भगवानले कहाँ लुकाए ज्ञान ?

कसले भेट्टाउन सक्छ भगवानले लुकाएको ज्ञान ?

अध्यात्म, प्रकाशित मिति : २०७६ असार ९ सोमबार

काठमाडौं । साच्चै मानिसहरु जान्दैनन कि उनिहरु के हुन् ? प्रख्यात दार्शनिक संत सुकरात भन्छन् मानवलाई यदि केवल म के हुँ भनेर सोध्न सिकायौं भने बुझौ कि संसारका सबै कुरा हामीले उसलाई सिकायौ । जसले 'म' लाई जान्दछ उसले सबै कुरा जान्यो ।

पुरानो जमानामा ठुल ठुल्ला किल्ला हुन्थे र त्यसको बाहिरि पर्खालले पुरै शहरलाई घेरेको हुन्थ्यो र शहर भित्र जानको लागि ठुला ठुला ढोका हुन्थे। कुनै पनि व्यक्ति रात्रिको समयमा ढोकामा आएमा पालेले उसलाई सोध्दथे, तिमि को हौ ? कहाँ जादै छौ ? ती व्यक्ति यदि प्रश्नहरुको उत्तर दिन नसके अर्थात उसले म को हुँ, कहाँबाट आएको र कहाँ जाने बताउन नसके उसलाई शंकाको नजरले हेरेर कैदखानामा बन्द समेत गरिदिन्थे ।

यही स्थिति मानवको पनि छ। संसारमा आएर जब मनुष्य यो भन्न सक्दैन अथवा यो जान्दैन कि उ को हो , कहाँबाट आयो  र कहाँ जानेछ तब उ पनि मायारुपी कैदखानामा बन्द हुनेछ । यसबाट बच्न, यस मायारुपी कैदखानाबाट निस्कनको लागि एकै उपाय छ जीवनमा हामी यी प्रश्नहरुको उत्तर खोजौ। सर्वप्रथम हामी यो जानौ कि हामी को हौ अर्थात हामी के हौ ।  

भागवतमा एक प्रसंग आउछ भगवानले जब जीवलाई बनाउनुभयो तब सोच्नुभयो कि आफ्नो ज्ञानलाई कहाँ लुकाएर राखु जसलाई योग्य व्यक्तिले नै प्राप्त गर्न सकोस, अयोग्य व्यक्तिले त्यसलाई प्राप्त गर्न नसकोस ?

देवताहरुले भने,' भगवान! त्यस ज्ञानलाई  हिमालय पर्वतको शिखरमा राखिदिनुहोस जसलाई जीवले ठूलो संघर्ष गरेर त्यसलाई प्राप्त गर्नेछ ।'

भगवानले भन्नुभयो, ' हुँदैन, त्यहा अयोग्य व्यक्ति पनि पुगेर ज्ञानलाई प्राप्त गर्न सक्छ  ।'

फेरी देवताहरुले अनुरोध गरे, 'प्रभु समुन्द्रको गहिराइमा त्यो ज्ञानलाई लुकाइदिनुहोस  ।'

भगवानले भन्नुभयो, 'त्यहाँ पनि अयोग्य व्यक्ति गोता लगाएर यस ज्ञानलाई प्राप्त गर्न सक्नेछ ।'

अन्तमा देवताहरुलाई उपयुक्त कुनै स्थान लागेन । तब भगवानले स्वयं भन्नुभयो,' यस ज्ञानलाई मनुष्य भित्र नै लुकाएर राखिदिन्छु। जो मानव छ त्यो यस संसारमा खोज्दै हिड्नेछ आफूलाई विर्सनेछ तर जो आफूलाई भुल्ने छैन, त्यस ज्ञानलाई आफूभित्र खोज्नेछ त्यहि मानव योग्य हो र त्यसैले सो ज्ञानलाई प्राप्त गर्न सक्नेछ ।'

सो ज्ञानलाई नै भगवान राम, कृष्ण, महात्मा बुद्ध, महात्मा कबीर, सन्त ईसामसीह, सन्त तुलसीदास, सन्त सुरदास, हजर मोहम्मद साहब, महावीर स्वामी, गुरु नानक, स्वामी रामकृष्ण परमहंस आदि सन्त महापुरुषहरु आफ्नो जीवनमा खोजेर लागु गरे ।

एक पहाडमा स्वामी राम बसेर बिचार गरिरहेका थिए । उनि भएको ठाँउमा राजा आए र प्रणाम गर्दै भने, 'महाराज तपाई त साधु हो । तपाईले आफ्नो जीवन ईश्वरको अघि समर्पित गर्नुभएको छ ।  म राजा हुँ । दान, पुण्य, यज्ञ आदि गर्छु तर मलाई कहिले काहि यस्तो लाग्छ कि शरीर नै सबै कुरा हो । आत्मा नामको कुनै चीज छैन ।  यो त केवल एक विचार हामी भित्र रोपिएको छ कि हाम्रो भित्र आत्मा छ, शक्ति छ, चेतना सत्ता छ र त्यसको पछि अनेकौ धर्म बनिरहेको छ।'

स्वामी राम हास्दै भन्छन्, 'राजन ! वास्तवमा आत्मा छ र यसको लागि म तपाईलाई सम्झाउने प्रयास गर्नेछु ।'

स्वामी रामले राजासँग कलम मागे। राजाले दिए। साधुले सोधे,'यो कलम कसको  हो ?'

राजाले भने,' यो मेरो कलम हो ।'

तपाई कलम त होइन ? साधुले सोधे, राजाले भने,'होइन कलम मेरो हो तर म कलम होइन। '

फेरी स्वामी रामले राजाको हात उठाए र सोधे,' यो हात कसको हो ?'  राजाले भने, 'यो हात मेरो हो'  

'तपाई हात त होइन ?' भने 'होइन हात मेरो शरीरको अंग हो । म अंग कसरी हुन सक्छु । यसकारण म हात होइन ।'

यस्तै तर्कको श्रृंखलामा स्वामीले बताए आखाँ तपाईको हो तर तपाई आखाँ होइन । यो कपाल यो छाला तपाईको हो तर तपाई कपाल र छाला होइन । यो शरीर तपाईको हो तर तपाई शरीर होइन । यसप्रकार स्वामी भन्छन्,'सबै कुरा तपाईको हो तर जब यी सबै बस्तु तपाई होइन भने जसको म बर्णन गर्दैछु त्यो के हो ?'    

जो ज्ञानी सन्त महापुरुषहरु भए उनिहरुले ब्रह्मको त्यो परमपिता परमात्माको अनुभव गरेर मानिसहरुलाई अनुभव गराए। जब मानिसलाई ज्ञान प्राप्ति हुन्छ तब उसले माया भित्र चैतन्यता छैन भन्ने बुझ्छ। उसलाई यो शक्ति ब्रम्हाबाट प्राप्त भएको हो, यसको पछि ब्रम्हाको शक्तिले काम गरिरहेको छ, त्यहि सबैको मूल हो भन्ने जान्दछ ।

नयाँ