arrow

अति समृद्धिको अति नै प्रदर्शनी

logo
केदार सुवेदी,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
kedar-dai.jpg

देशमा दिनदिनै बढ्दो छ : गरिबी, भ्रष्टाचार, असमानता, बलात्कार र अन्य धेरै कुराहरु.. दिक्क लाग्छ ।
अनि प्रधानमन्त्रीको ट्विटहरु पढ्छु । त्यहाँ अर्कै देश छ : विकास, समृद्धि, सुशासन, खुसी.. को देश ।
यो देश अहिले दुइटा छ । एउटा (नेकपा) को देश । र, अर्को तपाईं–हामी बस्ने देश । –सौरभ कार्कीको  ट्विटरबाट
वास्तवमानै यो ट्विटमा परेका शव्दले भने जस्तै एउटा देशमा दुइथरी नागरिक छन यतिबेला । एउटा सम्पन्नताले भरिपूर्ण र अर्को विपन्नताले हरितन्नम ।

मंसिर ७ र ९ गतेका दुइवटा राष्ट्रिय दैनिक राजधानी र अन्नपूर्णपोष्टका प्रमुख समाचार शीर्षकले ठ्याक्कै दुइवटा देश देखाउछ । एउटा देशमा हरितन्नम जनता छन र अर्को देशमा समृद्धिको शीखरमा पुगेको सत्ता वर्ग ।

राजधानीको शीर्षक छ– पेटको पीरले रित्तियो गाउँ । यसमा बझाङ र मुगु र हुम्लाका नागरिक गाउँनै खाली गरेर पेटपाल्नका लागि काखेबालकदेखि लोरौटेक्ने वृद्धासम्मको सयदुइसयजनाको समूह रोजगारीका लागि भारत तर्फलागेको तस्वीर । यी जिल्लामा खडेरी परेर अन्नपातको दानो समेत नभएपछि गाउँनै छाडेर छिमेकी देश भारत तर्फलागेका भन्ने विवरण समाचारको पेटवोलीमा लेखिएको छ । ‘चाडबाडको रौनक सेलाउन नपाउँदै मध्य र सुदूरपश्चिमका पहाडी गाउँ रित्तिन थालेका छन् । गाउँमा एकाधबाहेक युवा भेटिँदैनन् ।

 विकाससँगै भूगोल र मौसमले समेत ठगेको यी क्षेत्रका जनता लस्कर लागेर छिमेकी मुलुक भारततर्फ हानिने क्रममा छन् । खेती गरेर खान मौसमले साथ नदिएको भन्दै मजदुरीका लागि भारत छिर्नेको संख्या अस्वाभाविक रूपमा बढ्दो छ । रोजगारीका लागि बालबालिकासहित भारत जान हिँडेका हुम्ला र मुगुका जनता बाजुराको हिमाली गाउँपालिकाको बाँधु बगरमा बिहानको खाना खाँदै देखिए । बाजुरा, हुम्ला र मुगुका बालबालिकादेखि युवासम्म गाडी कुर्ने लाइनमा बसेका छन् । भारत हिँडेका मुक्तिकोटका धनबहादुर विकले भने, ‘गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन, हामी गाउँमा केका लागि बस्नु ?’

अन्नपूर्णको शीर्षक छ– शीतल निवासका गाडी चालु हालतकै । यसको पेट बोलीमा राष्ट्रपतिका लागि  विशेष प्रकारका  १४ करोड ३२ लाखका गाडीका लागि रकम निकासा । यी गाडी आएपछि शीतल निवासमा यस्ता चारवटा सेट हुने छन । अगुवा  पछुवा बीचमा खाली र सवारी चढेको तथा एम्वुलेन्स र सहयोगीहरुको एउटा लस्कर नै एउटा सेट हो  । यसअघि नै आधुनिक प्रकारका यस्ता तीनवटा सेट  चलुहालतमै छन । यी गाडी राख्नकै लागि प्रहरीको तालिम केन्द्र सार्न खोजिएको जस्ता विवरण उल्लेख भएका छन । एकमहिना अघिमात्रै ५५ लाख रुपैया खर्चिएर विजुलीबाट चल्ने गाडी खरिद गरिएको कुरापनि उल्लेख भएको छ  । यसमा अर्कोपनि समाचार छ राष्ट्रपतिलाई गाडी किन्न भीखमाग्दै युवा भन्ने शीर्षकमा ।
 
