arrow

केसीको वक्तव्यले समझदारी होईन द्वन्द्व चर्काउँछ : शिक्षामन्त्री पोखरेल

‘चिकित्सा शिक्षा विधेयक पारित हुनु सर्वाधिक ठूलो उपलब्धि’

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
girirajmani-pokhrel.jpg

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विद्येयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले विद्येयकले सबै विषयलाई समेटेको दाबी गरे । उनले भने,‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनशनको बाटो किन पक्रिनुभयो ? अचम्म लागेको छ । म अनुरोध गर्न चाहन्छु जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनशन फिर्ता लिईदिनुपर्छ ।’

उनले डाक्टर केसीले अनशन फिर्ता लिएपछि नै केसीको गरिमा बढ्ने दाबी गरे । मन्त्री पोखरेलले भने,‘यो विद्येयक उहाँको पनि योगदानको कारणले पास भएको छ । र, अब अर्को शैक्षिक सत्रलाई हेर्दाखेरि विद्येयक पास गर्न ढिला भएको छ, म त अघिल्लो वर्ष चैत्रमा आएर यो लिएर आएको थिएँ । त्यतिखेर एउटा राम्रो सम्वाद हुन सकेन ।’

त्यतिवेला पर्याप्त सम्वाद हुन नसक्दा अविश्वासजस्तो सिर्जना भएपनि अन्ततः सरकारले सहमति गरेको मन्त्री पोखरेलले सुनाए । उनले भने,‘त्यो सहमतिलाई टेकेर यो बनेको छ । यसपटक संसदमा पनि केही नयाँ विशेषता देखापरेको छ । यो पनि म तपाईहरुलाई भन्न चाहन्छु । माननीय सदस्यहरुले सरकारले गरेको सहमतिको मूल पक्षलाई ध्यान दिँदै आफ्नो अन्य नयाँ विषयहरु पनि संसदमा राख्नुभयो । र, समितिले अंगिकार गर्यो ।’

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विद्येयक पारितलाई सर्वाधिक ठूलो उपलब्धिको रुपमा चित्रण गरे । उनले थपे,‘यो सर्वाधिक ठूलो उपलब्धिलाई अब राष्ट्रिय सभाबाट पारित गरेर चाँडो ऐन बनाएर चाँडो कार्यान्वयन गर्नुपर्यो । अहिले हामी माघमा छौं । फागुण, चैत्र र बैशाखभित्र हामीले यी सबै आयोग, निर्देशानालयहरु गठन गरेर अनि साझा परीक्षा प्रणाली गर्नेगरि अघि बढ्नुपर्नेछ । जति विलम्ब हुन्छ, त्यति नै यो सुधारको प्रक्रियालाई असर पर्छ । त्यसकारण यो पक्षलाई पनि ध्यान दिन म सबैलाई आग्रह गर्दछु ।’
मन्त्री पोखरेलले विद्येयक संसदबाट विधि र प्रक्रियाको आधारमा पारित भैसकेकोले यसबारेमा अन्य ढंगले यसको विरोध गर्न नहुने धारणा राखे । उनले थपे,‘यसलाई अब अन्य ढंगले विरोध गर्नुभन्दा स्वीकार गर्दै प्रयोगमा जाऔं । अभ्यासमा जाऔं । कमिकमजोरीहरु भएछन् भनेदेखि भोलि सच्याउनलाई फेरि त्यो ढंगको आवश्यकत्ता पर्न सक्दछ । अहिले चाहीँ यी उपलब्धिलाई रक्षा गर्नेगरि अगाढि बढ्न अनुरोध गर्दछु ।’

