arrow

महिला स्वास्थ्यका लागि वैकल्पिक उर्जा

logo
कविता उपाध्याय 
प्रकाशित २०७५ पुष ६ शुक्रबार
48362452_1293044327500760_8887977070047526912_n.jpg

लिबाङ, रोल्पा । रोल्पा नगरपालिका–१० धाङ्सी, धवाङकी ठ्याप्री बुढा ८३ वर्षकी भइन् । उमेरले नेटो काटे पनि उनलाई भातभान्छा र गाईवस्तुका लागि दाना पकाउने कामबाट छुट्टी मिलेको छैन । खाना, नास्ता वा अन्य खानेकुरा बनाउन र गाईवस्तुका लागि दाना पकाउन दाउरा नै बाल्नुपर्छ । परम्परागत चुलोमा । 

साँझ बिहान खाना बनाउँदा वा दाना पकाउँदा धुवाँले बसिनसक्नु हुन्छ । उनी भन्छिन्, “डाक्टरले  धुवाँ धूलोबाट बच्न सल्लाह दिए पनि भोकै बस्न सकिँदैन । दुई छाक खान भातभान्छाको काम नगरी हुँदैन । धुवाँका कारण आँखा बेसरी दुख्छ, बिझाउँछ, आँखामा जालो लाग्छ, धमिलो देखिन्छ । धुँवाधूलोले आँखा रातो हुनुको साथै पीरो भएर हेरिनसक्नु हुन्छ तर के गर्नु ?”

तीन महिना पहिले उनको मोतियाबिन्दुको शल्यक्रिया भएको थियो । बुढेसकालमा पनि धुवाँधूलोबाट छुट्कारा नपाएकी उनको आँखाको समस्या घट्नुको साटो बढ्न थालेपछि थप उपचारका लागि केही दिनअघि करीब चार घण्टा हिँडेर जिल्ला अस्पताल रोल्पा पुगेकी थिइन् । 

ठ्याप्रीका छोराहरू सबैको बाल्यावस्थामै निधन भयो । बाँचेका तीन छोरीको बिहे भइसकेको छ । उनी माइली छोरी सिन्कीमायासँग बस्दै आएकी छिन् । श्रीमान् रोजगारीका लागि खाडी मुलुक गएका कारण सिन्कीमायालाई घरबाहिरको काममा जानुपर्छ । परिवारका अन्य सदस्यहरू पनि खेतबारी वा अन्य कामका लागि घरबाहिर जान्छन् । जसका कारण ठ्याप्रीले घरको काम सम्हालेकी छिन् । 

धुवाँधूलोले स्वास्थ्य बिगार्छ भन्ने थाहा हुँदाहुँदै पनि सिन्कीमायाले वैकल्पिक व्यवस्था गर्न सकेकी छैनिन् । उनी भन्छिन्, “सिलिण्डर ग्यास महँगो पर्छ । फेरि गाउँमा किन्न पनि पाइँदैन । सुधारिएको चुलो पनि बनाएका छैनौं, जसका कारण हाम्रो परिवार धुवाँ धूलोबाट मुक्त हुन सकेको छैन ।”

रोल्पा नगरपालिका–८ जंकोटकी १९ वर्षीया अञ्जना कार्कीमगरको आँखाको समस्या पनि धुवाँधूलोकै कारण झनझन जटिल बन्दै गएको छ । आठ–नौ वर्षको उमेरदेखि नै उनको आँखामा समस्या देखिएको थियो । उमेर बढ्दै गएपछि समस्या जटिल हुँदै गयो । धुवाँले आँखा पोल्ने, बिझाउने तथा रातो हुने गर्छ । डाक्टरले धुवाँधूलोबाट बच्ने सल्लाह दिएका छन् । धुवाँबाट टाढा हुँदा आँखा शीतल भएको अनुभव हुन्छ । “तर बुहारी मान्छे भएको हुँदा भातभान्छाको जिम्मेवारीबाट पन्छिन मिलेन,” उनी भन्छिन् । 

