- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राजनीतिमा सी.के. प्रसाईको नाम एउटा सरल आदर्शवान नेताको रुपमा प्रख्यात छ । त्यसमा पनि नेपाली कांग्रेस वृत्तमा प्रसाई नेपाली कांग्रेसको सही आदर्श र सिद्धान्त बुझेको विचारशील नेतामा पर्छन् । सी.के. प्रसाई, बी.पी. कोइरालाका असली अनुयायी थिए । उनले बी.पी.का बिचारहरुलाई राम्ररी बुझेका थिए र ती बिचारहरुलाई उनले आफ्नो व्यावहारिक जीवनमा उतार्दै अरु नयाँ राजनीतिक आयामहरु पनि थपेका थिए ।
देश र जनताको हितमा राजनीति गर्नेहरुको लागि उनका व्यावहारमुखी राजनीतिक बिचारहरु एकदमै प्रेरणादायी छन् । प्रस्तुत आलेख उनका कृति आजको सरल राजनीति नामक पुस्तिकाको केही अंशहरु झिकेर तयार पारिएको छ । आशा छ यो उनको सानो अंशले पनि राजनीतिमा चासो राख्ने पाठकहरुको हृदयलाई छुनेछ ।
राजनीति के हो ?
राजनीति भनेको गरिब दु:खी जनतालाई आँखा देखाउने, तिनीहरुको हक र हित चिनाउने र तिनीहरुको भलाई गर्न सिकाउने शास्त्रको नाम हो । त्यसकारण गरीब जनता सबैले राजनीतिमा चाख लिनुपर्छ । जनताले चाख नलिए राजनीति दुईचार जना धनीमानी वा छट्टुहरुको धन र मान कमाउने साधन बन्न जान्छ र देश बिग्रन्छ । जनताले राजनीतिमा हात हाल्नै पर्छ, तबमात्र कल्याण छ ।
राजनीति कसरी गर्ने ?
राजनीतिमा हात हाल्नु तर कसरी ? यो प्रस्न महत्वपूर्ण छ । गरीब, दु:खी निमुखा किसान मजदुरको भलाई गर्नु, तिनलाई बाटो देखाउनु र साहू महाजन वा अन्यायी अत्याचारीहरुको दबाबबाट मुक्त गराउनु नै राजनीति गर्नु हो । राजनीति गर्नलाई घरजम त्यागी फक्कड़ सन्यासी बन्नु पर्दैन । जनतालाई हात लिनु सके पुग्छ । जनता, सेवाले मात्र हातमा आउँछन् । गाउँमा कुनै किसान मजदुरमाथि आपद विपद आईलाग्यो वा ठुलाबडा शोषकले थिचो मिचो गरे भने तुरन्त मद्दत गर्नुपर्छ, पछि हट्नु हुँदैन । जनताको सेवा भनेको यही हो । यसरी नै जनता हातमा आउँछन् ।
राजनीति गर्ने मानिसमा चाहिने गुणहरु के के हुन् ?
राजनीति गर्ने मानिसमा के के गुणहरु हुनुपर्छ भन्ने प्रस्न धेरै मानिसहरुले उठाएकाछन् । कोही भन्छन धेरै पढेको हुनु जरुरी छ । कोही भन्छन् धनी हुनुपर्छ । फेरी कोही भन्छन् त्याग र तपस्या हुनु अनिबार्य छ । साँच्चै भन्ने हो भने विद्या, थोरबहुत धन, रुप, त्याग र तपस्याले राजनीतिमा केही न केही सहयोग अवश्य गर्छ परन्तु यिनैले गर्दा मात्र राजनीतिमा सफल हुन सकिन्छ भन्नु गलत कुरा हो । यी सबै गुण भएका मानिस पनि राजनीतिमा एकदमै असफल भएको पाईन्छ । र कैयन मान्छे संसारमा यस्ता पनि थिए र छन्, जसमा यी कुनै गुण थिएन वा यदि भए पनि थोरै मात्रामा थिए तर तिनीहरु ठुला नेता हुन सके । यसबाट के साबित हुन्छ भने राजनीतिमा सफल हुन वा जनप्रिय बन्न ठूलो विद्वान, धनी वा रुपवान हुन जरुरी छैन । जरुरी छ, जनताको दु:ख, दर्द र अभिलाषा आकांक्षा बुझ्न सक्ने र इमानदारी र कर्मठ भएर सोहीअनुसार काम गरी जनतालाई सेवा पुर्याउन सक्ने योग्यता मुख्य कुरो हो । यति भइदियो भने जो पनि राजनीति गर्न र सफलता प्राप्त गर्न सक्छ ।
तसर्थ कसैले पनि मैले धेरै पढेको छैन, अथवा मसंग धन छैन भनी निराश हुने र राजनीतिबाट पर सर्ने आवश्यकता छैन । यसो भन्नुको तात्पर्य यो होइन कि राजनीतिमा पढाइको कुनै लाभ नै छैन । लाभ थुप्रै छन् । राजनीतिक सिद्धान्त, देश विदेशको परिस्थिति बुझ्न बुझाउन, छलफल गर्न र भाषण गर्न सक्नु एकदमै जरुरी छ । यसका निम्ति ज्ञान बढाउनै पर्यो । हाम्रो भनाइ के भने बि.ए., एम.ए. पास गर्नु जरुरी नभएतापनि राजनैतिक व्यावहारिक ज्ञान हासिल गर्नु अत्यन्त जरुरी छ । यति ज्ञान हासिल गरेकोछ भने साधारण मानिसले पनि बडे–बडे विद्वान र धनी लाई पनि राजनीतिमा हराइदिन सक्छ । मुख्य कुरा जनताको हृदय जित्न सक्नु हो ।
राजनीतिक संगठन के हो र कसरी गर्ने ?
