- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजनीतिको सागर महाभारत हो । महाभारत काव्य मात्र नभएर दैवीगुण युक्त वीर वीराङ्गनाहरूको गौरवशाली आख्यान हो । महाभारतका प्रत्येक श्लोकले राजनैतिक अर्थ एवं प्रभाव पार्ने सामथ्र्य राखेका छन् । महाभारतका प्रत्येक प्रसङ्गमा काव्यको सिर्जना हुन सक्दछ । महाभारतलाई उपजीव्य बनाएर हजारौँ सिर्जना एवं नीतिको प्रादुर्भाव भएको छ । सोही नीति मध्ये विदुरनीति पनि एक हो ।
महर्षि वेदव्यासबाट प्रणीत महाभारत अठार भागमा विभक्त छ । जसलाई पर्व भनेर नामाकरण गरिएको छ । महाभारतको उद्योगपर्व अन्तर्गत यो विदुरनीति रहेको छ । पाण्डवपक्षको बाह्र वर्षको वनबास र एकवर्षको गुप्तवास व्यतीत गरेपछि आफ्ना कुलकुटुम्ब र बन्धुबान्धवहरूसँग युद्ध गरेर राज्य पाउनु भन्दा आपसी मेलमिलापबाट नै केही भूमि अंश लिँदा उपयुक्त हृुने बुझेर युधिष्ठिरले राजपरम्परागत तरिकाले नै अंशको दावा गरेका थिए । द्रुपद प्रदेशका महाराज द्रुपदका राजगुरु अनन्तवर्णलाई दूत बनाएर पठाइएको थियो । महाराज धृतराष्ट्रद्वारा अध्यक्षता गरिएको उक्त राजसभामा युधिष्ठिरको मागसहितको सन्देशमाथि व्यापक छलफल भयो । एक आपसमा गरेको सही छलफलले बल्ल निष्कर्ष (तत्व) मा पु¥याउँछ।
राजसभाले युद्धभन्दा मेलमिलापको बाटो अवलम्बन गर्नुपर्ने कुरा निर्णय ग¥यो । सञ्जयलाई पाण्डवतर्फ मेलमिलापको बाटो अवलम्बन गरौँ भन्ने सन्देश सहित पठाएपछि राजा धृतराष्ट्र व्याकुल बनेका थिए । सञ्जय आएपछि समयाभावले गर्दा धृतराष्ट्रले भेट्न सकेनन् । आफ्नो विस्तारामा सुतेर सञ्जयले कस्तो खवर ल्याए होलान् ? अब पछिको राजनीति कस्तो हुने हो ? भन्ने आशङ्का,उपशङ्का खेलाउन थाले । उनी निदाउन सकेनन् । आफ्नो अशान्त मनलाई शान्त बनाउन सक्ने काम विदुरले बाहेक कसैले गर्न सक्दैनन् भन्ने निक्र्योल गरी राती नै विदुर बोलाइएका थिए । राजनैतिक कर्मले गर्दा व्याकुल भएका धृतराष्ट्रलाई विदुरले विभिन्न किसिमका राजनैतिक, धार्मिक उपदेश गरेर मनलाई शान्त बनाइदिएका थिए । यही प्रसङ्ग नै कालान्तरमा विदुरनीतिको नामले प्रसिद्ध भएको छ ।
विदुर आफैमा धृतराष्ट्र सरकारको महामन्त्री पनि भएको, आफ्नो विद्वताको कारणले गर्दा राजनैतिक ज्ञान दिने सामथ्र्य राखेका छन् । महाभारतका निष्पक्ष पात्र विदुर हुन् । जसले महाभारतका युद्धमा कतैतर्फ नलागी तीर्थाटनमा निस्किएका थिए । विदुरका राजनीति सम्बन्धि धेरै उद्गारहरू छन् । यहाँ विदुरका केही राजनैतिक उद्गारहरू उल्लेख गरिएको छ । विदुरनीतिमा