बंगालको चिया बगानका श्रमिकलाई किन लागेन चुनाव ? 

सय वर्षसम्म पनि पूरा भएनन् श्रमिकका दुई मुद्दा


प्रकाशित

तस्बिर : फाइल

कोलकाता । झण्डै १०० वर्षको इतिहास बोकेको छ बंगालको चिया बगानका श्रमिकहरुको आन्दोलनले । उनीहरुको त्यतिबेलाको आन्दोलन पनि यही आफ्नो सुरक्षा र श्रमको उचित सम्मानको लागि थियो । भारतमा उत्पादन हुने कूल चियामध्ये ७० प्रतिशतको प्रतिनिधित्व आसाम र पश्चिम बंगालका चिया किसानहरुले गर्ने गरेका छन् । उनीहरुको उत्पादन र योगदानको विशालता जति छ उनीहरु भित्रको पीडा पनि त्यत्ति नै रहेको छ । यस पीडालाई राजनीतिक दलको चुनावी मुद्दाले भने समेट्न सकेको छैन । 

५ वर्षमा आउने लोकसभा चुनावको सम्बोधन गर्नको लागि जलपाईगुडीसम्म पुगेका विभिन्न पार्टीका नेताहरुले आफ्ना पार्टीका कार्यकर्ताहरुलाई अनेकानेक सपनाहरु देखाईरहँदा पार्टीको निर्देशन पाएका कार्यकर्ताहरुले त आफ्नो पार्टीको कामलाई वाहवाही गरे । 

तर, बंगालको पीडित चिया किसानहरुको समस्याबारे भने कसैले पनि चिन्ता लिने गरेको छैन । केही दिन अघि सिलिगुडी पुगेर चुनावी सभालाई सम्बोधन गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले चिया बगानलाई सम्झन सकेनन् । मोदीले सम्बोधनको क्रममा जातीयताको कुरा उठाए । तर, श्रमिक समस्याबारे उनलाई कसैले पनि जानकारी दिएन वा उनले बुझ्न चाहेनन् । जे भएपनि उनको सम्बोधनले बंगालको चिया बगानको समस्यालाई समेट्न सकेन । 

त्यो त भयो केन्द्रीय प्रधानमन्त्रीको कुरा । पश्चिम बंगालमा पछिल्लो ८ वर्षदेखि अविछिन्न शासन गर्दै आएकी ममता बनर्जीको कुनैपनि सम्बोधनमा चिया बगानका श्रमिकहरु नसमेटिने गरेको आरोप श्रमिकहरुको छ । नेपाली भाषामा प्रकाशित बनर्जीको पार्टी तृणमुल काँग्रेसको घोषणापत्रमा पनि यो कुरा स्पष्ट हुन्छ कि उनको ध्यान अझै पनि चिया किसानतिर पुगेको छैन । उनले राज्यको १० करोड मानिसहरु मध्ये ९० प्रतिशतले कुनै न कुनै सरकारी जागिर पाएको दाबी गरेकी छिन् । तर, चिया बगानमा काम गर्ने लाखौं मानिसहरु यसमा समेटिएका छैनन् । चिया बगानको समस्या समाधानबारे कुनै कुरा उल्लेख छैन । ६८ पृष्ठ लामो घोषणापत्रमा आधा भन्दा बढी त उनले विपक्षी पार्टी र त्यसमा पनि विशेषगरी भारतीय जनता पार्टीको आलोचना गर्दैमा बिताएकी छिन् । 

अगमसिंह गुरुङ जलपाईगुडी जिल्लाको उत्तरी भेगमा रहेको चिया बगानमा काम गर्ने श्रमिक हुन् । उनलाई चुनावको कुनै उत्साह छैन । किनभने उनको एजेण्डा कुनैपनि दलको घोषणापत्रमा लेखिएको छैन । उनको आँखा अगाडि नै ३ जना श्रमिकहरुको चिया बगानमा नै मृत्यु भईसकेको छ ४० वर्षको समयावधिमा त्यसैले उनी पनि आफ्नो जीवनको सुरक्षाबारे निश्चिन्त हुन नसकेको बताउँछन् ।  

त्यस्तै, सिलिगुडीकी रेश्मा गुरुङको पनि चासो त्यस्तै छ । उनीहरुको तलब निश्चित छैन भने वर्षको ६ महिना भन्दा रोजगारी पाउन मुस्किल छ । सिलिगुडी जाँदाको बसमा भेटिएकी उनले चुनावबारे चासो नै नभएको जानकारी दिईन् । उनले आफ्नो आवश्यकता भनेको श्रमको सम्मान र वर्षभरी रोजगारीको ग्यारेन्टी रहेको बताईन् । 

