arrow

इन्जिनियर्स एसोसिएशनको चुनाव र हाम्रो आगामी कार्यभार

इन्जिनियरिङ क्षेत्रको गरिमा बढाउन एसोसिएशनमा लोकतान्त्रीक समुह

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
mr-ashok.jpg

पहिलो वर्गको दक्ष जनशक्ति मानिने हामी इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसन ३२ औ कार्यकारिणी चयनको पुर्व संध्यामा आइपुग्दा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।  मुलत प्रतिस्पर्धा स्वस्थ्य नै देखिएपनि कतिपय पक्षधरहरु इतिहासमै सर्वाधिक आश्वासनको खेति अनि एशोसिएनको इतिहासको अपब्याख्या गर्न समेत उद्यत भएको हामी पाउछौं । सम्पुर्ण इन्जिनियरहरुको अभिभावकीय भुमिका निर्वाह गर्दै आएको तथा शालिन, कर्मशिल एवं बौद्धिक वर्गको प्रतिनिधिको रुपमा रहदै आएको एशोसिएसनको भुमिकालाई अवमुल्यन गरिनु आफैमा अतिरञ्जनापुर्ण देखिन्छ । विगतका कार्यसमितिहरुले आफुले  गरेको कामहरुको विज्ञापन गर्दै आत्मरतिमा रमाएनन्, मिडियाहरुमा छाएनन् वा छाउन चाहेनन्। तर हालसम्मका उपलब्धिलाई नजरअन्दाज गर्दै एशोसिएसनलाई दोषको भारि बोकाएर आफु ओभानो  बन्न खोज्नु, आफ्नै खुट्टामा बन्चरो हान्नु सरह नै हो ।

मुलुकमा ब्याप्त अस्थिरता लगाएत विविध असहज अवस्थाका बाबजुद ईन्जिनियरिङ क्षेत्रका विकृति, विसंगतिहरुको न्युनिकरण इन्जिनियरहरुको हक हितको संरक्षण तथा करिव २७ हजार नेपाली इन्जिनियरको छाता संगठनको रुपमा आफ्नो गरिमा कायम राख्नुले एशोसिएसनको महत्वपुर्ण भुमिकालाई प्रष्ट पार्दछ । तसर्थ हालसम्म प्राप्त उपलब्धिलाई रक्षा गर्दै इन्जिनियरिङ क्षेत्रमाथि भईरहेका गलत प्रहारहरु अनि विसंगतिलाई रोक्दै यस क्षेत्रको हकहितको रक्षाको लागि  अगाडि बढ्नु आगामी कार्यकारिणीको महत्वपूर्ण दायित्व रहनेछ ।

देश संघिय संरचनामा गईसकेको छ भने संघीयता कार्यान्वयनका लागि अनेकौ कार्यहरू बाँकि नै रहेका छन् तथापि हाम्रो एशोसिएसनको वर्तमान कार्यकारिणीबाट संघिय संरचनाको प्रारुप तयार भई सोहि बमोजिम कार्यकारिणी चयनमा जादैँ छौ । पछिल्लो कार्यकारिणीबाट एशोसिएसनको भवनमा लिफ्ट, सौर्य उर्जा जडान, अनुसन्धान तथा विकास कोषको स्थापना, अध्ययन अध्यापन स्रोत केन्द्र स्थापना, प्रत्येक स्थानीय तहहरुको फरक फरक दर्ता गर्नुपर्ने  व्यवस्थाको खारेजि, सरकारि इन्जिनियरहरु पनि नेपाल सरकारको सचिव/मुख्यसचिव बन्न पाउने ब्यवस्था, अनलाईन सदस्यता सम्बन्धि ब्यवस्थाको  कार्यान्वयन लगाएतका महत्वपुर्ण उपलब्धिहरु हासिल भएका  छन्। यस्तै इन्जिनियरिङ क्षेत्रका अनुभव, खोज आविस्कार तथा अनुसन्धानका बारेमा थाहा पाउन तथा भावनात्मक एवं आत्मिय सम्बन्ध कायम राख्न संचालनमा आउनु समस्त इन्जिनियरहरुका लागि गौरवको कुरा हो ।  यस्तै गत वर्ष तराईका जिल्लामा आएको बाढी, तथा २०७२ सालमा गएको महाभुकम्प लगाएत प्राकृतिक प्रकोपहरुमा विपद  व्यवस्थापनमा सघाउ पुर्याई  जिम्मेवारीवोध गरेको एवं इन्जिनियरिङ क्षेत्रको अन्र्तराष्ट्रिय संस्थाको सदस्यता लिइ विश्वमञ्च सामु आफुलाइ पुर्याएकोमा एशोसिएसनलाई धन्यवाद एवं बधाई दिनै पर्छ। त्यस्तै ईन्जिनियरिङ स्टाफ कलेज स्थापनार्थ नेपाल सरकार तथा अन्य सरोकारवालाहरुसंगको समन्वयमा नीतिगत निर्णयको लागि कार्यदल गठन हुनु अत्यन्त स्वागतयोग्य छ । यी तमाम उपलब्धिको लागि वर्तमान कार्यकारिणी तथा समस्त इन्जिनियर धन्यवादको पात्र हुनुहुन्छ ।

