- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चीनले आर्थिक समृद्धिको बाटो अपनाएको चालिस वर्ष भएको छ। यस बाटोलाई चीनको सुधार तथा खुलापन नीति भन्ने गरिन्छ। यो नीति प्रतिस्थापनसँगै चीनले दिन दुई गुणा रात चार गुणाले भने झैं विकास गरेको छ जसले विश्वलाई पनि चकित तुल्याएको छ र त्यतिकै प्रभावित पनि पारेको छ। यो वास्तवमा एउटा क्रान्ति नै थियो, नयाँ चीनको स्थापना अनि सांस्कृतिक क्रान्तिपछि चीनमा विकासलाई गति दिनु र समृद्ध बनाउनु अपरिहार्य भइसकेको अवस्थामा नेता तङ स्याउ फिङ (देङ स्याओपिङ)ले यो नीति प्रतिपादन गरेका थिए।
सन् १९७६ मा माओको मृत्यु पश्चात नेता तङ चीनको दोश्रो पुस्ताका उच्च नेता बन्न सफल भएका थिए। चीनको जर्जर आर्थिक अवस्थालाई मध्य नजरमा राखेर समृद्ध मुलुक निर्माण गर्ने योजनाका साथ उनले सन् १९७८ मा सुधार र खुलापनको नीति लागू गरेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेस्रो सत्रको बैठक जुन पार्टीको केन्द्रीय समितिको निर्णायक बैठक पनि थियो उक्त बैठक पैचिङमा सन् १९७८ डिसेम्बर १८ देखि २२ सम्म चलेको थियो। नेता तङले सोही बैठकमा आर्थिक व्यवस्थामा व्यापक सुधारका लागि सुधार तथा खुलापन नीति लागू गरिने घोषणा गरेका थिए। विश्व बजारमा विदेशी लगानीका लागि चीन खुला भएको र चीनको आर्थिक विकास र साथै विश्वको विकासमा चीन साझेदारका रुपमा प्रवेश गर्न चाहेको उद्घोष उनले गरेका थिए।
ऐतिहासिक दिन पटक-पटक आउँदैन भने झैं त्यो दिन आज सारा चिनियाँको समृद्धिको बाटो मात्र नभएर विश्वका लागि पनि एउटा अवसर बनेको छ। चीनको द्रुततर आर्थिक विकास र करोडौं चिनिया जनताको पुस्तापुस्ताको जीवनस्तर उकास्ने गहन नीति बनेको छ।
सन् १९७० को दशकको अति नै जर्जर अर्थव्यवस्थाबाट सन् १९८० को दशकमा बिस्तारै सुरु भएको समृद्धिको अध्याय ९० को दशक र मलेनियम (सन् २०००)सम्म आइपुग्दा तिव्रता सहित अभूतपूर्व तथा अकल्पनीय परिवर्तन भएको छ र आज त्यत्रो विशाल देश सर्वसम्पन्नतातर्फ बढेको छ।
चीनले सन् २०२० सम्ममा समृद्ध समाजको निर्माणको लक्ष्य पूरा गर्ने भएको छ। त्यसैगरी सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणलाई आधारभूत रूपमा पूरा गर्ने योजना बनाएको छ। र सन् २०५० सम्ममा एक समृद्ध, प्रजातान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर समाजवादी आधुनिक शक्तिशाली देश बनाउने लक्ष्यका साथ चीन अघि बढिरहेको छ। चीन निरन्तर उठिरहेको छ र हरेक क्षेत्रमा अघि बढ्दैछ। हाल विश्वकै दोस्रो शक्तिशाली आर्थिक राष्ट्र बनेको चीन अबको दश/बीस वर्षसम्ममा विश्वकै पहिलो आर्थिक राष्ट्र बन्ने दौडमा छ। तङ स्याओपिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत थियो। सन् २०१७ मा आएर त्यो हिस्सा १८.२ प्रतिशत पुगेको छ।
