्ने अवस्थाको पछाडी कानूनी ज्ञानको अभाव त त्यसमा छर्लङ्ग देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्यक बर्ष विश्वमा करिब १० लाख मानिसहरुले विविध कारणले आत्महत्या गर्ने गर्दछन् । विश्वभर हरेक ३ सेकेण्डमा १ जनाले आत्महत्या गर्दछ । भने प्रत्येक ४० सेकेण्डमा १ जनाको आत्महत्याको कारणबाट मृत्यु हुने गर्दछ । यो तथ्याङ्कले पुरुषहरु भन्दा महिलाले बढि आत्महत्या पनि गर्दछन भन्ने कुरा देखाउँछ । आत्महत्याको दर गृहिणी, विद्यार्थी, मजदुर र वेरोजगारमा बढी भएको पाइन्छ । विश्वभर जम्मा मातृ मृत्यु दर मध्येमा १६ प्रतिशत मृत्यु आत्महत्याको कारण हुने गरेको पाइन्छ ।
विश्वमा हरेक देशहरु मध्ये आत्महत्या गर्नेमा अन्य देशहरुको तुलनामा नेपाल सातौ स्थानमा रहेको छ भने महिला मात्र आत्महत्याको सन्दर्भमा भने नेपाल तेश्रो स्थानमा रहेको छ । सहारा नभएका, निको नहुने रोगले ग्रसित र पीडादायी रोगको बिरामी भएकाहरुले पनि पीडासंग संघर्ष गर्न नसकी आत्महत्या गर्ने गरेको पाइन्छ ।
मानिसको जीवनमा आउने विचारको कारण नै परिणाम निर्धारण हुन्छ । महात्मा गान्धीले भनेका थिए “म मेरो बोलीलाई सकारात्मक राख्दछु किनभने मेरो बोलिबाट मेरो व्यवहार बन्दछ, म मेरो व्यवहार सकारात्मक राख्दछु किनभने व्यवहारबाट मेरो जीवन मुल्य बन्दछ, म मेरो जीवन मुल्य सकारात्मक राख्दछु किनभने जीवन मुल्यबाट मेरो भविष्य बन्दछ” माथि उल्लेखित भनाई यस सन्दर्भमा किन उल्लेख गरिएको हो भने जीवनमा खुशी या सुख पाउन भनेर काम गरियो भने जीवनमा कहिल्यै पनि खुशी आउदैन बरु तनाव हुन्छ तर खुशीका साथ काम गरियो भने निश्चित रुपमा खुशी भई सफलता प्राप्त हुन सक्छ । जसको लागि मानिसले समय अनुसार आफ्नो स्वभावमा पनि परिवर्तन ल्याउन जरुरी छ । स्वभाव परिवर्तन भएन भने परिणाम दुखदायी पनि हुन सक्छ, जुन आत्महत्या पनि हुन सक्छ ।
नेपालको सन्दर्भमा पूनः कुरा गर्ने हो भने मानिसले सहज रुपमा आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ । मृत्युवरण गर्ने बाटो पक्कै पनि शुखदायी बिषय त बन्नै सक्दैन् । पीडा बिच जीवनको मुल्य समाप्त गर्नुका पछाडी अनेकन कारणहरु हुन सक्दछन् । त्यस मध्ये यी कारणहरुले गर्दा मानिसले आत्महत्या गर्ने गरेको भन्ने भन्न सकिन्छ ।
१. लैङगिक तथा घरेलु हिंसा ।
२. पारिवारिक बेमेल र झै–झगडा र अनाबश्यक खिचातानी ।
३. शारीरिक तथा मानसिक तनाव ।
४. लामो समय सम्म निको नहुने दीर्घ रोग लाग्नु ।
५. आफूले सोचे अनुसारको काम नहुनुरनबन्नु ।
६. नतिजामुखी परिणाममा असफल रहनु ।
७. प्रेममा धोका खानु ।
८. आफूले मन पराउनु तर दोश्रो पक्षले स्वीकार नगर्नु वा आफूले मन पराएको महिला वा पुरुषलाई परिवार र समाजले बैधता नदिनु ।