के हो चिया वगानवाला क्षेत्रको मुद्दा ?
चिया वगानवाला क्षेत्रमा श्रमिकहरुको केवल दुईवटा मात्रै मुद्दा रहेको छ । पहिलो बन्द रहेको चिया बगानको समाधान र दोस्रो श्रमिकहरुको न्यूनतम पारिश्रमिक तय नहुनु । पश्चिम बंगालको उत्तरी भेगमा पर्ने दार्जिलिंग, तराई र दोआर्स छ। यहाँ ३०० बगानहरुमा  करिब ३ लाख श्रमिक काम गर्ने गरेको पश्चिम बंगाल सरकारको तथ्यांकमा उल्लेख छ । 

ती श्रमिकहरुले वर्षको सबै दिन काम पाउने निश्चित पनि छैन भने रोजगारी पाएको बेलामा पनि न्यूनतम पारिश्रमिक नै कति हो भनेर थाहा नहुँदा निकै कम पारिश्रमिक पाउने गरेका छन् । तराई र दोआर्सको क्षेत्रमा पश्चिम बंगालको जलपाईगुडी, अलीपुरद्वार, दार्जिलिङ र कूचबिहार जिल्ला र असमको केही हिस्सा सामेल छ।    

कूचबिहार र अलीपुरद्वारमा ११ अप्रिलमा मतदान हुँदैछ जबकि जलपाईगुडी, दार्जिलिङ र राजगञ्जमा १८ अप्रिलमा चुनाव हुँदैछ । विभिन्न राजनीतिक पार्टीहरुसँग जोडिएका ट्रेड युनियनहरु पनि नभएको भने होइन । चिया बगानका श्रमिकहरुको हकबारे काम गर्ने भनेर खुलेका ती युनियनहरुले पनि ट्रेड युनियनलाई केन्द्रसँगको सम्पर्क सूत्रको रुपमा मात्रै विकास गरेको आरोप उनीहरुको छ । 

ट्रेड युनियनहरुले पनि यो मुद्दाबारे चर्चा नगरेका त होईनन् । तर, अहिलेसम्म यसको समाधान निस्कन सकेको छैन । पश्चिम बंगाल राज्य सरकारले विभिन्न समयको आन्दोलनमा भएको सम्झौता बमोजिम एउटा न्यूनतम वेतन परामर्श समितिको गठन पनि गरेको छ । तर, सो समितिले पनि यसको समस्या सुल्झाउने जिम्मा चियाबगानको मालिक र श्रमिकलाई नै दिएर हाईसन्चो मानेर बसिरहेको छ । 

सरकारले पनि विभिन्न समयमा बगान क्षेत्रमा मजदुरहरूको अधिकार सुरक्षित गर्न र सामाजिक एवं आर्थिक अधिकारका लागि भनेर द प्लान्टेशन लेबर एक्ट १९५१ (पीएलए) बनाइएको थियो। यो ऐनले ती मजदुरहरूको अधिकारलाई सम्बोधन गर्ने दाबी गरेको थियो । तर,  जसमध्ये अधिकांश आफ्नो मूलथलोबाट बाध्यतापूर्वक बगान क्षेत्रमा ल्याइएका लाखौँ बन्धित मजदुरका सन्तानहरू हुन्।

चिया मजदूरहरुको समस्या
चिया बगानका श्रमिकहरुको जीवन सुरक्षाको समेत कुनै ग्यारेन्टी छैन । शीतनिद्रामा विहानै चिया बगानमा पुग्ने मानिसहरुको ज्यान गएकको खबर समेत समय समयमा आउने गरेको छ । तर, उनीहरुको सामाजिक सुरक्षाबारे पनि कसैले चासो दिन सकेका छैनन् । आसाम र पश्चिम बंगालले भारतको कुल चिया उत्पादनको करिब ७० प्रतिशत योगदान दिन्छन्, जहाँ झण्डै १,५०० चियाबगानमा साढे दश लाख मजदुरहरू कार्यरत् छन्। 

भारतको कुल चिया उत्पादनमा पश्चिम बंगालको चिया बगानहरूले नै २१  प्रतिशतभन्दा अधिक योगदान दिन्छ। उत्तर बंगालमा दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्र गरेर प्राय २७६ चिया बगानहरू छन्, जहाँ लगभग ४,५०,००० मजदुरहरू काम गर्छन्। 

यो पनि पढ्नुस् :

चुनावले नपत्याएको सोनागाछीको 'रेडलाइट एरिया', जहाँका १३ हजार मतदाता उम्मेदवारलाई कुरिरहेछन्

पार्टी निकटका दुई कमिश्नरलाई चुनाव आयोगले हटाएपछि तृणमूल काँग्रेसमा खैलाबैला


प्रतिक्रिया :

नयाँ