हाल चीन कुल गार्हस्थ्य उत्पादन (जीडिपी)को मामिलामा विश्वको दोस्रो ठूलो आर्थिक राष्ट्र हो। बितेका ४० वर्षमा चीनको जीडिपीको औसत वार्षिक वृद्धि दर ९.५ प्रतिशत रहेको छ। जुन सन् १९७८ बाट २०१७ सम्मको अवधिमा ३३.५ गुणाले बढेको छ। यही वृद्धि दरका कारण चीन न्यून आय मुलुकबाट विकसित मुलुक बन्न पुगेको छ। सन् २०१७ मा यो जीडिपीको आकँडा १२.८४ ट्रिलियन अमेरिकी डलर पुगेको छ भने प्रति व्यक्ति जीडिपी ८,८३६ अमेरिकी डलर पुगेको छ।
यसै बीच ७० करोड जनतालाई गरिबी मुक्त गरेका छन्। यो चीनका लागि एउटा ऐतिहासिक छलाङ्ग हो भने विश्वका लागि एउटा शिक्षा र प्रेरणा पनि हो। यस बीचमा सन् २०१८ को मार्चसम्ममा ३८.५ करोड चिनियाँ जनताहरू मध्यम वर्गमा उकासिएका छन्। हाल धेरैभन्दा धेरै चिनियाँहरुको जीवनस्तर उकासेको छ र समृद्ध जीवन बिताइरहेका छन् । तथ्याङ्कका अनुसार, शहरीय प्रति व्यक्ति व्यय योग्य आय सन् १९७८ को ३४३ चिनियाँ युआनबाट सन् २०१७ मा ३६,३९६ युआन (५,२४५ डलर) पुगेको छ भने ग्रामीण प्रति व्यक्ति शुद्ध आय १३३.६ चिनियाँ युआनबाट १३००० युआन पुगेको छ। ग्रामीण र शहरी रोजगारको संख्या सन् १९७८ बाट २०१७ को अन्तसम्म आइपुग्दा ७७ करोड पुगेको छ।
चीनले प्रति वर्ष एक करोड ५० लाख नागरिकलाई रोजगारी सिर्जना गर्दै आएको छ। साथै हाल चीनले ९० करोड जनताका निम्ति पेन्सन बिमाको व्यवस्था गरेर संसारकै सबैभन्दा ठूलो सामाजिक सुरक्षा संयन्त्र तयार पारेको छ। साथै चिनियाँ जनताको औसत आयु नयाँ चीनको स्थापनाको शुरुवातमा ४३ वर्ष थियो। हाल २०१७ सम्म आइपुग्दा यो ७६.७ वर्ष पुगेको छ। पछिल्ला चार दशकमा ग्रामीण क्षेत्रदेखि शहरसम्मको विकासमा व्यापक तथा आर्थिक सुधारका राष्ट्रव्यापी कार्यक्रमहरू लागू गरिएका छन्। त्यसै गरी चीन विज्ञान तथा प्रविधिको क्षेत्रमा, अन्तरिक्ष अन्वेषण तथा राष्ट्रिय सुरक्षा तथा सैन्य शक्तिमा पनि अब्ब्ल देखिँदै छ। हाल चीन सबैभन्दा ठूलो विदेशी मुद्रा सञ्चयकर्ता मुलुक पनि हो। चीनसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति अर्थात् ३.१२ ट्रिलियन अमेरिकी डलर छ।
चीन विश्वमै सबैभन्दा ठूलो औद्योगिक उत्पादक मुलुक हो साथै सबैभन्दा ठूलो व्यापारी मुलुक पनि हो। तथ्याङ्कका अनुसार, सन् १९७८ देखि २०१७ सम्म चीनको आयात-निर्यात रकम ३५ अर्ब ५० करोड चिनियाँ युआनबाट २७.८ ट्रिलियन युआनसम्म बढेको छ। जुन ७ सय ८२ गुणाले वृद्धि भएको छ। त्यसका साथै व्यापारिक ढाँचामा क्रमशः सुधार गर्दै गएको छ। व्यापारिक बजार दिन प्रतिदिन व्यापक हुँदैछ र सन् १९७८ देखि २०१७ सम्म चीनको व्यापारिक साझेदारी लगभग चालीस देशबाट २ सय ३१ देश तथा क्षेत्रसम्म फैलिएको छ।
