- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पूर्व प्रशासक लक्ष्मी विलास कोइरालाले लेखेको एकिकरण र पृथ्वीनारायण शाह सम्वन्धी उपन्यास सिमाना खोज्दै सार्वजनिक भएको छ। लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली, निर्वाचन आयोगका निवर्तमान प्रमुख आयुक्त निलकण्ठ उप्रेती, बरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, साहित्यकार प्रतीक ढकाल र लेखककी छोरी प्रत्यञ्चा कोईरालाले पुस्तकको संयुक्तरुपमा विमोचन गरेका छन्।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन सार्वजनिक भएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै लोकसेवा आयोगका अध्ययक्ष मैनालीले ईतिहास बनाउने राजा पृथ्वी नारायण शाह समयको माग भएको बताए । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिदिएका कारण आज हामी स्वतन्त्र सार्वभौम देश नेपालका नेपाली कहलिन पाएको मैनालीले स्मरण गरे। मैनालीले थपे, 'उनले एकिकरण नगरेको भए हामी कसैको दास वा अरुनै राज्यको अंग बन्न पुग्थ्यौ होला । जुन देशमा इतिहासको कदर हुदैन त्यो देशमा सभ्यताको विकास हुन सजिलै सक्दैन ।'
सिमाना खोज्दै उपन्यासमा भूमिका लेख्ने वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले पृथ्वी नारायणका शत्रुहरु अंग्रेज र पादरीले लेखेका र लेखाएका ईतिहास पढेर हामी पृथ्वीनारायण शाहको मूल्याकंन गरिरहेकोमा विडम्वना व्यक्त गरे। दाहालले भने, 'हारेको मान्छेले जित्नेको गुणगान कहिल्यै गाउँदैन। हामीले साँचो ईतिहास पढन पाएकै छैनौ । लक्ष्मीले लेखेको उपन्यास सिमाना खोज्दैले ईतिहासलाई साहित्यको जलप लगाएर खुवाउन खोजेकाछन् जुन सह्राहनीय छ । '
कार्यक्रममा उपन्यासको समाचोलना गर्दै साहित्यकार प्रतीक ढकालले उपन्यासमा पृथ्वीनारायण शाह उनको वलिदान र एकिकरणका विषयको प्रस्तुती बेजोड रहेको बताए। ढकालले भने, 'सिमाना खोज्दै उपन्यास पढन थाले पछि छोडन मनै लाग्दैन । कुनैवेला हतियार उठाएर एकिकरणमा अहिले नै जाउ जस्तो वनाँउछ त कति वेला युद्धकर्मीहरुको मायालुहरुको करुणा भरिएका गाथाहरु पढ्दा मन आद्र भएर आउँछ । लक्ष्मी विलास कोइरालाले उपन्यासमा पुरानो र नयाँ पुस्तालाई जोडने काम गर्न भएको छ।' दकालले सिमाना खोज्दै उपन्यास यस वर्षको मदन पुरस्कारको दावेदार उपन्यासको रुपमा रहेकोछ भन्दै युवा पुस्तालाई इतिहासको जानकारी दिने उहाँको उद्देश्य उपन्यासले केही हदसम्म पुरा पनि गरेको बताए।
कार्यक्रममा उपन्यासकार लक्ष्मी विलास कोईरालाले यसो भने