एकातिर गाउँघरमा अनिकाल परेर पुरै गाउँका पुरै परिवार गाउँ छाडन वाध्य भएका र अर्को तिर सत्तापक्षले समृद्धिको शिखर देखाउन खोजिएको करिव एकै दिनका यी दुइ समाचार वास्तवमा नै नेपालको यतिखेरको एउटा चित्र हुनुपर्छ जो ट्वीटमा यसरी आयो ।

गरिबमा समृद्धिको भाषणपनि पुगेन
यसको अर्को रोचक पक्ष हो कम्तीमा यहाँ उल्लेख भएका बाजुरा, हुम्ला र मुगुका जनताले समृद्धि पाएनन, उनका लागि पर्याप्त हुने समृद्धि माथिबाटै कतै फर्काइयो भन्ने कुरा त छँदैछ उनीहरुले यस्तो समृद्धिको भाषण समेत सुन्न पाएनछन । नेकपाको सरकारको ९ महिना पुगेर १० महिनाको पहिलो हप्ता पनि वितेको समयको कुरा हो यो । हिसाव गरौं यो कालखण्डमा सरकारका सबै जना र त्यसका निकट तथा सत्तापक्षका जोकोहीबाट सबैभन्दा बढी बोलिएको शव्द हो समृद्ध नेपाल र सुखी नेपाली । यो दुखद वा केहो यो भाषणसम्म पनि ती गाउमा पुगेनछन ।  वस्तु पुर्‍याउनु भनेको अलग कुरा होला । भाषण त पुर्‍याउन सकिन्थ्यो । यहाँ भन्नै पर्छ त्यतिसम्म गरिएन छ समृद्धिका नाममा । यदि गरिएको थियो भने ती मान्छे गाउमै थामिन्थे कि वा तिनले नेकपा सरकारको कुरा पत्याएनन । राष्ट्रपतिको चौथो सेट गाडीका लागि भएको खर्चमध्येबाट यी तीन जिल्लामा एकएक करोड दिइएको भए पत्याउने आधार हुने थियो कि ?

राष्ट्रपतिका समृद्धि दृश्यहरु
पहिलो महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीबाट पहिलो कार्यकालको २८ र दोस्रो कार्यकालको नौ  महिनामा सम्पन्न भएका धेरै जसो क्रियाकलापले अतिनै समृद्ध व्यक्तिको पहिचान कायम गराइ सकेको हुनुपर्छ । आरोप जस्तो लाग्छ भने सामाजिक सञ्जालमा हेरौँ जहाँ विलासिता र त्यसको प्रदर्शनमा  राष्ट्रपति राजा भन्दापनि बढी भएका भन्ने विवरणहरु अंकित छन । तिनैमध्येका केही नमूना :
एक : पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ मा राष्ट्रपति विद्या भण्डारी धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवतीको मन्दिर पुगेकी थिइन् । त्यहीँ उनको तथा उनका दुई छोरीहरु उषाकिरण र निशाकुसुमका जुता र चप्पल सेनाका जवानले बोकेको फोटो सार्वजनिक भयो । आफ्ना पहिरनका यस्ता वस्तुहरु सकेसम्म अरुलाई नछुवाउनु भन्ने मान्यता रहेको हुन्छ । त्यस्तो बेला आफुले लगाएका जुत्ता अरुलाई, त्यो पनि सुरक्षाका वर्दीधारण गरेकै बेला वर्दीधारीलाई बोक्नलगाउनु भनेको समृद्धिको अति प्रदर्शननै हो जो पहिले राजामहाराजाले पनि यस्तो गरेका थिए होलान भनी कम्तीमा अहिलेको पीढिले देखेको थिएन होला ।