चीनको सेवा व्यापार क्षेत्र सन् २०१४ सम्म आइपुग्दा दोस्रो स्थानमा उक्लेको छ। सन् २०१७ मा सेवा आयात तथा निर्यातमा संलग्न रकम करिब ४६ खर्ब ९९ अर्ब १० करोड युआन पुगेको छ। चीनको आउटबाउण्ड प्रत्यक्ष लगानी (ओडीआई) सन् २०१६ मा दोस्रो स्थानमा उक्लिएको थियो भने सन् २०१७ मा यसमा संलग्न रकम १२४.६ बिलियन अमेरिकी डलर पुगेको छ। चीनमा कुल वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) सन् २०१३ मा दोस्रो स्थानमा पुगेको थियो। चीनको वाणिज्य मन्त्रालयका अनुसार, सन् २०१७ मा चीनको एफडीआई सर्वाधिक १३५ अर्ब अमेरिकी डलर पुगेको छ।
यसै बीच यसै वर्षबाट अन्तर्राष्ट्रिय आयात एक्स्पोको सुरूवात भएको छ र विगत ४० वर्षदेखि खुला भएको चीन अझ खुला बनाउँदै समाजवादी आधुनिक शक्तिशाली मुलुक निर्माणको दिशातिर अग्रसर छ। यही नीतिलाई निरन्तरता दिँदै र यसैको आधारमा चिनियाँ राष्ट्राध्यक्ष सीले रेशममार्गलाई ब्युँताएका छन्। नविन रेशममार्ग अर्थात् ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’परियोजनाले यसै वर्ष ५ बर्ष पूरा गरेको छ। हाल यसका सदस्य राष्ट्रहरूबीच बृहत्त आयोजनाहरु सुचारू छन्। साथै चाइना इन्टरनेशनल आयात एक्स्पोको आरम्भ गरेबाट पनि चीन यस खुला नीतिप्रति शतप्रतिशत प्रतिबद्ध छ भन्ने अर्थ्याउँछ। केहि दिनअघि मात्र पनि अर्जेन्टिनामा आयोजित जी बीस सम्मेलनमा सीले विश्वलाई समग्र विश्वको आर्थिक वृद्धिका लागि खुलापन तथा सहकार्यमा अडिग रहन आह्वान गरेका छन्।
हाल विश्वमा संरक्षणवाद तथा एकपक्षीयतावाद देखिन थालिएको छ त्यस कारण पनि चीनको सुधार तथा खुलापन नीति एउटा विकल्प बनेको छ। चीन अन्तर्राष्ट्रिय समुदायसँग खुलापन तथा आपसी हितको आधारमा सुधार तथा नवसिर्जनाद्वारा विकासका अवसरको सहउपयोग गर्न र सुन्दर भविष्य निर्माण गर्न इच्छुक छ। यस अवसरलाई नेपालले पनि सहउपयोग गर्नसक्नुपर्छ। हुन त दुवैतिरको विशाल र आर्थिक रूपमा शक्तिशाली छिमेकी मुलुकहरूको आर्थिक रापले नेपाललाई छुन सकेको छैन।
एउटा देशको विकासमा अर्को देशको सहयोग आफ्नो ठाउँमा छ तर त्यस अपेक्षा भन्दा पनि समग्र विकासमा त्यो देशका नेतृत्व वर्ग र जनतामा इच्छाशक्ति चाहिन्छ। आर्थिक समृद्धिको नारा घन्काएर मात्रै केहि हुँदैन। अरू देशको विकासको प्रशंसा गर्न पछि नपर्ने तर देशभित्र विकासलाई टुक्का र नारामा सिमित राखेर उँभो लाग्दैन।
चिनियाँ नेताको दूरदर्शिता, नेतृत्वदायी भूमिका, योजना तथा प्रतिबद्धता र चिनियाँ जनताको मेहनतबाट चालिस वर्षको समयमा चीनले मारेको विशाल फड्कोलाई नेपाली नेता तथा जनताले नजिकबाट नियालेका छन्। यसै चिनियाँ सफल विकास मोडेललाई पछ्याउन पनि सकिन्छ। साथै उत्तरी छिमेकबाट आमनेपालीको आशा पनि धेरै छ। त्यस कारण परिपक्व र दूरदर्शिता सहित यी दुई पक्षले पारस्परिक सम्पर्क तथा सहकार्यलाई मजबुत पारेर लैजानसके र यसै शताब्दी भित्रै ‘चीन - नेपाल भाग्य समुदाय’ निर्माण गर्न सके नेपालीले पनि छिमेकीको न्यानो अनुभूत गर्न सक्ने छन्।
(लेखक अलौकिक जन गणतन्त्र चीनको बेइजिङ अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विशेषज्ञ हुन्।)