arrow

लुभुको महालक्ष्मी महाभैरब जात्रा शुरु : भात खाएर पुजा गर्ने चलन

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
lubhu-jatra.jpg

ललितपुर। ललितपुरको पाटनमा रातो मच्छिन्द्रनाथको रथारोहण भएसंगै अक्षयतृतियाका दिनदेखि लुभुमा पनि महालक्ष्मी महाभैरबको जात्रा शुरु भएको छ। महालक्ष्मी महाभैरबको जात्रा भनिएपनि अक्षयतृतियाका दिन एउटा खटमा गणेश, महालक्ष्मी, कुमार हुन्छ भने अर्को खटमा गणेश,महाभैरब र कुमारीको मुकुट राखेर जात्रा सुरु हुन्छ। यो खट जात्रा  अक्षयतृतियाका दिन शूरु भएर एक सातासम्म जारी रहन्छ। यो जात्रा अन्र्तगत अष्टमीका दिन सरकारी पुजा गरी मनाइदैछ। यसदिन सरकारी पुजा गर्नका लागि बोका बली दिने प्रचलन छ। 

आकाश भैरबको पनि जात्रा : प्रत्येक बर्ष सेलाउने परम्परा 
महालक्ष्मी महाभैरबको खट जात्रा सुरु भएको तेस्रो दिन भने कागजमा कोरिएको चित्रको आकाश भैरबको छुट्टै खटमा राखेर जात्रा गरिन्छ। लुभुका बासिन्दाले बिरामी हुदा सबैभन्दा पहिला आकाश भैरबलाई सम्झेर रखवालाका रुपमा पुजा गर्छन। आकाश भैरबलाई जात्रा अबधीभर जमिनमा नछोइकन राख्नुपर्छ। आकाश भैरबलाई भुईमा छुन नहुने मान्यता अनुसार पहिला पहिला जात्रा अबधिभर दिनरात नभनी पालो पालो रथ बोक्ने गरेकामा आजकल आकाश भैरबलाई भुइमा नछुनेगरी खटमा झुण्डयाएर राखेको हुन्छ। हुन त यो जात्रा अबधिभर पनि यो देबतालाई महर्जन बाहेक अन्यले छुन हुदैन भन्दै नछोइकन टाढैबाट दर्शन गर्छन। यो देबताका पुजारी पनि महर्जन थरका मात्रै हूने श्रेष्ठले बताए ।जात्रा मनाएपछि भने अन्तिम दिन यस आकाश भैरबलाई सेलाउन लाने चलन छ। पाटनका चित्रकारहरुले कागजका कोरेर बनाउने आकाश भैरबलाई प्रत्येक बर्ष जात्राको अन्तिम दिन लुभुको मुख्य ढोका बाहिर सेलाउन लाने गरिन्छ।

रातो मच्छिन्द्रनाथसंग भैरबको सम्बन्ध के ?
प्रत्येक बर्ष ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रासंगै लुभुको महालक्ष्मी महाभैरब जात्रापनि शुरु  हुन्छ। बैशाख शुक्ल प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथलाई खटमा राखेर चतुर्थिमा रथजात्रा शुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षयतृतियामा लुभुमा जात्रा शुरु हुन्छ ।रातो मच्छिन्द्रनाथको रथजात्रामा समावेश भएका चार पांग्रा मध्ये अगाडीको दाँया पांग्राको भैरब, लुभुको हयग्रिब भैरब रहेको बिभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख छ। यो भैरबलाई लण्डकुण्ड भैरब र रुद्रकुण्ड भैरब पनि भन्ने गरिन्छ। परापुर्व कालमा १२ बर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथलाई लिन गएको टोलीमा ४ भैरब पनि रहेको किंबदन्ती छ।

ती चार भैरबमध्ये लुभुका हयग्रिब भैरब पनि एक रहेको जनश्रृति छ। त्यसैले  मच्छिन्द्रनाथको जात्रा गर्ने बेला लुभुको भैरबको पनि जात्रा चलाउने भन्ने भएकाले त्यो बेलादेखि नै जात्रा संगै परेको लुभु नेवा संस्कृति संरक्षण समितिका अध्यक्ष राम बहादुर श्रेष्ठ बताउछन। यो हयग्रिब भैरब नै बुंगमतिको भैरब हो भन्ने गरिन्छ। बुंगमतिमा मनकामना माइको मुर्ति संगै लण्डकुण्ड भैरबको मुर्ति रहेको र छुट्टै हयग्रिब भैरबको पनि मुर्ति भएकाले यो कुराको पुष्टि भएको श्रेष्ठको दाबी छ। 
 
लुभुबासीले खाना खाएर पुजा गर्छन
जात्रा अबधिभर लुभुका बिभिन्न स्थानमा खटलाई बिसाउन लाने परम्परा छ। आफना आँगनमा जुनबेला खट आइपुगेपनि पुजा गर्नुपर्ने भएपनि भोकै बस्न नपर्ने मान्यता छ। लुभुको जात्रा सञ्चालनका लागि महालक्ष्मी महाभैरब गुठीको व्यवस्था गरिएको छ। यो गुठीमा बिशेषगरी श्रेष्ठ परिवारका ७ जना ज्येष्ठ नागरीकलाई मुल थकाली बनाइएको हुन्छ। ति थकालीहरुले जात्रा अबधिभर माछा मासु मात्र नभई भात पनि खान नहुने परम्परा छ।

जात्रामा कुनै बिघ्न बाधा नआओस् र यसको कसैलाई दोष नलागोस भन्दै उनीहरुले मिश्रीकाडा, फलफुल र दुधमात्र खाई जात्रा अबधिभर शुद्ध र चोखो भई बस्ने भएकाले अन्यले बार्न नपर्ने गृह मन्त्रालयमा कार्यरत पुर्व थकालीका छोरा डा दयाराम श्रेष्ठ बताउछन्। त्यसैले लुभुका स्थानीयले जात्राका बेला आफना आँगनमा आएको देबतालाई भात खाएर पुजा गर्छन। बिहानै खट पुगेका स्थानले खाली पेटमै पुजा गर्छन भने दिउसो र बेलुका खट पुगेका स्थानीयले भने भात खाएरै पुजा गर्ने फरक चलन यहा छ। थकालीहरु प्रायजसो ८० बर्ष नाघेका हुने भएकाले आजकल प्रमुख थकाली र उनकी श्रीमतिले मात्र यो नियम पालना गर्ने र बाँकीले चोखो अन्य खाना पनि खान थालेका छन। 

जात्राका लागि छुट्याइएका ३ सय रोपनी जग्गा कहा हराए ? 
यो जात्रा सञ्चालनका लागि ३ सय रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको भएपनि आजकल ७४ रोपनी मात्रै जग्गा बाँकी रहेको लुभुकै स्थानीय पुर्व प्रधानाध्यापक राजकुमार श्रेष्ठ बताउछन। जग्गा मासिदै र हराउदै गएसंगै जात्रासंग सम्बन्धित गतिबिधि पनि हराउदै गएका छन। पहिला पहिला जात्रा सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थाका लागि जग्गाको व्यवस्था गरेपनि गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्थासंगै व्यक्तिका नाममा जग्गा नामसारी हुन थाले। यो संगै जात्राका लागि आबश्यक चामल, चिउरा, तेल लगायतका थुप्रै सामग्री हाल खरीद गर्नुपर्ने भएको छ भने चिलाख बालेर नगर परिक्रमा गर्ने, जग्गा लिएकाहरुले गर्ने बिशेष पुजाहरु हराउन थालेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