दुई : २०७३ को माघमा राष्ट्रपति अत्याधुनिक भवनमा सरेकी थिइन् । राष्ट्रपतिका लागि बनाइएको भवन ‘बम प्रुफ’ हो ।  त्यसबेला चर्चामा आए अनुसार यो उनकोमाँग अनुसार बनाइएको थियो । बम प्रतिरोधी घर ६२ करोड लागतमा बनेको थियो । शितल निवासको एकसय आठ रोपनी जग्गामध्ये उनको लागि बनाइएको भवन २० रोपनीमा फैलिएको छ । भूकम्प पीडित जनताले सामान्य झुप्रोमा जाडो र वर्षा काटिरहनुपरेको बेला राष्ट्रपति भने ‘बम प्रुफ’ घरमा बस्न थालेपछि आलोचना स्वभाविक बनेको थियो । यो  महाभूकम्प गएको वर्षदिन पनि नपुग्दैको कुरा हो । त्यसबेला राष्ट्रपति निवासलाई भुकम्पले कुनै ठूलो क्ष्ति पुर्‍याएको थिएन जो तत्काल नयाँ निर्माण गर्नु परोस । तर भवनचाहिँ यस्तो बन्यो जसले  जनताका राष्ट्रपतिलाई कोबाट असुरक्षा छ भन्दै प्रश्न उठनु स्वाभाविक बनायो ।

तीन : २०७५ सालको दशैँ राष्ट्रपतिले आफनो अतिसमृद्धि देखाउने क्रमको नमूना नै बन्ने ।  यस वर्ष राष्ट्रपति निवासमा टीका ग्रहणका लागि पुगेका व्यक्तिहरुप्रतिको जस्तो व्यवहार गरियो  त्यो सार्वभौमसत्तासम्पन्न जनताका लागि एउटा घोर अपमाननै थियो । आफु सुनको लेपन लगाइएको कुर्शी (हेरियोस फोटोमा त्यस्तै देखिन्छ) मा बसेर टिकालाइदिँदा वाध्यतावस टिकालाइमाग्ने व्यक्तिले घुडा टेक्नु पर्ने वातावारण बनाइयो ।   यस्तो घुडाटेकाइमा परे पूर्व प्रधानन्यायाधीश नै । आफनो सामुन्ने घुडाटेकेको एउटा सम्मानित नागरिकलाई देख्दा यी राष्ट्रपतिमा कतै रौं वरावरको पनि  विषाद देखिएन । बरु उनी भित्रभित्रै गदगद भइन । आफना अगाडी घुडाटेकेकोको व्यक्तिको निदारमा टिका लगाइदिँदा उनी जसरी मुस्कुराइ रहेकी देखिइन त्यो आफैँमा अतिसमृद्धिको अतिप्रदर्शनी नै हुनु पर्छ । पूर्व प्रधानन्यायाधीशले नै घुडाटेक्नु पर्ने अवस्था आएपछि सर्वसाधारणको के हालत भयो होला अनुमान गर्न सकिन्छ । नागरिकलाई घुडाटेकाउने मन थिएन भने एउटा संकेतले मात्रै पुग्ने थियो त्यसलाइ रोक्न वा सच्याउन । तर त्यस्तो संकेतसम्म भएन । यही ठाउँमा केही क्षण पहिले आफ्ना छोरी जवाइलाई चाहिँ कुर्शीमा बसाएर टिको लगाइदिएका दृश्य सार्वजनिक भएका थिए ।