उनले आफूहरु निर्वाचित भएर आएको र यो प्रजातान्त्रिक सरकार भएको सुनाउँदै सबैले कानुनको शासनलाई मान्नुपर्ने बताए । उनले भने,‘विगतमा जसले मनशायपत्र दिएको भएपनि, सरकारले त दिईसक्यो । त्यसको संस्थागत जवाफदेहिता हुन्छ । त्यसको निरन्तरता हुन्छ । पहिले बहस काठमाडौंमा नदिउँ भन्ने थियो । ठीक छ, हामीले मान्यौं । त्यो कुरा ऐनमा व्यवस्था गर्यौं । काठमाडौंबाहिर नदिने भन्ने त थिएन् । त्यसले रुल अफ ल अन्तर्गत हामीले एउटा प्रजातान्त्रिक सरकारले यस्ता विषयलाई एकपटक त्यसको व्यवस्थापन गर्नुपर्छ भन्ने कोणबाट हेरिदिनुहोस् । डाक्टर गोविन्द केसी प्रधानमन्त्री भएको भए या शिक्षामन्त्री भएको भएपनि उहाँले पनि यसको उत्तर दिनुपर्दथ्यो–म विगतको कुरा मान्दिन् भनेर कुनै सरकार अगाडि बढ्न सक्दैन् । सही, गलत जेसुकै होस् ।’

उनले डाक्टर केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलहरु उपस्थित् भएर सहमति गर्दा सम्झौतामा लेखिएका कुराहरु संसदको बाटो भएर टुँग्याईन्छ भनेर त्यतिखेरै कुरा भएको पनि सुनाए । उनले भने,‘तपाईले कागजमा जे लेख्नुभएको छ, त्यही विद्येयक बन्ने हो भने त किन विद्येयक बनाउनुपर्यो र ? विद्येयक बनाउने आफ्ना विधि र प्रक्रिया छन् । कानुन मन्त्रालयको त्यसमा भूमिका छ ।’

उनले नेपालकै ईतिहासमा अहिलेसम्म गरिएका सहमति र सम्झौताको मूल मर्मलाई पक्रिएर यो विद्येयक बनेको दाबी गरे । उनले थपे,‘चिकित्सा शिक्षा र स्वास्थ्य शिक्षामा सुधार र परिवर्तन चाहनेहरु सबैले यसको स्वामित्व लिनुपर्छ । अब कार्यान्वयनमा यसलाई सबैले ध्यान दिनुपर्छ । चाँडोभन्दा चाँडो आयोग गठन गरेर सुधारलाई जनताले व्यवहारमा देख्नेगरि अगाडि बढाउनुपर्छ ।’
आफूले डाक्टर केसीलाई सम्मान गर्ने सुनाउँदै मन्त्री पोखरेलले भने,‘चिकित्सा शिक्षाको सुधारको लागि उहाँले जसरी आवाज उठानुभयो त्यसलाई धेरैले साथ दियौं । तपाई हामी सबैले साथ दियौं । तर, अहिले आईपुग्दा उहाँ अरु राजनीतिक मुद्दापनि लिएर आउनुभएको छ । अचम्म लाग्यो–किन यो ढंगले पेश हुनुभयो ?। डाक्टर केसी अहिलेपनि अनशनमा हुनुहुन्छ। उहाँका वक्तव्यहरु सबै उहाँले नै तयार गर्न सक्नुहुन्छ जस्तो लाग्दैन् । जे÷जस्ता भाषाहरु प्रयोग भैरहेका छन् । त्यसले समझदारी बनाउँदैन् । बरु, द्वन्द्व चर्काउने काम गर्छ ।’

लामो समयपछि ५ वर्षको लागि एउटा सरकार आएको सुनाउँदै उनले वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताए । उनले भने,‘आएकै बेलादेखि तपाई विरोध, तपाई चाहीँ अनशन, अनि त्यसपछि त्यसभित्रपनि अरुले खेल्नुपर्ने, यो स्थितिबाट मुक्त हुनुपर्छ । डाक्टर केसी हाम्रो पनि मान्छे हो । साझा मान्छे हो भनेर बुझ्नुपर्छ । उहाँले शान्ति प्रक्रियाको सन्दर्भमा कुरा उठाउनुभयो । नेपालले आफ्नै ढंगले शान्ति प्रक्रियालाई हल गर्दै यो ठाउँमा आएको छ । अलिकति केही कामहरु बाँकी छन् । त्यो कामपनि सकारात्मक ढंगले अघि बढिरहेका छन् ।’

