arrow

गणतन्त्रमा राणा परिवारको ‘विरासत’ चोलेन्द्र

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
cholendra.JPG

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । पाँच पटक स्थगित भएर विहिबार बसेको परिषद  बैठकले जबराको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरा भन्दामाथि (१ नम्बरमा) दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, उनको नामको ‘रो’को अन्तिममा यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो । जबराले पनि जोशी जस्तै संसदीय समितिको फेस भने गर्न बाँकी नै छ । संसदीय समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले नियुक्त गर्ने छन् । जोशीको सुनुवाई चल्दा जति आलोचना भएको थियो त्यस्तै आलोचनाको सिकार जबरा पनि हुने पक्का छ ।
 
राणा परिवारबाट दोस्रो प्रधानन्यायाधीश
चोलेन्द्र शमशेर राणा परिवारबाट प्रधानन्यायाधीश हुने दोस्रो व्यक्ति हुन् । यसअघि त्रिलोक प्रताप राणा सर्वोच्चको १० औँ प्रधानन्यायाधीश बनेका थिए । उनी २०५३ फागुन ४ गतेदेखि २०५४ असोज १ गतेसम्म सर्वोच्चको प्रधानन्यायाधीश रहे ।  त्रिलोक प्रतापले २०५३ कार्तिक १४ गते गरेको फैसला निकै चर्चामा रहयो । अहिले नेपाल सरकारले बन्द उद्योग चलाउने बताइरहेकै बेला त्यो बेला त्रिलोक प्रतापकै फैसलाले सुनसरीको दुहवीस्थित पशुपति विस्कुट इण्डसट्रिजका प्रबन्ध संचालक वशन्त कुमार चौधरीलाई सेवाबाट बर्खास्त गरेको थियो ।
 
सर्वोच्चको पहिलो प्रधानन्यायाधीश थिए हरिप्रसाद प्रधान । प्रधान परिवारबाट पछि थुप्रै प्रधानन्यायाधीश भए । यस्तै, सिंह र शाह परिवारलाई सर्वोच्चको नेतृत्व सम्हाल्ने धेरै पल्ट अवसर मिल्यो । तर, राणा परिवारको पालो बल्ल आएको छ । त्यो पनि १८ वर्ष पछि । चोलेन्द्र गणतन्त्रमा राणा परिवारको विरासत हुन् । गणतन्त्रमा राणा परिवारबाट राज्यको सम्मानित पदमा पुग्ने, पहिलो व्यक्तिको इतिहास उनले आफ्नो माममा लेखाएका छन् । चोलेन्द्र अब २९ औं प्रधान न्यायाधीश हुनेछन् । तर, २७ वर्षपछि सबैभन्दा लामो अवधि प्रधानन्यायाधीश हुने अवसर उनैलाई प्राप्त हुँदैछ ।

को हुन चोलेन्द्र ?
२०१४ साल मंसिर २८ गते जन्मिएका चोलेन्द्र नेपालको खानदानी राणा परिवारका सदस्य हुन् । उनको काठमाडौंको सुकेधारास्थित गणेशगौरी मार्गमा स्थायी निवास छ । उनले कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।  राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान । वीरसमशेरका भने पनाति । अब उनी सर्वोच्चको नेतृत्व सम्हाल्दै छन् । उनले यो पनि विर्सने छैनन्, सर्वोच्चसँगै कुम टाँसिएको वीर पुष्तकालय अथवा अहिलेको राष्ट्रिय अभिलेखालय । किन कि उनकै पूर्खाको देन हो ।
 
जंगबहादुर राणा मरेपछि भाई रणोद्दीपसिंह कुँवर केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीरशमशेरका १७ भाइ छोराको धैर्य टुटेपछि काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेको बताइन्छ । रणोद्दीपसिंह कुँवर नेपालको दशौँ प्रधानमन्त्री थिए । त्यसपछि जेठा वीरशमशेर ११औँ प्रधानमन्त्री एवं श्री ३ महाराजा भए । उबेला बडामहाराजा श्री ५ लाई पनि टक्कर दिन्थे राणा प्रधानमन्त्रीहरु ।  
चोलेन्द्र ११औँ प्रधानमन्त्री भएका वीरशमसेरका छोरा ईन्द्रशमशेरका नाति हुन् । चोलेन्द्रका पिताको नाम हो, युवराजशमशेर । उनी राजसभा स्थायी समितिका सदस्य भएपनि चोेलेन्द्र राजनीतिमा नलागेका बताइएको छ । तर, उनको ढल्काव भने अहिलेको सत्तातिर रहेको अड्कल काटिन्छ ।  लामो समय अधिवक्ता भएर हिँडेका उनी २०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश रहेका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य भए ।

पुनरावेदन अदालत बुटवलको कायम मुकायम मुख्य न्यायाधीश रहेकै बेला चोलेन्द्र २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए । २०७१ जेठमा उनी अदालतको स्थायी न्यायाधीश भए । सर्वोच्चको स्थानीय न्यायाधीश भएको ३ वर्ष पुगेको व्यक्ति मात्रै प्रधानन्यायाधीशका लागि योग्य ठहरिन्छ । यसअघि न्यायपरिषदले उनको नाम तेस्रो नम्बरमा राखेर पठाएकामा दीपकराज जोशीलाई संवैधानिक परिषदले सिफारिस गरेको थियो । जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएपछि दोस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र सिफारिस भए । उनको सेवा अवधि आउने पुस १७ मा सकिँदैछ । संविधानमा नयाँ प्रधानन्यायाधीशको सिफारिस वहालवालाको सेवा अवधि सकिनु एक महिना अघि नै गर्ने भनिएको भएपनि ढिलो गरी चोलेन्द्रको नाम सिफारिस भएको हो ।

‘ह्याप्पी वर्थ डे श्रीमान्’
जन्मदिन परेकै दिन सर्वोच्चको नेतृत्वका लागि नाम सिफारिस भएको छ, चोलेन्द्रको । उनको जन्म २०१४ मंसिर २८ गते जन्म भएको थियो । अहिले उनले ६१ वर्ष पार गरे । उनको सेवा अवधि अब पूरै ४ वर्ष हुने छ । सर्वोच्चमा ६५ वर्षीय उमेरहद कायम भएको छ । सर्वोच्चको इतिहासमा २७ वर्षपछि उनी पूर्ण कार्यकाल सर्वोच्चको नेतृत्वमा रहनेछन् । यसअघि २०४८ सालमा प्रधानन्यायाधीश भएका विश्वनाथ उपाध्यायले मात्रै ४ वर्ष कार्यकाल खाएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