चार : राष्ट्रपतिको प्रयोगका लागि निवासमा एउटा छुट्टै हेलिकप्टरको व्यवस्था गर्न  र त्यसका लागि हेलिप्याड बनाउन  जग्गा अभाव भएको भन्दै राष्ट्रपति कार्यालयसँगै जोडिएको प्रहरी प्रतिष्ठान खालि गर्न लागेको कुरा यतिबेला व्यापक भयो । १ सय ९३ रोपनीमा फैलिएको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपति कार्यालय विस्तार गरिने निर्णय त सरकारले गरिनै हाल्यो । राष्ट्रपति कार्यालयका लागि प्रहरी प्रतिष्ठान सारिन लागेकोमा प्रहरीका पूर्व उच्च पदस्थ तथा नागरिक समाजले विरोध गरे तर सुनुवाइ भएन । अतिसमृद्धिको एउटा लक्षण हो –चितायो कि वितायो भन्ने । यहां त्यस्तै भयो । राष्ट्रपतिको हेलिकप्टर र मोटरको ग्यारेजका लागि जनतालाई सुरक्षा दिने निकाय प्रहरीको संस्थानै अर्को जिल्लाको कुनै कुनामा जानु पर्ने भयो । यसै सन्दर्भमा जोडिएर आएको हो राष्ट्रपतिका लागि  १८ करोड खर्च गरे थप ‘विलासी’ गाडी खरिद गरिन लागेको कुरा पनि ।

बगैँचा सिँगार्न साढे पाँच करोड  
यो वर्षको दशैं लाग्नै लाग्दा एउटा अर्को पनि समाचार आयो समृद्धि देखाउने । यो चाहिँ प्रधानमन्त्रीको निवास सिँगार्ने कुरासंग सम्वन्धित हो र शासनकै सेरोफेरोको अर्थात समृद्धि संग नै जोडिएको । त्यो समाचारको अंश – ‘प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ । बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ । बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ । भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो ।’(अन्नपूर्ण १६ असौज)

समृद्धिले थला पार्‍यो
यो समाचारले पनि समृद्धिको तहलाई बुझाउछ । देशमा समृद्धि नआएको भए कसैको निवासको बगैँचा सजाउन मात्रै यतिठूलो, पाँचकरोड भन्दा बढी रकम  खर्चिइने थिएन होला । तर यसमा गरिएको खर्च चाहि प्रधानमन्त्रीकै लागि त्यति फापेन । त्यसबेला चर्चामा आए अनुसार यति महंगो खर्च गरेर यसरी सजाइएको बगैँचालाई वालुवाटार निवास सवै सर्वसाधारणलाई देखाउन चाहन्थ्यो । केही पहिले बंशावलीका भेला, तिजका दर आदिमा नसमेटिएका अर्थात त्यस्ता बेला वालुवाटार नपुगेकाहरुलाई बालुवाटार प्रवेशका लागि टिका खुलाइएको मध्येको एउटा कारण थियो यो बगैँचा प्रदर्शनी पनि । तर टिका त्यस्तो कुरा हो जो लगाइदिने र लगाइमाग्ने अत्यन्त निकट भएर आमने–सामने नै हुनुपर्छ जो प्रधानमन्त्रीको स्वास्थयले त्यसो हुन दिँदैनथ्यो । भयो पनि त्यस्तै । यसरी एकादशीदेखि  पूर्णिमासम्मनै टिकालगाइ दानदक्षिणा र आशिर्वाद दिइरहेका प्रधानमन्त्री त्यसको भोलिपल्टैदेखि थला नै परे । उनी थला पर्नुमा त्यो चारदिनसम्म टिका लगाइदिनु पनि एउटा कारण भएको भनी  पछि चिकित्सकहरुले नै वताए । निको भएको लामो समयसम्म कसैसंग आमने–सामने नहुन दिइएको सुझाव पनि त्यसैको एउटा अंश हो भनी बुझन सकिन्छ ।