धुवाँधूलोमा बस्नुपर्ने हुँदा आफ्नो आँखाको समस्या जटिल बन्दै गएको उनी बताउँछिन् । बुहार्तनका कारण धुवाँधूलोमा दिन गुजार्नु यहाँका महिलाहरूको बाध्यता हो । यसले गर्दा स्थानीय महिलाहरूमा आँखाको समस्या बढ्दो छ ।

आँखारोगीमा पुरुषभन्दा महिला बढी 
सामुदायिक आँखा केन्द्र रोल्पाका सेवाग्राहीमा हरेक वर्ष पुरुषभन्दा महिला बढी हुने गरेका छन् । यसको प्रमुख कारण धुवाँ, धूलोबाट महिलाहरूले छुट्कारा नपाउनु तथा घरायसी काममा महिलाहरूले बढी समय खर्चिनुपर्ने भएको हुँदा चश्मा नलगाउनु वा चश्मा लगाउन नपाउनु आदि रहेको केन्द्रका इन्चार्ज ताराबहादुर वाइबा बताउँछन् । 

आँखामा समस्या भएका बिरामीहरूलाई धुवाँधूलोबाट बच्ने सल्लाह दिइन्छ । धुवाँधूलोका कारण आँखा रातोपिरो हुने, आँखामा सुख्खापन देखिने, अन्त्यमा आँखाका बिरामीहरू मोतियाबिन्दुको शिकारसम्म हुनसक्ने हुँदा धुवाँधूलोबाट बच्नुपर्ने हुन्छ तर जिल्लाका धेरै बिरामीहरू धुवाँधूलोबाट मुक्त हुन सकिराखेका छैनन् । रोल्पामा करीब दुई सय मानिस त दृष्टिविहीन छन् ।

सामुदायिक आँखा केन्द्र रोल्पाको तथ्याङ्कअनुसार, सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म दुई हजार ३५९ महिला तथा एक हजार ९०८ पुरुषले आँखा जँचाएका छन् । सन् २०१७ मा एक हजार ८४० महिला तथा एक हजार ५७४ पुरुषले आँखा जँचाएका थिए । सन् २०१८ मा मात्रै आँखा अस्पताल रोल्पामार्फत जिल्लामा २६७ जनाले मोतियाबिन्दुको अप्रेसन गरिसकेका छन् । 

इन्चार्ज वाइबाका अनुसार, यसरी आँखा जाँचका लागि आएका बिरामीहरूमा आँखा पाक्ने, आँखाको एलर्जी, दृष्टिदोष, आँखाको परेलासम्बन्धी समस्या, घाँसदाउरा गर्दा आँखामा लागेको चोटपटक पछिको गम्भीर समस्या कर्नियल अल्सरसमेतका अधिक छन् ।

समग्र मानव स्वास्थ्यमा नै असर
धुवाँधूलोबाट आँखामा मात्र नभई समग्र मानव स्वास्थ्यमा नै प्रतिकूल असर पर्नसक्छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. सुशील आचार्य धुवाँधूलोका कारण दम, छातीमा इन्फेक्सन, छालाको रोग जस्ता समस्याहरू देखापर्ने बताउँछन् । उनका अनुसार, श्वासप्रश्वास सम्बन्धी समस्या भएका ठूलो संख्याका बिरामीहरू जिल्ला अस्पताल रोल्पामा उपचारका लागि आउने गरेका छन् । जिल्लाका ९० प्रतिशत घरधुरीमा दाउरा प्रयोग हुने भएका कारण पनि बिरामीहरूको समस्या घट्न सकेको छैन ।