आजको युग नै लोकतन्त्रको युग हो, स्वतन्त्रता, समानता राखी अपनत्वमा आधारित लोकतन्त्र हामी सबैको चाहना हो । सम्पुर्ण रुपमा राज्य नियन्त्रीत शासन, बजार व्यवस्था अनि आपसि भौतिक संघर्षलाई नै उपलब्धि हासिल गर्ने माध्यम ठान्ने आइडियोलोजिको औचित्य अबको दिनमा सायदै रहला । लोकतन्त्र विना पेशागत स्वतन्त्रता र बृद्धिविकास संभव नै हुँदैन । देशको सबैभन्दा जागरुक र शिक्षित बर्गमा पर्ने अनि अनर्गल प्रचारवाजी भन्दा पनि गुण र दोषको आधारमा समर्थन र बिरोध गर्न सक्षम ईन्जिनियर वर्गले लोकतन्त्रको बिकल्प खोज्ने कुरा सोच्न पनि सकिदैन । लोकतन्त्र, विकास र पेसागत आचरणलाई सँगसँगै अगाडी बढाउन हामी सम्पूर्ण ईन्जिनियरहरु एकताबद्ध  हुन अपरिहार्य छ ।

प्रथमत जसरि पानी स्वच्छ हुनको लागि मुल नै सफा हुन पर्छ त्यसरी नै दक्ष र सक्षम जनशक्ती उत्पादनको लागि ईन्जिनियरिङ शिक्षा नै गुणस्तरीय हुन जरुरी छ । त्यसको लागि आधारभुत मापदण्डहरु  सहितका शिक्षण सस्थाहरुबाट सुलभ रुपमा व्यवहारिक शिक्षाको व्यवस्था गर्दै शिक्षामा अति ब्यापारिकरणलाई नियन्त्रण गरिनु पर्दछ । जसको लागि एनइएले समेत पहलकदमी लिनुपर्दछ । त्यसैगरी ईन्जिनियरहरु को सेवा सुबिधा तथा क्षमता अभिबृद्दीका लागि आवश्यक नितीनियम निर्माण तथा कार्यक्रमहरु सन्चालन, रोजगारिको सृजना तथा सुचना व्यवस्थापन स्वदेशी तथा विदेशी रोजगारदाता तथा शैक्षिक संस्थाहरुसँग समेत सहकार्य एवं समन्वय एनइएले गर्नुपर्ने देखिन्छ ।

हाम्रो जस्तो विकासोन्मुख तथा निर्माणको चरण भर्खरमात्र सुरु भएको मान्न सकिने मुलुकमा ईन्जिनियरहरु बेरोजगार हुनु तथा बर्षेनी हजारौको संख्यामा विदेशीन बाध्य हुनु अत्यन्त दुखद कुरा हो । यसलाई नियन्त्रण गर्नको लागि ठुला बिकासको आयोजना सिघ्र कार्यन्वयनको लागि दबाब दिनु एवं आवश्यक सहयोग एवं समन्वय प्रदान गर्न एनइएको समेत जिम्मेवारी हो । कतिपय अवस्थामा विशुद्ध प्राविधीक विषयमा समेत अनावश्यक हस्तक्षेप कारण निर्माणको गुणस्तरमा ह्रास मात्र आएको छैन स्वयं ईन्जिनियरहरु दोषी करार हुन परेको दृष्टान्तहरु भेटिन्छ भने विशुद्ध प्राविधिक, ईन्जिनियरिङ सम्वद्ध मन्त्रालय, विभाग, कार्यालयहरुमा समेत गैरईन्जिनियरहरुको नेतृत्व हुँदा ईन्जिनियरहरु निरिह बन्नुपरेको छ । अत ईन्जिनियरिङ क्षेत्रमा हुने तिब्र राजनीतिकरण र प्रशासनिकीकरण लाई रोक्दै निर्माण हुने संरचना एवं अन्य सम्पादित कार्यहरुको गुणस्तरीयता कायम गर्नम एनइएले सघाउ पुर्याउनुपर्छ ।

सिभिल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, आर्किटेक्चर लगायत सबै बिधाका सम्पूर्ण ईन्जिनियरलाई समेट्दै एनइएलाई आफै बिस्तार गर्दै सबैको साझा संस्थाको रुपमा गरिमा कायम राखीराख्ने चुनौती पनि आगामी कार्यकारीणी माथि छँदैछ ।