बालुवाटारमा यस्तो टिका खुलाइएको कुरा पहिलोपटक थियो । आफु निकै समृद्ध भएको भन्ने भित्री मनबाटनै प्रष्फुटन नभै यस्तो काम थालिएन होला भनी मानौ ।  आशिर्वाद भनेको सामान्यतया सम्पन्नले विपन्नलाई दिने कुरा हो अपवाद बाहेक  । यो पटक त्यस्तो थालनी भयो अर्थात यतिबेलाका प्रधानमन्त्री समृद्धिका लागि नागरिकभन्दा धेरै नै माथि पुगेको भन्ने धेरैले सन्देशमाने बालुवाटारमा खुलाइएको टिकोटालो र दानदक्षिणाबाट ।

पानी – समृद्धि
बालुवाटारमा समृद्धि अर्को माध्यमबाट पनि प्रवेश गरेको थियो यस अघिनै । आम तहमा नेपालीले जुन खानेपानी प्रयोग गर्छन वालुवाटारमा त्यसले गाडी धोइन्छ । दुइतिहाइका प्रधानामन्त्री बालुवाटार सरेपछि मासिक १२ लाखको दरले खानेपानी बालुवाटार जान थाल्यो । शुद्ध खानेपानी भनिलेखिएको यस्ता ट्यांकरको पानीले प्रधानमन्त्रीको भान्सामा प्रवेश पाउँदैन । गाडी र मोटरसाइकल पखाल्ने प्रयोजनका लागिमात्र हुन जो पछिल्लो तीन महिनामा यस्तो पानीका लागि बिल ३७ लाख प्रस्तुत भएको थियो । आम तहमा खेनेपानी भनी ट्यांकरमा ओसारिएको पानी निवासमा गाडी र मोटरसाइकल धुन तथा बगैँचाका रूख–बिरुवामा सिन्चित गरिने गरिएको कुरा भवन सम्भार डिभिजन कार्यालयमा रहेको रेकर्डले देखाउछ । कर्मचारीपनि यस्ता अनुभव सुनाउछन ।

प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न भने अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ। यस अघिका प्रधानमन्त्री रहेको बेला भान्सामा पनि यस्तै सामान्य पानी प्रयोग हुन्थ्यो। बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग गर्न थालिएको हो निवासमा । यता सर्वसाधारण भने वालुवाटारले निषेध गरेको त्यस्तो कोलिफर्मयुक्त पानी खान वाध्य छन ।
 
बालुवाटारको भान्सामा प्रयोग हुने पानी  हेरौं, बालुवाटारको टिको–टालो, दानदक्षिणा र भोजभतेर हेरौं तथा बगैँचाको सजावट हेरौं यी सबैले वास्तवमा नै नेकपाका लागि देश कति समृद्ध भएछ भन्ने देखाउला । सर्वसाधारणका लागि त बालुवाटारको भान्सामा प्रयोग हुने पानीको उदाहरण मात्रै पनि पर्याप्त हुनुपर्छ ।  

भुँडी प्रदर्शनमा २० लाख
यो पनि नेकपाकै कुरा हो । ०७५ कात्तिकको अन्तिम साता सोसियल मिडियामा भाइरल भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलका अर्धनग्न तस्बिर अर्को समृद्धिको प्रतिक हुनुपर्छ । यदि सर्वसाधारणले यसो गरेको भए ती गृहमन्त्रीले कार्वाही गर्ने थिए होलान असामाजिक काम गरेका भन्दै तर आफै यस्तो नांगो भएर फोटोखिचाउँदा र त्यसलाई सार्वजनिक गर्दा त्यो समृद्धिका प्रतिक भएको मानिएको हुनुपर्छ । महाजन जता हिडछ बाटो त्यही हो भन्ने त भनाइनै छ । फोटोसँगै सार्वजनिक भएको विवरणअनुसार अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल म्याग्दी जिल्लामा अवस्थित तातोपानी कुण्डमा नुहाउन सरकारी हेलिकोप्टर चढेर गए । सेनाको सवैभन्दा ठूलो, महगो, घण्टाको पाचलाख पर्ने त्यो हेलिकप्टरले उनीहरुलाई त्यहाँ पुर्‍याएर फर्कियो र फेरी लिन गयो । यसो गर्दा न्यूनतमपनि एकघण्टाको दरले चारवटा उडान भयो जसको भाडामामात्रै २० लाख खर्च भउको हिसाव आउछ।