आव २०७४–७५ मा मात्र रोल्पामा सात हजार ९१२ जना श्वासप्रश्वासका पनि बिरामी देखिएका थिए । डा. आचार्यका अनुसार, धुवाँधूलोको असरबाट प्रत्यक्ष वा परोक्ष रूपमा महिलाहरू नै प्रभावित हुन्छन् । त्यसमा पनि धुवाँधूलोको असर विपन्न वर्गका महिलाहरूले बढी झेल्नुपर्छ । हालसम्म आफूले काम गरेका जिल्लाहरू गोरखा, प्युठान र रोल्पाकोे अनुभव सुनाउँदै उनले भने– अभाव र गरिबीका कारण पनि रोल्पामा श्वासप्रश्वासका बिरामीहरूको संख्या बढी नै देखिएको छ । त्यसको मुख्य कारण धुवाँधूलो नै हो । देशमै श्वासप्रश्वासका बिरामीको संख्या पहिलो स्थानमा पर्ने गरेको छ ।

अलपत्र अभियान
विगतमा रोल्पा जिल्लालाई सन् २०१७ सम्म धुवाँमुक्त जिल्ला घोषणा गर्ने अभियान चलाइएको थियो । सन् २०१८ को अन्त्यतिर आइपुग्दा पनि अभियानले पूर्णता पाउनसकेको छैन । देश स्थानीय संरचनामा जान थालेसंगै अभियानका रूपमा रहेका पूर्ण सरसफाइयुक्त जिल्ला तथा धुवाँमुक्त जिल्ला लगायतका विभिन्न कार्यक्रमहरू अलपत्र अवस्थामा छन् । स्थानीय संरचना निर्माण भएसँँगै हाल जिल्लाको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू यस विषयमा आफूहरू जानकार नभएको बताउँछन् । नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी अत्यन्त महत्त्व बोकेका यस किसिमका कार्यक्रमहरू अलपत्र अवस्थामा रहनु चिन्ताको कुरो भएको बताउँछन् ।  

देश नयाँ संरचनामा गएपछि यी कार्यक्रहरूले पूर्णता पाउन नसकेको हुँदा अबका दिनमा स्थानीय निकायहरू नगरपालिका तथा विभिन्न गाउँपालिकाहरूद्वारा यी अभियानलाई पूर्ण रूपमा अघि बढाउनुपर्ने डाँगीको सुझाव छ ।  

यसैबीच, रोल्पा नगरपालिकाले वैकल्पिक ऊर्जा जडान कार्यक्रम अगाडि सारेको छ । नगर प्रमुख पूर्ण के.सी. चालू आर्थिक वर्षमा नगरपालिकाभित्रका ९० घरधुरी तथा जिल्लाका अन्य नौ गाउँपालिकामा समेत वैकल्पिक ऊर्जा जडान गर्ने कार्यक्रम रहेको जानकारी दिन्छन् । उनका अनुसार, राष्ट्रिय ग्रामीण तथा नविकरणीय ऊर्जा कार्यक्रममार्फत जिल्लामा बायोग्यास जडान गर्न लागिएको हो । 

यसका लागि नगरपालिकाबाट रु. तीन लाख र सम्बन्धित धरधुरीबाट आवश्यक श्रमदान रहनेछ । ऊर्जा मन्त्रालयबाट आवश्यक सामग्री तथा प्राविधिक सहयोग प्राप्त हुनेछ । यसरी नगरपालिकाभित्रका प्रत्येक वडामा एक वडाका नौ घरका दरले वैकल्पिक ऊर्जा जडान हुनेछ । यसका लागि सम्बन्धित वडा कार्यालयमार्फत सूचना जारी गरिसकिएको छ ।

रोल्पा नगरपालिकाभित्र कुल सात हजार १३३ धरधुरी छन् । ती घरधुरीमा १८ हजार १५ महिला तथा १४ हजार ७४४ पुरुष बसोबास गर्दै आएका छन् । 

