- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज यस वर्षको सबैभन्दा शुभ दिन हो । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथि चिरञ्जीवि भगवान परशुरामको जन्मदिन पनि हो । जन विश्वास अनुसार यो पनि मान्ने गरिएको छ कि भगवान विष्णुका नर-नारायण तथा हयग्रीव रूपको अवतरण समेत यही दिन भएको थियो । यस दिन गरेको कामले स्थायित्व प्राप्त गर्दछ भन्ने विश्वास पनि रहेको छ ।
दया, दान र अन्य सत्कार्यलाई विशेष महत्व दिनेवाला हाम्रो संस्कृतिमा आजको दिन व्रत, तप, पूजन र दानको लागि विशिष्ट मानिन्छ । अनन्तगुण फल दिने वाला पर्वको रुपमा पनि यस दिनलाई लिने गरिन्छ । स्थायित्व र वृद्धिको कामनाबाट आजको दिन पुण्यकार्यका लागि विशेष मानिन्छ ।
संस्कृत शब्द अक्षय तृतीयाको विग्रह रुप ‘न क्षयः अक्षयः’ अर्थात् जसको क्षय हुँदैन त्यही अक्षय हो । ज्योतिषहरुले क्षय नभएको मुहूर्त चन्द्रमास र सौरमास अनुसार तिथिहरुको कुनै न कुनै समयमा क्षय हुन सक्छ । तर, अक्षय तृतीया कहिलै पनि क्षय नहुने भावमा व्याख्या गरेका छन् । विश्वास यो पनि छ कि यस दिन दान दिनेहरुलाई भगवान कुबेरको आशीर्वाद मिल्ने विश्वास छ ।
मदन रत्नमा भनिएको छ
‘अस्यां तिथौ क्षयमुर्पति हुतं न दत्तं
तेनाक्षयेति कथित मुनिभिस्र्ततीया ।।
उद्दिष्य दैवतवितृन्क्रियते मनुक्ष्यै: ।
तत् त अक्षयं भवति भारत सर्वमेव ।।’
यो तिथि वसन्त ऋतु सकिएर ग्रीष्म ऋतुको प्रारम्भ भएको दिन समेत जनाउने तिथि हो । यस दिन भरिएको घडा, पंखा, खराउ, छाता, चामल, नुन, घिउ, खरबुजा, ककडी, चिनी, सातु आदि गर्मीको मौसमका लागि लाभदायक कुराहरु खानु पर्दछ । यस दिन दान गरेको कुराहरु अर्काे जन्म अघि स्वर्गमा पाईने विश्वास पनि हिन्दू धर्ममा छ ।
भविष्य पुराणले यो दिनमा नै सत्य युग र त्रेता युगको सुरुवात भएको विश्वस गरेको छ । यो दिनलाई पवित्र दिन मान्दै पुराणको २१ औं अध्यायको ३१ औं श्लोकमा भनिएको छ ‘तृतीयासाक्षयालोकेगीर्वाणैरभिनन्दिता’। अर्थात् अक्षय तृतीयाका दिन लोकमा सबैले गीर्वाण(देवता)हरुलाई अभिनन्दन गर्न मिल्ने उल्लेख गरिएको छ । अन्य तृतीयाहरुमा केही शर्तहरु रहेको भएपनि यो तृतीया एकदमै शुभ भएकोले यसमा सबैले पूजा र व्रत गर्न सक्ने भन्ने उल्लेख भविष्य पुराणमा उल्लेख छ ।
अक्षय तृतीयाको दिन नै भगवान शिवले देवी लक्ष्मीलाई जगतको सम्पत्ति संरक्षणको लागि नियुक्त गरेको भन्ने पनि जन विश्वास रहेको छ । धर्मसिन्धु र निर्णय सिन्धु नामक ग्रन्थका अनुसार अक्षय तृतीया ६ घडी भन्दा धेरै हुनु पर्दछ । पद्म पुराणका अनुसार यस तृतीयाको अपराह्न विशेष मानिन्छ । जतिबेला महाभारतको युद्ध सकिएको र द्वापर युगको समेत समापन भएको विश्वास छ ।