९. उत्पन्न हुन सक्ने परिस्थिति वा परिणामको बारेमा ख्यालै नगरी आफूले नचिनेको मानिसलाई सामाजिक संजाल मार्फत बिभिन्न किसिमको शारीरिक,मानसिक,व्यबसायिक र आर्थिक सम्बन्ध स्थापित गर्नु ।
माथि उल्लेखित कारणहरुको अलावा अनेकन अन्य कारणहरु हुन सक्छन जसले गर्दा मानिसले अल्पायुमै आफ्नो जीवन अर्पण गर्न किंचित संकोच मान्दैनन् । नेपाल सरकार पनि आत्मत्याको दर घटाउने गरि कार्य गर्न बिभिन्न सरोकारवाला निकायहरुलाई परिचालन गरि परिणाम आउने गरि गम्भीर रुपमा लागि परेको अबस्था छ । राज्यका बिभिन्न निकायहरु मध्ये नेपाल प्रहरी अन्तरगत देशैभरि र सात ओटै प्रदेशमा रहेका बिभिन्न ईकाईहरुले बिबिध चेतनामुलक कार्यक्रमहरु संचालन गरि आत्महत्या नियन्त्रण तथा न्यूनीकरण गर्न अनेकन प्रयास गरेको भएतापनि आशा गरिए अनुरुप नतिजा भने हाशिल हुन सकेको छैन् । आत्महत्या एउटा मानिसमा उत्पन हुने मानसिक बिचार र रोग भएको कारणले गर्दा आत्महत्या नगरुन्ज्याल सम्म यो सामाजिक धरातल वा सतहमा देखिने कुरा पनि हुदैन । तसर्थ संगठनले सोचे अनुरुप परिणाम समेत आउन सकेको छैन् ।
मानिसको बिचार र भाव नै यसको निदानको जड रहेको हुंदा व्यक्तिगत रुपमा व्यक्ति आफ्नो कार्यमा सदाचारी भई लगनशील भैरहने, आफूलाई तनावरहित शान्त र शुखि राख्ने प्रयास गर्ने, कहिल्यै पनि एकान्तलाई अंगिकार नगर्ने, आफ्नो हितमा परिणाम आउन नसक्ने अनाबस्यक बिषयमा होडबाजी नगर्ने, असफलताको कारण आत्मबल कमजोर नगर्ने, सामान्य कृयाकलापमै सन्तुष्टी र आनन्द लिने प्रयास गर्ने र पछिल्लो समयमा अत्यन्त ईस्युको रुपमा रहेको सामाजिक संजालको सहि सदुपयोग गरि जीवन ब्यतित गरेको खण्डमा मानिसले आफूलाई आत्महत्या गर्नुपर्ने अबस्थामा पुर्याउनबाट रोक्न सक्दछ ।
यसको अलावा केहि सामाजिक, सामुहिक तथा संस्थागत प्रयासहरु गर्न सकेको खण्डमा पनि आत्महत्या जस्तो गम्भीर सामाजिक अपराधको दर घटाउन मद्धत पुग्न सक्दछ । बिशेष गरि पिछडिएको र अशिक्षित समुदायको बसोबास भएको ईलाकाहरुमा यसको दर बढी भएको कारण ती क्षेत्रहरुलाई लक्षित गरि महिला शिक्षा तथा शशक्तीकरणको अभियान संचालन गर्ने, खाडीको चर्को घाममा सीमित ज्यालामै आफ्नो शीपमुलक श्रम बेच्नु भन्दा स्वदेशमै बिबिध रोजगारमुलक कार्यहरुमा लाग्न प्रोत्साहन गर्ने, सामान्य बिषयहरुमा पारिवारिक बेमेल, झैझगडा र खिचातानी हुन नदिने, कसैलाई पनि सामाजक बहिष्कार नगर्ने र समाजमा उल्लेख्य सामाजिक सद्भाव कायम गरि घर तथा टोलटोलमा बिभिन्न समुदायहरु बीच भलाकुसारी, जीवनको यथार्थ मुल्यको बारेमा अन्तर्कृया तथा असहाय, निमुखा र अशिक्षितहरुलाई निशुल्क र परोपकारी भाव सहित सामुहिक र संस्थागत रुपमा चेतनामुलक कार्यक्रमहरु संचालन गर्न सकेको खण्डमा पक्कै पनि आत्महत्याको दर घटाउन मद्धत मिल्ने देखिन्छ ।
(लेखक ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाका प्रहरी निरिक्षक हुन् । )