- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लिच्छवी काल नेपालको इतिहासमा स्वर्ण युगको रुपमा चिनिन्छ । लिच्छवीकालमा पनि अंशुबर्माको समयलाई स्वर्ण युगको रुपमा चिनिन्छ । त्यो युगमा धेरै अनौठा र समाजसुधारक कामहरु समेत भए । ती कामहरुको संक्षिप्त चर्चा तल गरिएको छ । लिच्छवी कालमा प्रशासन सम्बन्धी विभिन्न कामको लागि भिन्दा भिन्दै गोष्ठी, अधिकरणहरुको व्यवस्था गरिएको थियो । विशेषगरी प्रशासनिक काम गर्नको लागि अधिकरणको काम गरिएको थियो भने धार्मिक काम गर्नको लागि गोष्ठीको व्यवस्था गरिएको थियो । यस अंकमा हामी गोष्ठीलाई थाँति राखेर अधिकरणको बारेमा उल्लेख गर्दैछौं ।
लिच्छवी कालमा अंशुबर्मा भन्दा अघि प्रशासनिक कामको लागि ४ वटा अधिकरणहरुको व्यवस्था गरिएको थियो । पहिलो थियो कुथेर अड्डा, दोस्रो शोल्ल९शुल्ली०, तेस्रो लिङ्गबल र चौथोमा थियो माप्चोक अधिकरण । तर अंशुबर्मा शासनमा आएपछि भने यी ४ वटा भन्दा केही धेरै अधिकरणहरुको व्यवस्था गरिएको थियो । अंशुबर्मादेखिका अभिलेखहरुमा पश्चिमाधिकरण, पूर्वाधिकरण, भट्टाधिकरण जस्ता अधिकरणको उल्लेख पाइन्छ।
लिच्छवीकालमा कुथेर मूलतस् राजश्व उठाउने, शोल्लले पञ्चापराध सम्बन्धी कारबाही गर्ने, लिङ्गबलले कुलोपानी सम्बन्धी बिषय हेर्ने, माप्चोकले विवाह र विवाहविच्छेद आदि पारिवारिक बिषय हेर्ने अड्डा थिए । यसले लिच्छवीकालमा राजाको सनकबाट नभई संस्थागत रुपका संगठनबाट न्याय र प्रशासन चल्ने गरेको देखिन्छ। यो मानव अधिकारको निम्ति सकारात्मक परिस्थिति हो ।
कस्तो थियो माप्चोकको काम ?
माप्चोक अधिकरणको कामको बारेमा विशेषगरी मालिगाउँको अभिलेखले धेरै कुराहरु लेखेको छ । संस्कृतमा लेखिएको सो अभिलेखको नेपाली अनुवादको अंश इतिहास संशोधन मण्डलको मुखपत्र पूर्णिमामा यस्तो उल्लेख छ ।
''...लोग्ने मरेमा, हराएमा, जोगी भएमा वा पतित भएमा...यी कारण र अरु कारणद्वारा लोग्ने लिएका आईमाईहरु निसन्तान भएर पतित भई अरु लोग्ने लिन्छन् । यसरी दोस्रो संग्रह (ल्याइते स्वास्नी) हुन पुगेर निसन्तान हुन्छन् भने तिनीहरुलाई माप्चोक अधिकरणले लाग्ने कानून लगाउनु । तिनीहरुबाट नाउँले तोकिएको धन माप्चोकका बृत्तिभुक्(जागिरदार) ले लिनु । यताबाट पनि लोग्नेबाट सन्तुष्ट नभई धेरै बाजी लाज पचाएका, खराब स्वभावका चरित्र धर्मबाट च्यूत भएक पहिलो लोग्नेदेखि विरक्त भएक कामवासना तिर झुकेका असन्तुष्ट युवतीहरु लोग्ने लिन्छन् र तिनीहरुको पनि सन्तान हुन्छ भनेचाहिँ माप्चोक अधिकरणले कारबाही गर्न पर्दैन ।''
यसबाट हामी माप्चोक अधिकरणको कामको बारेमा सपष्ट हुन सक्छौं । त्यस्तै, इतिहास शिरोमणि बाबुराम आचार्य र श्री गुरु पं नयनराज पाण्डेद्वारा प्रकाशित संस्कृत सन्देश नामक पत्रिकामा यस्तो छापिएको छ ।
''...केही कुरमामा उपकार गरेको थाहा पाई त्यसको बदला उपकार गर्ने ईच्छा गरी हामीबाट सबै तल समेतको यूपग्रापद्रङ्गमा भट्ट र माप्चोकको अधिकार लागू गरी राख्दा जनतालाई अवश्य ठूलो मर्का परिरेहेको छ भनीकर यी दुईको अधिकार झिकिदिएर निगाहा गरिएको छ ।''
उनीहरुको सो पत्रिकामा जनस्य महती पीडा भन्ने संस्कृत वाक्यांश उल्लेख गरिएको छ । यसले पनि त्यसतिबेला माप्चोक अधिकरणको कानूनहरु केही कडा रहेको थाहा हुन्छ। यस बाहेक पूर्वाधिकरण र पश्चिमाधिकरण भने राज दरबारको पूर्व पट्टी रहेको र पश्चिमाधिकरण पश्चिम पट्टी रहेको पाईन्छ ।