आजको दिन २९७औं पृथ्वी जयन्तीको दिन हो । नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म भएको स्वर्णिम दिन हो । झण्डै दुई वर्ष लगाएर नेपाल एकिकरण संवन्धी मैले लेखेको उपन्यास सिमाना खोज्दै आज पृथ्वी जयन्तीको सुअवसरमा विमोचन गर्न पाउँदा म अत्यन्त खुसी छु । हर्षित छु ।
त्यो दिन सबै टिभि दर्शक सरह म पनि नेपाल र भारतको फुटवल म्याच हेर्न बसिरहेको थिएँ । लामो संर्घषपछि खेल नेपालले जित्यो । नेपालको विजयपछि नेपालको झण्डा बोकेका र गालामा झण्डा खोपेका नेपाली युवाहरु वंगलादेशको फुटवल ग्राउण्डमा दौडेको देख्दा म अत्यन्त भावुक भएँ । राष्ट्रप्रेमले भक्कानिएँ । त्यो दिनको घटनाले मेरो मनमा नेपाल एकिकरण कसरी गरियो होला भन्ने जिज्ञाशाको आँधी उठायो ।
वास्तवमा पृथ्वी नारायण शाहको जन्म नै नेपाल एकिकरणका लागि भएको थियो । उनी गोरखामा जन्मदा हिमवत्खण्ड नेपाल विभिन्न स्वार्थमा टुक्रिएको थियो । टुक्रे राज्यहरु साँध सिमानाका लागि सँधै झगडा गर्दथे, लडाई गर्दथे मारकाट गर्दथे । बलियोले जिद्थ्यो, सिमान साथ्र्यो । बलियो निर्वल भएपछि फरि लडथे र फेरि सिमाना बदल्थे । राज्यहरुको दैनिकी नै लडाई झगडामा वित्ने गर्दथ्यो ।
त्यसवेला विश्वभर साम्राज्यवादको तेजिलो लहर तिब्र गतिमा बढेको थियो । ईष्ट ईण्डिया कम्पनी भारत पसेर ससाना रजबाडाहरुलाई आफनो अधिनमा पार्दै गईरहेको थियो । अग्रेजले कुनै पनि वेला नेपालमाथि आक्रमण गर्न सक्दथ्यो । तर, अग्रेजको संभावित खतरा अगाडि नै पृथ्वीले नेपाल एकिकरण गर्ने संकल्प गरे । टुक्रा टुक्रा भएको नेपाललाई एकिकरण गर्छु भनेर हिड्दा पृथ्वी केवल बीस वर्षका थिए । अल्लारे उमेर । तिनताका पनि नेपालको भौगोलिक संरचना यस्तै थियो । उकाली ओराली, नदिनाला, वनजंगल । विकट भौगोलिक संरचनामा टुक्रिन सजिलो थियो तर नेपालको एकिकरण गर्नु चानचुने कुरा थिएन ।
एकिकरणको जिज्ञाशाले मलाई ईतिहास पढन र बुझन हतारो भयो । इतिहासका कितावहरु खोजी खोजी पढेँ । ईतिहास बुझदै, खोतल्दै र बुझदै गएँ । ईतिहासका कितावहरुको अतिरिक्त वेदपुराणहरु अध्ययन गरेँ । प्राचीन ग्रन्थहरुमा नेपाल खोजेँ । पुरातत्वका प्रमाणहरुमा निकै घोत्लिएँ । पुस्तक र पुरातत्वको अध्ययनले नेपाल एक प्राचीन देश हो भन्ने मेरो बुझाईलाई झन खँदिलो बनायो ।
म लेखनको सत्यापन गर्न स्थलगत भ्रमणमा गोरखा पुगेँ । त्यो खोजी अनौठो रहयो, गोरखाका प्रत्येक पाखा र कान्लामा पृथ्वी कुँदेको जस्तो लाग्यो । कतै बसेर पृथ्वी एकिकरणका योजना बनाउदै छन् जस्तो लाग्यो । म आँफै सत्रौ शताब्दीमा झरे जस्तो, स्पप्निल आनन्द ।