आफूले सदनबाट बाहिर निस्किँदा पहिलेपनि शिक्षासँग जोडिएका कुराको समस्या समाधानको लागि वार्ता तथा सम्वादको लागि अझै तयार रहेको भनेर बोलिसकेको पनि सुनाए । यद्धपी डाक्टर केसीले उठाएका अन्य मुद्दाहरु शिक्षासँग सम्बन्धित नभएको उनको जिकिर छ । उनले भने,‘उहाँका अन्य मुद्दाहरु गृह–प्रशासनसँग सम्बन्धित छन् । यी कतिपय विषयहरु जसरी आएका छन् । हामीलाई पनि चिन्ता लागेको छ । वास्तवमा यस्ता खालका विषयहरु लिएर आएर उहाँले आफ्नो सम्मान घटाउने नै काम गर्नुभयो ।’

संसदबाट विद्येयक पास गर्ने बेलामा डाक्टर केसीले गरेको ध्यान आकृष्टबाट आफूहरुको पर्याप्त ध्यान आकृष्ट भएको पनि उनले जिकिर गरे । उनले भने,‘अब त्यो पक्षलाई ध्यान दिएर अहिले उहाँ स्वयमले पनि अनशन फिर्ता लिएर एउटा वातावरण नयाँ बनाईदिनुपर्यो । सरकारतिर मात्रै तेर्साएर हुँदैन् । उहाँको जीवनरक्षा गर्ने काम उहाँका वरिपरिका मान्छेहरुको पनि जिम्मेवारी हो । उहाँ स्वयमको पनि हो । उहाँ डाक्टर हो । प्राध्यापक हो । सबै कोणबाट उहाँहरुले पनि जवाफ दिनुपर्छ भन्ने लाग्छ ।’
डाक्टर केसी ईलाममा अनशनरत हुँदा स्वास्थ्य बिग्रिएकोले राजनीतिक नेताहरुको अग्रसरतामा तुरुन्तै काठमाडौंमा ल्याएर आफूहरुले उपचार गराएको मन्त्री पोखरेलले बताए । उनले भने,‘अहिले पनि त्यस्ता कतिपय सरकारले गर्नुपर्ने काम वार्ता तथा सम्वादको लागि हामी पछि पर्नेछैनौं भन्नेपनि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु।’

डाक्टर केसीले त प्रधानमन्त्रीको राजिनामा माग्नुभएको छ ? यसलाई तपाईहरुले कसरी लिनुभएको छ र डाक्टर केसीको अनशन स्थगन् कहिले हुन्छ ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अनशनबारे त्यो डाक्टर केसीलाई सोध्नुपर्छ । मैले त्यसको जवाफ दिन सक्दिन् । तपाईहरु सबैले आफ्नो विवेक प्रयोग गर्नु न । आजसम्म विद्येयक नै पास भएको थिएन । सम्झौता भएको थियो । उद्यारो कुरा भएका थिए । काम जनप्रतिनिधि संस्थाभित्र गैसकेपछि यो संस्थाले गरेको निर्णयलाई मानमर्दन गर्न अर्को ढंगले विषय उठान गर्न मिल्छ ?’

उनले अहिलेपनि डाक्टर केसीलाई सल्लाह दिनेहरुलाई अलिक राम्रो बुद्धि, राम्रो शतप्रयास र राम्रा सुझाव दिन अनुरोध पनि गरे । मन्त्री पोखरेलले डा.केसीको स्वास्थ्यबारे सरकार चिन्तित रहेको उल्लेख गरे । ०६९ सालदेखि चिकित्सा शिक्षा क्षेत्रमा आवाजहरु उठ्दै आएकोमा सक्रमणकालमा विकृति विसंगति पनि धेरै खालका आएको तर, त्यसलाई अहिलेको विधेयकले समेट्ने उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