धृतराष्ट्र विदुर संवाद, अध्यात्मज्ञान, उत्तमकर्म, एकता, कर्तव्य÷अकर्तव्य, कुलीनता, गृहपति कर्तव्य, जितेन्द्रियता, दुःख–सुख, निन्दनीय कर्म, पण्डित, बुद्धिमान्, मानिस, मित्रता, मुर्ख,राजाका कर्तव्य र गुण, श्रेष्ठ गुण, प्रचलित नीति लगायतका विषयमा विदुरले प्रवचन गरेका छन् । विदुरनीति पूर्ण व्यावहारिक भएको कुरा बुझ्न सकिन्छ । यहाँ राजकीय शासकका कर्म कर्तव्यहरूलाई मात्र सार रूपमा विवेचना गरिएको छ ।
राजकर्तव्य
प्वालभित्र बसिरहने जीवलाई सर्पले जसरी खाइदिन्छ त्यसरी नै पृथ्वीले पनि शत्रुहरूको सामना नगर्ने राजालाई र परदेश भ्रमण नगर्ने ब्रह्मचारी, सन्यासीलाई पनि पृथ्वीले मन पराउन्नन् । यस किसिमका मानिसहरूको पतन यथाशीघ्र हुन्छ । विदुरले राजालाई सदैव क्रियाशील रहन निर्देश गरेका छन् । सदैव चनाखो र क्रियाशील रहनु राजाको विशेष गुण हो । एकदिनको बेहोसी तथा निष्क्रियताले पूरा राज्यसुख गुम्न सक्दछ । राज्यको अखण्डता गुम्छ तसर्थ राजा वा शासक सदैव क्रियाशील रहनु पर्दछ ।
शासकको प्रगति
मानिसहरूमा आफूप्रति विश्वास पैदा गराउन सक्ने अपराध प्रमाणित भएको व्यक्तिलाई मात्र दण्ड सजाय गर्ने, सजाय गर्दा पनि न्यूनाधिक मात्रा र क्षमाको उपयोग जान्ने यी गुणहरूले युक्त राजालाई सदाकाल सम्पूर्ण ऐश्वर्य प्राप्त हुन्छ । समाजमा रहेका जो सुकैलाई पनि आफ्नो सामथ्र्यले विश्वास जगाउने सामथ्र्य राख्नुपर्दछ । अन्य जोसुकैलाई पनि आफ्नो बोलिबचन ,विद्वत्ता ,कर्म ,सामथ्र्यले विश्वासमा ल्याउन सक्नुपर्दछ । राजसभा ,भारदारी सभा वा न्यायालयको अपराधी तोकेको मान्छेलाई मात्र दण्ड सजाय गर्ने व्यवस्था गर्नुपर्दछ । शासकले आफ्नै बलले बुद्धिले दण्डित गराउने व्यवस्थाले मानिसहरूमा राजाप्रति नराम्रो भावना विकास हुन्छ । कसैलाई सजाय दिँदा पनि गल्तीको प्रकृति अनुरूप धेरै थोरै तथा क्षमाको उपयोग गर्नुपर्दछ । जसले गर्दा राजाको कीर्ति बढ्दछ । यस्ता कुरा व्यवहारमा आएपछि बल्ल राजाले प्रगति गर्न सक्दछ ।
शासकलाई राज्यको आयस्रोत, अवस्था, लाभ, हानी, सेवा, परिवेश आदिको यथार्थ थाहा हुँदैन त्यो राज्य संचालनका लागि अयोग्य हुन्छ । राजाले राज्यको लाभ, हानि, स्थिति, कोष, ढुकुटी आदिको यथार्थ जानकारी राख्दै धर्म र अर्थलाई राम्ररी बुझ्न खोज्दछ । उसले राज्य शासन टिकाउँछ । आफ्नो राज्यको स्रोत अवस्था बारे पूर्ण जानकार रहनु राजाको विशिष्ट गुण हो । राज्यको प्रत्येक गङ्गको बारेमा जानकारी राख्ने सामथ्र्य राजामा रहनुपर्दछ । राज्यका सम्पूर्ण निकायको कर्तव्य र अधिकार बारे शासक वा राजा बुझेको हुनुपर्दछ । अनि बल्ल राजाले प्रगति गर्न सक्दछन् । राज्य र राजा अकञ्टक रहन्छन् । राजा÷शासक फूल फूल्ने फल नलाग्ने वृक्षजस्तो हुनुपर्दछ । फलले लटरम्म भएता पनि कोही पनि रुखमा चढ्न नसकुन् । काँचो फल भए पनि पाकेको फल झैँ गरी आफुलाई प्रस्तुत गर्ने राजा शक्तिमान् हुन्छन् ।