उत्कृष्ट उपाय वैकल्पिक उर्जा 
डिभिजन वन कार्यालय रोल्पाका सहायक वन अधिकृत भरत श्रेष्ठ समस्याको उत्कृष्ट विकल्प जिल्लाका सबै घरधुरीमा वैकल्पिक उर्जाको प्रयोग हुने बताउँछन् । उनका अनुसार, रोल्पा जिल्लाको कुल भूभाग एक लाख ८७ हजार १५० हेक्टरमध्ये ९४ हजार ९७ हेक्टर भूभाग वन क्षेत्रले ढाकेको छ । यसमध्ये निजी वन, सामुदायिक वन र निजी आवादी जग्गाहरूबाट दाउरा संकलन हुँदै आएको छ । ५८ हजार घरधुरी सामुदायिक वनमा आबद्ध छन् । सामुदायिक वनले दाउरा संकलनका लागि निश्चित मापदण्ड निर्माण गरेको छ तर पनि दाउरा पर्याप्त हुन सकिरहेको छैन । “त्यसैले जिल्लाका सबै घरधुरीमा वैकल्पिक ऊर्जाको प्रयोग हुनसके यसले सबैमा सकारात्मक प्रभाव पार्नेछ,” उनी भन्छन् । 
 
श्रेष्ठ वैकल्पिक ऊर्जाको प्रयोगबाट दाउरा लिनजाँदा लाग्ने समयको बचत हुने, घाँसदाउरामा विशेषगरी महिलाहरूको सहभागिता बढी हुने हुँदा भिरालो भूभागका कारण महिलाहरूले झेल्नुपर्ने जोखिम कम हुने तथा धुवाँधूलोका कारण समुदायका विभिन्न मानिसले झेल्दै आएको समस्याबाट छुट्कारा पाउन सकिने बताउँछन् ।

डिभिजनल वन अधिकृत कृष्णप्रसाद ढकाल पनि जलवायु परिवर्तनबाट हुने नकारात्मक असरलाई कम गर्न तथा महिलाहरूको स्वास्थ्यमा परेका नकारात्मक असरहरू कम गर्न वैकल्पिक ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् । ढकालका अनुसार, कार्बन मोनोअक्साइड तथा डाइअक्साइड धुवाँबाट वायुमण्डलमा निस्कन्छ । त्यसपछि जलवायु परिवर्तनमा मुख्य कारक तत्त्व कार्बनडाइअक्साइडको वृद्धि हुन्छ । साथै, रूख बिरुवा मासेर दाउरा बनाउँदा बिरुवाले छाड्ने अक्सिजनको मात्रा घट्न गई वायुमण्डलमा प्रतिकूल असर पर्ने गर्दछ । यसका साथै दाउराको प्रयोगबाट हरितगृह ग्यास उत्सर्जनमा वृद्धि हुन्छ । वैकल्पिक ऊर्जाको प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन पनि कम हुने गर्दछ ।

बायो ग्यास, सुधारिएको चुलो, विद्युत्लगायतका वैकल्पिक ऊर्जा प्रयोगका लागि सरोकारवाला निकायहरूको ध्यान जानसके महिलाहरूको स्वास्थ्य तथा जलवायु परिवर्तनबाट हुने नकारात्मक असर घटाउन थप टेवा पुग्ने उनको सुझाव छ । “यसका लागि डिभिजन वन कार्यालय रोल्पाले आगामी दिनहरूमा दाउरा कम खपत हुने क्रियाकलाप गर्दैजाने लक्ष्य लिएको छ,” उनी बताउँछन् । 

घरायसी धुवाँधूलोको असरबाट रोल्पाली महिलालाई जोगाउन सरकारले पनि विशेष पहल गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । यसका लागि हरेक गाउँपालिका तथा नगरपालिकाले वैकल्पिक ऊर्जासम्वन्धी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड छ । रोल्पा नगरपालिकाद्वारा सञ्चालित बायोग्यास जडान कार्यक्रमको निरन्तरता पनि आवश्यक छ । जबसम्म रोल्पालीहरू वैकल्पिक ऊर्जा प्रयोग गर्ने अवस्थामा पुग्दैनन् तबसम्म धुवाँधूलोका कारण उत्पन्न हुने समस्याबाट रोल्पाली महिलाले छुट्कारा पाउने छैनन् । 
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