निर्णय सिन्धुले नै यस दिन गंगास्नानलाई महत्वका साथ हेर्ने गरिएको छ । त्यसमा भनिएको छ
‘बैशाखे शुक्लपक्षे तु तृतीयायां तथैव च ।
गंगातोयं नरः स्नात्वा मुच्यते सर्वकिल्विषैः
किन महत्वपूर्ण छ यो दिन
एक अक्षय तृतीयाका दिन भक्त सुदामा आफ्नो बाल सखा कृष्णसँग भेट्नको लागि पुगेका थिए । कथा यो पनि छ जब शंकराचार्य भिक्षाको लागि एक निर्धन दम्पतिकहाँ पुगेका थिए । त्यो भोका परिवारले कैयौं दिनसम्म खाना खान पाएका थिएनन् । तरपनि भिक्षा माग्न आएका उनलाई आफूसँग भएको एक फल दिए । उनीहरुको दानी प्रवृत्तिको सम्मानमा आदि शंकरले कनकधारा स्तोत्रको रचना गरेका थिए । यो दिन युगादि पनि हो भने महाभारतको युद्धको अन्त र फेरि कलियुगको समेत आरम्भ समेत भएको यही दिन मानिन्छ ।
अर्को तर्फ विश्वास यो पनि छ कि पृथ्वीमा पिउने पानीको अभाव भएपछि भागीरथले तपस्या गरेर गंगालाई स्वर्गबाट पृथ्वीमा झारेका थिए । त्यस्तै पहिले ब्रह्मकुण्डबाट दोस्रोमा लौहकुन्डबाट हिमालयलाई काटेर ब्रह्मपुत्र जस्ता उग्र महानदीहरुलाई समुद्रसम्म पुर्याउने श्रेय परशुरामलाई जान्छ । ऋषभदेवको निर्वाण स्थल कैलाश पर्वत हो । जुन भगवान् परशुरामको समेत तपस्थली हो । भगवान परशुरामसँग सम्बन्धित धेरै तीर्थ हिमालय क्षेत्रमा रहेको छ । विश्वको पहिलो समर कलाका प्रणेता, निरंकुश शासकहरुको, अत्याचारी आतंककारीहरुको र आसुरी शक्तिहरुको विरोधी भगवान् परशुरामको जन्म दिन भएकोले पनि अक्षय तृतीयाको महत्व बढी छ ।
के हो भागिरथको कहानी ?
सूर्यवंशी राजा दिलीपका पुत्र भागीरथ हिमालयमा तपस्या गरिरहेका थिए । उनी गंगालाई धरतीमा ल्याउन चाहन्थे । उनका पूर्वज कपिल मुनि श्रापका कारण भस्म भएका थिए । गंगा नै उनलाई उद्दार गर्न सक्दथिन् । भागीरथ अन्न जल छोडेर तपस्या गर्ने गरेका थिए। त्यही स्मरणमा अहिले पनि हाम्रा ढुंगेधाराहरुको मुनि धारो उचालिरहेको देखिने गरी भागीरथको तस्वीर देख्न सकिन्छ ।
गंगा उनको कठोर तपस्याबाट प्रसन्न भइन् । भागीरथले सानो स्वरमा गंगाको आवाज सुने । महाराज म तपाईंको इच्छानुसार धर्तीमा आउनको लागि तयार छु । तर मेरो तेज धारलाई धर्तीमा रोक्छ कसले ? यदि कसैले पनि मेरो धार रोक्न सकेनन् भने पृथ्वी छेडेर म त पाताल तिर पुग्छु त । भागीरथले उपाय गंगासँग नै सोधे, महाराज भागीरथ, मेरो प्रचण्ड धारालाई केवल शिव मात्रै रोक्न सक्दछन् । यदि उनी आफ्नो शीरमा मेरो धारालाई रोक्नको लागि मान्छन् भने म पृथ्वीमा आउन सक्छु ।
त्यसपछि भागीरथले फेरि शिवको आराधना गर्न सुरु गरे । तपस्याबाट प्रसन्न भएका शिव गंगाको धारालाई शीरमा रोक्नको लागि तयार भए । बैशाखको शुक्ल पक्षको तृतीयाको दिन नै शिवले जटा खोलेर, कम्मरमा हाथ राखेर उभिएको भन्ने उक्ति पाईन्छ ।