पृथ्वीनारायण शाहको अठोट, त्याग र परिश्रम पढेर म छक्क परेँ । बीस बर्षको उमेरमा राजा भएपछि उनले राजसी सुखसयल त्याग मात्र गरेनन् नेपाल एकिकरणको यज्ञमा रगत पसिना र उमेर हवन गरिरहे । त्यसवेला नेपालको सिमाना कोरिएको थिएन । उनी हिमवत्खण्डको नेपालको सिमाना खोज्दै दौडए, एकतिस एकतिस वर्षसम्म ।
सानो र गरिव गोरखाबाट शुरु भएको एकिकरणको प्रयासले नेपालको सिमाना पूर्वमा तिष्टा नदिसम्म पुर्यायो । पश्चिमतिर बढने वेलामा दरवारमा भाइहरुले राज्य टुक्रयाउने प्रपञ्च गरे । पृथ्वीनारायण शाह अत्यन्त मर्माहत भए। पश्चिम कुमाऊपरसम्म राज्य बढाउने उनको योजनाले साकार रुप लिन पाएन । विरामी परे । पृथ्वीनारायण शाह हामी सबैको मनमन्दिरमा रहेकाले मलाई उपन्यासमा उनी स्वर्गे भए भनेर लेख्न पनि मन लागेन । उनी सदा चिरन्जिवी छन् र भईरहनेछन्।
नेपाल एकिकरण र पृथ्वीनारायण शाह एकअर्काका पर्याय हुन् । पृथ्वीको अथक परिश्रम र वलिदानले नेपाल निर्माण भयो । पृथ्वीले वनाई दिएको देश हाम्रो मातृभूमि बन्यो । हामी नेपाल मेरो मातृभूमि भनेर गर्वसाथ चिनाउने र रमाउने गर्दछौ । नेपालको राष्ट्रिय झण्डा बोकेर बाँचेकाछौ । तर उनै पृथ्वीका बारेमा हामीलाई कम ज्ञान छ ।
अहिले विश्व विद्यालयहरुमा ईतिहास पढने विद्याथीहरु छैनन् भन्ने समाचार आएकोछ । राष्ट्रप्रेमले ओतपोत भएका नेपाली युवाहरुलाई देशको ईतिहास कसरी बुझाउने ? युवाहरुलाई वीररस र दुःखरस मिसिएका नेपाल एकिकरणका यथार्थ र पृथ्वीनारायण शाहको जीवन, त्याग र योगदानका कथाहरु पढाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । मेरो मनको लक्ष्य ।
ईतिहास पढदा पढदै लेख्न मन लाग्यो । अक्षर र शब्दहरु जोडदै जोडिदै गए, कथाहरु बने । कथाहरु जोडिदै उपन्यास बन्यो । उपन्यासले सिमाना खोज्दै नाम धारण गर्यो । पुस्तकको रुप लियो । विधिवतरुपमा आज जन्मियो, सिमाना खोज्दै । अब सिमाना खोज्दै उपन्यास यहाँहरुको हातमा छ । उपन्यास पढदा उपन्यासले पाठकहरुलाई थोरै सन्तुष्टि थोरै नवीन सूचना दिन मात्र सक्यो भने पनि म अत्यन्त खुसी हुनेछु । यहाँहरुको फिडव्याक (अनुपोषण) मिडिया वा सोसल मिडियामा राखिदिनु भएमा म आभारी हुनेथिएँ ।
आज यस विमोचन कार्यमा सरिक हुनु हुने लोकसेवा आयोगका अध्यक्ष, सूचना आयोगका प्रमुख आयुक्त, निर्वाचन आयोगका पूर्व आयुक्त निलकण्ठ उप्रेती, भूमिका लेख्नु हुने आदरणीय पुरुषोतम दाहाल, टिप्पणीकार साहित्यकार प्रतीक ढकाल, ब्यूरो ८१ परिवार, प्रकाशकद्वय, एवं उपस्थित सम्पूर्ण महानुभावहरुप्रति म हार्दिक आभार प्रकट गर्दै सवैमा धन्यवाद ज्ञापन गर्दछु । रिपोर्टर्स कल्ब तथा ऋषि धमला लगायत सवैलाई धन्यवाद दिन चाहान्छु ।