फोटोमा जेदेखियो त्यसले यो भ्रमण सरकारी काजको थिएन भन्ने नै बुझाउछ । कसैकसैले त यो हेलिकप्टर तीनदिनसम्म त्यही राखिएको थियोसम्म पनि भने । आफु धेरै समृद्ध भएको लागे पछि यस्ता साधनको प्रयोग–दुरुपयोग भएको भन्ने सोचमै आउदो रहेनछ ।  त्यसो हो भने त यी दुइ व्यक्तिका परिवारको तीनदिनको यो तीर्थयात्रामा करिव साढे तीन करोड त हेलिकप्टरमा नै खर्चभएको हिसाव देखिन्छ । यो तिर्थाटन तीन दिन अर्थात ७२ घण्टाको थियो ।

 जानकारीमा आए अनुसार यो तीर्थाटन फोटोमा देखाइएकाहरुको आफ्नै लागि भन्दा पनि प्रचण्डपत्नी सीताको तातोपानीमा उपचार गर्नका लागि चिकित्सकले सुझाब दिएको, सोही सुझाबअनुरूप सिंगापुरमा उपचार हुँदै आएकोमा यसपटक आफ्नै देशको प्राकृतिक कुण्डमा उपचारका लागि म्याग्दी पुगिएको हो । त्यहा छोरीले आमा सीतालाई डोर्‍याउँदै गरेका केही तस्बिर पनि सार्वजनिक गरिए । पत्नीको उपचारमा जाँदा पतिको फोटो यति धेरै छरपष्ट भए यसले आफनो औकात देखाउन नै खोजिएको बुझायो । म्याग्दीको तातोपानी कुण्डमा खिचिएका प्रचण्ड—बादलका दुईथरी तस्बिरहरू सार्वजनिक भए । एउटा, कालो रङको अन्डरस्विमिङ कस्टम मात्रै लगाएको नाङ्गो शरीर पानीमा डुबिरहेको र अर्को सोही रूपमा पानी बाहिर कसैले प्रेसर नापेझैँ गरी जाँच गर्दै गरेको, साथमा गृहमन्त्रीले भुँडी सुमसुम्याइरहेको । हेर्दा नै असहज लाग्ने यी तस्बिरमा सार्वजनिक जीवनका नभई निजी जीवनका क्रियाकलाप समेटिएका थिए । नाङ्गो शरीर पानीमा डुबाइएका दृश्य जनताले थाहा नपाए पनि हुन्थ्यो भन्ने गुनासा पनि आए । लुगा नलाएका बेला उनीहरूको शरीर कस्तो देखिन्छ भन्ने कसैको चासोको विषय थिएन भन्ने पनि टिप्पणी भयो ।

यी सबै प्रतिकृया आइरहेका बेला प्रचण्डले आफनो त्यस्तो नांगो (सामान्यतया यस्ता फोटालाई नांगो नै भन्ने गरिन्छ) फोटाहरु यसरी व्यापक भएपछि प्रतिकृया दिए – हाम्रो यस्ता फोटाहरु बाहिर आएर राम्रै भयो । हामीले यह्याँ पाइला टेक्यौं भन्ने कुरा सवैतिर गयो  त्यसले अव यो जिल्ला म्याग्दीलाई समृद्ध बनाउने छ छिटैनै ।’  