संघियताको मुल मर्म  भनेकै केन्द्र, प्रदेश र स्थानीय तहबिच आपसि समन्वय कायम गर्दै जनताका अधिकार र बिकास निर्माणको कार्यलाई विकेन्द्रीकरण गर्नु हो । यही मर्म बमोजिम नै हामी ईन्जिनियरहरुले आफ्नो  जिम्मेवारी पुरा गर्नुपर्दछ भने कुनै पनि तहमा कार्य गर्ने ईन्जिनियर साथीहरुको हक अधिकार तथा सेवा सुबिधामा प्रतिकुल प्रभाव पर्न नदिन एनइए चनाखो हुन जरुरी छ ।

 ईन्जिनियरहरुले राजनीतिक रुपमा नियुक्त भएका तथा कथित स्थानीय प्रतिनिधीहरुबाट समेत भौतिक आक्रमण सम्म भोग्नुपर्ने अवस्था देखिएको हुँदा ईन्जिनियरहरु माथि हुने सबै किसिमका अन्याय हिंसा अपमान तथा विभेदहरु अन्त्य गर्नका लागि एशोसिएसन लागिरहनु पर्ने देखिन्छ  ।

देशभित्र उपलब्ध अवसरहरु स्वदेशी प्राविधीक, संस्थाहरुलाई नै उपलब्ध गराउने व्यवस्था गर्न पहल गर्नु आगामी एनइएको कर्तव्य हुनेछ । अहिलेकै अवस्थामा हेर्ने हो भने पनि स्वदेशी फर्म तथा संस्था, प्राविधीकहरुबाट सम्पन्न हुन सक्ने निर्माण तथा अध्ययन कार्यका लागि विदेशीलाई नै मुर्तिवत रुपमै सही सहभागिता गराउनुपर्ने अवस्था, व्यवस्था रहेको छ ।

यसलाई परिवर्तन गर्न अत्यावश्यक भईसकेको छ  किनकी नेपाली ईन्जिनियरहरुले नै गर्न सक्ने कामको लागि विदेशी नै ताक्न, स्वदेशी पुजिको बहिर्गमन मात्र हैन स्वदेशका दक्ष प्राविधिकहरुको अपमान समेत हो । त्यसैगरी हालको कार्यसमिती ले कुनै न कुनै रुप मा सुरुवात गरेको ईन्जिनियरिङ स्टाफ कलेज, ईन्जिनियरिङ अनलाईन सदस्यता, प्रविधी हस्तान्तरण, ईन्जिनियरिङ अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना तथा सन्चालन विषयगत सेलहरुको सृजना तथा सन्चालन, सेमिनार, गोष्ठी, तालिम तथा सम्मेलन आदिलाई निरन्तरता दिदै समग्र ईन्जिनियरिङ क्षेत्रको गरिमालाई उचो पार्दै मुलुकलाई नै समृद्धिको दिशातर्फ लैजाने भूमिका आगामी एनइएले लिनु पर्दछ।

देशकै सबैभन्दा जागरुक तथा सक्षम पेशाकर्मी नागरिकको नाताले कुनै पनि ईन्जिनियर देशको सामाजिक तथा राजनीतिक अवस्था प्रती निरपेक्ष रहन सक्दैन। तसर्थ हाल भईरहेको तथा हुन सक्ने गैर लोकतान्त्रिक एवं असामाजिक गतिविधिको न्युनिकरणको लागि समेत एनइए जागरुक हुनैपर्छ । हाम्रो ईन्जिनियरिङ क्षेत्र भित्र मात्र हैन तमाम बेतिथिहरुको समेत बिरोध गर्न सक्ने र न्युनिकरणमा सहयोग पुर्याउन सक्ने नेतृत्व हामीलाई चाहिएको छ ।
अर्थात शैक्षिक, व्यक्तिगत तथा राजनीतिक स्वार्थको लागि गलत काम लाई गलत भन्न नसक्ने, ईन्जिनियरहरु माथि नै भएका गलत गतिविधीहरुमा दुइ शब्द खर्चिन डराउने र चुनावको १-२ हप्ता अगाडी मात्र जाग्नेहरुको नेतृत्व हामीलाई चाहिएको होइन । समावेशी, लोकतन्त्र र समतामुलक समाज निर्माणको लागि समेत एनइएले हाल झै भूमिका खेल्न सक्नु पर्छ ।

यी तमाम जिम्मेवारी पुरा गर्न तथा हाल कार्यन्वयनको चरणमा रहेका एजेण्डालाई समेत स्थापित गर्नको लागि लोकतान्त्रिक पद्धतिमा आस्था राख्ने समुहको विकल्प देखिदैन किनकि कोरा नारा र  झुठा प्रचारवाजी बिरोधको लागि मात्र बिरोध गर्ने परिपाटी हामी ईन्जिनियरहरुको लागि सुहाउने विषयबस्तु होइन ।

(मि अशोक कुमार शाह लोकतान्त्रिक समुहबाट केन्द्रीय कार्यकारिणी समितिमा उपमहासचिवको उम्मेदवार हुन् । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