१७ वर्ष मजदूरी गरेका गरुङ बने सफल व्यवसायी

उमा केसी, प्रकाशित मिति : २०७५ माघ २५ शुक्रबार

रोल्पा । भारतका विभिन्न शहरमा १७ वर्ष मजदूरी गरेका लुङ्ग्री गाउँपालिका वडाचौरका चेतमान गुरुङले नौ वर्ष खाडीमा बिताउनुभयो । साउदी, कतार र दुबइमा कडा परिश्रम गर्नुभएका गुरुङलाई त्यहाँको कमाइले रोजीरोटी दिन सकेन ।

घरको कमजोर आर्थिक अवस्थाका कारण १३ वर्षको उमेरमा उहाँ घर छाडी परिवारको पेट पाल्न विदेशिन बाध्य हुनुभएको थियो । जीवनका ऊर्जाशील २६ वर्ष देश बाहिर बिताउनुभएका उहाँले विसं २०६९ पछि भने मातृभूमिमा बसेर केही इलम गर्ने सोच बनाउनुभयो ।

कमाइ गर्न लामो समय देश बाहिर बस्नु भएपनि उहाँसँग स्वदेशमा बसेर इलम गर्न पर्याप्त पैसा थिएन । सुलीचौर बजार छेउ खोलामा ब्लक उद्योग स्थापना गरेर काम शुरु गर्नु भएका उहाँलाई त्यस उद्योगले समेत सफलता दिएन ।

वर्षात्को भेलसँगै उद्योग पनि बगेपछि सबै लगानी डुबाउनुभयो । चिन्तित अवस्थामा रहनुभएका उहाँले आफूसँग बचेको रु २० हजार लगानी गरेर फ्रेस हाउस स्थापना गर्ने सोच बनाउनुभयो ।

ब्रोइलर कुखुरा खरीद गरेर काट्दै मासु बिक्री गर्न थाल्नुभयो । पेशाप्रतिको निरन्तर लगाब र मिहेनतले ‘फ्रेस हाउस’ राम्रै चल्दै गयो । दिनरात नभनेर पेशाप्रति दत्तचित्त भएर लाग्नुभयो । फलतः छोटै समयमा राम्रो आम्दानी हुँदै गयो ।

अहिले उहाँले कुखुराको चल्ला उत्पादन, कुखुरापालन, कुखुराको दाना र कुखुरापालनका लागि चाहिने सामग्रीको पसल राख्नुभएको छ । तीन कामदारलाई समेत रोजगारी दिनुभएका उहाँसँग आफ्नै गाडी छ ।

कुखुरा, चल्ला र दाना सप्लाइ गर्न आफ्नै गाडी प्रयोग गर्नुहुन्छ । वार्षिक रु १२ लाख बढी आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “लामो समय विदेश बसेर कुनै प्रगति हुन सकेन, स्वदेशमा सानो लगानीबाट शुरु गरेको व्यवसायबाट अहिले राम्रै प्रतिफल पाइरहेको छु”, गुरुङले भन्नुभयो ।

घरको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने चाहना हुँदाहँुदै पढ्न नपाउनुएका उहाँले छोराछोरीलाई भने सकेजति पढाउने सोचमा हुनुहुन्छ । चार छोराछोरी सुलीचौरमा रहेको निजी तथा सरकारी विद्यालयमा पढिरहेका छन् । ‘‘छोराछोरीको पढाइमा सके जति लगानी गर्ने सोचाइ छ’’, गुरुङले भन्नुभयो ।

विदेशी भूमिमा गर्ने मेहनत स्वदेशमा गरे अवश्य प्रतिफल पाइने गुरुङको भोगाइ छ । पैसा कमाउन विदेश जानु नपर्ने गुरुङको भनाइ छ । विदेशमा जस्तै मिहेनत नेपालमा गर्नसके यहाँको भूमिमा सुन फलाउन सकिन्छ गुरुङले भन्नुभयो ।

लामो समय विदेशी भूमिमा रगत पसिना बगाएकामा गुरुङलाई पछुतो लागेको छ । विदेश नगएर नेपालमै व्यवसाय शुरु गरेको भए यतिबेलासम्म धेरै प्रगति हुने रहेछ गुरुङले भन्नुभयो । “कुनै पनि पेशा सानो ठूलो हँुदैन पेशालाई इज्जत दिने मान्छेले हो”, गुरुङले भन्नुभयो ।

शुरुमा स्थापना गरेको फ्रेस हाउस उहाँले अहिले अर्कैलाई हस्तान्तरण गरिसक्नुभएको छ । गाउँकै बेरोजगार एक आफन्तलाई फ्रेस हाउस हस्तान्तरतण गरेको छु गुरुङले भन्नुभयो । “पेशामा विविधता नहँुदासम्म आम्दानी वृद्धि गर्न सकिँदैन, त्यसकारण मैले कुखुराको चल्ला उत्पादन, कुकुरापालन, कुखुराको दाना सप्लाइको काम गरिरहेको छु”, गुरुङले भन्नुभयो ।

स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेशिने युवाका लागि गुरुङ अनुकरणीय पात्र बन्नुभएको छ । विदेशमा बगाउने रगत पसिना स्वदेशी भूमिमा बगाए छोटै समयमा देशले समृद्धिको यात्रा तय गर्न सक्थ्यो । दिनहुँ १९ रोल्पाली युवा रोजगारीका लागि विदेश जान राहदानी बनाउने गरेको जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा उल्लेख छ ।

हालसम्म ४५ हजार बढी रोल्पाली युवा युवती रोजगारीका लागि भन्दै विदेशी भूमिमा जान बाध्य रहेको बताइन्छ । सरकारले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै परिणाममुखी बनाउन सके यस्ता युवा युवती स्वदेशमै रगत पसिना खर्चन तयार हुने अपेक्षा गरिएको छ । रासस

नयाँ