arrow

महिला हिंसा न्युनिकरणमा नेतृत्वको कमजोरी

logo
राधिका कुइकेल खनाल,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
radhika-kuikel-khanal.jpg

नेपाल सामाजिक परिवेश पितृसतात्मक सोचले अघी बढेको छ। समाजसँगै राजनीति र अन्य कुरामा पनि यसको प्रभाव छ। यहि सोचसँगै सच्याउनु पर्ने कतिपय पुरातनबादी मान्यताले हाम्रा गतिविधीहरु रोकिएका छन भने अघी बढ्न पनि कतिपय अवस्थामा अवरोधहरु सिर्जना भएको पाइन्छ। 

आज नेपालमा कानुन महिलाकै पक्षमा बनेको छ,घर महिलाले नै चलाएका छन्, सम्पत्ति महिलाकै नाममा बनाउन थालिएको छ, छोरीहरु छोरा सरह पठनपाठनमा जान थालेका छन्, संबिधानमा राज्यले ठुलो संख्यामा महिला प्रतिनिधित्व सुनिस्चित गरेको छ तर पनि महिनामा सयौंको संख्यामा महिला हिंसाका घटना सार्वजनिक भइरहेका छन्। समाज नि राजनीतिक नेतृत्व तह र महिलाका लागी काम गर्ने विभिन्न संघ सस्थाहरुका लागी यो चुनौती बनेको छ।

मैले यहाँ हाम्रो कमजोरी कहाँ कहाँ रह्यो, कस्तो प्रकारको नदेखिने हिंसा कसरि भैरहेको छ र यसको जड तत्व के हो भन्ने नबुझी हिंसाको न्यूनीकरण नहुने भएकोले केहि कारक प्रसङ्गहरु जोडेर मेरो भनाइलाई प्रष्ट्याउने कोशिस गरेकी छु। म यहाँ घर घरमा हुने घरेलु हिंसा, समाजमा हुने सामाजिक हिंसा, सम्पत्ति बिहिन हुँदाको आर्थिक हिंसाका कुराहरु गरिरहेको छैन। यी हिंसाहरु सबैले भोगेका, बुझेका  र देखिएका हिंसा हुन्। लामो समयदेखि नेतृत्व तहद्वारा गरिएका महिला हिंसा न्यूनीकरणका अथक प्रयासका बाबजुत पनि किन शृंखलाबद्द हिंसा र मृत्युका क्रम बढ्दै गरहेको भन्ने बिसयमा केहि चर्चा गर्न चाहन्छु। साथै हामी कहाँ कहाँ चुक्यौ र आज सम्म पनि हिंसा न्यूनीकरण गर्न किन सकिराखेका छैनौं भन्ने बारेमा केहि प्रसंगहरु जोड्न चाहन्छु ।

अदुरदृष्टि नितीः महिला उत्थानको नाममा करोडौको बजेट खर्चिने संघ सस्थाहरु र महिलाका मुद्दाका नाममा नेतृत्वमा पुगेका महिलाहरुको कमजोर दुरदृस्टीप्रति गम्भीर प्रश्न रहेको छ। हामीले महिला हिंसाका जति पनि चेतनामूलक कार्यक्रमहरु गर्यौ महिलालाई मात्र लक्षित गरेर गर्यौ। जसले हिंसा गर्दछ उसलाई हामीले कहिले सहभागी गराएनौ। जसको फलस्वरुप आफु सचेत भएर पनि अर्काको हिंसाको शिकार बनिरहनु पर्यो।

