arrow

महर्षि वेदव्यासबारे पढाइ शुरु

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
byas.png

दमौली ।  तनहुँको व्यास नगरपालिकामा ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ ।  चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासबारे जानकारी दिने उद्देश्यले पढाइ शुरु गरिएको हो । 

सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी दिने उद्देश्यले उक्त पुस्तकको पढाइ शुरु गरिएको  नगरपालिकी शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख अम्बिका आचार्यले जानकारी दिइन् । 

गत साउनमा बसेको व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका विद्यालयमा व्यासको बारेमा जानकारी दिने पाठ्यक्रम लागू गर्ने निर्णयबमोजिम अतिरिक्त पाठ्यक्रमको रुपमा यससम्बन्धी पढाइ शुरु भएको हो । 
“यस वर्ष कक्षा ११ मा अतिरिक्त पाठ्यक्रमको रुपमा नगरपालिकाका विद्यालयमा महर्षि वेदव्यासको पढाइ शुरु भएको छ, अर्को वर्ष कक्षा १२ मा पनि यसलाई निरन्तरता दिन्छौँ ” उनले भनिन्, “व्यास नगरपालिका व्यासको जन्मभूमि तथा पराशरको तपोभूमि भएकाले यहाँका विद्यार्थीले महर्षि वेदव्यास र पराशर ऋषिका बारेमा जानकारी राखेर देश विदेशमा व्याख्या गर्ने सक्ने बनाउने उद्देश्य राखेका छौँ ।”
व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमि यस ठाउँको महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम निर्माण गरिएको उनले बताइन् ।   

स्थानीय पाठ्यक्रमअनुसार आधारभूत तहमा समेत अतिरिक्त अध्ययनको रुपमा व्यास पराशरको बारेमा अध्ययन शुरु गर्ने योजना छ । 

व्यासका अध्येता काशीनाथ न्यौपानेद्वारा लिखित ‘महर्षि वेदव्यास’ पुस्तकमा व्यासको जन्मभूमि, व्यासको जन्मको विषय, पराशर ऋषिको कर्मस्थल, सत्यवती, दशराज माझीलगायत पात्रहरुको बारेमा उल्लेख गरिएको छ । 

विद्यार्थीले उक्त पुस्तक पढेपछि व्यास क्षेत्र र पराशरको बारेमा बुझाउनसक्ने विश्वास छ । नगरपालिकाभित्र कक्षा ११ सञ्चालन भएका चौध विद्यालयमा पाठ्यक्रम निर्माण गरेर यस विषयको पढाइ शुरु भएको व्यास नगरपालिकाका स्रोतव्यक्ति नारायणदत्त पौडेलले बताए । 

शैक्षिक सत्र २०७५ बाट कक्षा ११ मा व्याससम्बन्धी पढाइ थप विषयको रुपमा समावेश छ । विद्यालयले सातामा तीन कक्षा ‘महर्षि वेदव्यास’ को पुस्तक अध्यापन गराउने व्यवस्था मिलाएका छन् । कक्षा ११ का लागि तयार गरिएको उक्त पाठ्यपुस्तक विद्यालयमा हुने आन्तरिक परीक्षामा ५० अङ्कको रहने र कक्षा १२ का लागि छुट्टै नयाँ पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ । 

अतिरिक्त विषयको रुपमा अध्ययन शुरु गरिएको उक्त विषयले विद्यार्थीलाई व्यासको बारेमा जानकारी प्रदान गर्नुका साथै व्याख्या गर्न सहयोग पुग्ने दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । 

श्रीकृष्ण द्वैपायनको २८ औं अवतारको रुपमा महर्षि वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको धार्मिक किंवदन्ती छ । धार्मिक किंवदन्तीलाई विभिन्न शास्त्रीय प्रमाणले समेत प्रमाणित गरेको व्यासका अध्येता काशीनाथ न्यौपाने बताउँछन् । उनका अनुसार महर्षि वेदव्यासमात्रै नभएर व्यासका पिता पराशर र उनकी माता सत्यवतीको समेत दमौलीमा कर्मस्थल भएको धार्मिक व्याख्या छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