- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। मानिसहरू चाहन्छन् मलाई यस्तो बाटो मिलोस, मलाई लामो यात्रा गर्नु नपरोस, मेहेनत गर्नु नपरोस, म चाडै निस्किएर यथास्थानमा पुग्न सकु ।
आज जब कुनै साधु महात्मासँग सोध्नुहोस - 'महाराज केहि यस्तो आत्मा कल्याणको कुरा बताउनुस्, मार्ग बताउनुस जसबाट हिडेर हामीलाई परमात्माको प्राप्ति होस ?' तब उनले भन्नेछन्,' तिमि जे गर, जसको नाम जप, कसैको नाम सुमिरण गर तिम्रो कल्याण हुनेछ ।'
तर तपाई विचार गर्नुहोस यी सबैले हुने भए फेरी महान पुरुषहरु पृथ्वीमा आउनुको के आवश्यकता थियो ? भगवान राम, श्रीकृष्ण, बुद्ध, नानक आदी हामी सामु आए के उनिहरुको जमानामा मानिसहरु आफ्नो आफ्नो मनका अनुसार भक्ति गरिरहेका थिएनन् ? तब भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउन के आवश्यक्ता थियो ?
अर्जुन कुनै रुपमा धर्मको बाटोमा हिडेकै थिए । उनि कौरवको बध गरे वंश नाश हुन्छ भन्दै थिए । उनि आफै पनि भगवान शंकरलाई मनाएर पाशुपत अस्त्र प्राप्त गरेका थिए । तेजस्वी थिए । तपस्या गरेर सबै कुरा प्राप्त गर्न सक्थे । यस्तो तपस्वी तथा सिद्धान्तवादी अर्जुनलाई भगवान श्रीकृष्णले आत्मज्ञान किन दिनुभयो, के आवश्यकता थियो ?
हनुमानलाई भगवान रामले ज्ञान दिनुभयो किन आवश्यकता थियो । महात्मा बुद्धले पनि आफ्नो समयमा शिष्यहरुलाई ज्ञान दिन किन आवश्यकता थियो ? सो समय पनि मानिसहरु केहि न केहि गरिरहेका थिए । कर्मकाण्डमा संलग्न नै थिए । फेरी ज्ञान दिन किन आवश्यकता रह्यो ? यदि मानिसलाई आफ्नो खुशीले गर्नु थियो, मनको इच्छा, मनको वास्ना पुरा गर्नु थियो भने महापुरुष किन आए ?
यी जुन महापुरुष हाम्रो समाजमा आए यी हामीलाई सहि बाटो देखाउनको लागि आए । उनिहरुले मानवलाई कर्मयोगी बनाए, ज्ञान दिए र सहि बाटो देखाए। उनिहरुले भनेनन् कि जुनै बाटोमा हिडेपनि तिम्रो लक्ष्य प्राप्त हुन्छ । तिमिले सहि ज्ञानको खोजी गर्नुपर्नेछ।
यसकारण महानपुरुषहरुले भने 'नान्य पंथा विद्यते अनाय' कि त्यो ज्ञानलाई जान्न अनेकौ नभइ एक मात्र मार्ग छ। 'महाजनो येन गत: स पंथा' त्यो मार्ग जसमा सबै महान पूरूषहरु चले त्यसलाई अनुसरण गर्नुपर्छ त्यसको बाटो फरक फरक छैन एकै छ। त्यो महान पुरुषहरुको मार्ग के हो जसमा भगवान राम चल्नुभयो, श्रीकृष्ण चल्नुभयो, महात्मा बुद्ध, महावीर स्वामी चल्नुभयो, गुरु नानकदेव चल्नुभयो आखिर त्यो बाटो के थियो यो हामीले सोच्नु विचार गर्नुपर्नेछ ।
यदि मानवको इतिहासमा हेरे हामीलाई थाहा हुनेछ यस धर्तिमा सन्त महात्मा पैगम्बर तथा महापुरुषको आगमन भएको छ। उनिहरुले आफ्नो समयमा धर्तीमा आएर जनमानसमा एक यस्तो बाटो बताएकी अशान्त मानव, भ्रान्तिमा फसेको मानवले शान्ति प्राप्त गर्छ ।
महाभारतमा जब युधिष्ठिर महाराज तालको नजिक पानी पिउन लागे त्यहाँ यक्ष प्रकट भए । यक्ष भन्छन्- पहिले मेरो प्रश्नको उत्तर दिनुहोस त्यसपछि जल ग्रहण गर्नु' उनि सोध्छन् - कः पन्था कश्च मोदते । कुन मार्ग हो ? त्यसको जवाफ दिदै युधिष्ठिर भन्छन् ।
तर्कोऽप्रतिष्ठः श्रुतयो विभिन्ना नैको ऋषिर्यस्य मतं प्रमाणम्।
धर्मस्य तत्त्वं निहितं गुहायाम् महाजनो येन गतः सः पन्थाः।।
उनि भन्छन्,' तर्क अप्रतिष्ठित छ अर्थात तर्कको स्थिति छैन। एक तर्क दोस्रो तर्कबाट काटिन्छ तथा श्रुतिया पनि अलग अलग छन्। त्यसको मत पनि भिन्न भिन्न छन् र न हामी एक ऋषिको मतलाई अन्तिम प्रमाण मान्न सक्छौ जबकि धर्मको तत्व निकै गुढ छ, गहन छ । यस्तो विकट परिस्थितिमा एकै मार्ग बचाउछ मानव समाजको लागि र त्यो हो 'महाजनो येन गत: स पंथा' कि जुन मार्गमा महापुरुषहरु चले त्यस मार्गमा चल्नुपर्छ ।'
अव हामीले विचार गर्नुपर्छ भगवान राम, कृष्ण, महात्मा बुद्ध, महात्मा कबीर, सन्त ईसामसीह, सन्त तुलसीदास, सन्त सुरदास, हजर मोहम्मद साहब, महावीर स्वामी, गुरु नानक, स्वामी रामकृष्ण परमहंस आदि सन्त महापुरुषहरु जुन बाटोमा हिडे त्यो मार्ग के हो ?
जुन मार्गमा चलेर उनिहरुले आफ्नो समयमा मानवले शान्ति लाई प्राप्त गरे त्यो हो अध्यात्मको मार्ग, आत्माज्ञानको बाटो ।