जनताले राजा वा शासकलाई हेरेर चित्त बुझाउनुपर्छ । राजाको सुन्दर कर्मको बारेमा जानुपर्छ । अथवा जनताका बीचमा राजाको लोकप्रियता रहनुपर्दछ । राजाले केही नगरे पनि राजाप्रतिको अनुरागलाई अक्षुण्ण राख्न उपाय रच्नुपर्दछ । जनताहरूको पहुँच बाहिर आफू भएको भान पार्दै शक्ति सम्पन्न जस्तो गरेर प्रस्तुत हुनुपर्दछ । यस्ता राजा वा शासकहरूले राज्य भोग गर्दछन् । राजाले आँखाले हेरेर, बोलेर, काम गरिदिएर, माया गरेर जनतालाई खुशी बनाउनु पर्दछ । विदुरले राजनैतिक षड्गुणहरूको बारेमा पनि बताएका छन् । जसरी वेद नपढेको ब्राह्मणको श्राद्ध गराउने अधिकार हुँदैन त्यसरी नै राजनैतिक षड्गुणहरूलाई नबुझी गोपनीय विषय थाहा पाउने अधिकार पनि हुँदैन । छ वटा गुणहरू सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र समाश्रय हुन् । राज्यको शासन सत्ता सम्हाल्ने शासक वा राजालाई ६ वटा राजनैतिक गुणहरूको अवलम्बन गर्नै पर्ने हुन्छ । ६ वटा गुणहरूबारे जानकार मात्र गोपनीय सल्लाहको लागि योग्य हुन्छ ।
विदुर नीतिका सम्पूर्ण पक्षहरूलाई यहाँ समेट्न नसकिए तापनि विदुरको व्यक्त गरेका उद्गारहरू जीवन्त छन् । विदुरले राजा धृतराष्ट्रलाई धर्म र राजनीतिका जुन शाश्वत मूल्यहरूबारे उपदेश दिएका थिए । ती उपदेशहरूको महत्व अहिले पनि घटेको छैन । मानव जीवनमा सुख प्राप्त गर्न जे जति अनैतिक शत्रुहरूद्वारा आक्रमण भोगिन्छ त्यस्ता आक्रमणबाट बचेर समाजले सुख र चैन हासिल गर्न सक्दैन । तबसम्म मानवले धर्मनीति, राजनीति र यिनका आधारभूत सिद्धान्त बुझेको हुँदैन । विदुरले दिएका नीति,वचन र उपदेश मानवजीवनको निम्ति एउटा प्रकाश स्तम्भ हो । जसद्वारा मानवता सधैँभरि आलोकित भइरहेको छ । विदुरबाट धृतराष्ट्रलाई उपदेश गरिएका धर्म,अर्थ,काम र मोक्षका कुराहरूले समाजलाई सही मार्गमा लाग्न प्रेरणा प्रदान गरेको छ । धर्म,न्याय,कर्म र निष्ठाले परिपूर्ण भएका विदुरका उपदेशहरूले पथप्रदर्शक भई सदैव लोककल्याणकारी बनेर मानव जीवनलाई सार्थक पार्न उन्मुख भएका छन् । विदुरनीति सच्चा राजनैतिक चरित्रवादीहरूका लागि अनन्य श्रोत हो ।
लेखक ढकाल वाल्मीकि विद्यापीठका उपप्राध्यापक हुन् ।