“न्याय मरेको मेरो देश”

शकुन्तला शर्मा, प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा एउटा कार्यक्रम गर्नु छ, कस्तो कार्यक्रम गर्ने होला ? भान्सामा तरकारी केलाउँदै भाउजुलाई सुनाइरहेकी थिएँ । सबै घर परिवारमा मेलमिलाप भइरहने, स्कूल कलेजबाट फर्किरहेका छोरी चेलीहरुमा कसैको गिद्देनजर नपर्ने र राज्यले सबै नागरिकलाई समान व्यवहार गर्ने हो भने त अब यस्ता खालका अभियानका नाममा गरिने कार्यक्रम नगर्दा पनि हुँदैन र मैयाँ ? भान्सामा रोटी पोल्दै भाउजूले जवाफ दिनु भयो, हामी नन्द भाउजूको यस्तै गन्थन चलिरहेको बेलामा ८२ वर्षीय पिताजी पनि भान्सामा छिर्नु भयो र भन्नु भयो– नानी यी अभियानका नाममा गर्ने कार्यक्रम बन्द गर ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि ४ महिना भइसक्यो । खै निर्मलाको परिवारले न्याय पाएको ? पानीपुरी र चनाचटपट बेचेर आफ्ना छोरीहरु धौधौले पालिरहेकी श्रमजीवि दुर्गादेवी पन्तलाई सन्तान वियोगको शोक त थियो नै प्रहरी प्रशासनको लापर्वाही र सरकारको लाचारीपनले पति यज्ञ पन्तको मानसिक असन्तुलनको पीडा पनि थपिदिएको छ । हुँदाखाँदाकी कलकलाउँदी छोरी बलात्कारीले लुछ्यौ, छोरीका लागि न्याय माग्दा माग्दा श्रीमन् विक्षिप्त भएर अस्पतालको शैयामा छन् । एकातिर ममता र वात्सल्यको घाउ, अर्कोतिर श्रीमान्को यो अवस्था, कस्तो कठिनपूर्ण र दर्दनाक जीवन बाँचिरहेकी छिन् निर्मलाकि आमा । तिम्रो कार्यक्रमले निर्मलाको परिवारलाई के दिन सक्छ र ? व्यर्थ छ तिमीहरुको अभियान पनि ।

पिताजी झनझन भावुक बन्दै यस्तै यस्तै कुराहरु गरिरहनु भयो । निर्मला पन्तको विषयमा उहाँ धेरै चिन्तित हुनुहुन्छ । ८२ वर्षको त्यो वृद्ध अवस्थामा पनि टेलिभिजनका सबै समाचारहरु हेर्नुहुन्छ । दैनिक पत्रिकाहरु पुरै पढेर सक्नुहुन्छ, हरेक दिन वि.वि.सी. सुन्नुहुन्छ । यी सबै माध्यमहरुबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विषयमा धेरै जानकारी राख्नुहुन्छ । आफ्ना १० जना सन्तानलाई उचित शिक्षा दिक्षा र संस्कार दिएर समाजमा कुशल पिताको रुपमा प्रतिष्ठित हाम्रो पिताजी र निर्मला पन्तका पिताजी यज्ञ पन्तमा कुनै फरक छैन । संसारका हरेक मातापिताले आफ्ना सन्तानका लागि मिठो सपना देखिरहेका हुन्छन् । जीवनका स–साना खुशीहरु बटुलेर आफ्ना सन्तानको पोल्टामा राखिदिन हरेक बाबुआमा आतुर र लालयित बन्छन् । हरेक व्यक्तिका लागि आफ्नो सन्तान नै त्यस्तो चीज हो जसको कुनै मूल्य हुँदैन ।

सायद सन्तान वियोगको घटना सहन नसकेर नै होला, निर्मलाका पिता यज्ञ पन्त असमान्य व्यवहार देखाउने भएका छन् ।
भएका प्रमाणहरु नष्ट गर्ने, झुठा प्रमाण बटुल्न प्रयन्त गर्ने, यातना दिने र न्याय माग्दा गोली चलाउनेजस्ता निकृष्ट कार्यहरुले राज्यप्रति नागरिकको विश्वास घट्दै गएको  छ । अपराधीको रुपमा सामान्य व्यक्ति नभई पद, पोजिशन र पावरसँग नजिक रहेका व्यक्तिहरुको साँठगाँठ भएको घटनाक्रमले नै पुष्टि गरेको छ । होइन भने यतिका दिनसम्म अपराधीलाई समात्न किन सकिँदैन ? प्रहरी प्रशासन किन मुकदर्शक बनेको छ ? देशमा दुईतिहाई बहुमतको बलियो सरकार छ । नेपाली जनताले रगतले साटेको गणतन्त्रको मुकुट राष्ट्रपति पदमा पदाशिन व्यक्ति पनि महिला हुनुहुन्छ । समय फेरियो, व्यवस्था फेरियो तर संस्कार फेरिएन । कठिन वर्गसंघर्षको पाठशालाबाट दीक्षित हुनुभएकी महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मलाको भन्दा आफ्ना लागि सेवा सुविधाको चिन्ता भएकोजस्तो देखिन्छ । उता स्थायित्व र विकासका लागि जनताले दिएका दुईतिहाई बहुमतको सरकार नयाँ युगको शुरु भएको घोषणा गर्दछ । राजधानी शहर काठमाडौंमा श्वास फेर्नका लागि शुद्ध हावा छैन, ढल र नालीमा बलियो ढकनी छैन, पोल्टाकी छोरी मृत अवस्थामा उखुको झ्याङमा भेटिँदा न्याय छैन, यसरी पनि नयाँ युगको थालनी हुन सक्छ र ?

सन् १९७९ मा मदर टेरेसाले नोबेल पुरस्कार प्राप्त गरिसकेपछि उनलाई सोधिएको थियो, विश्वमा शान्ति कायम गर्न के गर्नु पर्छ ? उनको जवाफ थियो– सर्वप्रथम तिमी आफ्नो घर जाउ र परिवारसँग प्रेम बाँड । प्रेमको अभाव नै हिंसा हो । तर यहाँ त अपराधी त अपराधी नै भयो राज्यले पनि आफ्ना नागरिकलाई प्रेम बाँड्न सकेन । राज्य साझा संस्था र सबैको अभिभावक बन्न सकेन । पद, पोजिशन र पावरका आधारमा अपराधीलाई संरक्षण गरिएको छ । सामान्य परिवारका पीडितहरु न्यायका लागि भिख माग्दा माग्दा विक्षिप्त भइसकेका छन् र भन्न बाध्य छन् “न्याय मरेको मेरो देश” ।

( लेखक नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय महिला समिति उपाध्यक्ष  हुन् )

नयाँ