कमलपोखरीको संरक्षण र विकासमा जुटेका गगनसहित स्थानीय जनप्रतिनिधिको यस्तो छ राय

प्रकाशित २०७५ मंसिर १७ सोमबार

काठमाडौं । काठमाडौंको कमलपोखरीलाई समाज र संस्कृतिसँग जोड्ने गरी महानगरको सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामा स्थानीय सरोकारवालाले मत राखेका छन् । सोमबार सहरी योजना आयोगमा आयोजना गरिएको छलफलमा आयोगका सदस्य सचिव सरोज बस्नेतले प्रस्तुतीकरण गरिसकेपछि संघीय संसद सदस्य गगन थापा, प्रदेश सभा सदस्य नरोत्तम बैद्य, महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँगै स्थानीय सरोकारवाला प्रतिनिधिहरुबाट कमलपोखरी पुननिर्माणका विषयमा धारणा आएको हो ।

योजना राम्रो बनेको छ । विगतमा भएका काम र ती काममा आवद्ध संघ संस्था तथा व्यक्तिहरुको योगदान बचाउँदै ढाँचालाई केही परिमार्जन गरौं, संघीय संसद सदस्य गगन थापाले  पोखरीको डिलमा भएको लालपूर्जा सहित बसेको प्रहरी कार्यालय स्थानान्तरण गर्न, मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्न र पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नु पर्ने बताए । यसलाई आगामी बर्षको छठ पर्व अगाडि नै बनाइ सकौं, संसद सदस्य थापाको भनाइ थियो ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने कमलपोखरीको संरक्षण र विकासका लागि थापा लामो समयदेखि क्रियाशील छन् । उनले कमलपोखरीलाई काठमाडौं र तराईको संस्कृतिक मिश्रण गराउने थलोको रुपमा समेत पहिचान दिदै आएका छन् । थापाकै पहलमा यस बर्ष छठको दिन तराई मुलका बासिन्दाहरुले सूर्यको उपाशना गरे भने काठमाडौको परम्परागत नेवारी र तराईको मिथिला र भोजपुरी संस्कृतिको समायोजन गराएर कमलपोखरी परिसरमै सांस्कृतिक कार्यक्रम समेत गराएका थिए । 

छलफलमा बोल्दै प्रदेश सभा सदस्य नरोत्तम वैद्यले योजनामा पोखरीको डिलमा राजनीतिक दलको सानो तिनो बैठक गर्न मिल्ने ठाउँ थप्नु पर्नेमा जोड दिए ।   

छलफलमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले  पोखरीलाई सबैले स्वामित्व लिन सक्ने र संरक्षणमा सबै सहभागी हुन सक्ने ढाँचा आफ्नो प्राथमिकतामा रहेको बताए । यसको पहिचान कमलपोखरीको हो । त्यसैले यसलाई पहिले कमलपोखरी बनाउँ, त्यसपछि यसमा हुने अन्य गतिविधि तथा स्थानीय सरोकार जोडौं, हामीले यसरी सौन्दर्यीकरण गर्न खोजेका हौं, मेयर शाक्यको भनाइ थियो । यस अघि गएको श्रावण १८ गते कमलपोखरी क्षेत्रमै भएको स्थानीयसँगको छलफलमा मेयर शाक्यले निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयले दायित्व लिने हो भने जिम्मेवारी दिन आफू तयार रहेको बताएका थिए ।

छलफलमा, आयोगले तयार गरेको संरक्षण योजना अन्तर्गत पूर्वाधारको बिकास, पोखरीसँग समाज र स्थानीय सम्बन्धका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै आयोगका सदस्यसचिव सरोज बस्नेतले कमलपोखरीलाई बास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास गरिने बताए  । कुनै पनि ढाँचा सिद्धान्तमा आधारित हुन्छ, कमलपोखरीलाई पूर्वीयले मानेको बास्तुशास्त्र अध्ययन गर्न सकिने तथा विमानस्थलबाट ठमेल जाने पर्यटकका लागि गन्तव्यका रुपमा विकास गरिने योजना तयार पारिएको उनको भनाइ थियो ।

छलफलमा भाग लिने स्थानीय क्लबका अध्यक्ष भीमसेन मैनाली, राजेन्द्र सिंहलगायतले कमलपोखरीको सरसफाइ र सुरक्षाका लागि विगतमा भएका अभ्यासको सम्झना गर्नुपर्ने, पोखरीको जमिन अतिक्रमण हुनबाट बचाउनुपर्ने, विगतमा अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने, श्रोतको दुरुपयोग रोक्नु पर्ने, कमलपोखरीमा बार्षिक महोत्सव गरिनुपर्ने, स्थानीय जीवनसँग पोखरी व्यवस्थापनलाई अन्तरसम्बन्धित बनाइनु पर्ने, पोखरीको पानीलाई स्वच्छता कायम गर्नुपर्ने, बालमैत्री, जेष्ठ नागरिकमैत्री र सुरक्षित हुनु पर्ने, खेलकुद र धार्मिक गतिविधि सञ्चालन गर्न सक्ने खालको बनाउनु पर्ने जस्ता सुझाव दिएका थिए ।

स्थानीयबाट प्राप्त यी सुझावलाई समेटेर आयोगले ढाँचालाई कार्यान्वयनमा लैजादैछ । योजना निर्माणमा महानगरको करिअर क्याम्पमा आवद्ध सिभिल र आर्किटेक्ट इञ्जिनियरहरु सहभागी छन् ।

कमल पोखरी अहिले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । अहिलेको ढाँचामा सार्वजनिक शौचालयबाहेक अन्य भौतिक संरचना निर्माण हुने छैनन् । यसको सौन्दर्यीकरणमा नेपाली इटा र दर्जिन ढुङ्गाको प्रयोग हुनेछ । पोखरीको चार कुनामा कमल फुल्ने साना साना सहायक पोखरी हुनेछन् भने ५ वटा मकराकृति ढुङ्गेधारा निर्माण गरिनेछन् ।

डिजाइन स्वीकृत भएपछि काम हुरु भएको मितिले ९ महिनाभित्र सबै काम सकिने अनुमान गरिएको छ ।



नयाँ