नेतृत्व क्षमतामा कमीः मुलुकमा सघियता कार्यान्वयनको प्रयास भैरहेको छ। हाल नेपालको संबिधान २०७२ ले संघिय संरचना अनुसार ७५३ स्थानिय निकाय, ७ प्रदेश सभा र संघिय संसद छ। निर्बाचित पदाधिकारी मध्ये स्थानिय निकायमा ४१ महिलाले नेतृत्व गरेका छन् भने प्रदेश र प्रतिनिधि सभामा ३४ सहभागिता रहेको छ। तर हामीले नेतृत्वमा रहेर काम गर्ने क्रममा आफ्ना  क्षमता प्रदर्शन गर्न सक्यौ कि सकेनौ महिलाका मुद्दामाथी बहस र छलफल गर्न सक्यौ कि सकेनौ, पुरुष नेतृत्वसँग आफ्ना निर्णयहरु कार्यान्वयन गर्ने क्षमता राख्यौ कि राखेनौ भन्ने कुरा आफै भित्र प्रश्न र प्रति प्रश्न गर्नु पर्ने जरुरी छ र। मलाइ लाग्छ यी कामहरु गर्न हाम्रा महिला नेतृत्वहरुलाई ठूलो चुनौती परेको हुन सक्छ। जतिसुकै महिला उत्थानका कुरा गरे पनि महिलाहरुलाई घर ब्यबहारको कामको सम्पूर्ण जिम्मेवारी रहने गर्दछ। पुरुषहरुको घरको काममा हात बढाउने बानिको कमि छ। महिला नेतृत्वमा पढ्न तथा अध्ययन गर्न कम समय मात्हुर उपलव्ध छ। उनीहरुलाई समसामयिक राजनितिक बिसयमा ज्ञानको कमि हुने गर्दछ। हामी महिला नेतृत्वले भोग्नु पर्ने बिडम्बना कुनै सभा, सम्मेलन, गोष्टी जुनसुकै स्थानमा पनि महिला नेत्रीले  बोलेका कुरा नसुन्ने, भन्न खोजेको कुरामा ध्यान नदिने, बोल्दा बोल्दै बिच बिचमा काटिदिने, बोल्ने समय पर्याप्त नदिने, हाँसो ठट्टा र मजाकको रुपमा लिइदिने, हल्का र कमजोर भनाइ सोचिदिने प्रबृत्ति छ। जसको फलस्वरुप आफ्ना कुराहरु बिग्रेछन कि कमजोर भएछ कि भन्ने डरका कारण भन्न बाँकी छदै भनाइ अन्त्य गर्न र बोल्न मन लागेको कुरा पनि नबोली बस्न बाध्य हुन्छन। यस्ता कार्य नदेखिने प्रकारको नेतृहरुले भोग्नु परेको जटिल हिंसा हो।

नेपालमा महिला हिंसा अन्त्य कसरि र कसले गरिरहेको छ? दोषी को हो ? त्यसैले अब हामीले संख्यात्मक सहभागीतामा मात्र हैन गुणात्मक सहभागिताको लागी आवाज बुलन्द गर्नु पर्दछ भन्ने मेरो ठम्याई छ। अर्को कुरा क्षमता भएका महिला नेतृत्वमा पुग्ने अवसरबाट बन्चित हुनु पनि हिंसा हो। आफ्नो घर परिवार समाजसँग लड्दै भिड्दै सेवात्मक भावनाले राजनीतिमा लागेका र लामो समयको संघर्ष पश्चात जब कुनै पदमा जाने तथा लाभको पदमा पुग्ने अवसर आउछ तब महत्वपुर्ण जिम्मेवारीमा रहेकोबाट सहि मुल्यांकन नहुनुको कारण पनि क्षमतावान व्यक्ति नेतृत्वमा पुग्न सकेका छैनन् र निर्णायक काम गर्न पाएका छैनन्।जसका कारण पनि हिंसा न्यूनीकरण नभएको कुरातिर ध्यान पुर्याउन आवश्यक देखिएको छ।

देशले लामो राजनीतिक परिवर्तन पश्चात महिला राष्ट्रपति पाएको छ र सभामुख पनि महिला नै पाएको छ। तर झन् बढी संख्यामा महिला हिंसा र बालिका हिंसा किन भैरहेको भन्ने गम्भीर कुरा हो। सिलसिलाबद्द हिंसा र हत्या हुनु, हिंसा र हत्या भएर पनि हत्यारा पत्ता लगाउन नसक्नुको कारण सरकार र प्रशासन कत्ति धेरै कमजोर छ भन्ने कुरा प्रष्ट पार्दछ। के महिला नै रास्ट्रप्रमुख भएको कारण प्रशासन कमजोर भएको हो त? के महिलालाई पुरुष प्रधान प्रशासनले नटेरेकै हो त ? अब महिला अधिकारकर्मीहरुद्वारा यस्ता कुराको सवाल र जवाफ गर्नु पर्दछ।

अन्त्यमा, महिला हिंसाको भेग ब्यापक छ। तर थोरै भए पनि महिलाहरु नेतृत्व भित्र कस्ता हिंसामा पर्दछन भन्ने कुरालाई हामीले पटकै ध्यान दिएका हुँदैनौ । सानातिना कुराहरुले पनि ठुलो असर पर्ने भएकोले मसिनो गरि हेरेर अघि बढ्नु पर्दछ। महिलाका मुद्दाहरुमा पार्टी भन्दा माथि उठेर एक जुट भइ एकै ठाउमा रहेर काम गर्यौ भने केहि हिंसा न्युन गर्न सकिएला नत्र गारो छ।

(लेखक खनाल नेपाल ट्रेड युनियन कांग्रेसका उप महासचिब हुन। )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