देश र जनताको सेवा गर्ने उद्देश्यले प्रेरित मानिसहरुको समूहलाई राजनीतिक संगठन भनिन्छ । राजनीतिक संगठन कसरी गर्ने भन्ने कुराको ज्ञान हुनु बडो आवश्यक छ । नत्र हाम्रो परिश्रम खेर जान्छ । हामीहरु प्रायजसो के गल्ती गर्छौं भने संगठन गर्न जनताको बीचमा जाँदा लम्बाचौडा र नचाहिंदा कुरा गछौं अर्ति दिन्छौं । आफ्नो संस्थाको सिद्धान्त, नीति र कार्यक्रम आदिको ब्याख्या गर्न थाल्दछौं । जुनसंग जनताको कुनै वास्ता नै हुँदैन । जनतालाई राजनीतिक सिद्धान्त बुझाउँदै लानु आवश्यक छ तर त्यो भन्दा पहिले जनतालाई ठोस सेवा वा मद्दत पुर्याउन सक्नुपर्छ । जनता सदासर्बदा आफ्ना थुप्रै समस्याहरुसंग जुधिरहेका हुन्छन । यी समस्याहरुको समाधान पुर्याउन सक्नु नै जनतालाई ठोस सेवा र सहायोग पुर्याउनु हो । राजनीतिक संगठनको सुरुवात यहि हो । यसपछि जनता आफु तर्फ आकर्षित हुन्छन् र मात्र उनीहरुलाई आफ्नो संस्थाको सिद्धान्त, नीति र कार्यक्रम बुझाउन थाल्नु पर्छ । यसरी गरिएको संगठन बलियो र चिरस्थायी हुन्छ ।
प्रजातन्त्र र हाम्रो आचरण
प्रजातन्त्र राजनीति गर्ने एउटा सिद्धान्त मात्र होइन, यो त केवल जीवन यापनको एक छुट्टै परिपाटी पनि हो । प्रजातन्त्रवादी व्यक्तिको जीवनको प्रत्येक दिनमा, प्रत्येक कदममा, हरेक बोलीबचन वा व्यावहारमा प्रजातन्त्रको छाप हुनुपर्छ । उदाहरणका निमित्त प्रत्येक प्रजातन्त्रबादी व्यक्तिमा सहनशीलता, उदारता, घमण्डीहिनता र दु:ख कष्ट सहनसक्ने बिशाल हृदय राख्ने गुणहरु हुनु एकदमै जरुरी छ ।
जुन व्यक्ति अरुलाई हेप्ने, ठग्ने, हेला गर्ने, शोषण गर्ने, अन्याय अत्याचार गर्ने गर्दछ, ऊ जुनसुकै पार्टीको भए पनि प्रजातान्त्रिक हुन सक्तैन, ऊ निरंकुशतावादी या तानाशाही हो । प्रजातान्त्रिक व्यक्तिहरूले समाजमा प्रजातन्त्रको स्थापना गर्नु र त्यसलाई सघैं बढाउँदै लानु अति आवश्यक छ । संस्थामा प्रजातान्त्रिक वातावरण सिर्जना गर्नु भनेको सानोदेखि लिएर सबैभन्दा ठूलो नेतासम्मलाई संस्थाको विधान भित्र बाँधेर राख्नु हो । नेताद्वारा कार्यकर्ताको शोषण हुन नदिनु हो र सबैलाई निर्धक्कसंग आफ्नो विचार प्रकट गर्न दिनु हो ।
कसै–कसैको यो भनाइ छ कि प्रजातान्त्रिक व्यक्तिको राजनीतिक आचरण राम्रो हुनु नै पर्याप्त छ, उसको व्यक्तिगत चालचलन जस्तोसुकै होस् । यो धारणा पूर्व र पश्चिमका बासिन्दाको जीवन दर्शनमा ठूलो फरक छ । पश्चिमी जनता व्यक्तिगत आचरणमा उत्तिसाह्रै ध्यान दिंदैनन् तर पूर्वीय देशमा जनता व्यक्तिगत आचरणलाई पहिलो जोड दिन्छन् र त्यसपछि मात्र राजनीतिक आचरणलाई राख्दछन् । व्यक्तिगत आचरण राम्रो भएन भने राजनीतिकर्मीहरू जनताको नजरमा गिर्नेछन् ।
अन्त्यमा
माथि उल्लेखित सी.के. प्रसाईका विचारहरू एकदमै पवित्र र व्यावहारिक छन् । यी विचारहरूलाई अंगालेर राजनीति गर्न सक्यौं भने पद र पैसा प्राप्त गर्न नसकिएला तर सामाजिक प्रतिष्ठा र आत्मसन्तुष्टि अवश्य मिल्नेछ । समाज पनि सही मार्र्गितर लाग्नेछ । साथै त्यस्ता सत्ता, सम्पत्ति र रवाफकालागि नभएर सम्मानको खेती गर्ने राजनीतिकर्मीहरूलाई जनताले अविरल आफ्नो अन्तरहृदयमा साँचेर राख्नेछन् ।