यो बीचमा अर्को अनुमान पनि आयो –प्रचण्ड–बादल फोटो माओको नक्कल गर्न खोजेको भन्ने । सन् १९६६ मा माओले याङ्जी नदीमा पौडी खेल्दै गरेको फोटो रणनीतिक रूपमा सार्वजनिक गरिएको थियो । माओत्सेतुङले वरिपरि ६ जना बडिगार्ड राखेर स्विमिङ गर्दै गरेको उक्त फोटोलाई चीनको इतिहासमै शक्तिशाली राजनीतिक प्रचारका रूपमा लिइन्छ । माओको शारीरिक क्षमतामाथि प्रश्न उठिरहेका बेला ६५ मिनेटमा १५ किलोमिटर पौडिएर रेकर्ड ब्रेकिङ पर्फर्मेन्स गरेको भनी उक्त तस्बिरमार्फत विश्वव्यापी प्रचार गरिएको थियो ।

यहाँ चाहिँ त्यस्तो केही नभएर हेर हामी कति समृद्ध भैसक्यौं र हामीले जहाँपाइला टेक्छौं त्यो ठाउँपनि यस्तै समृद्ध हुने छ भन्ने देखाउनु मात्र थियो जुन कुरा भनियो पनि । दुखद पक्ष चाहि केहो भने यो समृद्धिको प्रदर्शनी सरकारी खर्चमा भयो ।    

हेलिकप्टर चढेर चियापान
पत्याउन सकिँदैन होला तर यो सत्य हो –हेलिकप्टरचढेर चिया पानमा गएको कुरा । तिहार अघि  विभिन्न माध्यममा प्रकाशित सामग्री हुन यी जो पछि सामाजिक संजालमा पुरै छाए । नेकपाको बारामा हुने भनिएको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल नेपाली सेनाको हेलिकप्टर चढेर कलैयाको एउटा खेल भइरहेको क्रिकेट मैदानमा ओर्लिए । समाचार अनुसार एनप्याब्सनको आयोजनामा सिद्धेश्वर खेल मैदानमा १७ कात्तिक शनिवार २० विद्यालय सहभागी भएको खेल आयोजना हुँदैथियो । तर, पहिलो टी ट्वान्टी खेललाई नै २० ओभरबाट १२ ओभरको म्याच बनाउन दबाब दिएर मन्त्रीको टोली १२ बजेर २० मिनेटमा ओर्लियो । मैदानमा भएका खेलाडी र दर्शकलाई धपाएर मन्त्रीको हेलिकप्टर ओर्लिएको मात्र होइन साढे तीन बजेसम्म त्यहीँ रोकिएर बस्यो । त्यस दिनका बाँकी सबै खेल त अवरुद्ध भए नै हेलीकप्टर उत्रेका कारण क्रिकेट मैदानको पिच समेत भत्किएको आयोजकले गुनासो गरेका छन् । अन्यत्र हेलिकप्टर उतार्नका लागि आयोजकले आग्रह गर्दा समेत सेना आएर सोही खेल भइरहेको मैदानमा हेलिकप्टर उतारे । तिहारअघि नै सबै खेल सक्ने आयोजकको सम्पूर्ण तयारी त्यही हेलिकप्टर अवतरण र पिच भत्केका कारण तिहारपछिका लागि सर्‍यो ।

अनुमान गरौं यो कुन तहको समृद्धि हो र त्यसको प्रदर्शन कस्तो ? साधारण मान्छेलाई त मान्छे मान्न छाडिएको सन्देश थियो । यो भने अर्को तर्फ एउटा चियापानमा एक जनाले २० लाख खर्च गर्न सक्ने हैसियतको समृद्धि आएको प्रदर्शन पनि हो यो । यो चियापानमा पनि घण्टाको पाँचलाख पर्ने हेलिकप्टर चारघण्टा प्रयोग भएको हिसाव देखियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