arrow

होली खेलेका ह्यारी कस्ता देखिएलान ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७२ चैत ८ सोमबार
Lamjing_Harry_-Swagat.jpg.jpeg
लमजुङ। नेपालीहरुको रमाइलो चाड फागु पूर्णीमा (होली) सबै नेपालीहरुको घर आँगनमा आइसकेको छ। सबै दुख कष्ट विर्साएर रङहरुमा आफूलाई रङगाएर आम नेपाली होलीको उत्सवमा रमाउने गर्छन। स्थानिय रिती अनुसार कतिपय ठाउँमा होलीको विशेष उत्सव पनि हुन्छ। पहाडी समुदायमा एकदिनअघी नै खेलिने होली तराइ मधेशमा एक दिन पछि खेलिन्छ। तर होलीको चीर वसन्तपुरमा गाडीएपछि काठमाडौंमा फागु पूर्णीमाको ७ दिन अघी देखिनै होलीको रौनक शुरु हुन्छ।
 
विशेषगरि भक्तपुरको टोलटोलमा होलीको विशेष रौनक रहन्छ। यो रौनकमा नेपालीहरु मात्र होइन नेपाल भ्रमणमा रहेका विदेशीहरु पनि रमाउने गर्छन। पर्यटकीय केन्द्रहरुमा पर्यटकको चहलपहल विशेष हुने गर्दछ। होलीको बेलामा नेपाल पुरै रमाइलोमा हुने गर्दछ। यो रमाइलो उठाउन कतिपय पर्यटक नेपाल भ्रमणमा आउने पनि गर्छन। 
 
बेलायती राजकुमार ह्यारी भने नेपालीहरुको रमाइलो पर्व होलीको वेलामा नेपालमै छन्। सोमबार लमजुङको गौडा गाविस वडा नम्वर १ ओखारीमा बास बस्न पुगेका ह्यारी संयोगले मंगलवार होलीको दिन पनि गौडामा नै छन्। गुरुङ समुदायको वाक्लो बस्ती रहेको लेउरानीमा रहेको मंगली तामाङको घरमा बास बसेका राजकुमार ह्यारी मंगलवार विहान त्यहाँबाट आधा घण्टा हिडेर गोर्खा वलफेयर स्कीमले वनाइरहेको विद्यालयको अवलोकनका लागि जानेछन्। 
 
व्रिटीस सेनामा कार्यरत रहँदा ३० बर्ष अघि मृत्यु भएका गन्दु तामाङको घरमा बास बसेर उनले ब्रिटीस सरकार ब्रिटीस गोर्खा फौजका लागि संवेदनशील रहेको संकेत गरे। मंगली तमाङका स्व.श्रीमान गन्दु तामाङ व्रिटिस गोरखावाट द्रोस्रो विश्व युदमा सहभागी भएका थिए । उनले हाँसो मजाक र ख्याल ठट्टामा समेत ब्रिटीस गोर्खा फौजको मान र शान बढाउने अभिव्यक्ति दिन चुकेनन। 
 
यिनै राजकुमारसँग मंगलवार गौडा माध्यमिक विद्यालयमा स्कुले छात्रछात्राहरुसँग भलिवल खेल्ने भएका छन्। आफूहरुको अध्ययनरत विद्यालय भुकम्पले भत्काइदिएपछि पढ्ने ठाउँ समेत गुमाएका विद्यार्थीहरुको अध्ययनका लागि गोर्खा वलफेयर स्कीमले १० कोठे विद्यालय निर्माण गराइरहेको छ। आफूहरु पढ्ने विद्यालय बनाउन गोर्खा वलफेयर स्कीमलाई बेलायती सरकारको सहयोग छ। उनै बेलायती राजपरिवारको कान्छा राजकुमार ह्यारी आफ्नै विद्यालय आउने भएपछि विद्यार्थीहरु पनि दंग छन्। 
 
भ्रमणमा व्यवस्थापन गरिए अनुसार अनौपचारीक रुपमा खुल्न मन पराउने ह्यारीलाई भुकम्पले प्रभावित विद्यालयका विद्यार्थीहरुसँग केहि समय खेल्ने प्रवन्ध मिलाइएको छ। उनले त्यहाँ विद्यार्थीहरुसँग भलिवल खेल्नेछन भने त्यसपछि एक आपसमा सद्भाव बाड्ने चाडको रुपमा रहेको होलीको अवसरमा विद्यार्थीहरुसँग उनले रङ लगाएर होली खेल्ने कार्यक्रम रहेको छ। ह्यारीसँग होली खेल्न पाउने भएपछि विद्यार्थीहरु पनि विहानैदेखि विद्यालय पुग्न लालायित रहको स्थानिय पत्रकार दिपक अधिकारीले बताएका छन्।
 
अग्लो शरीर महारमा रहेको खैरो दारीमा विद्यार्थीहरुले उनलाई रङ दलेर होली खेले भने उनलाई कस्तो देखिएला धेरैले सो दृश्य कल्पना गरिरहेका छन। उनलाई विद्यार्थीहरुले रङ लगाउँदा के कसरी रमाइलो गर्ने हुन त्यो पनि धेरैले कल्पना गरिरहेका छन्। विद्यार्थीहरुसँग होली खेलेर ह्यारी त्यहाँबाट सिधै पोखरा जाने भएका छन्। त्यहाँ उनले व्रिटीस गोर्खा सेनाको संग्रहालय अवलोकन लगायतका कार्यक्रममा सहभागि हुनेछन्। ह्यारी लमजुङमा वास बसिरहँदा त्यहाँको सुरक्षा अत्यन्तै कडा समेत पारिएको छ।
 
यसअघी नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुगेका थिए। राजकुमार ह्यारीले गौँडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गरेका थिए। उनले गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी भएका थिए। राजकुमार ह्यारीसहितको टोली आज सोही गाउँमा घरबास (होमस्टे) मा रहेको विष्णु नेपालले राससमा लेखेका छन्।  
 
ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए। उनले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खानुभएको थियो । “मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो”– ह्यारीले भने।
 
यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी नाचेका थिए। ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेटेका थिए। “आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ”– मङ्गलीले भनिन्।
 
सो अवसरमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पुर्‍याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गरेकी थिइन। ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पुर्‍याउने वचन दिए। उनले भूकम्पले क्षति पुर्‍याएको भूतपूर्व ब्रिटिस गोर्खा परिवारका घर र त्यहाँ रहेका आफन्तसँग जानकारी लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